- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
श्रीमद्भगवद्गीताको आठौं अध्याय अर्थात् अक्षरब्रम्हयोगको यो अध्यायलाई भगवद्प्राप्तिको अध्याय पनि भनिन्छ । सातौं अध्यायमा भगवानलाई कसरी चिन्ने भन्ने उपदेश दिएपछि अब यो अध्यायमा भगवानको समिपमा कसरी जाने भन्ने बारेमा बताउँदै श्रीकृष्णले अर्जुनलार्ई दिनुभएको उपदेश नै अक्षरब्रह्मयोगको अध्याय हो ।
यो भन्दा अघिको अध्याय सातको अन्तिम दुई श्लोकमा भगवानले छ वटा शब्द प्रयोग गर्दै ती शब्दलाई जसले बुझ्छ त्यो नै ज्ञानी हो भन्नुभएको थियो । ती छ शब्द ब्रम्ह, अध्यात्म, कर्म, अधिभूत, अधिदैव र अधियज्ञ थिए । यी शब्द सुनेपछि अर्जुन यी शब्दहरुका अर्थ बुझ्दैनन् र सोध्छन् ।
अठ्ठाइस श्लोकको यो अध्यायको पहिलो दुई श्लोक मार्फत अर्जुनका प्रश्न र बाँकी छब्बीस श्लोकमा भगवानको उत्तर नै अक्षरब्रम्हयोगको यो अध्याय हो ।
जम्माजम्मी अठ्ठाइस श्लोकको यो अध्यायलाई तीन भागमा बाँड्न सकिन्छ । यो अध्यायको पहिलो भागमा पहिलो श्लोकदेखि सातौं श्लोकसम्म अर्जुन छवटा प्रमुख प्रश्न र एउटा पूरक प्रश्न सोध्छन् । ती प्रश्नहरुको भगवान् श्रीकृष्णले एक एक गरेर उत्तर दिनुहुन्छ ।
अध्यायको सुरूमै अर्जुन प्रश्न गर्छन्– हे भगवान् ब्रह्म के हो ? अध्यात्म के हो ? कर्म के हो ? अधिभूत के हो ? अधिदैव को हुन् ? अधियज्ञ वा यज्ञको स्वामी को हो र यज्ञको स्वामी शरीरमा कसरी बस्छन् ? मृत्युकालमा मानिसले हजुरलाई कसरी चिन्ने ? यसलाई कतिपय बिद्धानहरुले सात प्रश्न भनेर पनि भन्ने गरेका छन् । यज्ञको स्वामी को हो र शरीरमा कहाँ बस्छ भन्ने प्रश्नलाई एउटा छुट्टै प्रश्न मानेर सात प्रश्न पनि भनिएको हो । अन्यथा यसलाई अघिल्लो अध्यायमा भगवानले प्रयोग गर्नुभएको छ शब्दकै रुपमा बुझ्नुपर्छ ।
माथिका पहिला छ शब्द भगवानले सातौं अध्यायको उनन्तीसौं र तीसौं श्लोकमा प्रयोग गर्नुभएको थियो । ती शब्दको अर्थ नबुझेरै अर्जुनले यो अध्यायको सुरु मै भगवानका ती शब्दका अर्थ खोज्नुभएको हो ।
अर्जुनका अत्यन्त गहकिला यी प्रश्न सुनेर भगवान् भन्नुहुन्छ–
अक्षरं ब्रह्म परमं स्वभावोऽध्यात्ममुच्यते ।
भूतभावोद्भवकरो विसर्गः कर्मसञ्ज्ञितः ।।
अधिभूतं क्षरो भावः पुरुषश्चाधिदैवतम् ।
अधियज्ञोऽहमेवात्र देहे देहभृतां वर ।।
हे अर्जुन ! अविनाशी दिव्य जीव नै ब्रह्म हो । अब फेरि प्रश्न उठ्न सक्छ अविनाशी दिव्य जीव भनेको के हो ? संसारमा त जन्म लिने सबैले मर्नुपर्छ भनेर भगवानले नै दोस्रो अध्यायमा भनिसक्नु भएको छ । भगवानको त्यही कुरालाई आधार मान्ने हो भने पनि अविनाशी त केही नहुनुपर्ने हो । तर यहाँ आएर भगवानले फेरि अविनााशी भन्ने शब्द प्रयोग गर्नुभएको छ । अविनाशी सँगै बीज भन्ने शब्द पनि भगवानले भन्नुभएको छ । बीजको अर्थ बीऊ हुन्छ र यसले उत्पादन प्रकृयामा सहभागी हुन्छ भन्ने एउटा सोझो बुझाइ पनि हो । फेरि अघिल्लो अध्यायमा म अविनाशी बीज हूँ भनेर भनिसक्नुभएको हुँदा यहाँ ब्रम्ह भनेको परमात्मा हो भनेर बुझ्नुपर्छ ।
दिव्यजीव कहिल्यै मर्दैन त्यो प्रकाश हो, त्यो भगवान् हो । उहाँले फेरि सूर्य र चन्द्रको प्रकाश म नै हो भन्नुभएको छ । यसको अर्थ यो संसारमा रहेको सबैभन्दा तातो, सबैभन्दा न्यानो र सबैभन्दा उज्यालो प्रकाश भइकन पनि सबैभन्दा शितलता प्रदान गर्ने पनि भगवान् नै हुनुहुन्छ । उहाँले अर्जुनले सोधेको पहिलो प्रश्नको उत्तर दिँदै भन्नुहुन्छ– ब्रह्म भनेको अविनाशी, दिव्य हुन्छ र ऊ जीवको रुपमा रहन्छ । हरेक प्राणीको भित्र रहन्छ ।
अब दोस्रो प्रश्नको उत्तर दिंदै भगवान् भन्नुहुन्छ– त्यो ब्रह्मको जुन स्वभाव छ त्यो अध्यात्म हो । अर्थात् अध्यात्म भनेको आत्मा हो । बीजको स्वभाव त आत्मा नै हो जुन एकबाट अर्को शरीरमा जान्छ । जसरी पुरानो भएपछि हामीले लुगा फेर्छौ त्यसैगरी शरीर पुरानो भएपछि आत्माले पनि शरीर फेर्छ, तर ऊ कहिल्यै पनि मर्दैन किनकी ऊ दिव्य हुन्छ । आत्माले आफू बसोबास गर्ने ठाँऊ फेर्ने हो तर आत्मा पुरै विनास भएर हराउने भने होइन । हो त्यो ब्रह्मको स्वरुप भनेको आत्मा हो । जुन एक शरीरपछि अर्को शरीरमा जाँदै जीवनलाई निरन्तरता दिन्छ ।
तेस्रो प्रश्नको उत्तरमा भगवान् भन्नुहुन्छ– आत्मासहितको शरीरको विकाससँगै हुने कर्म नै सकाम कर्म हो । यो कुरा कर्मयोगमा कर्मका विषयमा भगवानले खुलस्त पार्नुभएको छ । कुनै पनि जीवले आफू बढ्दै जाँदा गर्ने काम नै सकाम कर्म हो । जुन कर्म सो मानिसका लागि निर्धारित हुन्छ, त्यो कर्म तत्तत् समयमा पुरा गर्दै जानु नै सकाम कर्म हो ।
यसपछि अर्जुनको चौँथो प्रश्न अधिभूत वा भौतिक जगत के हो भन्ने बारेको जवाफ दिँदै भगवान् श्रीकृष्ण भन्नुहुन्छ– निरन्तर परिवर्तनशील प्रकृति नै भौतिक जगत हो । भौतिक जगत सधै एउटै प्रकारको रहँदैन । यो समय र परिस्थितिअनुसार बदलिँदै जान्छ । यहाँ प्रकृतिकाबारे भगवानले भन्नुभएको कुरा मार्मिक छ । प्रकृतिको गतिलाई कसैले रोकेर रोकिदैन यो निरन्तर छ र परिवर्तनशील छ ।
पञ्चमहाभूतसहित मन, बुद्धि र अहंकारलगायतलाई भगवानले प्रकृति भन्नुभएको छ त्यो नै भौतिक जगत हो । भौतिक जगतमा प्रकृतिका छ वटा रुपहरु हुन्छन् । शरीरको विकाससँगै हुने जन्म, बृद्धि, फलफूल (फूल लाग्ने प्रकृया), उत्पादन, क्षीण र नष्ट । कुनै पनि संसारमा प्राण भएका जीवको यही छ वटा रुप हुन्छ ।
सबैभन्दा पहिले यस भौतिक संसारमा उसको जन्म हुन्छ, जन्मिएपछि निश्चित स्याहारसुसासहित ऊ बढ्न थाल्छ, बढ्दै जाँदा शरीरको रुपरंग परिवर्तन हुँदै जान्छ, नयाँ नयाँ पालुवा पलाउन थाल्छन् । ऊ हराभरा हुन्छ, लाग्छ उसको जिन्दगीको सबैभन्दा स्वर्णिम पल नै त्यही हो । त्यसपछि उसको प्रजनन क्षमताको विकास हुँदै जान्छ, फूल लाग्न थाल्छ । फूल लागेपछि उसले आफूमा उत्पादकत्व शक्तिको विकास गर्छ, आफूजस्तै बनाउनका लागि कुनै नयाँ जीवनको जन्म दिन्छ र ऊ स्वयम् भने कमजोर हुँदै जान्छ, क्षीण हुँदै जान्छ र एकदिन उसको मृत्यु हुन्छ ।
यो नै भौतिक जगत हो । यो भौतिक जगतको चक्र हो । यो चक्रबाट कोही पनि पर बस्न सक्दैन । यो अधिभूत प्रलयमा नाश हुन्छ र फेरि भगवानले यसलाई आफ्नो शक्तिद्वारा श्रृष्टि गर्नुहुन्छ । यो रित चल्दै जान्छ ।
अर्जुनको पाँचौं प्रश्नको जवाफ दिंदै भगवान् श्रीकृष्ण भन्नुहुन्छ– सूर्य, चन्द्रमालगायत भगवाननै अधिदेव वा देवता हुन् । जसलाई हामीले देवता मान्छौँ ती भगवानकै स्वरुप हुन् । सामान्य अर्थमा भने अधिदेव भन्ने शब्दले श्रृष्टिकर्ता ब्रम्हालाई बुझाउँछ । तर यहाँ भगवानले ब्रम्हालगायत अरु देवताहरुलाई पनि अधिदेव भन्नुभएको छ । किनकी यहाँ श्रृष्टिको मात्र कुरा नभई कर्म र नाशकोसमेत कुरा हुँदैछ । यहाँ पालनको कुरा हुँदैछ, यहाँ संहारको कुरा हुँदैछ । तसर्थ सृष्टी, पालन र संहारसँग सम्बन्धित सबै देवता नै अधिदेव हुन् ।
छैटौँ प्रश्नको उत्तर दिंदै श्रीकृष्ण भन्नुहुन्छ, सबैको हृदयमा बास गर्ने म कृष्ण नै यज्ञको स्वामी अर्थात् अधियज्ञ हूँ । यहाँ म भन्नाले हामीले जान्ने बुझ्ने गरेको स्वयम् श्रीकृष्ण, परमेश्वर, परमात्मा सबैलाई बुझाउँछ । आफूलाई अधियज्ञ भनेर यहाँ भगवानले अर्जुनलाई आफू साक्षात् श्रीविष्णुको अवतार भएको बताउनुहुन्छ किनकी अधियज्ञको शाब्दिक अर्थ श्रीविष्णु हो ।
बिस्तारै बिस्तारै भगवान् अर्जुनलाई आफ्नो परिचय दिंदै हुनुहुन्छ ता कि भगवानले भनेका कुरा अर्जुनले मानुन् र युद्ध गरुन । एउटा साथी वा नातेदारको रुपमा मात्रै सल्लाह दिंदा अर्जुनले नमान्ने सम्भावना भएकोले भगवान् आफूलाई चिनाउँदै आदेश दिंदै हुनुहुन्छ । अघिसम्म भगवानको रुपमा मात्रै आफूलाई चिनाउँदै गर्नुभएका श्रीकृष्ण यहाँ आइपुग्दा आफूलाई विष्णु हूँ भन्नुहुन्छ ।
यदि कसैले हृदयमा श्रीकृष्णलाई बास गराएको छैन भने ऊ यज्ञ गर्न लायक हुन्न । त्यो यज्ञ ढोँग मात्रै हो । यज्ञ गरेर यज्ञकै माध्यमद्वारा मोक्ष प्राप्त गर्न खोज्ने योगीको मनमा भगवान् श्रीकृष्णको बास हुनुपर्छ । यज्ञको स्वामी हृदयमा बास बस्नु पर्छ ।
अर्जुनको प्रतिप्रश्न वा मृत्यु कालमा भक्तले हजुरलाई कसरी सम्झिने भनेर अर्जुनले गरेको प्रश्नको भगवान् जवाफ दिँदै भन्नुहुन्छ– मर्ने बेलामा स्मरणले मात्रै पनि मलाई प्राप्त गर्न र मलाई चिन्न सकिन्छ । यसको मतलब हामीले भगवानलाई सम्झेमात्रै पुग्छ । अझ भगवानले त्यसलाई स्पष्ट पार्दै शरीर त्याग गर्दा जुन अवस्थामा जसको स्मरण गर्छ उसले त्यो प्राप्त गर्छ भनेर भन्नुहुन्छ । यसको उदाहरणका लागि हामी भन्न सक्छौँ, कंश अथवा रावणले मृत्युवरण गर्दा भगवानको स्मरण गरे । किनकी उनीहरु भगवानका भक्त थिए र उनीहरुले भगवानको लोक प्राप्त गरे । त्यही रुपमा उनीहरुले मृत्युवरण पनि गरे ।
यस अध्यायको दोस्रो भाग अर्थात् आठौँदेखि बाइसौं श्लोकसम्ममा भगवान् अर्जुनलाई भक्ति योगका विषयमा बताउनुहुन्छ । उहाँ योग शक्ति र ध्यानका कुरा गर्नुहुन्छ । ध्यान कसको गर्ने भन्दा जो सर्वज्ञ हुनुहुन्छ, प्राचीन हुनुहुन्छ, नियन्ता हुनुहुन्छ, सानोभन्दा सानो रुपमा हुनुहुन्छ । सबैका पालनकर्ता हुनुहुन्छ र समस्त भौतिक अवधारणा भन्दा पर हुनुहुन्छ, जो अचिन्त्य हुनुहुन्छ, जो एउटा पुरुषका रुपमा हुनुहुन्छ र जो एउटा भौतिक प्रकृतिभन्दा दिव्य रुपमा हुनुहुन्छ । उनै परमपुरुषमा मानिसले ध्यान दिनुपर्छ र मृत्युको समयमा उनैलाई सम्झिनुपर्छ । शरीर त्याग गर्दाका सन्दर्भमा भगवानले भन्नुहुन्छ–
ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन् ।
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।।
शरीर त्याग गर्दा ॐकारको स्मरण गर्नुपर्छ, ॐकारकै उच्चारण गर्नुपर्छ, एक चित्त भएर भगवानको चिन्तन गर्नुपर्छ । यसो गर्दै योगाभ्यासमा रहेर प्राण त्याग गर्नेले आध्यात्मिक लोक प्राप्त गर्छ । त्यस्तो भगवानको लोकमा गएपछि कोहि फर्केर आउन पर्दैन ।
यस्तो सिद्धि प्राप्त गर्नेले मात्रै मुक्तिको लाभ प्राप्त गर्न सक्छन् भनेर भगवानले मुक्तिको कुरा गर्नुहुन्छ । सत्य, त्रेता, द्वापर युगमा ज्ञान, बैराग्य र भक्ति गरि तीनवटा पाटाबाट मुक्ति मिल्थ्यो भने कलियुगमा भक्तिले मात्रै पनि मुक्ति मिल्छ । तसर्थ भगवान् अर्जुनलाई भन्नुहुन्छ, भक्ति नगरी कलियुगमा मुक्ति सम्भव छैन ।
योगीको अवस्थाका बारेमा चर्चा गर्दै भगवान् श्रीकृष्ण फेरि भन्नुहुन्छ– इन्द्रियहरुको समस्त क्रियाकलापमा अनाशक्त रहनुपर्छ । हृदय र प्राणवायुलाई उच्चस्थानमा राखेर आफूलाई योगमा स्थापित गरेर जसले ॐकारको उच्चारण गर्दै भगवानको चिन्तन गरेर शरीर त्याग गर्छ, त्यसैले देवलोक प्राप्त गर्छ र त्यो नै भक्ति योग हो । मलाई प्राप्त गर्ने भक्ति योगी महापुरुष कहिल्यै फर्केर आउनुपर्दैन । यहाँ भगवान् भन्नुहुन्छ– भुलोकदेखि ब्रह्म लोकसम्मका मानिस मरेपछि फेरि फिर्ता आउनुपर्छ । यी सबै जन्म मरणको चक्र चलिरहने लोक हुन । तर अर्जुन ! जो मेरो धाम अर्थात् भगवतधाममा पुग्छ त्यो कहिल्यै पनि फिर्ता आउनुपर्दैन । ऊ सधैँ जीवन र मरणको चक्रबाट बाहिर रहेर मेरै धाममा बसोबास गर्दछ ।
हे अर्जुन ! ब्रह्मको पनि आयु हुन्छ । मानवीय गणनाअनुसार एक हजार युग मिलेर ब्रह्मको युग बनेको हुन्छ । मानवीय गणनाअनुसार एक हजार युग भनेको सत्य युगका १७ लाख २८ हजार बर्ष, त्रेता युगका १२ लाख ९६ हजार बर्ष, द्वापर युगका ८ लाख ६४ हजार बर्ष र कलियुगका ४ लाख ३२ हजार बर्ष जोडेपछि एक युग हुन्छ र त्यस्ता युग १ हजार बनेपछि ब्रह्माको एक दिन र त्यति नै जोडेपछि ब्रह्माको एकरात हुन्छ र जसलाई ब्रह्माको एक चक्र भनिन्छ । जब त्यस्ता एकहजार चक्र पार गरिन्छ त्यतिबेला बल्ल ब्रह्माको आयु सकिन्छ । जब त्यो दिन आउँछ, त्यो प्रलयको दिन हो । ब्रह्माको दिनसँगसँगै जीवहरु प्रकट हुन्छन् र ब्रह्माको रातसँगै तिनिहरुको विलय हुन्छ । त्यो अवस्था नै प्रलयको अवस्था हो भनेर भगवानले समयचक्र बताइदिनुहुन्छ । तर यो समयचक्र सबै ठाउँमा उस्तै र उही अवस्थामा हुँदैन । सबैतिर यही समय चक्र चलेको हुँदैन । यो बाहेक पनि एउटा ठाउँ हुन्छ त्यहाँ समय चक्र चल्दैन, सबै नष्ट हुँदा पनि कुनै नष्ट नहुने एउटा अविनाशी छ, जसको गन्तब्य, जसलाई प्राप्त गरेपछि फर्किन पर्दैन त्यो भगवानको धाम भनेको मेरो धाम हो जसलाई भक्तिबाट मात्रै प्राप्त गर्न सकिन्छ । त्यो भागवत् धाममा भगवान् श्रीकृष्ण आफैं विराजमान हुनुहुन्छ । अबका श्लोकमा भगवान् कहिले र कस्तो अवस्थामा बिदा लिने मानिस फर्केर आउँछ र कस्तो अवस्थामा बिदा लिने मानिस फर्केर आउँदैन भन्ने बारेमा बताउनुहुन्छ ।
यस अध्यायको अन्तिम अर्थात् तेस्रो भागमा तेइसौं श्लोकदेखि अठ्ठाइसौं श्लोकसम्ममा भगवान् भन्नुहुन्छ– हे अर्जुन ! मैले तिमीलाई समय, भक्ति, ब्रह्म र आत्माका बारेमा बताएँ । अब अर्को कुरा बताउँछु, त्यो मार्मिक कुरा के हो भने यो संसारमा जब योगीले बिदा लिन्छ, उसले कहिले बिदा लिँदा यही धर्तीमा फर्किनुपर्छ भने कहिले बिदा लिँदा फर्किनुपर्दैन । चौबीसौं श्लोकमा भगवान् भन्नुहुन्छ–
अग्निर्ज्योतिरहः शुक्लः षण्मासा उत्तरायणम् ।
तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जनाः ।।
अग्निदेवताको प्रभावमा, उज्यालोमा, दिनको शुभक्षणमा, शुक्लपक्षमा, सूर्य उत्तरायण भएको बेलामा शरीर त्याग्ने योगीले फेरि यो संसारमा फर्केर आउनुपर्दैन । तर
धूमो रात्रिस्तथा कृष्णः षण्मासा दक्षिणायनम् ।
तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तते ।।
धुवाँको बेलामा, रात्रीको बेला, कृष्णपक्षमा, सूर्य दक्षिणायणमा भएको बेला शरीर त्याग्ने योगी चन्द्रलोकसम्म पुगेर फेरी फर्केर आउँछ । यी दुई मध्येमा पहिलोलाई प्रकाश मार्ग भनिन्छ भने दोस्रोलाई कृष्णमार्ग भनिन्छ । प्रकाशमार्गबाट जाने व्यक्ति फर्केर आउँदैन । कृष्णमार्गबाट जाने व्यक्ति फर्केर आउँछ ।
भक्तहरु यी दुवै मार्गसँग परिचित हुन्छन् । त्यसैले उनीहरु मोहग्रस्त हुँदैनन । त्यसैले तिमी भक्तिमा लाग, भक्तिमा स्थीर होऊ, जसले भक्तिमार्ग स्वीकार गरेको छ उसले कुनै पनि फलबाट बञ्चित हुनुपर्दैन । भक्तिले मात्रै पनि उसले सबै फल एकैचोटी प्राप्त गर्छ र भगवद्धाममा प्रस्थान गर्छ भनेर भगवानले आठौं अध्यायमा अर्जुनलाई दिनुभएको उपदेशलाई अक्षरब्रह्म योग भनिन्छ ।
के अब हामीले समय चिन्यौं ? सृष्टिकर्ता व्रम्हाको त आयु रहेछ भने हाम्रो त के कुरा ? समय मै सबै काम सम्पन्न गर्दै यस्तो कर्म गरौँ जसको प्रभावले भगवानको नाम र ॐकारको जप गर्दै शुभ समयमा प्राण त्याग गर्न सकियोस् । त्यो भक्तिमय कर्म बाहेक अरु केहि हैन ।
श्रीमद्भगवद्गीताको अक्षरब्रम्हयोग नामको आठौं अध्याय समाप्त भयो ।
(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ । त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)