arrow

श्रीमद्भगवद्गीता अध्याय सातः ज्ञानविज्ञानयोग

भगवान् छन् भनेर बुझ्नु ज्ञान हो भने भगवान् भक्तिमा रहेर अनुभव गर्नु विज्ञान हो

logo
राजु नेपाल,
प्रकाशित २०७७ वैशाख २४ बुधबार
shreemad-bhagbat-geeta-raju.gif

श्रीमद्भगवद्गीताको अध्याय सात अर्थात् ज्ञानविज्ञानयोग । तीस श्लोक भएको ज्ञानविज्ञान योगको यो अध्यायलाई श्रीमद्भगवद्गीताको परमज्ञान अध्याय पनि भनिन्छ । यस अध्यायमा भगवान् श्रीकृष्णले अर्जुनसँग ज्ञानका बारेमा सविस्तार वर्णन गर्नुभएको छ । ज्ञान भनेको भगवानलाई चिन्नु हो भन्ने कुरा बताउँदै भगवान् यस अध्यायमा आफू को हूँ भन्ने बारेमा अर्जुनलाई जानकारी दिनुहुन्छ । यहाँ आफूलाई बुझ्नका लागि भगवानले दुईवटा सर्त राख्नुभएको छ । ती हुन्,  भक्ति र योग । 

भगवान् भन्नुहुन्छ– मेरो भक्तिमा लागेर योगारुढ भएको मानिसले मात्र मलाई चिन्न र बुझ्न सक्छ । यो अध्यायको पहिलो श्लोकमा यो शर्त राख्दै भगवान् भन्नुहुन्छ–  ध्यान, कर्म, ज्ञानले मात्रै पनि मलाई चिन्न वा बुझ्न सकिन्न, बरु मलाई बुझ्न त मप्रति प्रेम बनाएर मेरो आश्रयमा आउनुपर्छ । अर्जुनमा त्यो गुण थियो तसर्थ भगवान् अर्जुनलाई यो अध्यायमा आफ्नो परिचय दिनुहुन्छ । पहिलोदेखि तीसौंसम्मका सबै श्लोकमा भगवान् नै बोल्नुहुने यो अध्यायमा अर्जुन एकटक लागेर भक्तको रुपमा भगवानलाई हेरेर बस्छन् र बुझ्ने प्रयास गर्छन् । 

यो अध्याय परमज्ञानको अध्याय भएकाले यसको सुरूमै भगवान् श्रीकृष्णले यो ज्ञान प्राप्त गरिसकेपछि जान्नका लागि अरु केही बाँकी नै हुँदैन अर्जुन भन्नुभएको छ । भगवानका अनुसार परमज्ञान नै हामीले प्राप्त गर्ने ज्ञानको उत्कर्ष हो । यो ज्ञान पाइसकेपछि अब मुक्ति मार्ग उतिधेरै टाढा छैन । ज्ञानहरुमा पनि यति महान ज्ञान के हो त ? संसारमा यस्तो कुन ज्ञान होला जुन जानेपछि अरु कुनै जान्नै नपर्ने ? उत्तर सजिलो छ, जान्नुपर्ने कुराका बारेमा थाहा हुन्छ तर जान्न गाह्रो हुन्छ र त्यो हो भगवानलाई जान्नु । हो जब हामीले भगवानलाई चिन्दछौँ अब चिन्नपर्ने अरु कुनै चिज छैन । 

अध्याय सातमा आइसकेपछि भगवान् श्रीकृष्णले यसो भन्नुको तात्पर्य के हो भने जब अर्जुनले श्रीकृष्णलाई बुझ्दछन् या जान्दछन् त्यसपछि उनले जान्नका लागि केही पनि बाँकी रहँदैन । उहाँले संसारको अन्तिम अर्थात् परमज्ञान भनेको श्रीकृष्णलाई बुझ्नु नै हो भन्नुहुन्छ र आफूलाई बुझाउने प्रयास गर्नुहुन्छ । यस ज्ञानविज्ञान योग अन्तर्गत सबै तीस श्लोकको पुरा अर्थ पनि बुझ्नुपर्ने, जान्नुपर्ने र ज्ञानको अन्तिम लक्ष्य श्रीकृष्ण हुन् भन्ने हुन आउँछ । 

यो ज्ञानविज्ञानयोगको सातौं अध्यायका तीस श्लोकलाई पाँच भागमा बाँडेर व्याख्या गर्न सकिन्छ । यो अध्यायको पहिलो भाग अर्थात् पहिलो श्लोकदेखि सातौं श्लोकसम्म भगवान् ज्ञान र विज्ञानको विषय बताउनुहुन्छ । 

भगवान् भन्नुहुन्छ– 

भूमिरापोऽनलो वायुः खं मनो बुद्धिरेव च ।
अहड्ढार इतीयं मे भिन्ना प्रकृतिरष्टधा ।।

पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि र अहंकार गरी यी आठवटाको संयोग नै भगवानको अपरा शक्ति हो । यी शक्तिहरु आफैले कसैलाई पनि हानी या राहत पुर्‍याउँदैनन । बलिरहेको आगो हामीले ताप्यौँ भने न्यानो दिन्छ, खेलायौँ भने पोल्छ र खाना पकायौँ भने पाक्छ । आगोलाई मानिसले कसरी प्रयोग गर्छ उसले आफ्नो रुप त्यसैगरी देखाउने हो । त्यस्तै पृथ्वी, जल, आकाश, मन, बुद्धि र अहंकारको हकमा पनि सोही नियम लागू हुने हो । यी आफैमा शक्तिशाली त छन् तर जिवात्माले नचलाएसम्म उनीहरुले आफ्नो गुण प्रर्दशित गर्दैनन । 

माथिका भगवानका अपरा आठवटा शक्तिलाई जसले प्रयोग गर्छ, ती भौतिक साधनहरुलाई जसले प्रयोग गर्छन् ती जिवात्माहरु भगवानका पराशक्ति हुन । भगवानको अपरा शक्ति अचेतन हुन्छ भने परा शक्ति चेतन हुन्छ । यसअर्थमा मानिस पनि भगवानको परा शक्ति हो । आठवटा अपरा शक्तिका अनुभव नै भोग, काम र सुखका अनुभव हुन्, विज्ञान् हुन् । ती उपभोग हाम्रा इन्द्रियहरु तथा मन, बुद्धि र अहंकारको माध्यमबाट हुन्छ । 

आकाश तत्वको बिषेशता कानले ध्वनी सुनेर भोग गरिन्छ भने वायु तत्वको विशेषता छालाले स्पर्श गरेर उपभोग गरिन्छ । जल तत्वको रस जिब्रोले स्वादबाट उपभोग गरिन्छ । स्वाद गुलियो, अमिलो, पिरो, टर्रो, तितो र नुनीलो गरी छ प्रकारका हुन्छन् । अग्नि तत्वको रुप वा तेज आँखाले हेरेर उपभोग गरिन्छ भने पृथ्वी तत्वको सुगन्ध नाकले सुँघेर उपभोग गरिन्छ । मनले मानसम्मान पाउँदा खुसी भएर उपभोग गर्छ भने आराम सुखसयलको माध्यमबाट बुद्धिले उपभोग गर्छ । बढाईं प्रशंसाको माध्यमबाट अहंकार उपभोग गरिन्छ । 

जब यी दुवै शक्तिलाई एकै स्थानमा राखिन्छ वा जब यी दुवै एकैस्थानमा बस्छन् त्यसलाई प्रकृति भनिन्छ । प्रकृति भनेको डाँडा पाखा, खोला, नाला मात्रै हैन, यो त भगवानको शक्ति हो । यस अर्थमा जसले आफू भगवान् मान्दिन, यो श्रृष्टि त केवल प्रकृतिको अधिनमा छ भन्छ उसले पनि अप्रत्यक्ष रुपमा भगवान् मानिरहेको हुन्छ किनकी प्रकृति आफैं भगवानको एउटा शक्ति हो । 

जब म नै यसको शक्ति हूँ भने अब श्रृष्टि र प्रलय मेरा कर्म हुन्, यी सबै मबाट आवश्यकता अनुरुप हुन्छन् र यी सबै भगवान् अर्थात् ममा आश्रित छन् । यो सबै संसार जोसँग आश्रित छ त्यो को हो त ? उत्तर सजिलो छ, त्यो श्रीकृष्ण हो । अब हामीमा अर्को जिज्ञासा आउन सक्छ आखिर श्रीकृष्ण को हो वा श्रीकृष्ण के हो ? उत्तर सजिलो छैन । तैपनि सामान्य अर्थमा गृहस्थीले श्रीकृष्ण बुझ्ने केही सरल तरिका भने हुन सक्छन् ।

साधारण बोलिचालीको भाषामा र भाषा तथा व्याकरण केलाउने हो भने कृष्ण कृष् धातुबाट बनेको शब्द हो । कृष् धातुको अर्थ हुन्छ आकर्षण गर्नु । यसकारण यसको अर्थ हुन आउँछ जसले आर्कषण गर्छ त्यो नै कृष्ण हो । अहिले कलियुगमा यदि तपाईंलाई केही कुराले आकर्षित गर्छ र तपाईं त्यतै समाहित हुन चाहनुहुन्छ भने त्यहाँ पनि तपाईंले कृष्णको रुप देख्नुहुन्छ । आफूलाई त्यसरी आकर्षित गर्ने व्यक्ति, वस्तु या ठाउँ जसको शरणमा परेपछि आनन्दानुभूति हुन्छ भने त्यो हाम्रा लागि भगवान् हुन आउँछन् र यो नै कृष्ण हो । 
त्यसैले आफूलाई जसले आकर्षण गर्दछ र भगवानको दिव्य स्वरुपलाई जसले आकर्षित गर्दछ उसलाई जान्नु नै परमज्ञान हो । त्यही नै ज्ञानको अन्तिम विन्दु हो । यस अर्थमा पनि भगवानलाई जान्नुभन्दा पर अर्को कुनै ज्ञान छैन ।  

यसरी प्रकृतिका कुरा गरिसकेपछि यस अध्यायको दोस्रो भाग अर्थात् आठौं श्लोकदेखि बाह्रौं श्लोकसम्म भगवान् सम्पूर्ण पदार्थमा भगवानको व्यापकताको बारेमा बताउनुहुन्छ । भगवान् अर्जुनलाई भन्नुहुन्छ– अर्जुन ! अब तिमीलाई म अलि विस्तृत रुपमा म कहाँ कसरी रहन्छु भन्ने कुरा बताउँछु सुन– सबैभन्दा ठूलो सत्य भनेको म हूँ, म भन्दा अर्को कुनै सत्य नै छैन । कृष्णभन्दा अर्को कुनै सत्य छैन । कृष्ण नै सत्य हो र सत्य नै कृष्ण हो ।

भगवान् आफ्नो व्यापकताबारे व्याख्या गर्दै अगाडि भन्नुहुन्छ– हे अर्जुन तिमीले पिउने जलको म स्वाद हूँ । जलमा कस्तो स्वाद हुन्छ हामी कल्पना गर्न सक्छौँ । जसले जलमा स्वाद प्राप्त गर्छ उसले भगवानलाई जान्दछ त्यो नै सत्य हो । हामीले यदाकदा सुन्ने गरेका छौँ कि पानीको कुनै स्वाद हुँदैन, पानी स्वादहीन हुन्छ । यदि हामीले जलमा कुनै स्वाद लिन सक्दैनौँ भने हामीले भगवानलाई चिनेका छैनौँ । त्यसैले जलको स्वादबारे व्याख्या गर्दै भगवान् भन्नुहुन्छ– संसारमा जिवात्माले प्रयोग गर्ने जलको म स्वाद हूँ । 

श्रीमद्भगवद्गीताको अहिलेसम्मका उपदेशहरुले भगवानलाई चिनाउन प्रयास भएको छ । त्यसका लागि भगवान् अर्जुनलाई शुद्ध पार्दैहुनुहुन्छ । शरीर, मन, वचन र कर्मले जब कोहि मानिस शुद्ध हुन्छ तब उसले भगवानलाई चिन्न सक्छ । यहि कारण भगवान् आफूलाई चिनाउनु भन्दा अगाडि अर्जुनलाई अघिल्लो अध्यायमा अष्टाङ्गयोगका माध्यमबाट शुद्ध पार्दै हुनुहुन्थ्यो । 

जब मानिस इन्द्रियभोगको इच्छाबाट बाहिर आउँछ, जब कर्मफलको आशक्तिबाट बाहिर आउँछ तब उसले भगवानलाई चिन्न सक्छ । यसैगरी जलको स्वाद थाहा पाउनको लागि पनि स्वाद लिने जिब्रो शुद्ध हुनु जरूरी छ । हामीले खाने विभिन्न प्रकारका खानाले हाम्रो जिब्रो अपबित्र भएको छ । त्यस्तो अपवित्र जिब्रो जो मीठो मात्रै रुचाउँछ, जो अमिलो पीरो मन पराउँछ उसले भगवानको विभूतिको रुपमा रहेको जलको स्वाद कसरी बुझोस् । जिब्रोलाई शुद्ध पारेपछि जल पिउँदा जलको स्वाद गुलियो हुन्छ । जिब्रो शुद्ध पार्ने बिधि छन् । तर सबैभन्दा सजिलो बिधि भनेको जल ग्रहण गर्नुभन्दा केही समय पहिले अमला खानु हो । अमलाले जिब्रो शुद्ध पार्छ र अमला खाएपछि ग्रहण गरिने जलको स्वाद गुलियो हुन्छ । 

भगवान् अगाडि भन्नुहुन्छ– म मानिसमा रहेको शक्ति हूँ । सूर्य र चन्द्रमाको प्रकाश म हूँ । यहाँ भगवानले आफूलाई किन चन्द्रमा र सूर्य दुवैको प्रकाश हूँ भन्नुभएको होला त भन्नेमा पनि कुनै न कुनै कारण छ । श्रीमद्भगवद्गीताको कुनै पनि श्लोकका कुनै पनि शब्दहरु विनाप्रयोजन भगवान् वाणीको रुपमा हामीले पाएका छैनौ । सूर्यको प्रकाशमा तातोपन हुन्छ भने चन्द्रमाको प्रकाशमा शितलता हुन्छ । भगवानले आफूलाई सूर्यमा जस्तो न्यानो तेज प्रकाश र चन्द्रमामाजस्तो शितल प्रकाश आफैमा छ भनेर आफ्नो सर्वव्यापी स्वरुपको परिचय दिँदै यी दुईटैलाई जोडेर भगवान् भन्नुहुन्छ – हे अर्जुन ! म सूर्य र चन्द्रमा दुईटैको प्रकाश हूँ, ताप हूँ । 

अघि भनिएका पाँचवटै तत्वहरुका गुण पनि मै हूँ, पृथ्वीको सुगन्ध, अग्निको तेज, आकाशको ध्वनी, जलको रस र वायुको स्पर्श मै हूँ । यतिमात्रै होइन, जो बुद्धिमान छ, त्यो पुरुषको तेज, तपस्वीको तप यी सबै कुराहरु म हूँ भनिसकेपछि अन्त्यमा भगवान् भन्नुहुन्छ,

बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम् ।
बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम् ।।

संसारको अस्तित्व कुनै बीजबाट अंकुर हुन्छ र त्यो बीज अविनाशी हुन्छ, कहिल्यै नाश हुँदैन, त्यो बीज आत्मासमान हुन्छ । हो त्यो बीज पनि म नै हूँ । अघिल्ला अध्यायमा भगवानले आत्मालाई अविनाशी भन्नुभएको थियो र यहाँ आएर भगवान् बीजलाई अविनाशी भन्दै त्यो आफू हूँ भन्नुहुन्छ । यस अर्थमा हामीले बुझ्नुपर्ने कुरा के हो भने, हरेक जीवमा रहने आत्मा नै भगवान् हो, श्रीकृष्ण हो । 

यस अध्यायको तेस्रो भाग अर्थात् तेह्रौँ श्लोकदेखि उन्नाइसौं श्लोकसम्म भगवानले धर्मअनुसारका आचरण, असुर र भगवानका भक्तका बारेमा कुरा गर्नुहुन्छ । प्रकृतिमा बिद्यमान सत्य, रज र तम गरी तीन प्रकारका गुणहरुबारे बताउँदै भगवानले भन्नुहुन्छ– यी सबै गुणहरु पनि मै हूँ,  यी सबै गुणहरु मेरै अधीनमा छन् तर म ती गुणहरुको अधीनमा छैन । 

यी कुरा कसले बुझ्छ त ? यी कुरा जसोतसो सबै सामान्य मानिसहरुले बुझ्न कठिन पर्छ । यी कुरा कसैले सुनाईदिएको या भनिदिएको भरमा कसैले पनि बुझ्दैनन् यसका लागि ठूलो तपस्या चाहिन्छ, ठूलो भक्ति चाहिन्छ, स्थिरता चाहिन्छ र अटल आत्मविश्वास चाहिन्छ । यी सबै कुराहरु बुझ्नका लागि अर्जुन ! मानिसहरु मेरो शरणमा आउनुपर्छ । मेरो शरणमा नआईकन कसैले पनि मलाई बुझ्न सक्दैनन । यदि कसैले म भगवानलाई बुझ्छु, भगवानलाई जान्दछु भन्छ भने ऊ मेरो शरणमा आउनुपर्छ । 

त्यसैले भगवान् बारम्बार दोहोर्‍याउँदै भन्नुहुन्छ– शंका गर्नेले कुनै पनि हालतमा भगवानलाई बुझ्न सक्दैन । भगवान् होलान् कि नहोलान, भगवानको शक्ति छ कि छैन भनेर जसले आफ्नो मन दुबिधामा राख्छ, जो दुबिधामा पर्छ त्यस्तो मान्छेले भगवानलाई कहिल्यै पनि बुझ्न सक्दैन । जसरी आगो नबालिकन तपस्या हुँदैन त्यसैगरी भगवानको भक्ति नगरि भगवानलाई बुझ्न सकिन्न । यी सबै गर्नका लागि मेरो शरणमा आउनुपर्छ । 

मेरो शरणमा दुष्टहरु कहिल्यै आउँदैनन किनभने उनीहरुमा बुझ्ने भन्ने व्यवहार हुन्न । उनीहरु बुझ्न चाहन्नन् । बुझ्न नचाहने मान्छेहरु जहिले पनि भगवान् भन्दा टाढै बस्न रुचाउँछन् । बरु भगवानको निन्दा गर्छन् । भगवानको शक्तिमाथि शंका गर्छन् । जो भगवानको शरणमा आउँदैनन ती दुष्ट हुन् । ती अधम हुन् ती अपराधीहरु हुन् । अपराधीहरुले भगवानको नजिक आउने, भगवानको शरणमा पर्ने र भगवद्धाम प्राप्त गर्ने भन्ने कुनै कुरा नै आउँदैन । 

यहाँ भगवानले नास्तिक स्वभाव भएका वा भगवानको अस्तित्व स्वीकार नगर्नेलाई असुर भन्नु भएको छ । भगवानको अस्तित्व स्वीकार नगर्नु भनेकै भगवानलाई नचिन्नु हो । जसले भगवान् चिन्दैन वा चिन्ने प्रयास गर्दैन ती अधम हुन्छन् ती मूर्ख हुन् । 

यो भागको पन्ध्रौं श्लोकमा को को भगवान्को शरणमा आउँदैनन् भनेर श्रीकृष्णले किटेरै अर्जुनलाई भन्नुहुन्छ । 

न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ।
माययापहृतज्ञाना आसुरं भावमाश्रिताः ।।

मूर्ख, अधम, मोहग्रस्त र नास्तिक स्वभावका गरी चार प्रकारका मानिसहरु भगवानको शरणमा आउँदैनन् । यी सबै भनेका आफ्नो मर्यादामा नरहने पशु भन्दा पनि तल्लो स्तरका मानिसहरु हुन् । मूर्ख भनेको ठीक वेठीक छुट्ट्याउन नसक्ने हो भने अधम भनेको शास्त्र विपरित कार्य गर्ने हो । मोहग्रस्त भनेको आफ्नो अधिकार नभएको वस्तुमा आशक्ति राख्ने हो भने नास्तिकहरु भगवानको अस्तित्व स्वीकार नगर्ने हुन् । 

को को मेरो शरणमा आउँछन् त भन्दै भगवान् सोह्रौं श्लोकमा भन्नुहुन्छ–  

चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोऽर्जुन ।
आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ ।।

हे अर्जुन ! पवित्र आत्मा भएका मानिसहरु चारप्रकारका हुन्छन् जो मेरो शरणमा आउँछन् । ती हुन्, जसलाई अप्ठेरो परेको छ, जो ज्ञानको चाहना राख्छन्, जसले धनको चाहना राख्छन् यी तीन प्रकारका मानिसहरु मेरो शरणमा आउँछन । धनको चाहाना भएको भनेर भगवानले यहाँ त्यस्ता व्यक्तिलाई भन्नुभएको छ, जो आफू धन चाहान्छ तर भगवान् भक्तिबाट प्राप्त र भगवानकै भक्तिका लागि प्रयोग गर्ने प्रायोजनका लागि । उसलाई अरु कुनै माध्यमबाट धन र बिलास चाहिएको छैन । अप्ठेरोमा परेका भनेका बाटो बिराएका मानिसहरु हुन् भने ज्ञानको चाहाना भएकाहरु स्थितप्रज्ञ हुन् । 

यस्तै अर्को चौँथो प्रकारका मानिसहरु पनि छन् जो ब्रह्मज्ञानको खोजीमा हुन्छन् वा जो ज्ञानी छन् तिनीहरु मेरो शरणमा आउँछन र मलाई बुझ्ने प्रयास गर्छन् । यी मानिसहरु संन्यासी हुन् । 

भगवान् श्रीकृष्णका अनुसार सत्य र रज गुणयुक्त मानिसहरु उहाँको शरणमा जान्छन् भने तमोगुणीहरु भगवानको शरणमा जाँदैनन । किनकी तमोगुणी मानिसहरु अधमकोटीका हुन्छन् र उनीहरु ठिक तथा बेठिक छुट्याउन समेत सक्दैनन् । 

आफ्ना भक्तहरुको बारेमा बयान गरिसकेपछि भगवान् श्रीकृष्ण के भन्नुहुन्छ भने जसले श्रीकृष्णलाई परमेश्वर भनेर चिन्छ या चिन्ने प्रयास गर्छ त्यो मेरा लागि प्रिय छ, मेरो शरणमा आउँछ र म उसलाई शरण दिन्छु तथा उसका सबै पाप नास गरिदिन्छु । 

यस अध्यायको चौँथो भाग अर्थात् बीसौंदेखि तेइसौं श्लोकसम्म भगवान् भन्नुहुन्छ– अल्पबुद्धिका मानिसहरु भगवानको पूजा गर्छन् र भगवानको पूजा गर्नुको पछाडी उनीहरुको केही निश्चित चाहना हुन्छ । विशेषतः त्यस्ता मानिसहरु इन्द्रिय तृप्तीका लागि या कसैलाई केही चाहियो भने इच्छा पूर्तिका लागि भगवानको पूजा गर्छन् र सन्तुष्ट हुन्छन् । त्यति गर्दा गर्दै पनि ठीकै छ नि त भनेर तिनीहरुलाई मैले क्षणिक र सीमित फल प्रदान गर्दछु । किनभने मेरो शरणमा आउने जो कसैलाई पनि मैले खाली हात पठाउने गरेको छैन । तर यस्ता रजोगुणीहरु अत्यन्तै धेरै पूजा पाठमा र ध्यानमा लागे भने यिनिहरुमा इन्द्रिय तृप्तिको चाहना हराउँछ र मेरो शरणमा आउनुपर्छ । 

एउटा उद्देश्यका लागि गरिने लगातारको ध्यान र पूजापाठले पनि मानिसलाई इन्द्रिय तृप्तिको चाहना गर्नबाट मुक्त गराउँछ र अन्त्यमा ऊ मेरो शरणमा आइपुग्छ । तसर्थ पूजा गर्नु पनि ठिकै हो तर त्यो बाटो लामो हुन्छ । यो भक्तिमार्ग हैन अर्जुन । रजोगुणबाट भक्तिमार्ग समात्न कठिन छ । त्यसको लागि त सात्विक गुणतर्फ लाग्नुपर्छ । 

तर जो मेरा भक्तहरु छन् तिनीहरु कहिल्यै पनि इन्द्रिय तृप्तिका लागि कुनै कर्म गर्दैनन । उनीहरु मलाई जान्न र बुझ्न प्रयास गर्छन । तिनिहरु मेरो धाममा आउँछन । मेरो धाममा आएपछि कहिल्यै तिनिहरुलाई फर्किनु पर्दैन । भगवान् भन्नुहुन्छ– कतिपय मानिसहरु मलाई निराकार र साकार दुवै रुपमा बुझ्छन । दुबै रुपमा पूजा गर्छन । यी सबै मानिसले मलाई बुझिरहेका हुँदैनन । म तिनिहरुका लागि अदृश्य हुन्छु । म अजन्मा छु भन्ने तिनिहरुलाई थाहा हुँदैन । मेरा विभिन्न जन्म र कर्मका विषयमा मात्रै उनीहरु छलफल गर्छन् किनभने तिनिहरु मलाई बुझ्ने प्रयास नै गर्दैनन् । 

यस अध्यायको अन्तिम वा पाचौं भाग अर्थात् चौबीसौं श्लोकदेखि तीसौं श्लोकसम्ममा भगवान् दुई प्रकारका मानिसहरुको स्थितिका बारेमा अर्जुनलाई उपदेश दिनुहुन्छ र भन्नुहुन्छ–  हे अर्जुन ! मलाई सबै कुरा थाहा हुन्छ । हिजो र आजका कुरा पनि थाहा पाउँछु । फेरि भगवान् आफैमा त्रिकालदर्शी हुनुहुन्छ । उहाँलाई हिजो, आज र भोलिका सबै कुरा थाहा हुन्छ । तर भगवानलाई थाहा छ भन्ने कुरा मानिसलाई थाहा हुँदैन । त्यसैले मानिसहरु लोभ र मोहमा पर्छन् । तर तिमी चाँही लोभ र मोहमा पर्नुभन्दा मलाई बुझ्नका लागि मेरो सेवा गर । मेरो सेवामा जो तत्पर भइरहन्छ, तिनीहरु जहिले पनि दिव्यकर्ममा लिप्त हुन्छन् । जसले मलाई बुझ्छन तिनिहरुनै परब्रम्हलाई चिन्छन् । जसले मलाई सृष्टिको नियन्त्रक, विधायक भनेर चिनेको छ त्यो मानिसले मलाई सुरूमै बुझ्छ । त्यस्ता मानिसले मलाई सुरूमै नबुझे पनि मृत्युकालमा बुझ्छ र भगवत्धाममा जान्छ । यस अर्थमा, यदि कसैले मृत्युकालमा मात्रै पनि भगवानलाई चिन्यो भने पनि ऊ मोक्ष हुन्छ । तर त्यसको लागि प्रयास भने सुरूदेखि नै गर्नुपर्छ । 

भगवानले आफूलाई चिनाउनका लागि अहिलेसम्म ज्ञान दिँदै आउनुभएको थियो । सातौँ अध्यायमा आएर बल्ल उहाँले बाटो मोड्दै आफ्नो रुप, गुण र शक्तिका बारेमा बताउन थाल्नुभयो । उहाँले अब आफ्नै महिमा भन्न थाल्नुभयो र भन्नुभयो– अब मलाई चिन अर्जुन ! म परमब्रह्म हूँ, सृष्टिकर्ता र संहारकर्ता पनि म नै हूँ । अहिले तिमी कुरुक्षेत्रमा बसेका छौ । यो अरु केही होइन बरु यो त मेरो मायाले रचिएको मात्रै हो । मलाई जब तिमीले चिन्छौ त्यसपछि सबै मोह भङ्ग हुन्छ । 

यो अध्यायको मूल मन्त्र भनेको ज्ञानलाई अनुभव गर्न सिकाउनु हो । कुनै कुरालाई मान्नु ज्ञान हो भने अनुभव गर्नु विज्ञान हो । जब मानिसले अनुभव गर्छ उसले पूर्ण विस्वास गर्छ । आगोले पोल्छ भनेर जान्नु ज्ञान हो तर आगोमा शरीरका अंग राख्दा हुने अनुभव विज्ञान हो । यहाँ पनि भगवानले हरेक श्लोकमा अर्जुनलाई उदाहरण दिंदै भन्नुभयो । भगवान् छन् भनेर बुझ्नु ज्ञान हो भने भगवान् भक्तिमा रहेर अनुभव गर्नु विज्ञान हो।

यहि नै यो अध्यायको सार हो । 

आजका कतिपय मानिसहरु विज्ञान नै सर्वोपरि हो भन्छन् तर यो अध्यायमा भगवानका उपदेश सुनिसकेपछि के बुझिन्छ भने ज्ञान विज्ञान भन्दा पनि माथि छ । विना ज्ञानको विज्ञान आविस्कार नभएका वस्तु हुन्, जसको कुनै प्रयोजन छैन । 

हामी भगवानको पूजा मात्रै गर्ने कि भगवानको समिपमा पनि जाने ?  अझै नास्तिक बन्ने कि भगवानको अस्तित्व स्वीकार गर्ने ? प्रकृति मात्रै भन्ने कि त्यस्को श्रृष्टिकर्ताको अनुभवन पनि गर्ने ? आजको दिनको प्रश्न यो हो । 

श्रीमद्भगवद्गीताको ज्ञानविज्ञानयोग नामको सातौं अध्याय समाप्त भयो ।

(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ ।  त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ