arrow

संगठित अपराधमा संलग्न चिनियाँलाई फास्ट ट्रयाकबाट चीन लैजान रोजियो सजिलो बाटो

logo
यमुना भण्डारी,
प्रकाशित २०७६ पुष २२ मंगलबार
china-haker-nepal.jpg

काठमाडौं। जनही एक हजार नेरु तिरेर १२२ चिनियाँ थुनामुक्त भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई अभद्र व्यवहार गरेको भन्दै जनही एक हजार नेरु जरिवाना लिई थुनामुक्त गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले हाम्राकुरासँग भने, ‘एक जनाबाट एक हजार नेपाली जरिवाना भराइएको हो। टोटल हिसाब आफै निकाल्नु होला ।’ अनि, जम्मा एक हजार रुपियाँ लिएर छोड्नु भा सीडीओ सा’व ? जवाफमा उनले भने, ‘अनुसन्धानका क्रममा अन्य कुरो फेला परेन। अभद्र व्यवहारमा धेरै जरिवाना लिन कुरो पनि त भएन नि !’

अध्यागमन विभागले अब ती चिनियाँ नागरिकलाई मुलुकबाट निकाल्ने अर्थात् ‘डिपोर्ट’गर्ने तयारी थालेको छ। अध्यागमन विभागले उनीहरूको ‘डिपोर्ट’का लागि आवश्यक कागजात तयार पारिरहेको छ। यसबारे प्रमुख जिल्ला अधिकारीले आफ्नो ‘कोर्ष’ सकिएपछि आफुहरुलाई थप कुरा थाहा नहुने बताए।

अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले नेपालस्थित चिनियाँ दूतावासँगको परामर्शमा ‘डिपोर्ट’को काम भइरहेको बताए। पक्राउ परेका चिनियाँमध्ये ६७ जनासँग मात्र पासपोर्ट भेटिएको छ। पासपोर्ट नहुनेहरूको छुट्टै कागजात बनाउनु पर्ने भएकाले उनीहरुलाई मुलुकबाट निकाल्ने प्रक्रिया लम्बिएको हो। तिवारीले भने, ‘डकुमेन्ट तयार हुन दुई–तीन दिन लाग्छ, त्यसपछि उनीहरूलाई डिपोर्ट गरिन्छ।’ अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएका चिनियाँ नागरिकलाई आइतबार मात्रै प्रशासनले जरिवाना तिराएर थुनामुक्त गरेको हो।

थुनामुक्त गरिएपनि उनीहरू प्रहरीकै जिम्मामा छन्। आवश्यकताअनुसार अध्यागमन विभागमा ल्याउने र फेरि प्रहरीकैमा लैजाने गरिएको तिवारीले बताए। आफुहरुकहाँ त्यतिधेरै मान्छे राख्ने ठाउँ नभएकाले प्रहरीलाई नै राख्ने जिम्मा दिइएको तिवारीको भनाई छ।

भिसाको म्याद सकिएका विदेशी नागरिकलाई दैनिक डिपोर्ट गर्ने गरिएको उनले सुनाए। यसरी डिपोर्ट गर्दा पठाउने खर्च सरकारले नै व्यहोर्नू पर्छ। त्यही कारण चिनियाँ नागरिकले तिरेको जरिवाना भन्दा कयौँ गुणा खर्च डिपोर्टमा नेपालको लाग्ने भएको छ। 

कतिपय राष्ट्र र सम्बन्धित देशका दूतावासले समेत खर्च गर्ने गरेका छन्। यद्यपि, अधिकांश डिपोर्टको खर्च पठाउने मुलुकले नै गर्ने गरेको अध्यागमन विभागले जनाएको छ। चिनियाँ नागरिकलाई लिन चार्टर्ड विमान आउने कुरा हल्ला चलेपनि त्यसको कुनै टुंगो नभएको विभागले जानकारी दिएको छ।

चीनको विशेषज्ञसहितको टोली र केन्द्रीय अनुसन्धान व्यूरोले संयुक्त रुपमा चलाएको ‘चार्ली फक्स्टर’नामको अपरेशनमा एकै दिन १२२ जना चिनियाँ पक्राउ परेका थिए। गएको गत पुस ८ गते सोमबार उनीहरु पक्राउ परेका हुन्। पक्राउ परेका मध्ये ११४ पुरूष र ८ महिला छन्। उनीहरू काठमाडौंको तारकेश्वर–१ मनमैजु, काठमाडौं–३ बाँसबारी र बुढानीलकण्ठ –३ बाट पक्राउ परेका थिए। ९ वटा घरमा छापा हान्दा उनीहरु पक्राउ परे। उनीहरुको चिनियाँबाट ७४७ मोबाइल, ३३१ वटा ल्यापटप, ९८ सीपीयु, ९९ मोनिटर, २२ पेन्ड्राइभ, ३२७ सिमकार्ड र ६७ वटा पासपोर्ट फेला परेको थियो।

पक्राउपछि केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले उनीहरु इन्टरनेटको उच्चतम् प्रविधिबाट साइबरजन्य अपराध गर्ने कार्यमा संलग्न भएको भनेपनि मुद्दा भने अभद्र व्यवहारमा चलाएको थियो। 

संगठित अपराधमा लागेकालाई अभद्र व्यवहारको मुद्दा ? 
सुरुमा प्रहरीले अनुसन्धान गर्दा उनीहरु संगठित रुपमा साइबर अपराध लगायतका गतिविधिमा संलग्न भएको भन्यो। तर, अन्तिममा अध्यागमन विभागलाई बुझाउँदा अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रशासनमा एक हजार जरिवाना भराइयो। अभद्र व्यवहारमा मुद्दा कस्तोलाई चल्ने हो वकिल सा’व ? जवाफमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, ‘त्यो त सामान्य गाली बेइज्जती, अपशब्द प्रयोग गरेकाहरुलाई चलाउने मुद्दा हो।’ उनले चिनियाँलाई अभद्र व्यवहार गरेको भन्दै सामान्य जरिवाना गराएर छोडेको भन्दा आफै अचम्म परेको सुनाए। उनी भन्छन्, ‘उनीहरु टुरिष्ट भिसामा आएर संगठित रुपमा अपराधजन्य गतिविधि गरेको देखिन्छ। अनि त्यस्तोमा कसरी मिल्छ अभद्र व्यवहारको कुरा। चिनियाँको दबाबमा परेर उनीहरूलाई फास्ट ट्रयाकबाट चीन लैजान सजिलो बाटो रोजियो। यसलाई  हल्का रुपमा लिनु हुन्न। यस्ता अपारदर्शी काम गर्दा भोलि झन् खतरा हुनसक्छ। किनभने उनीहरुको मनोबल बढेर जान्छ।’

काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटी आफैँ भनिरहेका छन्,–उनीहरु टुरिष्ट भिसामा आएर संगठित रुपमा काम गरिरहेको भेटियो। तर, उनी आफैँ १२२ चिनियाँलाई आइतबार साँझ अध्यागमन विभागको जिम्मा लगाइसकेको बताउँछन्। उनीहरु साइबर अपराध लगायतमा संलग्न रहेको भनेर तपाईँहरुले नै भनेको होइन भनि डीएसपी बोगटीलाई सोध्दा उनी भन्छन्, ‘त्यो त हो। टुरिष्ट भिसामा आएका उनीहरु पर्यटक भएर घुम्नु पर्नेमा संगठित रुपमा एकै ठाउँमा बसेर काम गरिरहेको भेटियो। भिसाको दुरुपयो लगायत विभिन्न गतिविधि गरेको देखिन्छ।’

अनि अन्तिममा त एक हजार जरिवाना लिएर थुनामुक्त गरिएछ त ? बोगटीले, ‘अनुसन्धान  सकिएकै छैन। तर, उनीहरुले के गरिरहेका थिए भन्ने पुष्टि गर्न कम्तिमा उनीहरुलाई होल्ड गर्नुपर्ने हुन्छ, टुरिष्ट भिसामा आएको हुनाले। त्यही भएर हामीले अध्यागमन विभागमा बुझाएका हौँ’ भने। तर, उनले यहाँनेर दुईथरी कुरा गरे। डिपोर्ट गर्ने कुरा आइसक्दा पनि उनले अनुसन्धान सकिएको छैन, भनिरहेका छन्।

अर्कोतिर नेपालमा उनीहरुले नेपालमा कसैलाई हानी नोक्सानी गरेको नभेटिएकाले साइबर अपराधमा मुद्दा नचलाएको बताउँछन्, उनी। बोगटी अगाडि थप्छन्, ‘उनीहरुले अनलाइनमार्फत दुःख दिएका भिक्टिम अर्थात् पीडित कोही देखिएन। कसैले उजुरी पनि दिएन। त्यही भएर यो विषय टुंगिएको हो।’ तर, उनले कुरा असाध्यै घुमाएकाले शंका गर्ने ठाउँ प्रशस्तै छन्। र, एकातिर उनीहरुको लिस्ट नै चिनियाँ प्रहरीले दिएको भन्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ