arrow

ओली–प्रचण्ड वार्ता नाममात्रको, एक दुई दिनमै वारपार 

बिच्किए माधव–झलनाथ–वामदेव, ओली र प्रचण्डमात्र मिलेर होला र ?

logo
बाबु नेपाली, 
प्रकाशित २०७७ असार २३ मंगलबार
oli-prachanda-ncp.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता नाममात्रको भएको छ । 

गत शुक्रबारदेखि स्थायी कमिटी बैठक नै रोकेर वर्तमान आन्तरिक किचलो मेट्नका लागि ओली र प्रचण्डबीच वार्ता भइरहेको छ । 

कहिले समूहमा, कहिले एक्लाएक्लै, कहिले वान भर्सेस वान, कहिले वान अन वान र कहिले वान टु वान वार्ता भइरहेको छ । 

जतिसुकै शब्द बुने पनि वार्ता भने सकारात्मक भइरहेको छैन । केवल वार्ताका लागि मात्र वार्ता भइरहेको छ । 

के हो अडान ? 
केपी ओलीको अडान अहिले अहंकार भएको एक नेकपाका स्थायी कमिटी सदस्य बताउँछन् । उनले भने, ‘उहाँको अडान बेतुके हो । उहाँ बढी अहंकारी बन्नुभयो । पार्टी चलाउन सक्नु भएन । सरकारको बदनाम भयो ।’

प्रधानमन्त्री ओलीले सत्ता पनि चलाउने र पार्टी पनि चलाउने काम गरिरहेका छन् । तर नेकपाका स्थायी कमिटीका अधिकांश सदस्यहरु उनको काम चलाउ प्रवृत्ति मन पराएका छैनन् । 

स्थायी कमिटी बैठकमा उनको राजीनामा मागियो । देशको नयाँ नक्सा सार्वजनिक गरेपछि संसार नै जितेजस्तो गरेका ओलीलाई पटक पटक कुटनीतिक पहल गरी भारतसंग समस्याको निकास निकाल्नका लागि प्रमुख प्रतिपक्ष दलले मात्र हैन स्वयं नेकपाका नेताहरुले भनिरहेका छन् । 

तर बढी अहंकारी भएकै कारण उनले भारतसंग वार्ता गर्न सकेका छैनन् । बढी बोल्ने बानीकै कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उनलाई समय दिएका छैनन् । 

परराष्ट्र स्रोतका अनुसार उनका ३–४ वटा प्रयास असफल भएका छन् । त्यसपछि झन् दवावमा आएका ओलीले निष्कर्ष निकाले र भने –भारतले मलाई सरकारबाट हटाउने चलखेल थाल्यो । 

सबैभन्दा घातक कुरो त उनले त्यतिबेला गरे जतिबेला स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीको दिन पारेर उनले असार १४ गते आफू मात्र राष्ट्रवादी भएको चर्चा गरे । त्यतिमा उनी रोकिएनन्, ‘नेकपाका बाँकी शीर्ष नेताहरु भारतीय दलाल’ भएको आरोप पनि लगाए । 

त्यसपछि लियो नाटकले नयाँ मोड । शीर्ष नेताहरुमा प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल पूर्व प्रधानमन्त्रीहरु हुन् । उनीहरु सबै ओलीभन्दा अगाडि प्रधानमन्त्री भएका हुन् । 

संसदमा महाकाली सन्धीमा मत दिने क्रममा तत्कालीन एमालेले गद्दारी गरेको भनी सांसदहरु चित्याइरहँदा र स्वयं नेकपाका वर्तमान उपाध्यक्ष वामदेव गौतमले आफूले महाकाली सन्धिको विरोध गर्दा एमालेबाटै निकालिनु परेको तीतो विगत सुनाउँदै अहिले स्थायी कमिटी बैठकमा आत्मा आलोचनासहित त्यो बेलामा गल्ती गरिएछ भनी अहिले निर्णय गर्न आग्रह गरेपछि ओलीको शेखी झरेको छ । 

ओलीले निरन्तर अडान राखिराख्ने र प्रचण्डदेखिका शीर्ष नेताहरुले पनि अडान नछाड्ने गर्दा नेकपाभित्र ठूलै भुइँचालोको कम्पन दिनानुदिन गइरहेको छ । ओली आफूले नराम्रो कुनै काम गरेको स्वीकार गर्न सक्दैनन् ।

त्रासमा इतर पक्ष
ओलीलाई राजीनामा दिन भनेपछि उनी चुप लागेर बसेनन् । उनले धम्की दिन थाले । संसद अधिवेशन अन्त्यको घोषणा गराए । सभामुखले पत्र पढेर नभई सीधै राष्ट्रपतिमार्फत उनले ठाडै संसद अधिवेशन अन्त्यको घोषणा गराए । 

विधिको शासन विपरीत गरिएको यस कदमको सामान्यमात्र विरोध भयो । जति सरकारको आलोचना हुनुपर्दथ्यो त्यति हुन पाएन । यो लोकतन्त्रको कालो दिन पनि बनाइयो । हुन पनि ओलीले विधि मिचे । 

ओली चुप लागेर बसेनन् । उनले एमालेलाई पुनर्जिवित पार्नका लागि आफ्नै कार्यकर्तालाई पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पठाए । पार्टी दर्ता गर्नेहरु लो–प्रोफाइलका भए पनि तिनीहरु ओलीसंग दशैंका टीका थाप्न बालुवाटार जानेहरु नै थिए । 

ओलीले संसद अधिवेशन अन्त्य गराएर दल दर्ता गराई अध्यादेशमार्फत पार्टी फुटाउँदैछन् भन्ने भएपछि इतर पक्ष एकाएक त्रसित देखियो । 

इतर समूहले सोच्यो – पार्टी नै फुट्यो भने बर्बाद हुन्छ । फेरि प्रचण्ड पक्ष त अझै बढी तनावमा आयो । जनताले विश्वास नगरेकैले एमालेसंग मिल्नु परेको तीतो विगत उनीसंग छ । 

पार्टी फुट्नु समस्याको समाधान हैन भनी माधव नेपालदेखि झलनाथ अनि वामदेव गौतमहरु समस्या समाधान गर्न वार्ता नै उपयुक्त भन्नेतिर गए । 

ओली र बाँकी पक्षका प्रतिनिधि दोस्रो तहका नेताहरुबीच निरन्तर छलफल चलाइयो । निष्कर्ष केही निस्केन । निष्कर्ष ननिस्कनुको मतलव हो कसैले आफ्ना स्वास्थ्य नत्याग्नु । ओली बाँचुन्जेल दुवै पद खान चाहन्छन् । एक स्थायी कमिटी सदस्यले हाम्राकुरासंग भने, ‘उहाँलाई दुई वटा ठूला पदले त पुगेको छैन । कुनै छोड्नु हुन्न । उहाँ त बाँचुन्जेल पद खाइरहने पर्नुभो । भोलि राष्ट्रपति पनि बन्नुहुन्छ । आश्चर्य नमान्नुहोला ।’  

प्रचण्ड एक कदम पछि
स्रोतका अनुसार प्रचण्ड एक कदम पछाडि हटेका छन् । ओली पार्टी अध्यक्ष छाड्न तयार रहेको बुझिएको छ । तर दाहाल भने ओलीले प्रधानमन्त्री छाड्नै पर्ने अडानमा छन् । 

पार्टी एकता हुँदा २०७५ जेठ २ गतेको भद्र सहमतिअनुसार साढे २ वर्ष एक जनाले र त्यसपछिको साढे २ वर्ष अर्को जनाले सरकार चलाउने थियो । त्यो अनुसार २०७४ फागुन ३ गते प्रधानमन्त्रीको सपथ खाएका ओलीले नैतिकताका आधारमा आउँदो भदौमा बालुवाटारबाट निस्कनु पर्नेछ । 

तर ओलीले धोका दिए । केही समयअघि प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्ष दिने मौखिक सहमति गरे । प्रचण्ड दंग भए । आफू अध्यक्ष भए पनि त्यसअघि कहिल्यै पार्टी बैठकको अध्यक्षता गर्न नपाएर खुम्चिइरहेका प्रचण्डलाई धेरै उपलब्धि हासिल गरेजस्तो भयो । 

तर ओलीले धोका दिए । प्रचण्डलाई कार्यकारी छोड्न चाहेनन् । अलि बढी नै रिसाएका रहेछन् भने संगसंगै कुर्सी टाँसेर समान भएको देखाउन पनि चाहने तर तत्कालै फेरि उनलाई पुरानै हैसियतमा धकेल्ने काम ओलीले गर्दै आएका छन् । 

यसपटक प्रचण्डले फलाम तातेका बेलामा हिर्काउनु पर्छ भन्दै ओलीको दिमागी बाटो रोक्ने प्रयासमात्र गरेका हुन् । 

उनले अन्य नेतासंग मिलेर नै ओलीको प्रतिवाद गर्न खोजे । नेताहरुले राम्रै साथ दिए । एमाले खेमाका नेताहरुले आफूलाई साथ दिएपछि प्रचण्ड दंग पनि भए । 

तर अहिले एकाएक प्रचण्ड फेरि स्वार्थी देखिएका छन् । माधव–झलनाथ र वामदेवलाई साथमा नलिई एक्लै बालुवाटार धाइरहेका छन् । 

अर्थात् प्रचण्ड स्वार्थी बन्दैछन् । उनलाई लोभले गाँजेको छ । त्यसैले त नेपाली राजनीतिमा चर्चित भनाई छ, ‘प्रचण्ड जहाँ जान्छन् बबण्डर गर्छन् ।’ अहिले कस्तो बबण्डर उनीबाट हुँदैछ त्यो भने हेर्न बाँकी नै छ । 

उनको नीति छ –एक कदम पडाडि हट्ने र दुई कदम अगाडि बढ्ने । ओलीले फेरि पनि कतै ललिपप देखाउन पो थालेका छन् कि भन्ने आशंका पनि रहेको छ । 

बिच्किए माधव–झलनाथ–वामदेव, ओली र प्रचण्डमात्र मिलेर होला र ?
ओलीसँग सामूहिक रुपमा असहमति राख्दै आएका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायतका नेतालाई अल्मल्याएर प्रधानमन्त्री ओली प्रचण्डसँग मात्र छलफलमा केन्द्रीत भएका छन् । 

ओलीलाई थाहा छ कि जति प्रचण्डलाई फकाउन सजिलो हुन्छ त्यत्ति नै कठिन माधव नेपाललाई । त्यस्तै वामदेव गौतमलाई त ओलीले पटक पटक धोका दिएका छन् नै । 

एक नेकपाका केन्द्रीय सदस्यका अनुसार झलनाथलाई पदीय लोभ बढी नहुनाले गर्दा उनी सहमतिमा आउन सक्लान् तर माधव नेपाललाई ओलीले आफ्नो सबैभन्दा ठूलो प्रतिद्धन्द्धी मान्ने हुनाले पनि अलि कडा रुपमै प्रस्तुत हुने गर्दछन् । 

त्यस्तै वामदेवलाई ओलीले आफू एमालेको अध्यक्ष भएदेखि धोकामात्रै दिँदै आएका छन् । २०७४ सालको प्रतिनिधिसभाको चुनावमै हराइदिए । प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुनबाट रोके । राष्ट्रियसभामा लैजाने भने । लगेनन् । उनले धोका मात्र दिएका छन् । 

अहिले वामदेव पनि ओलीसंग बढी नै रुष्ट छन् । माधव नेपाललाई त पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीसंगको भिडियो कन्फ्रेन्सिङ सम्मेलनमा विदेश विभाग प्रमुख भएर पनि भाग लिन दिइएन । 

यस्तो अवस्थामा उनीहरु कुनै बार्गेनिङले रोकिने वाला छैनन् भन्ने ओलीलाई थाहा छ । त्यसैले त ओलीले पनि पूर्व एमालेका नेताहरुको नाम पनि सुन्न मन पराएका छैनन् । उनले सरकारलाई असहयोग गरिरहेको अनुभूति गरेका पूर्व एमालेका नेताहरुसँग पार्टीको औपचारिक फोरममा बाहेक भेट्न इच्छा पनि जनाएका छैनन् । 

यस्तोमा प्रचण्डले एक्लै भेटिरहेका छन् ओलीलाई । त्यसमाथि प्रचण्डलाई पूरापुर साथ दिएका नेपाल–खनाल र गौतमलाई जानकारी नदिइ प्रचण्ड एक्लै एक्लै बालुवाटार गइरहँदा उनीहरु बिच्किन थालेका छन्।

कतै प्रचण्डले धोका त दिने हैनन् ? भन्ने आशंका उनीहरुको मनमा पलाउन थालेको छ । अझ माधव नेपालले भेट गर्न खोज्दा पनि आज थाकियो भोलि भेटौंला भन्ने सन्देश प्रचण्डले दिन थालेपछि उनीहरु बिच्किनु स्वभाविकै हो । 

एक दुई दिनमा वार कि पार हुने भनिएको यो पार्टीको आन्तरिक किचलो अन्ततः फुटतिरै पो गएर विश्राम लिन्छ कि भन्ने चिन्ता पनि छ । ओली र प्रचण्ड मिलेर मात्र पनि नेकपाको फुट रोकिने सम्भावना छैन । 

यद्यपि बाँकी नेताहरुले नेकपा फुटोस् भन्ने चाहेका छैनन् । जति हतारो ओलीलाई छ अरु कुनै नेतालाई छैन।

चीनले थेग्ने सम्भावना, थाम्छिन् यान्छीले ?
चिनियाँ सक्रियता एकाएक बढेपछि नेकपाको स्थायी कमिटी बैठक बुधबार मात्र बस्ने गरी स्थगित गरिएको छ । ताकि चीनले उद्दार गर्न सकोस् । 

चीनले सक्रियता देखाउँदा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो अहिले मौन बस्दा फेरि पार्टी फुटेर टुक्रा हुने संकेत पाएपछि चीनको चासो पुनः बढेको हो । 

चिनियाँ राजदूत होउ यान्छीले आइतबार साँझ वरिष्ठ नेता नेपालसंग उनकै घरमा गएर भेटेर छलफल चलाएपछि खुलेको चीनको सक्रियताकै कारण नेताहरु दवावमा आएका छन् । 

यसका लागि नै स्थायी कमिटी बैठक दुई दिन सारेर नेताहरु छलफलमा जुटेका हुन् । पार्टी एकता हुँदा पनि यान्छीको सक्रियता बढेको थियो । 

अहिले उनले पदीय मर्यादासमेत तोडेर चिनियाँ झण्डा बिना नै निजी गाडीमा रहेर नेताहरुलाई भेटिरहेकी छिन् । व्यापारीलाई भेटिरहेकी छिन् । ताकि आफ्नो चिनियाँ व्यापार पनि फस्टाओस् । 

के भन्छन् सुवास नेम्वाङ ?
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ भने वार्ता निकै सकारात्मक भएको बताउँछन् । उनले भने, ‘दुई नेताबीचको वार्ता सकारात्मक छ, उहाँहरु छिट्टै निष्कर्षमा पुग्नुहुन्छ ।’ 

ओलीले आफूलाई प्रधानमन्त्रीबाट राजीनामा गर्न दवाव आएपछि एमाले र माओवादीका केही विश्वासिला मन्त्रिहरुलाई डाकेर योजना बनाउँदै थिए । उक्त बैठकमा रामबहादुर थापा ‘बादल’ पनि थिए । 

अचानक ओलीले प्रचण्ड वा माधव नेपाललाई प्रधानमन्त्रीको जिम्मा दिनुभन्दा सुवास नेम्वाङलाई दिने भन्दै उनको नाम अगाडि सारे । त्यसपछि बादल पनि बिच्किए । 

नेम्वाङमात्र अहिले ओलीका विश्वासिला पात्र बनेका छन् । नेम्वाङ वार्ता सकारात्मक चलिरहेकाले केही दिनमै समाधान निस्किने बताइरहेका छन् । तर उनले वा ओलीले खोजेको समाधानमा प्रचण्ड, नेपाल, खनाल र गौतम मिल्ने सम्भावना कहीं कतै देखिँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ