- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
श्रीमदभगवद्गीताको यो आत्मसंयमयोग नामको छैटौं अध्यायलाई ध्यानयोग अध्याय पनि भनिन्छ । अघिल्लो अध्यायको अन्त्यतिर भगवानले ध्यानयोगका बारेमा कुरा सुरू गर्नुभएको थियो, जुन यो अध्यायमा विस्तारमा भन्नुहुनेछ ।
सत्चालीस श्लोकको यो अध्यायमा भगवानले कर्मयोगी, ध्यानयोगी र संन्यासी पुरूष कस्ता हुन्छन ? तिनीहरुको लक्षण के हो ? योग के हो र योग कसरी गर्नुपर्छ ? चञ्चल मनलाई कसरी नियन्त्रण गर्नुपर्छ ? योगाभ्यासमा लागेका मानिसहरु यदि योगमार्गबाट भ्रष्ट भएभने तिनिहरुको गति के हुन्छ ? भन्नेबारेमा विस्तारपूर्वक बताउनुभएको छ ।
यी सत्चालीस श्लोक मध्ये बयालीस श्लोकका माध्यमद्वारा भगवान् अर्जुनलाई ध्यानयोग पद्धति बताउनुहुन्छ । पाँच श्लोक मार्फत् अर्जुनले आफ्नो चञ्चल मनले कतै आफू यो पद्धति अपनाउन असफल हुन्छु र दुःखको सागरमा झर्छु कि भन्ने संशय व्यक्त गर्छन् । राजा धृतराष्ट्रलाई दिव्य दृष्टिको माध्यमबाट रणभूमिको हाल बताइरहेका सञ्जय अन्तिम पटक दोस्रो अध्यायमा तीन श्लोक मार्फत् श्रीमद्भगवद्गीतामा देखा परेपछि फेरि देखा परेका छैनन् ।
यो छैटौं अध्यायलाई पाँच भागमा बाँडेर बुझ्नुपर्ने हुन्छ ।
यस अध्यायको पहिलो भाग अर्थात् पहिलो श्लोकदेखि चौथो श्लोकसम्म कर्मयोग र योगमा आरुढ व्यक्तिको चर्चा गर्दै भगवान् भन्नुहुन्छ– कर्मफलप्रति अनाशक्त रहने र आफ्नो कर्तव्य पालना गर्ने व्यक्ति नै असली योगी वा संन्यासी हो । यहाँ योगी र संन्यासीलाई एउटै धरातलमा राखेर भगवानले भन्नुभएको छ– संन्यास भनेकै योग हो र योग भनेको परब्रह्मसँग संयुक्त हुनु हुो ।
अघिल्ला अध्यायमा भगवानले भनिसक्नुभएको छ– कर्म गर्दै कर्मफलमा आशक्त नहुनु नै संन्यासी हुनु हो । जो मान्छे कर्मफललाई भगवानको प्रसाद मानेर स्वीकार्छ र सुख दुःखमा समभावमा रहन्छ त्यो नै योगी हो । यसप्रकार यहाँ भगवानले यी दुवैलाई एकै स्थानमा राखेर अर्जुनलाई उपदेश दिनुभएको छ । यस अर्थमा पनि उहाँ भन्नुहुन्छ– कर्म नगरी कोही योगी वा संन्यासी हुनै सक्दैन ।
हिजोआज हामी योगका बारेमा धेरै कुरा सुन्छौँ, मानिसहरु योग शब्दको सही उच्चारण पनि नगरी ‘योगा’ गर्दैछु भन्ने गर्छन् । योगलाई ‘योगा’ भनेर विभिन्न शिविरहरु गर्ने, तालिम चलाएर पैसा आर्जन गर्नेहरु पनि प्रसस्तै भेटिन्छन् । तर भगवानको परिभाषामा योग भनेको विस्तृत र व्यापक छ । योग त्यो हो जसले मानिसलाई परमात्माको नजिक लान्छ । यसले संन्यास प्राप्त गर्ने माध्यमको भूमिका निर्वाह गर्छ ।
भगवान् श्रीकृष्णले श्रीमदभगवद्गीताको यो अध्यायमा स्पष्ट शब्दमा भन्नुभएको छ–
यदा हि नेन्द्रियार्थेषु न कर्मस्वनुषज्जते ।
सर्वसड्ढल्पसन्न्यासी योगारूढस्तदोच्यते ।।
परब्रह्मसँग संयुक्त हुनु नै योग हो र योगका लागि इन्द्रियहरु संयमित हुन जरुरी छ । जो मान्छेले भौतिक इच्छा सम्पूर्ण रुपमा त्यागेको छ, जो मान्छे इन्द्रिय तृप्तिको लागिमात्रै भनेर कर्म गर्दैन त्यो नै योगारुढ व्यक्ति हो ।
यस अध्यायको दोस्रो भाग अर्थात् पाँचौं श्लोकदेखि दशौं श्लोकसम्ममा योगारुढ व्यक्ति र उनीहरुको लक्षणबारे भगवानले बताउनुहुन्छ । जसले मनलाई जित्छ, त्यो नै सबैभन्दा असल योगी हुन्छ अनि जसले आफ्नो मनलाई जित्न सकेको छ उसका लागि मन सबैभन्दा ठूलो मित्र हुन्छ । जीवनमा बाँच्नका लागि जसले मनलाई जित्न सक्दैन उसका लागि मन नै सबैभन्दा ठू्लो शत्रु हो भन्दै भगवानले मनको परिभाषा स्पष्ट रुपमा भन्नुभएको छ । यसको अर्थ हामी खुसी हुने, सुखी हुने या दुःखि हुने कुन बाटो रोज्ने हो हाम्रो मनमा निर्भर गर्छ ।
योगारुढ मानिसका तीन लक्षणको भगवान् चर्चा गर्दै भन्नुहुन्छ– वस्तु, सेवा र व्यक्तिप्रति आकर्षित नहुनु, कुनै कामप्रति आकर्षित नहुनु र आफ्नो संकल्पमा दृढ हुनुनै त्यस्ता व्यक्तिको परिचय हो । उनीहरुको मन न खुसी हुन्छ न दुःखी । उनीहरु अघिल्लो अध्यायमा भनेझैं समभावमा गइसकेका हुन्छन् ।
कलियुग सुरू हुन आँटेको त्यो समयमा भगवान् श्रीकृष्ण भन्नुहुन्छ– अब शत्रु र मित्रु आफ्नो मनबाहेक कोही छैनन । हामीलाई सुखी बनाउने या दुखि बनाउने, हामीलाई मुक्ति दिने या यही सांसारिक जन्जालमा पारिरहने यो सबै हाम्रै मनमा निर्भर रहन्छ । जब कोही योगी, संन्यासी वा महात्माले मनलाई जित्छ उसलाई परमात्मा प्राप्त हुन्छ र उसका लागि सुख दुःख सबै बराबर हुन्छन् ।
ज्ञानविज्ञानतृप्तात्मा कूटस्थो विजितेन्द्रियः ।
युक्त इत्युच्यते योगी समलोष्टाश्मकाञ्चनः ।।
योगीले ढुंगो, माटो र सुनलाई समान देख्छ । जब यी तीन चिजमा कुनै फरक देखिदैन भने त्यो समभाव हो । यसको अर्थ हामीले बहुमुल्य भन्दै मरिमेटेर लाग्ने चिज र हाम्रा लागि जहीतहीँ प्राप्त हुने चिजहरु योगीका लागि समान हुन्छन् । अब हामीले सुन र माटोलाई एउटै दृष्टिले हेर्न थाल्छौँ भने हाम्रो लागि मुक्तिको यात्रा त्यहीँबाट सुरू हुन्छ । न कोही असाध्यै ठूलो शत्रु हुन्छन्, न कोही मित्र । शत्रु र मित्रलाई हेर्ने आँखा उस्तै उस्तै हुन्छ । कसैलाई पाखा र कसैलाई काखा गरिदैन भने त्यो हो समभाव ।
यहाँ भगवानले फेरि योगको विषयमा चर्चा गर्ने क्रममा कस्ता व्यक्ति विशिष्ट हुन भनेर पनि परिचय दिनुभएको छ । हामी विभिन्न कार्यक्रम गर्छौं, विशिष्ट अतिथि भनेर समाजका मान्यवरलाई निम्त्याउँछौ, हामीले कतै विशिष्ट व्यक्तिको नाममा त्यो शब्दको मर्यादालाई उल्लङ्घन गरेका त छैनौं भनेर बुझ्न जरुरी छ । किनभने हिजोआज विशिष्ट व्यक्तित्व अथवा विशिष्ट पाहुना भनेर खुब चलनचल्तीमा ल्याइएको पाइन्छ । तर भगवानले भन्नुभएको विशिष्ट व्यक्तिको परिभाषा अलि व्यापक छ । विशिष्ट व्यक्ति भनेर भगवान् कस्ता व्यक्तिलाई भन्नुहुन्छ भने,
सुहृन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु ।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते ।।
जसले निष्कपट मित्र, प्रिय मित्र, तटस्थ, मध्यस्थ, इर्ष्यालु, शत्रु, धार्मिक र पापी मान्छेलाई बराबर देख्छ त्यो नै विशिष्ट व्यक्ति हो । हरेक मानिसका जीवनमा परिवारका मानिसबाहेक यही आठ प्रकारका हुन्छन् । अघि भनिएजसरी जोसँग समभाव छ, जसले परम मित्रलाई गर्ने व्यवहार र भयानक शत्रुलाई गर्ने व्यवहार उस्तै उस्तै हुन्छ भने ऊ नै विशिष्ट हो । जो धार्मिक व्यक्ति र पापी मान्छेलाई देख्दा कुनै भेदभाव राख्दैन त्यो विशिष्ट हो । जो कसैको पक्ष या विपक्षमा नउभिएर तटस्थ रहन्छ त्यो व्यक्ति विशिष्ट व्यक्ति हो ।
अहिले विशिष्ट व्यक्तिको परिभाषा बदलिएको पाइन्छ । कोही व्यक्तिसँग कति धन छ र ऊ कस्तो पदमा पुगेको छ भन्ने कुराले विशिष्ट व्यक्तिको परिभाषा निर्धारित हुन्छ । तर कोही मान्छे कुनै पदमा पुग्दैमा वा कोही मान्छेसित धेरै सम्पति या शक्ति हुँदैमा, पैसा हुँदैमा त्यो मान्छे विशिष्ट व्यक्ति हुँदैन भन्ने कुरा श्रीमद्भगवद्गीतामा भगवानले स्पष्ट रुपमा अर्जनुलाई बताउनुभएको छ र त्यो नै शास्वत सत्य हो । भगवान् वाणी भन्दा सत्य अरु केही हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि हुनेछैन । जो विशिष्ट छ त्यो नै योगारुढ हो किनकी त्यो मानिस समभावमा पुगिसक्यो र भगवान् श्रीकृष्णले श्रीमद्भगवद्गीताको दोस्रो अध्यायको अठ्चालीसौं श्लोकमा भनिसक्नुभएको छ कि ‘समत्वं योग उच्चते’ अर्थात् समभाव नै योग हो ।
यस अध्याय छको तेस्रो भाग अर्थात् एघारौं श्लोकदेखि बत्तिसौं श्लोकसम्म भगवान् ध्यान योगको बारेमा विस्तृत रुपमा बताउँदै योग कसरी गर्ने, योग गर्दा के के गर्नुपर्छ, योग गर्दा ध्यान र चिन्तन कसको गर्ने भनेर बताउनुहुन्छ ।
योग गर्नका लागि मन, इन्द्रिय र कर्मलाई वशमा राख्दै मनलाई स्थीर विन्दुमा पुर्याएर इन्द्रियलाई शुद्ध राख्नुपर्छ भनेर भगवानले उपदेश दिनुभएको छ । यस सम्बन्धमा चर्चा गर्दै मन, इन्द्रिय र कर्मलाई वशमा राख्नुपर्छ भनेको आफ्ना इन्द्रियहरुलाई नियन्त्रण गर्ने र मनलाई एउटा बिन्दुमा पुर्याएर हृदयलाई शुद्व बनाउनुपर्छ । भगवानले भन्नुभएको त्यो बिन्दु नै परमात्मा हो । त्यसो गर्नका लागि केही शारीरिक अभ्यासका कुरा पनि भगवानले बताउनुहुन्छ । शरीरको गर्दन र शीरलाई सोझो पारेर नाकको अग्रभागमा हेरेर मनलाई संयमित बनाउनुपर्छ र भगवानको चिन्तन गर्नुपर्छ । यहाँ नाकको अग्रभाग भनेको दुई आँखिभौं को बीचको भाग भनेर बुझ्नुपर्छ । नाकको अग्रभागमा ध्यान गर्नेले हेर्न पनि सक्दैन र यदी हेरिहाल्यो भने पनि अभ्यासका कारण ऊ डेढो हुनपुग्छ ।
भगवान् भन्नुहुन्छ– अर्जुन ! यो नै योगीका पहिलो लक्षण हो । ध्यान कसको गर्ने भन्नेबारेमा पनि भगवान् श्रीकृष्णको स्पष्ट धारणा छ । उहाँका अनुसार सर्वज्ञ, प्राचिनतम, नियन्ता, सानोभन्दा पनि सानो पालनकर्ता, अभौतिक, अचिन्त्य प्रकाशवान, दिव्य परामात्मालाई सम्झेर ध्यान गर्नुपर्छ । यसको अर्थ ध्यान भगवानको गर्नुपर्छ अरु कसैको ध्यानको कुनै अर्थ छैन ।
अचेल समाजमा ध्यानयोग शिविर आदि भनेर ब्यावसायिक रुपमा कार्यक्रमहरु चलाईएको पाइन्छ । मानिसहरु खुसीको खोजिमा त्यस्ता शिविरहरुमा लाईन लागेर गएको पनि देखिन्छ । तर जबसम्म आफ्नो मन शुद्ध पारेर भगवानमा स्थिर हुन्न, तब सम्म कुनै शिविरको अर्थ छैन । योग भनेको व्यायाम मात्रै हैन ।
खाना र सुत्ने कुरा जसको नियमित हुँदैन त्यो मानिस योगी हुनै सक्दैन भन्दै यस अध्यायको सोह्रौं श्लोकमा भगवान् भन्नुहुन्छ–
नात्यश्नतस्तु योगोऽस्ति न चैकान्तमनश्नतः ।
न चाति स्वप्नशीलस्य जाग्रतो नैव चार्जुन ।।
जसले धेरै खान्छ, अथवा खाँदै खादैन, जो धेरै सुत्छ वा सुत्दैन त्यस्ता व्यक्तिले योग गर्न सक्दैन । हर कुरा चाहिनेभन्दा धेरै गर्ने या गर्दै नगर्ने व्यक्ति कहिल्यै पनि योगी हुन सक्दैन । योगी हुनका लागि सन्तुलन र नियमितताको आवश्यकता पर्छ । खाने, सुत्ने, मनोरन्जन गर्ने काम गर्ने शैलीमा जो नियमित रहन्छ उसैले मात्रै योगाभ्यास गरेर भौतिक र मानिसक दुःखबाट मुक्ति पाउँछ । त्यसैले शरीरलाई दुःख दिएर वा मनलाई दुःख दिएर योग हुन सक्दैन ।
योग गर्ने मानिसको मन भौतिक, मानिसक, क्रियाबाट सम्पूर्ण रुपमा संयमित हुन्छ । जब मानिसको मन संयमित हुन्छ एउटा बिन्दुमा गएर मनलाई स्थीर राख्न सकिन्छ । त्यो अवस्थालाई समाधी वा सिद्धीको अबस्था भनिन्छ । यस्ता मान्छे सत्यबाट डग्दैनन, कठिनाईमा विचलित हुँदैनन, खुसीमा मात्तिदैनन र दुःखमा आत्तिदैनन । मुक्ति भनेको नै यही हो ।
जब मन स्थिर हुन्छ, मुक्तीको अवस्था प्राप्त हुन्छ । योगबाट भगवानमा लागेको ब्यक्ति पुनर्जन्मको दोषबाटसमेत मुक्त हुन्छन् । योगबाट जसले समाधी प्राप्त गर्छ मृत्यु पश्चात पनि फेरि फर्केर यही पृथ्वीलोकमा आउनुपर्दैन । ऊ सीधै भगवत्धाममा पुग्छ, भगवान शरणमा पुग्छ ।
आजको समाजमा योगका सम्बन्धमा कुरा गर्दा धेरै प्रकारका कुराहरु बजारमा सुन्न, पढ्न र देख्न पाईन्छ । तर ती मध्ये कतिपय शास्त्रका अधिनमा नभएको स्पष्ट हुन्छ । योगको एउटा बिधि छ, जसलाई पूर्णरुपमा पालन नगरी कोही पनि योगारुढ हुनै सक्दैन, बरु त्यो एउटा शारीरिक व्यायाम या प्राणायामका छिटपुट कृयाकलाप मात्रै हुनपुग्छन् ।
यहाँ भगवानले योगका बारेमा अर्जुनलाई उपदेश दिने क्रममा अष्टाङ्गयोगको पालनाका बारेमा बताउनुभएको छ, । यसरी योग गर्दा मानिस अग्लो पनि होइन, होचो पनि होइन, एउटा ठाउँमा बस्ने, शरीरलाई स्थीर राख्ने, कुशासनमा बस्ने, गर्दन सिधा पार्ने, मनलाई एउटा विन्दुमा लगेर सोच्ने प्रकृया बताउनुभएको छ । अष्टाङ्गयोगको बिधिको पालना नगरी, अष्टाङ्गयोगका बारेमा चर्चा नगरी, योगाभ्यासमा छु भन्नु बेकार हुन्छ । अष्टाङ्गयोग आठवटा बिधि मिलेर बनेको हुन्छ, ती हुन् यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधी । यी आठवटा स्थिति कसैले पार गर्छ भने मात्र त्यो मान्छे योगारुढ हुन्छ । त्यो मानिसले मात्र म योग गर्छु भन्न मिल्छ । यी सबैको पालना नगरी गरिने बिधिले मोक्षको बाटो कुनै हालतमा समाउँदैन बरु त्यसले मानिसलाई अधोगतीतर्फ लैजान्छ ।
अष्टाङ्गयोगका आठ स्थितिमध्ये पहिलो ‘यम’ हो । यम भनेको मनलाई शुद्ध राख्नु वा मनको शुद्धता हो । यस अन्तर्गत पाँचवटा तत्व हुन्छन् । अहिंसा, सत्य, ब्रह्मचर्य, नचोर्नु र तृष्णा नगर्नु । यी पाँचवटा यमका गुण हुन् । यदि हामीले हिंसा गरेनौ, सधैँ सत्यमा अडिग रह्यौँ, ब्रह्मचर्य पालना गरिरह्यौँ, कसैको राम्रो चिजमा आँखा लगाएनौ र चोर्ने काम गरेनौँ तथा मनमा अनेक खालको तृष्णा पालेनौँ भने हामी योगका आठ मध्ये पहिलो स्थिति अर्थात् यमको स्थितिलाई राम्रोसँग पार गर्न सक्छौँ । अहिंसाको अर्थ अरुको प्रगतिशिल बाटो नछेक्नु हो । हिंसामा कुटपिट वा मारकाट नै हुनुपर्ने छैन । ब्रम्हचर्य भनेको परिवार छाडेर जंगलमा गएर बस्नु हैन । गृहस्थिका लागि ब्रम्हचर्यको आफ्नै नियम हुन्छन् ।
दोस्रो ‘नियम’ । अष्टाङ्गयोगको पहिलो स्थिति मनको शुद्धता हो भने दोस्रो स्थिति शरीरको शुद्धता हो । योगले मन र शरीरलाई परब्रम्हसँग साक्षात्कार गराउनको लागि प्रयास गर्छ । परब्रम्हसँग साक्षात्कार हुनु र कर्ममा कुशलता कायम गर्नु नै योग हो भनेर भगवान् श्रीकृष्णले भन्नु भएको छ । यदि कसैको मन नियन्त्रित छैन भने उसका कुनै पनि कर्म कुशल हुन सक्दैनन् । अनि उसले परमात्मासँग पनि साक्षात्कार गर्न सक्दैन । नियम अन्तर्गत पाँचवटा तत्वहरु बिद्यमान रहन्छन् । ती हुन् पवित्रता, सन्तोष, तपस्या, स्वाध्याय र इश्वर प्रणायाम । सबैभन्दा पहिले पवित्र सोच, त्यसपछि सन्तोष गर भन्ने आफ्नो अर्तिको व्याख्या गर्दै भगवानले भन्नु भएको छ– कर्म गर तर कर्मफल तिम्रो वशमा छैन । कर्मफल तिम्रो अधीनमा छैन । कर्म गरेबापत फल अवश्य मिल्छ तर तिमीले गरेको कर्मबापत जस्तो खालको फल मिल्छ त्यसैमा सन्तोष गर । कर्मफलको आशक्ति राखेर कहिल्यै पनि कर्म नगर । तेस्रो हो, तपस्या या जप गर्नु । तपस्या र जप पनि हाम्रो मनसित सम्बन्धित कुरा हुन् । मनलाई धीर या स्थिर राखेर एकाग्र भएपछिमात्रै तपस्या गर्न र जप गर्न संभव हुन्छ । स्वाध्याय भनेको विभिन्न धार्मिक ग्रन्थको अध्ययन गर्ने, त्यसलाई मनन गर्ने र इश्वरप्रति विश्वास गर्नु हो । जब इश्वरमा आफूलाई समर्पण गरिन्छ र भक्ति भाव देखाइन्छ योगको दोस्रो स्थिति नियमको पनि पूर्णतया पालना गरिएको हुन्छ । जबसम्म कुनै मानिस अष्टाङ्गयोगको यी दुई बिधि पुरा गर्दैन तब सम्म तेस्रो बिधिमा उक्लनै सक्दैन ।
तर हामी जसलाई योग भन्छौं त्यो त तल उल्लेखित तेस्रोबाट सुरू हुन्छ र चौथो वा पाँचौंमा गएर सकिन्छ ।
तेस्रो ‘आसन’ । अष्टाङ्गयोगको तेस्रो स्थिति आसन शरीरका विभिन्न अंगहरुका व्यायामका प्रकृयाहरु हुन् । जब मानिसको मन र शरीर शुद्ध हुन्छ तब मानिस यो प्रकृयामा जान सक्छ । तर मनमा विभिन्न प्रकारका द्वेष राखेर यो प्रकृयामा जाँदा त्यसको असर उल्टो हुन्छ । कतिपय मानिसहरुले म योग गर्छु तैपनि मेरो शरीरको तौल घटेन मेरा अंगहरु चलेनन् भनेको सुन्छौं त्यसको मुख्य कारण यसका अघिल्ला दुई बिधिहरु पूर्णरुपमा पालन नगर्नु नै हो ।
चौथो ‘प्राणायाम’ । जब मन सफा हुन्छ, जब शरीर शुद्ध हुन्छ अनि मानिसले व्यायामका बिधिहरु पुरा गरी आफ्नो शरीरलाई फुर्तिलो राख्छ । शरीरका कतिपय अंगहरु देखिने हुन्छन् भने कतिपय अंगहरु भित्र नदेखिने हुन्छन् । व्यायामले ती दुबै प्रकारका अंगहरुलाई चलायमान राख्न मदत गर्छ । मानव शरीर भित्र जीवनको अभिन्न तत्व वायु हुन्छ जसको लागि पनि व्यायाम जरुरी हुन्छ । यो श्वाससँग सम्बन्धित छ । शरीरको व्यायाम आसन हो भने स्वास प्रस्वास प्रकृयाको व्यायाम प्रणायाम हो । प्रणायामका पनि विभिन्न बिधिहरु अष्टाङ्गयोगले बताउने गरेको छ । शरीरभित्र रहेका पाँच प्रकारका वायुहरु प्राण, अपान, समान, उदान र व्यानको व्यायाम नै प्राणायाम हो र यसका विभिन्न बिधिहरु हुन्छन् । समाजमा अहिले चलेका कपालभाँति, अनुलम विललम यसका केही उदाहरणहरु हुन् ।
यी चारवटा प्रकृयाबाट अगाडी बढिसकेपछि त्यो मानिस अष्टाङ्गयोगको पाँचौ तत्वमा प्रवेश गर्छ र त्यो ‘प्रत्याहार’ हो । यो प्रकृयामा मानिसले आफ्नो इन्द्रियलाई नियन्त्रण गर्दै त्यसलाई अन्तरमुखी बनाउँछ । यो प्रकृया अपनाइसकेपछि मानिसलाई काम, क्रोध, लोभ, मोह आदिले छुँदैन । अब ऊ देखेर, छोएर, सुँघेर, सुनेर वा स्वाद लिएर खुसी वा दुःखी बन्दैन । उ समभावको बाटोमा हुन्छ । प्रत्याहारमा अन्तर्मुखी स्वभावको विकास र बहिर्मूखी स्वभावको अन्त्य हुन्छ । यो अवस्थमा मान्छे कम बोल्छ र धेरै चिन्तन गर्छ । अध्ययनशील बन्छ, मनमा लागेका केही कुरा बोल्नुअघि बारम्बार सोचेर, त्यसको परिणाम के निस्केला त भन्ने विश्लेषण गरेरमात्रै बोल्न थाल्छ । जबसम्म प्रत्याहारलाई मान्छेले पछ्याउन सक्दैन, त्यो मान्छे योगारुढ हुनै सक्दैन् ।
अष्टाङ्गयोगको छैटौं ‘धारणा’ले सकारात्मक सोचको विकास गर्छ । यसले मानिसले बोल्ने, कुनै पनि कुराहरुमा आफ्नो विचारहरु राख्ने कुराहरुलाई प्रतिनिधित्व गर्छ । एकाग्र चित्त भई आफ्नो मनलाई इन्द्रियबाट पर राखी वशमा राख्नु नै धारणा हो । जब मानिसले यो बिधि अपनाउन थाल्छ, उसले केही विषयका बारेमा सोच्न पर्यो भने सकारात्मक कुरा सबैभन्दा पहिले उसको दिमागमा आउँछ । नकारात्मक सोच दिमागमा राखेर त्यो मान्छे योगारुढ हुन सक्दैन, त्यो मान्छे परमात्माको नजिक जानै सक्दैन ।
अष्टाङ्गयोगको सातौं बिधि ‘ध्यान’ अर्थात् भगवानको ध्यान हो । यस अघि चर्चा गरिएझैं ध्यान गर्दा जहिले पनि सर्वशक्तिमान, सर्वज्ञ, प्राचिनतम्, नियमितता, प्रकाशवान दिव्य परमात्माको ध्यान गर्नुपर्छ । ध्यानले माथिका सबै बिधिलाई पूर्णता दिन्छ ।
अष्टाङ्गयोगको अन्तिम स्थिति भनेको समाधी हो । समाधीको स्थितिबाट मानिस मुक्तिको स्थितिमा पुग्छ । जब मन योगबाट भौतिक र मानसिक क्रियाबाट पूर्णतया संयमित हुन्छ त्यो स्थिति नै सिद्धिको वा समाधिको स्थिति हो । तर आजको जमानामा गृहस्थिमा रहेका मानिसलाई पूर्ण समाधिमा पुग्न सम्भव छैन । तसर्थ उसको बिधि धेरै हदसम्म सातौमा गएर टुंगिन्छ । तैपनि समाधिका एउटा हदसम्म भने पुग्न सकिन्छ । यो ब्रम्हज्ञानको स्थिति हो ।
छोटकरीमा भन्दा अष्टाङ्गयोगमा यम असल गर्नु हो भने नियम असल हुनु हो । आसन शरीरलाई नियन्त्रण गर्नु हो भने प्राणायाम श्वास प्रस्वासको नियन्त्रण गर्नु हो । प्रत्याहार इन्द्रिय संयम गराउने बिधि हो भने धारणा सकारात्मक सोचको विकास गर्नु हो । ध्यान एकाग्रता हो भने समाधि दिव्यज्ञान प्राप्तिको स्थिति हो ।
यो अध्यायको चौथो भाग अर्थात् तेत्तीसौंदेखि छत्तिसौं श्लोकसम्ममा अर्जुन चञ्चल व्यक्तिहरुलाई यो योग पद्धति कसरी लागु हुन्छ भनेर प्रश्न गर्छन् र भगवान् ती प्रश्नको जवाफ दिंदै चञ्चल व्यक्तिले योग पद्धति अपनाउने दुईवटा तरिका बताउनुहुन्छ । उहाँकाअनुसार पहिलो अभ्यास हो र दोस्रो वैराग्य हो । अभ्यास के हो भन्ने कुरा बुझ्न सकिन्छ । कुनै काम गर्दै जाँदा एकदिन दुई मिनेट गरिएला भोलि पाँच मिनेट, सात मिनेट, दश मिनेट र त्यसले विस्तारै अगाडी बढ्न सहयोग गर्छ भने त्यो नै अभ्यास हो । अभ्यासले मानिसलाई कुशल बनाउँछ । हरेक मानिसको जीवन पनि एउटा अभ्यास नै हो ।
जब हामीले अभ्यासद्वारा आफूलाई अभ्यस्त राख्न थाल्छौँ र त्यसैमा बानी पर्छौं हाम्रो बैराग्य स्वतः सुरू हुन्छ । यसको अर्थ अभ्यासले नै हामीलाई वैराग्यसम्म डोर्याउँछ । अहिलेसम्म हामीमध्ये धेरैले घर व्यवहार त्याग्ने र पहेँलो लुगा लगाएर घर बाहिर हिड्ने जस्ता कुराहरुलाई वैराग्य भनेर बुझ्ने गरेका छौँ, त्यो सर्वथा गलत हो । वैराग्य त्यो हिजो पनि होईन, आज पनि होईन र भोलि पनि त्यो वैराग्य होइन । वैराग्य भनेको मनलाई पदार्थबाट हटाएर आत्मातिर लैजाने हो । अहिले हामी सबै कुरा पदार्थमा लगेर सोच्छौँ । वस्तुमा जान्छौँ । वस्तुबाट मनलाई हटाएर परमात्मातिर मनलाई लैजाने प्रक्रिया नै वैराग्यता हो । जब मानिसले त्यो काम गर्न सुरू गर्छ र अभ्यास गर्दै जान्छ, अभ्यास गर्दै गएपछि योगारुढ हुन सकिन्छ ।
अभ्यास र वैराग्यको कुरा सुनिसकेपछि अर्जुनमा फेरि अर्को जिज्ञासा आउँछ, जुन जिज्ञासा र भगवानद्वारा त्यसको समाधान यस अध्यायको पाँचौं वा अन्तिम भाग अर्थात सैतीसौंदेखि सत्चालीसौं श्लोकसम्ममा हुन्छ ।
यहाँ अर्जुन सोध्छन्, पथभ्रष्ट योगीको हालत के हुन्छ ? भगवान् भन्नुहुन्छ,– हेर अर्जुन ! यदि असफल नै भयो भने पनि सत्प्रयास गर्ने योगीको मुक्ति हुन्छ । आफूले सक्दो प्रयास गरेर योगमा लीन छ भने त्यो पुरूषले मोक्ष प्राप्त गर्छ । योगाभ्यास गर्दा, वैराग्यको बाटोमा जाँदा मानिस असफल हुन सक्छ । तर त्यो जहिले पनि सिधा बाटोमा जान्छ, त्यो मुक्तिको बाटोमा जान्छ ।
अर्जुन सोध्छन्–
अयतिः श्रद्धयोपेतो योगाच्चलितमानसः ।
अप्राप्य योगसंसिद्धिं कां गतिं कृष्ण गच्छति ।।
यदि तपाईंले भनेको कुराहरु पालना गर्दा गर्दै पनि कुनै पुरूष बिचैमा छिन्न भिन्न भयो भने के हुन्छ ? भगवानले के भन्नु हुन्छ भने– केहि हुन्न, त्यो भयो भने ऊ फेरी उत्तम कुलमा जन्मिन्छ र पहिलेका कुराहरु उसलाई याद आउँछ अनि फेरि उसले त्यही बाटो समाउँछ । सत्कर्ममा लागेको व्यक्तिको कहिल्यै पनि नाश हुँदैन । यहाँ पुराना कुरा याद हुन्छ भन्नुको तात्पर्य ऊ फेरि त्यही कर्म गर्ने भएर जन्मन्छ भन्नु हो ।
ध्यानयोगका बारेमा सम्पूर्ण कुरा बताइसकेपछि भगवान् अन्त्यमा भन्नुहुन्छ–
तपस्विभ्योऽधिको योगी ज्ञानिभ्योऽपि मतोऽधिकः ।
कर्मिभ्यश्चाधिको योगी तस्माद्योगी भवार्जुन ।।
अर्जुन तिमी योगी बन किनकी योगी मानिस त तपस्वी र ज्ञानी भन्दा ठुलो हुन्छ र सकामकर्मी भन्दा महान हुन्छ । यसको तात्पर्य तपस्या, ज्ञान र कर्म त योगका बाटो हुन् । भगवानले भन्नु भएको छ– योग त सम्पूर्ण कर्मको पाकेको फल हो ।
यस आत्मसंयमयोग नामक अध्यायमा भगवान् आत्मा भनेको शरीर, इन्द्रिय मन र बुद्धि हो अनि संयम भनेको नियन्त्रण गर्नु अथवा तह लगाउनु हो भनेर अर्जुनलाई योगारुढ बन्न आदेश दिनुहुन्छ । आजको समाजमा हामीमध्ये धेरै आफ्नो कर्म गर्दै कर्मफलमा आशक्ति नहुदाँ योगारुढ भइसकेका हुन सक्छौं । जुन कुरा हामीलाई नै थाहा छैन । यदि भएका छैनौँ भने पनि कुनै न कुनै दिनबाट हामी योगी बन्न सक्छौं ।
अब साचौं के हामी योग गर्दैर्छौं कि सामान्य शारीरिक व्यायाम ? यी दुई अलग हुन् । यदि तपार्ईंलाई शारीरिक व्यायामको खाँचो छ भने योग शिविर जान बन्द गरौं र व्यायामशालातर्फ जाउँ । यदि साँच्चिकै योग गर्ने हो र परमात्मासँग साक्षात्कार गर्ने हो भने त्यसका बिधि अपनाउँ ।
श्रीमद्भगवद्गीताको मेरो बुझाइमा आत्मसंयमयोग नामको छैटौं अध्याय समाप्त भयो ।
(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ । त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)