काठमाडौं। अमेरिका र इरानबीचको तनाव पछिल्लो समय उत्कर्षमा पुगेको छ। तेस्रो विश्वयुद्ध नै यो तनावको कारण शुरू हुने हो कि भन्ने आशंका एकाथरी मानिसले गरेका छन्। त्यसो त उनीहरूको बीचमा युद्धको शुरूवात नै भइसकेको छ। प्रत्यक्षरुपमा इरानमा आक्रमण नगरे पनि अमेरिकाले दोस्रो दर्जाका सबैभन्दा शक्तिशाली व्यक्तिलाई मारेसँगै उनीहरूको बीचमा तनाव बढेको हो।
इरानको विशेष सैन्य दस्ता कुड्स फोर्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको गएको शुक्रबार इराकको राजधानी बग्दादमा ट्रम्पको आदेशमा भएको हवाई आक्रमणमा परि मृत्यु भएको थियो। इरानले यो आक्रमणको बदला लिने चेतावनी दिए अनुसार नै बुधवार इराकको अमेरिकी सैन्य शिविरलाई लक्षित गरेर आक्रमण गरेको थियो। इरानले इराकको इरबिल र अल असदमा रहेका अमेरिकी सैन्य शिविरमा १५ वटा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो।
त्यसपछि अमेरिका थप क्रुद्ध हुने र इरानमाथिको आक्रमण तीव्र बनाउने अपेक्षा थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा सामान्य प्रतिक्रिया दिए। यसलाई धेरैले सम्भावित युद्धको खतरा रोक्ने समझदारीपूर्ण निर्णयको रुपमा लिएका छन्। बुधवार डोनाल्ड ट्रम्पले इरानले इराकमा रहेका अमेरिकी सैन्य शिविरलाई लक्षित गरी गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कुनै मानवीय क्षति नभएको बताएका छन्। तर, इरानले भने यो आक्रमणमा ८० ‘अमेरिकी आतंककारी’ मारिएको दाबी गरेको छ। ट्रम्पले गरेको सम्बोधनमा उक्त मिसाइल आक्रमणमा अमेरिकी वा इराकी कसैको पनि ज्यान नगएको र भौतिक क्षति पनि निकै कम मात्रै भएको दाबी गरेका हुन्।
यसअघि इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले भने सो आक्रमण अमेरिकाको अनुहारमा झापड रहेको प्रतिक्रिया दिएका थिए। उनले इरानसँग निहुँ नखोज्न पनि चेतावनी दिएका थिए। तर, अमेरिकी राष्ट्रपति ट्रम्पले भने आक्रमणबाट कुनै क्षति नभएको र इरान नै निचो देखिएको बताए।
इरानका सर्वोच्च नेता खामेनीले मध्य पूर्वमा अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्ने बताएका छन्। इरान मध्यपूर्वको शक्ति राष्ट्र हो। सो क्षेत्रको अर्को शक्ति राष्ट्र साउदी अरेबियासँग अमेरिकाको मित्रता छ। शुक्रबार अमेरिकाले गरेको हवाई आक्रमणमा सुलेमानीसँग इरानको समर्थन गर्दै आएका इराकी लडाकुहरूको पनि मृत्यु भएको थियो। उनीहरुले पनि अमेरिकासँग बदला लिने बताएका छन्।
यस्तोमा अमेरिकाले थप आक्रमणको नीति लिने र मध्यपूर्वमा थप अशान्ति मच्चिने अनुमान गरिएको थियो। तर, बुधबार प्रतिक्रिया दिने क्रममा उनले यसअघि चेतावनी दिएको जस्तो सैन्य आक्रमणको घोषणा गरेनन्। ट्रम्पले यसअघि अमेरिकी व्यक्ति वा अमेरिकी सम्पत्तिमाथि नोक्सानी हुने कुनै गतिविधि भए त्यसको जवाफ सैन्य कारबाही मार्फत दिने चेतावनी दिएका थिए।
तर, ट्रम्पले सम्बोधनको क्रममा त्यस्तो कुनै सैन्य अभियानको घोषणा गरेनन्। उनले भनेका छन्, ‘इरान कमजोर देखिएको छ र यो कुरा सबैका लागि खुशीको कुरा हो।’ अमेरिका आर्थिक र सैन्य हिसाबले अति बलियो रहेको बताउँदै उनले उत्कृष्ट सैन्य संसाधान छ भन्दैमा प्रयोग गर्नु पर्छ भन्ने नरहेको उल्लेख गरेका छन्।
यसले तत्कालै युद्धको अवस्था टरेको विश्लेषकहरुले बताएका छन्। तर, अमेरिकाले युद्धको सट्टामा तत्कालै इरानमाथि नयाँ आर्थिक प्रतिबन्ध लगाउने भएको छ। व्यवहार परिवर्तन नभएसम्म सो प्रतिबन्ध जारी रहने ट्रम्पले बताएका छन्। इरानले परमाणु कार्यक्रम रोक्नु पर्ने र आतंकवादीलाई गर्दै आएको सहयोग अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
तर, इरानको पक्षबाट भने अझै तनाव कम हुने संकेत भने देखिएको छैन। बिहीवार इराकमा २४ घण्टाचभित्रमा अर्को आक्रमण पनि भएको छ। इराकको विदेशी दूतावासहरु रहेको ग्रीन जोनमा दुई ठूला विष्फोट भएका हुन्। यो हमलाको जिम्मा कसैले लिएको छैन। तर, अमेरिकी अधिकारीहरुले भने इराकमा रहेका इरान समर्थित शिया विद्रोही संगठन ‘हाशेद’ को हात रहेको हुनसक्ने आशंका गरेका छन् । इरान समर्थित संगठन पीएमएफले हमलामा पाँच सुरक्षाकर्मीको मृत्यु भएको बताइसकेको छ।
यस्तोमा यसै हुन्छ भन्न सकिने अवस्था भने छैन। तर, तत्काल अमेरिकाको तर्फबाट मध्यपूर्वमा कुनै आक्रमण नहुने अनुमान धेरैको छ। अमेरिकाले दिएको लचिलो प्रतिक्रियाले विश्व बजारमा देखिएको आशंका केही कम भएको छ। त्यसो त अमेरिकाले इराकमा इरानले गरेको आक्रमणमा पनि खासै क्षति नभएको बताएका छन्।
अमेरिकाको दाबीलाई मान्ने हो भने इरानले गरेको आक्रमण संयोग मात्र हो कि देखाउनलाई मात्र गरिएको हो भन्ने चर्चा पनि शुरू भएको छ। इरानले आफ्नो स्वाभिमान बचाउनका लागि यो आक्रमण गरेको हो भन्नेहरु पनि छन्। त्यसो त अमेरिकाले इराकमा रहेको सैन्य शिविरमा आफ्नो सुरक्षा व्यवस्था निकै कडा पारेकाले सम्भावित आक्रमणको चाल पाएर सबै सेनालाई शिविरबाट हटाएको हुनसक्ने केहीको भनाइ छ।
अत्याधुनिक हतियारको धनी अमेरिकाको लागि सामान्य आक्रमणबाट बच्नु ठूलो कुरा भने होइन। तर, इराकमा उसका लागि सबै स्रोत र साधन उपलब्ध नहुन पनि सक्छ। अमेरिकाको लचिलो प्रतिक्रिया आउनुको अर्को कारण राष्ट्रिय तथा अन्तरराष्ट्रिय दबाब पनि हो। अमेरिकाले इराकको विमानस्थलबाहिर कारमा रहेका इरानी सैन्य अधिकारी कासिम सुलेमानीको हत्या गर्नुलाई अन्तरराष्ट्रिय समुदायले अमेरिकाको गलत कदमको संज्ञा दिएका छन्। अमेरिका भित्रै पनि ट्रम्पको यो निर्णयको आलोचना हुँदै आएको छ।
अमेरिकाका विपक्षीले ट्रम्पको यो निर्णयलाई निशाना बनाउँदै आफ्ना विभिन्न चरणका योजना अघि सारेका छन्। अमेरिकाको दुवै सदनमा ट्रम्पलाई इरानसँग सम्बन्धित कुनै पनि सैन्य कारबाहीको निर्णय लिन नपाउने गरी बञ्चित गर्ने प्रस्ताव पेश भइसकेको छ। यसबाट पनि ट्रम्प केही हच्किएका हुन सक्छन्। त्यतिमात्र होइन, ट्रम्पको लागि अर्को महत्वपूर्ण पक्ष आउँदै गरेको राष्ट्रपतीय निर्वाचन हो।