arrow

श्रीमद्भगवद्गीता अध्याय नौः राजविद्याराजगुह्ययोग

धन र भोग भाग्यबाट र धर्म र मुक्ति कर्मवाट पाइन्छ, भाग्यबाट पाइनेमा सन्तोष गर्नुपर्छ र कर्मबाट कमाउनुमा असन्तोष

logo
राजु नेपाल,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
shreemad-bhagbat-geeta-raju.gif

श्रीमद्भगवद्गीताको अध्याय सातबाट भगवान् श्रीकृष्णले अर्जुनलाई ज्ञान र विज्ञानको तालमेलका बारेमा बताउँदै हुनुहुन्थ्यो । सातौं अध्यायको अन्त्यमा आइपुग्दा भगवानले प्रयोग गर्नुभएका अधिदेव, कर्म, अधियज्ञ जस्ता छवटा शब्दको अर्थमा अर्जुन अल्मलिनुभयो । आठौं अध्यायको सुरूमै ती छ शब्दका साथै अन्त्यकालमा मानिसको स्थितिको बारेमा अर्जुनले जुन प्रश्न गरे, भगवानले ती प्रश्नहरुको उत्तर दिनुभयो । तर पहिला छवटा प्रश्नको छोटकरीमा उत्तर दिनुभयो भने सातौं प्रश्नको उत्तर विस्तृतमा दिनुभयो । 

अब नवौं अध्यायमा आइपुग्दा भगवान् श्रीकृष्ण फेरि अर्जुनलाई सातौं अध्यायमा भन्न बाँकी रहेको स्थानबाट उपदेश सुरू गर्नुहुन्छ । चौँतीस श्लोकको यो अध्यायभरी भगवान् श्रीकृष्ण एक्लै बोल्नुहुन्छ, अर्जुन सुन्छन् ।

यो अध्याय ज्ञानहरुमा पनि परम गोपनीय ज्ञान भएकोले यसलाई राजविद्याराजगुह्ययोग अध्याय भनिन्छ । चौंतीस श्लोकको यो अध्यायमा भगवानले अर्जुनलाई यस्तो ज्ञान दिनुभएको छ, जुन ज्ञान प्राप्त गरिसकेपछि मानिसहरु सबै कष्टहरुबाट मुक्त हुन्छन् । यो परम् गोपनीय ज्ञान विद्याको राजा हो । यो विद्याहरुमा सबैभन्दा उपयुक्त र सबैभन्दा सर्वश्रेष्ठ ज्ञान हो । यो ज्ञान सबैभन्दा पवित्र हो र यसले मानिसलाई आत्मासँग प्रत्यक्ष बोध गराउँछ र धर्ममा पूर्णता गराउँछ । यस्तो ज्ञान दिँदै भगवान् यो अध्यायलाई छ भागमा बाँड्नुहुन्छ। 

यस अध्यायको पहिलो भाग अर्थात् पहिलो श्लोकदेखि छैटौँ श्लोकसम्म भगवानले ज्ञान र त्यसको प्रभावसहितका विषयमा प्रकाश पार्दै भन्नुहुन्छ– हे अर्जुन ! अब म तिमीलाई त्यस्तो ज्ञान दिँदैछु, त्यो ज्ञान तिमीले आत्मसात् गर्‍यौ भने तिमी मुक्त हुन्छौ, मोक्ष प्राप्त गर्छौ । तर ज्ञान प्राप्त गरेर पनि त्यसलाई स्वीकार्न या आत्मसात् गर्न सकिएन भने जतिसुकै ज्ञान लिए पनि त्यो ज्ञान बालुवामा पानी खन्याएसरह हुन्छ । 
भगवान् श्रीकृष्ण भन्नुहुन्छ– 

अश्रद्दधानाः पुरुषा धर्मस्यास्य परन्तप ।
अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवत्र्मनि ।।

जो मान्छेले भक्तियोगमा श्रद्धा गर्दैन त्यो मान्छे मलाई प्राप्त गर्न नसकेर फेरि मृत्युको संसारमा फर्किन्छ । ऊ फेरि यही संसारमा जन्म लिन आइपुग्छ । यो संसारमा फेरि जन्म लिनुको अर्थ सुख र दुःखको भूमरिमा खस्नु हो । यो अध्यायको सबैभन्दा मुख्य पाटो यही नै हो । 

जब हामी भक्त बन्न सक्दैनौँ, भक्तियोगमा विश्वास गर्दैनौँ भने हामीले मोक्षको बाटो प्राप्त गर्नु भनेको असंभव जस्तै नै हो । भक्तियोगमा श्रद्धा नगर्ने ब्यक्तिहरु श्रीकृष्णलाई प्राप्त नगरी फेरि मृत्युलोकमै फर्किन्छन्, फेरि सुखदुःखको यही दुष्चक्रमा फस्छन् । किनकी सबै ब्रम्हाण्ड भगवानकै रुपले ढाकिएको छ । भक्ति नगर्ने मानिसलाई भगवानले मोक्षको बाटो नै देखाइदिनुहुन्न । भगवान् श्रीकृष्ण भन्नुहुन्छ– सबै ममा निहित छन् तर म उनीहरुमा निहित छैन । जबसम्म मेरो भक्ति हुन्न तबसम्म म कसरी मबाट संरक्षित यस संसारबाट त्यो मानिसको कल्याण गरौं वा उसलाई यो भवसागरबाट मुक्त गराऊँ ? यस अर्थमा आस्तिक र अधमले मोक्ष पाउने कुरै भएन । के हामी मध्ये कोही आस्तिक छौं ? कोही अधम छौँ ? समय बिग्रेको छैन । आजै सोचौँ । 
यो नवौं अध्यायको दोस्रो भाग अर्थात् सातौं श्लोकदेखि दशौं श्लोकसम्म भगवान् अर्जुनलाई जगतको उत्पतिको विषयमा बताउनुहुन्छ । उहाँले यो जगतको उत्पति कहिलेदेखि कसरी भयो र यसमा आफ्नो भूमिका के छ भनेर सविस्तार व्याख्या गर्नुहुन्छ । 

यसअघिका अध्यायमा पनि हामीले भगवानका पराशक्ति र अपराशक्ति भनेर छलफल गर्‍यौ । अब यहाँ ती शक्तिको उत्पतिको विषयमा अर्जुनलाई बताउँदै भगवान् भन्नुहुन्छ– यी सबै चिजहरु, सबै प्राणीहरु मैमा स्थित रहन्छन् । नाम पराशक्ति या अपराशक्ति जे दिए पनि यिनिहरु मेरै अधीनमा रहेका हुन्छन्, छुट्टाछुट्टै रुप र गुणमा । यिनीहरु सबै मेरा अंश हुन तर म यिनिहरुको अंश होइन । कल्पको अन्त्यमा यी सबै भौतिक सृष्टीहरु ममा प्रविष्ट गर्छन् र फेरि मैले तिनिहरुलाई अर्को चोटी सृष्टी गर्छु । किनकी सृष्टीको चक्र मैले चलाउनुपर्छ, यो मेरो जिम्मेवारी हो । यो सृष्टिचक्र चलाउने कुरा जहिले पनि मेरो इच्छामा निहित हुन्छ । 
तर अर्जुन यी सबै सृष्टि कसरी चलाउने भन्ने कुरा मेरो इच्छामा निहित हुन्छ भन्दैमा म आफ्नो खुसीले संसार चलाउने काम गर्दिन । सबै प्राणीले आफ्नो जन्मकालमा गरेको कर्मअनुसार नै फल पाउने हुन । तर यो निश्चित हो कि अर्जुन ! यी सबै चिजहरुलाई मैले बाँधेर राखेको छु । म अनाशक्त छु । मलाई कसैलाई काखा र कसैलाई पाखा गर्नु नै छैन । मेरो निर्देशनमा यी सबै चिजहरु चलिरहेका हुन्छन् । यति भनेर भगवान् आफ्नो समभाव प्रदर्शन गर्नुहुन्छ । अझ अगाडि भगवान् सम्पूर्ण ब्रह्माण्ड ममा छ भन्नुहुन्छ । यसको दशौं श्लोकमा त भगवान् भन्नुहुन्छ 

मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम् ।
हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते ।।

यो संसार मेरो अध्यक्षतामा चल्छ र मेरै अध्यक्षतामा परिवर्तन हुन्छ समेत भनेर यी कर्मलाई नियमित बताउनुहुन्छ । जसरी एउटा अध्यक्षले कार्यालय चल्ने, खुल्ने, बन्द हुने, त्यहाँ गरिने कार्यका निगरानी गर्ने, नीति नियम बनाउने, राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो कर्म गर्नेलाई दण्डित गर्ने आदि काम गर्छ, त्यसैगरी यो संसारमा पनि भगवान् यहाँका मानिसहरुलाई कर्मअनुसारको फल दिनुहुन्छ । भगवान् आफू अध्यक्ष भएकाले अरु कर्म गर्न विभिन्न ओहोदामा विभिन्न देवताहरुको नियुक्ति गरेर काम बाँटफाँट गर्दै सृष्टि चलाउनुहुन्छ । 

यहाँ भगवानले चर्चा गर्नुभएको कर्म र फल चार प्रकारका हुन्छन् । धन वा अर्थ, धर्म, भोग वा काम र मुक्ति अथवा मोक्ष । धन र भोग भाग्यबाट पाइन्छ भने धर्म र मुक्तिका लागि कर्म गर्नुपर्छ । जुन चिज भाग्यबाट पाइन्छ ती चिजमा सन्तोष गर्नुपर्छ तर जुन चिज कर्मबाट कमाउनुपर्छ ती चिजमा असन्तोष गर्नुपर्छ । अब यहाँ धन र भोगलाई त इन्द्रिय तृप्तिसँग जोडेपछि त्योबाट अनाशक्त रहँदै मोक्षको लागि त कर्म गर्नैपर्‍यो । मोक्षको लागि गरिने कर्म भगवान् भक्ति बाहेक अरु केही हुनै सक्दैन । 

यो अध्यायको तेस्रो भाग अर्थात् एघारौं श्लोदेखि पन्ध्रौं श्लोकसम्म असुरी प्रवृत्तिवाला मानिसहरु किन भगवानको शरणमा जाँदैनन भनेर भगवानले कारण दिनुहुन्छ । यिनीहरुको हिंडाई उल्टो हुन्छ । उल्टो हिंड्दा उनीहरुको दृष्टि परमात्मातर्फ हुन्न । तर दैवी प्रकृतिका मानिसहरुको हिंडाई सुल्टो हुन्छ, परमात्मातर्फको हुन्छ । 

उहाँ भन्नुहुन्छ– कतिपय मान्छे यति मुर्ख हुन्छन् कि मेरो रुप देखेर मलाई भगवान् मान्न तयार हुँदैनन् । उनीहरुलाई मैले विभिन्न समयमा विभिन्न खाले अवतार धारण गर्छु भन्ने कुराको हेक्का नै छैन । उनीहरु मेरो दिव्य स्वभाव बुझ्दैनन । उनीहरुका लागि संसारमा शरीर र आत्माबीच कुनै फरक नै छैन, यसको कुनै महत्व नै छैन । जे देखिएको छ त्यही नै संसार हो भन्ने भ्रम यस्तो खालको स्वभाव हुने मान्छेहरुमा व्याप्त छ । भौतिक आँखाले देखेको संसारभन्दा आध्यात्मिक र भित्री आँखाले देखेको संसारका बीचमा आकाशपातालको फरक हुन सक्छ । 

भगवान् विभिन्न रुप र अवतार धारण गर्नसक्ने सगुण साकार पनि हुनुहुन्छ भन्ने कुरा यस्ता मानिसहरुले कहिल्यै बुझ्न सक्दैनन । यी सबै मानिसहरु ज्ञान प्राप्त नगरेका अज्ञानी हुन् । यस्ता मान्छेले पढ्न त विभिन्न खाले कुराहरु पढेका हुन्छन्, आफूलाई खुब जान्नेबुझ्ने छु पनि भन्ठान्छन्, तर पढेर मात्रै ज्ञानी होइदैन, ज्ञानको अर्थ बुझ्न त भक्ति चाहिन्छ । भगवानको भक्ति नगर्ने र भौतिक संसारमा मात्रै रमाउने आसुरी गुणका मानिसहरु मोहमा लागेका हुन्छन् । यिनीहरु मेरो उपासना गर्दैनन् ।  

तर केही मान्छे यस्ता हुन्छन्, मेरो विभिन्न रुपलाई बुझेर मेरो उपसना गर्छन्– भगवान् भन्नुहुन्छ । यहाँ आफ्ना विभिन्न रुपको बर्णन गर्दै त्यसलाई तीन भागमा बाँड्नुहुन्छ । 

ज्ञानयज्ञेन चाप्यन्ये यजन्तो मामुपासते ।
एकत्वेन पृथक्त्वेन बहुधा विश्वतोमुखम् ।।

पहिलो एकांकी भाव, दोस्रो पृथक भाव र तेस्रो विराटस्वरुप । यो संसार एक हो, यहाँ एकमात्र भगवान् हुनुहुन्छ, हामी सबै भगवानमै निहित छौं, हाम्रो आफ्नो कुनै अलग अस्तित्व छैन भनेर परमेश्वरको आराधना गरिने स्वरुप एकांकी भाव हो । यसलाई अद्वैत भाव पनि भनिन्छ । 

म भगवानको सेवक हूँ, म र भगवान् अलग छौं, म मेरा सम्पूर्ण क्रियाकलापलाई भगवानमा अर्पण  गर्छु भन्ने भावनाका साथ भगवानको भक्तिमा तल्लीन हुनु द्वैत भाव अर्थात् पृथक भाव हो । 

भगवानलाई साकार रुपमा चतुर्मुखी श्रीविष्णुको रुपमा पुजन् गर्नु विराटस्वरुप भाव हो । चतुर्मुखी भन्नुको मतलब जता हेरे पनि भगवानको दर्शन पाउनु भन्ने हो । भगवानका लागि यी तीनैमा कुनै भेद छैन किनकी उहाँ त सबै हो । माथिका तीन भावमध्ये जसलाई जुन रुपमा भगवान् भक्ति गर्न मन लाग्छ त्यो गर्ने छुट भगवानले दिनुभएको छ । हरेक बाटोबाट पुगिने गन्तब्य पनि एक नै हो तर बाटो सजिलो वा अफ्टेरो भने हुनसक्छ । 

यो नवौं अध्यायको चौँथो भाग अर्थात् सोह्रौँ श्लोकदेखि उन्नाइसौँ श्लोकसम्ममा भगवानले आफ्नो स्वरुपको वर्णन गर्नुहुन्छ । आजका मानिसहरुलाई कतै पनि नदेखिएको भगवानका बारेमा बुझाउन अत्यन्त गाह्रो हुन्छ । तसर्थ भगवानले आफूलाई देखाउनुपर्छ । आफ्नो अगाडी देखेपछिमात्रै भगवान् बुझ्न सजिलो हुन्छ भन्दै आफ्ना स्वरुपबारे अर्जुनलाई जानकारी दिनुहुन्छ । किनकी आजका मानिसहरु विज्ञानमा विश्वास गर्छन् ज्ञानमा हैन । बुझाउनु ज्ञान हो भने देखाउनु विज्ञान हो । 

आफूलाई देखाउन भगवान् मानिसले देख्दै गरेका श्रद्धाहरुमा आफूलाई स्थापित गर्दै भन्नुहुन्छ– बैदिक अनुष्ठान, देव यज्ञ, पितृ तर्पण सबै मै हूँ । पितामह मै हूँ, पालनकर्ता, स्वामी, साक्षी, धाम, शरण लिने र परम मित्र मै हूँ । अविनाशी बीज म हूँ, म वर्षा गराउँछु र रोक्छु, म अमर र मृत्यु हूँ । आत्मा र पदार्थ मैमा छन अर्जुन भनेर आफ्ना रुपबारे यसरी बताउनुहुन्छ । यी सबै भनेपछि अब भगवान् के हो र भगवानले के गर्छ भन्ने भ्रम समाप्त हुन्छ । यहि कारणले यो ज्ञानलाई राजगुह्यज्ञान भनिएको हो । 

अब यो अध्यायको पाचौं भाग अर्थात् बीसौ श्लोकदेखि पच्चीसौं श्लोकसम्ममा सकाम र निष्काम दुवै प्रकारका उपासना र फलको बारेमा भगवान् चर्चा गर्नुहुन्छ । साथै यो भागमा आएर भगवान् घोषणा गर्नुहुन्छ कि पाप र पुण्य दुवै क्षय हुन्छन् वा ती भोग गरेपछि समाप्त हुन्छन् । सकाम भक्तिका लागि जो वेदको अध्ययन गर्छन् उनीहरु स्वर्गको प्राप्ति गर्छन । उनीहरु सधैं पूजा गरिरहेका हुन्छन् । 

मानिसहरुले पृथ्वीमा छँदा गरिने काम दुई भागमा बाँडिन्छ, एक धर्मकर्म र दुई पापकर्म । धर्म र पाप भनेको बैंकमा आफ्नो खातामा राखेको पैसा जस्तै हो । देवताको पूजा गर्ने, वेदाध्यायन गर्ने र इन्द्रिय भोगका लागि यज्ञ गर्ने मानिसहरुले मरेपछि हिसाब बुझाउनुपर्छ । उनीहरुले गरेको धर्मका लागि स्वर्ग र पापका लागि नर्कमा बास हुन्छ । जब उनीहरुको हिसाब सकिन्छ उनीहरु फेरि यही लोकमा जन्मिन्छन् । धर्मको फल सुख र पापको फल दुःखको भोग गरिसकेपछि यही मृत्युलोकमा उनीहरु फर्किन्छन् । 

ते तं भुक्त्वा स्वर्गलोकं विशालं–
क्षीणे पुण्य मर्त्यलोकं विशन्ति ।
एवं त्रयीधर्ममनुप्रपन्ना–
गतागतं कामकामा लभन्ते ।।

वेदको सिद्धान्तमा दृढ रहेर इन्द्रिय भोगको चाहना गर्ने मानिस बारम्बार जन्मने र मर्ने कालचक्रमा फस्छन् । यिनिहरु मन्त्र, घिऊ, अग्नीद्वारा देवयज्ञ गर्छन् । आहुतिद्वारा पितृ तर्पण गर्छन् र पनि यी वैदिक अनुष्ठान गर्ने मानिस फेरि पनि पृथ्वीमा फर्किन्छन । तर जो अनन्य भावले मेरो सेवा गर्छ त्यो चाहे त्यो सेवा त्रुटीपूर्ण नै किन नहोस, तिनीहरु कहिल्यै पनि यो संसारमा फर्केर आउनुपर्दैन । मैले उनीहरुको उद्धार गर्छु । म मेरा भक्तहरुको सधैं उद्धार गरिदिन्छु । 

अब बाँकी आठ श्लोक अर्थात् यो अध्यायको छैटौं भागमा भगवान् निष्काम भक्तिको महिमा बताउनुहुन्छ र भन्नुहुन्छ–  हे अर्जुन ! जो मेरा उपासक छन्, मेरो लोकमा बस्न पाउँछन, उनीहरुले जे अर्पण गरे पनि म मान्छु, म स्वीकार गर्छु । जो मेरो लोकमा आउँछ, उसले कहिल्यै पनि फर्केर जानुपर्दैन । मैले कसैलाई पनि तिमी आऊ र तिमी नआऊ भनेर छुट्याउन्न । म त सबैप्रति समभाव राख्छु र कसैको पनि पक्ष विपक्ष लिन्न । जतिसुकै दुराचारी भए पनि मेरो भक्तिमा आएपछि म उसलाई साधु मान्छु किनभने ऊ संकल्पमा अडिग भएको हुन्छ । 

यहाँ भगवानले अत्यन्तै ठूलो कुरा गर्नुभएको छ । उहाँ अर्जुनलाई आदेश दिनुहुन्छ– 

क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति ।
कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति ।।

तिमी घोषणा गर मेरो भक्तको कहिल्यै विनाश हुँदैन, जो सुकै होऊन । यहाँ भगवान् आफ्ना कुरा आफ्ना भक्तको मुखबाट भनाउन चाहनुहुन्छ किनकी कतिपय कुराहरु आफैले भन्नुभन्दा अरुको मुखबाट भन्दा त्यसको महत्व बढी हुन्छ । साथै भगवानले भक्तले जे अर्पण गर्छ त्यो स्वीकार गर्छु भन्नुले बिधि भन्दा श्रद्धा महत्वपूर्ण छ भन्ने बुझिन्छ, सामाग्री भन्दा भक्ति ठुलो हो भन्ने बुझिन्छ । अझ स्पष्ट शब्दमा भन्दा भगवान् बाहिरी वस्तुको अर्पण भन्दा भक्त स्वयं अर्पित होस् भन्ने उपदेश यी कुराहरुले दिन्छ । 

भगवानको भक्त हुनका लागि त्यो मानिस धर्मात्मा, महात्मा, ज्ञानी वा पण्डित हुन जरूरी छैन । बैश्य, शुद्र, स्त्री जसले पनि भक्ति गर्न सक्छ भने तिमीजस्तो ठुलो कुलमा जन्मेका मान्छेका लागि त झन सजिलो काम हो भनी भगवान् अर्जुनलाई सान्त्वना दिनुहुन्छ । यो दुःखमय संसारमा तिमी फेरि आउन चाहन्छौ भने वेदको अध्ययन गर, भगवानको पूजा गर । तर चाहन्नौ भने तिमी,

मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायणः ।।

मेरो प्रेमभक्तिमा आफूलाई लगाऊ, मनलाई मेरै चिन्तनमा लगाउ, मेरै भक्त बन, मेरै पूजा गर, मलाई नै नमस्कार गर । जब यति गर्छौ, त्यसपछि तिमीले मलाई प्राप्त गर्न सक्छौ । यहाँ भगवान् आफूलाई प्राप्त गर्ने बिधि बताउँदैहुनुहुन्छ । श्रीमद्भगवद्गीतामा यो अध्यायको अन्तिम श्लोकको पहिलो भाग फेरि प्रयोग भएको छ तर त्यहाँ दोस्रो भागले भने श्रीकृष्ण भगवानको शरणमा जाने बाटोको बारेमा कुरा गर्नुहुन्छ । 

भगवानको भक्तिबाहेक अर्को कुनै बाटो यो संसारमा छैन । अहिलेसम्म जे गर्‍यौ, गर्‍यौ अब मैले भनेको मान र तिमी युद्ध गर । युद्ध गर्दा तिमीलाई कुनै पाप लाग्दैन भनेर भगवानले यो अध्यायमा अर्जुनलाई भन्नुहुन्छ । श्रीमद्भगवद्गीताको नवौं अध्यायमा उल्लेख गरिएको यो कर्मलाई भक्तिमा लगाउने र भगवानमा अर्पण गरेर युद्ध गर्ने उपदेश नै उपदेशहरुमा सर्वश्रेष्ठ हो । 

हामी पनि यदाकदा पाप र धर्म छुट्याउन नसकेर कर्म गर्ने कि नगर्ने भन्नेमा अल्झिन्छौं, त्यो बेलामा हेर्ने पाप वा धर्म हैन, बरु त्यो कर्म आफ्नो हो कि हैन भनेर हो । यदि हो भने बाहिरबाट पाप जस्तो देखिने कर्म पनि धार्मिक हुनसक्छ । जसरी युद्ध अर्जुनका लागि एउटा धार्मिक कर्म हो । 

श्रीमद्भगवद्गीताको राजविद्याराजगुह्ययोग नामको नवौं अध्याय समाप्त भयो ।

(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ ।  त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ