arrow

प्रधानमन्त्री केपी ओली रक्षक कि भक्षक ?

अहिले नेकपा भित्रको चरम बिवाद पुष्प कमल दहाल, माधव नेपाल, झलनाथ खनाल, खड्ग ओली  बीच

logo
मनोज लामिछाने,
प्रकाशित २०७७ असार २३ मंगलबार
kp-oli-serious-mood.jpg

ईतिहास पल्टाएर हेर्ने हो भने नेपालको राजनीति समय समयमा निकै गर्माउने गरेको छ l नेपालको राजनीति गर्माउने मुख्यत: देश र जनताका हितका लागि भन्दा पनि शासकहरुको व्यक्तिगत स्वार्थका लागि भए l किरातकाल, शाहवंशीयकाल, राणाकालहरुबाट शुरु भएका घटनाहरुको झिल्को  २१ औ शताब्दीसम्म आइपुग्दा पनि नेपाली राजनीतिले निरन्तरता पाई नै रहयो l यी शासनकालहरुमा राजनैतिक खिचातानीका अनौठा घटनाहरुको जन्म भए l व्यक्तिका व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखी भएका घटनाहरुले जनभावनालाई कुठाराघात गर्दै लग्यो l

भण्डारखाल पर्व, कोतपर्व, राजदरबार काण्ड जस्ता अनगिन्ती काण्डहरु शासकहरुको निहित स्वार्थमा केन्द्रित काण्डहरु थिए l ईतिहासको कुनै कालखण्डमा राज्य सत्ता हासिल गर्ने दाउमा राजदरबार भित्रकै शासकहरुबाट घटाइएका घटनाहरुमा आफ्नै परिवार भित्रका नातागोताहरुमा, श्रीमतीले श्रीमान् लाई बन्धक बनाउने देखि आफ्नै मामा, दाजुभाईको हत्या गर्नेसम्मका अनौठा घटनाहरु भए l यसको मुख्य कारण सत्ता प्राप्ति पछि सजिलै प्राप्त हुने मान, प्रतिष्ठा र ईज्जत नै हो l ईमानलाई बन्धक राखी जुनसुकै घृणित कार्यगर्न पछी नपर्ने शासकहरुका कू:सोचका कारण यस्ता घृणित कार्यहरु परम्परा जस्तै बन्न पुग्यो l

यसको एउटा झिल्को नेकपा भित्रको अहिलेको राजनैतिक खिचातानी हो l बिगतमा एकै थलोबाट राजनीतिमा होमिएका र जेलनेल भोगेका नेताहरु सत्ताको स्वाद पश्चात: एक अर्कालाई हदै सम्मको आरोप प्रत्यारोप गर्नमा हौसिएका छन् l यो कलह नेकपा भित्रको मात्र कलह भने होइन l

आफुले गरेका कार्यहरु सबै ठिक अरुले गरेका कार्यहरु सबै बेठिक भन्ने कथित सोचका कारण पार्टी र नेताहहरु बीच बिगतमा एक आपसमा संसदमा मुक्कामुक्की र कुर्सी हानाहान भएका घटनाहरु नेपाली राजनीतिमा देखिएकै हो l अहिले नेकपा भित्र नेताहरुको गुट उपगुटले जनताले दिएको बहुमतको अपहेलना भईरहेको कुरा कसैले नकार्न सक्दैन् l कुनै घरको घरमुली गतिलो भएन भने त्यो घर लथालिंग हुन्छ भन्ने हाम्रो अग्रजहरुको अर्ति हो l अहिले नेपालको कार्यकारी पदमा के.पी.ओली छन् l ओली देशका प्रधानमन्त्री हुन् l उनले गरेका हरेक कर्महरुसंग राष्ट्रको मान, मर्यादा, प्रतिष्ठा जोडिएको हुन्छ l ओलीको कारण दुई तिहाइको सरकार ढल्न सक्ने र पार्टी बिभाजन हुन् सक्ने आरोपहरु उनकै पार्टीका बरिष्ट नेताहरुले लगाईरहेका छन् l यसको पुष्टि कुनै दिन होला नै ? राष्ट्रको ढुकुटी खर्चेर गरिएको निर्वाचनको परिणामलाई उनको र उनका पार्टीका निहित व्यक्तिहरुका स्वार्थका कारण देशले ठुलो मूल्य चुकाउनु पर्‍यो भने ईतिहासले सधै धिक्कार्ने छ भन्ने कुरा सबैले बुझ्न जरुरि छ l

देशमा कोरोनाको कहर दिन प्रतिदिन बढ्दै छ l जनताहरु कोरोनाका कारण भोकभोकै छन् l कुनै दिन “बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन्, म बाट यो भन्दा बढी के अपेक्षा गर्ने ? मेरो काम गर्ने बानी छ, गरिरहन्छु । म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु ।" भनेर कुनै दिन अभिव्यक्ति दिने प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले दैनिक १८ घण्टा गरेको कामको परिणामलाई एकपल्ट हेर्नु आवश्यक हुन्छ l जनताहरु आत्महत्या गरिरहेका छन्। महिला, किशोरीहरु बलत्कृित भैरहेका छन्। सरकारले बनाएको क्वारन्टिनमा पनि महिलाहरु बलात्कार हुन परेका घटनाहरु दैनिक रुपमा छापामा आइरहेका छन् l बालबालिकाहरु असुरक्षित छन् l दुई ठुला छिमेकी राष्ट्रहरुको सम्बन्धको कुरा गर्दा भारतसंगको सम्बन्ध चिसिदै गैरहेको छ l

म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्नँ भनेर एकातिर ओलीले आफ्नो शेषपछि उनको र उनको श्रीमतीको नाममा रहेको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको, म पैसा कमाउन आएको होइन, देश बनाउन आएको, म बोली र व्यवहारमा प्रतिवद्ध छु, देशमा सुशासन ल्याउछु भन्ने प्रधानमन्त्री ओलीको सरकार ३८ केजी सुन प्रकरण, वाईडबडी काण्ड, बालुवाटारको जग्गा काण्ड, स्वास्थ्य सामग्री सम्बन्धी सम्झौता र रद्द, सिन्डिकेट, बिषादी युक्त तरकारीको मापन, गुठि जग्गा, सम्पत्ति शुद्धीकरण, संचारमन्त्रीको राजिनामा, लक्डाउनको समयमा अध्यादेश ल्याउने र फिर्ता लिने, संविधानको भाग ३ को धारा १७ मा मौलिक हक र कर्तव्यमा विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रतामा, महिला हिंसाका र बलात्कारका घटनाहरु दिनानुदिन बढिरहनुले पनि उनिप्रति औला तेर्सिएकोछ l

ओलीको बेला बेलामा आउने अभिव्यक्तिले पनि उनीप्रतिको जनताको मोह गिर्दोछ l कुनैदिन कांग्रेसलाई घोर विरोधीको रुपमा जनतासामु पस्किदै राष्ट्रियताको नारालाई चुनावी मुद्दा बनाएर तत्कालिन नेकपा माओबादीका अध्यक्ष प्रचण्डसंग कुम जोडेर चुनावमा जनताको ‘सेन्टिमेन्ट’ जितेर बहुमतको सरकार बनाउन सफल भएका ओलीले नेकपा माओवादीसंग पार्टी एकीकरण गर्नसम्म भ्याए l बिडम्बना उनकै पार्टी भित्रका नेताहरुको शब्दलाई सापटी लिएर भन्दा उनमा सत्ताको दम्भ छाएको र सत्तामा निरन्तर टिक्नका लागि जुनसुकै मूल्य चुकाउन पनि उनि तयार छन् भन्ने सम्मका आरोपहरु उनीप्रति छन् l  

राष्ट्रपति सीको नेपाल भ्रमण, २०७२ सालमा गएको विनाशकारी महाभूकम्पको पुर्ननिर्माण, नेपाल–भारत पेट्रोलीयम पाइपलाइन, सामाजिक सुरक्षा कार्यक्रम, पृथकतावादी राजनीतिलाई निस्तेज, छिमेकीसँग सन्तुलनको प्रयास, भूमि रक्षाका लागि आवाज, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग), मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग, ढिला भइरहेको भेरी–बबई सिँचाइ आयोजनाको सुरुङको ब्रेकथ्रु, भूमि ऐन संशोधन मार्फत भूमिहीनहरूलाई लालपूर्जा वितरणको प्रयास, धान र ऊखुको समर्थन मूल्य तोक्ने प्रयास, नागढुंगा सुरुङ मार्गको ठेक्का सम्झौता, लोड सेडिंगको अन्त्य, कोरोना भाइरसको महामारीबाट जनतालाई जोगाउन गरेका प्रयासहरु भने उनले गरेका प्रयासहरु हुन् l

अहिले नेकपा भित्रको चरम बिवाद पुष्प कमल दहाल, माधव नेपाल, झलनाथ खनाल, खड्ग ओली  बीचको नै हो l नेपालको राजनीतिको सधै केन्द्र बिन्दुमा रहेका र देशको कार्यकारी प्रमुख भईसकेका व्यक्तिहरुको बीचको खिचातानी दीर्घकालिन रुपमा त्यति सजिलै समाधान हुन्छ भन्ने कुरामा ढुक्क हुन् सक्ने अवस्था देखिदैन् l

नेकपा भित्रको खिचातानी देशको राष्ट्रियता, स्वाभिमान र जनताको मौलिकहकसंग जोडिएका बिषयहरु हुन् l कुनैदिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग र चिनिया राष्ट्रपति सी बिचको सुमधुर सम्बन्धको चर्चा पाएको सरकार, एक बर्ष नपुग्दै भारतसंगको सम्बन्ध चिसिदै जानु र चीनको राजदुतको दौडधुपले नेपालको राजनीतिक अवस्थाबारे सोच्न बाध्य बनाएको छ l अर्को कुरा नेपाली राजनीतिका चतुर खेलाडी भनेर कहलिएका नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहालसंगको सिनाजोरी त्यति सजिलो छैन् l कुनै समयमा चुनावमा पराजित नेकपाका बरिष्ट नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउने कसरत देखि झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने र स्वयं ओलीलाई प्रधानमन्त्रीको पदबाट हात धुन पर्ने अवस्थाका मुख्य पात्र को हुन् ? भन्ने कुरा सबैले बुझेकै छन् l

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफू विरुद्ध षडयन्त्रहरू भइरहेको र मैले ‘बाइवर्ड, बाइस्टेप’ नियन्त्रण गर्नुपर्ने हुन सक्छ l “तपाई‍हरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ ? तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ” भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुरसंगको अहिलेको भेटघाटलाई पनि नेपाली राजनीतिमा चर्चाको बिषय बनेको छ l उनलाई प्रधानमन्त्रीको पदबाट हटाउन भारत लागिपरेको, प्रचण्ड र माधव नेपाल पक्षले उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीको दुवै पद छाड्न दबाव दिएको कुराहरु छापामा निरन्तर आईरहेको छ तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा छन् ।

नेकपाभित्रको अन्तरविरोध प्रचण्ड र माधव पक्षले सजिलै जित्ने स्थिति छैन् । गणितको हिसाबले प्रचण्ड र माधव समूह बलियो भएतापनि सरकारको साँचो ओलीसँग भएकाले ओली कमजोर छैनन् । सचिवालय र स्थायी कमिटीमा बहुमत गुमाइसकेपछि प्रधानमन्त्री ओली नैतिकरुपमा कमजोर एवं रक्षात्मक अवस्थामा पुगेको भएता पनि उनि प्रधानमन्त्री र पार्टी अध्यक्षको पद कुनै हालतमा छाड्ने पक्षमा छैनन् l समग्र रुपमा हेर्दा ओलीको अहिले सम्मको कार्यकाल हेर्ने हो भने सधै बिवादास्पद नै बन्यो l राष्ट्रियताको सवालमा र सपना देख्नु पर्छ, सपना बिनाको उदेश्य अर्थहिन हुन्छ भन्ने खालका उनको अभिव्यक्ति र उनको सरकारले गरेका केहि कार्यहरु हेर्दा उनि देशको रक्षक हुन् भन्ने भान हुन्छ भने उनको कार्यकालमा भएका भ्रस्टाचार र शुसानको अवस्था तथा उनीप्रति लाग्ने पार्टीभित्रको नेता तथा कार्यकर्ताहरुको आरोप र सामाजिक संजालहरुमा उनले बोलेका उखान तुक्काहरु बारे गरिएका व्यंगहरु हेर्दा के ओली भक्षक हुन् त् ? भन्ने भान हुन्छ l

ओली रक्षक हुन् कि भक्षक हुन् ? बाबु भनेर एक बृद्धले यस पंक्तिकारलाई गरेको प्रश्नको उत्तर त्यति सजिलो छैन ? कुनैदिन जनताले यो प्रश्नको उत्तर पाउने नै छन् l अहिलेको अवस्थामा के.पी ओलीले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखी निर्यण गर्दा सबैको कल्याण हुनेछ l



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ