- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साख गिराउने काम पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, दीप बस्नेत, राजनारायण पाठकले गरेकै थिए अब भने वर्तमान सचिव महेश्वर न्यौपानेलाई समेत अख्तियारमै बसेर त्यसको गरिमामा आँच पुर्याउने काम गरिरहेको आरोप लाग्न थालेको छ।
अख्तियारका सचिव न्यौपानेले आफ्नै नातेदार प्रयोग गरी अख्तियारबाट ‘स्टीङ अप्रेसन’ का नाममा निर्दोषहरुलाई फसाउने गरेको खुलेको छ । यसरी फसाइएका निर्दोष दुई राष्ट्रसेवक कर्मचारी र प्रहरी अधिकृतले विशेष अदालतबाट सफाइ पाएका छन् । न्यौपानेका भान्जा सुजन पौडेलले मामाको नाम भजाउँदै विभिन्न ब्यक्तिलाई तर्साउने र स्वार्थपूर्ति नभए फसाउने गरेका छन् । सचिव न्यौपानेका २६ बर्षीय भान्जाले अख्तियारको आडमा धेरैलाई तर्साएर २५ औं करोड रुपैयाँ आर्जन गरेको उनलाई चिन्नेहरु बताउँछन्।
भान्जा पौडेलले तर्साउँदै घुस असुल्ने र पक्राउ गरिएकाहरूसँग पनि भनेजति रकम दिए बयान कमजोर दिएर विशेष अदालतबाट मुद्दा जिताइदिने भनी मोलमोलाइ गर्ने गर्दै आएको आरोप छ । मामा न्यौपाने अख्तियारमा सचिव भएर आएपछि भान्जा सुजनले २०७५ वैशाख १९ मा नापी कार्यालय साँखु, काठमाडौंका प्रमुख नापी अधिकृत भागवत साहलाई अख्तियार अनुसन्धान दुरुपयोग आयोगबाट पक्राउ गराए । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटीमा रहेको ३६ रोपनी जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग कार्यालय सहयोगी खेमराज भण्डारीमार्फत् २ लाख ५० हजार लिएको भन्दै साहलाई कार्यालय परिसरबाट पक्राउ गरिएको थियो । त्यो ३६ रोपनी जग्गा कित्ताकाट गरी २ लाख ५० हजार घुस दिने सेवाग्राही थिए, काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका ३ बस्ने सुजन पौडेल । त्यो ३६ रोपनी जग्गा पनि उनकै थियो ।
अख्तियारकै विज्ञप्तिका अनुसार साह आफैले घुस लिएका थिएनन् । रंगेहात घुस लिँदा लिने व्यक्तिलाई पक्राउ गरिन्छ । करिब दिउँसोको २ बजेको थियो साह कार्यालयमै थिए । कार्यालयको ढोकामा रहेका भण्डारीलाई पौडेलले पैसा हातमा लगाइदिएपछि साहलाई तत्काल पक्राउ गरिएको थियो । साहले केही दिनअघि विशेष अदालतबाट सफाइ पाइसकेका छन् ।
२०७५ असोज २१ मा महानगरीय प्रहरी वृत्त, बौद्ध काठमाडौंका प्रहरी नायब उपरीक्षक डिएसपी श्यामकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्यो। सेवाग्राहीबाट सोनी कम्पनीको टिभी खरिदबापत १ लाख ४० हजार घुस लिएको आरोपमा राईलाई पक्राउ गरियो । सोनी कम्पनीको टिभी खरिदका लागि १ लाख ४० हजार घुस दिने सेवाग्राही पनि उनै सुजन पौडेल थिए । सुजन पौडेलको बौद्ध प्रहरी बृत्तसँग कुनै काम थिएन । पौडेल सेवाग्राही नभएकाले फसाउने नियत देखिएकाले अदालतले राईलाई सफाइ दिएको बताइएको छ।
अख्तियारले नै खिचेको भिडियोमा राईले पैसा नलिएको र उनी ढोका खोल्न आउने क्रममा पौडेलले कागजमा प्याक गरिएको पैसा घर्रामा हालेको देखिएको थियो । डीएसपी राईसँग घनिष्ट सम्बन्ध कायम गरी ३ महिनादेखि उनीसँग भएका कुराकानी रेकर्ड गरिएको र त्यो अडियो समेत अदालतमा पेश गरिएको थियो । लामो समयदेखि कुराकानी रेकर्ड गर्ने र काम कुनै नभएका पौडेलले घर्रामा पैसा राखेको देखिएपछि नियत गलत देखी अख्तियारले सफाइ दिएको थियो ।
यसरी अख्तियारले रंगेहात समात्दा पनि फसाउन खोजिएको, अभियोजन पटक पटक केरमेट गरिएको, प्रमाणहरु कमजोर रहेको, रंगेहात समातेको व्यक्तिको हात पानीमा चोपल्दा रातो पानी आउनुपर्नेमा त्यो नदेखिएको कारण देखाएर विशेष अदालतबाट सफाइ पाएका छन् ।