- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। आफुलाई असाध्यै पारदर्शी र निडर आँक्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको एउटा ‘अडियो’सार्वजनिक भएसगै मन्त्रीपद खुस्किएको छ। अन्ततः उनले पदबाट राजीनामा दिएका छन्। उनको पद धरापमा पार्ने त्यो अस्त्र हो : सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको ‘अडियो’। सुरुमा हाम्राकुरा डटकमले सार्वजनिक गरेको अडियो एकाएक भाइरल भयो। सबै मिडियाका मुख्य समाचार बने। सामाजिक सञ्जालमा बाँस्कोटा कै कर्तुत माथि अधिकाशंले शब्द खर्च गरे।
अडियोसँगै धेरै कुरा सार्वजनिक भइसकेकाले त्यसबारे धेरै व्याख्या गरिरहनै परेन। विद्यालय तहको पाठ्यक्रममा अनिवार्य गणित विषय हटाइएको भन्दै हंगामा भइरहेको छ, अहिले। यही बेला मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग कमिसनको अंक गणितीय हिसाब गरेको अडियो सार्वजनिक भइदियो। अनि, आगोमा घ्यू नै किन चाहियो र ?
यो अंकगणितीय हिसाबमा, ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्तावको उत्तर खोज्छन्, मन्त्री बाँस्कोटा। र, बाँस्कोटालाई अंकमै जवाफ प्राप्त हुन्छ, –७० प्रतिशत भनेको त्यही ५५ करोड जति।
अब गणित चाहिएन भन्नेहरुलाई सञ्चारमन्त्री संलग्न यो हिसाबले धेरै हदसम्म प्रष्ट्यायो होला, गणितको आवश्यकता कति छ ?, भनेर। र, अब मन्त्रीको कमिसन हिस्सा ५५ करोड भन्नेवित्तिकै बाहिरकाले आश्चर्य मान्नु नौलो कुरा भएन। तर, उनको हैसियत र विगत थाहा पाएका मान्छेलाई चाँहि असाध्यै ‘औडा’ भइरहेको छ, अहिले। बाँस्कोटालाई नजिकबाट चिन्नेहरु त कमिसनको कुराले तीन छक्क मात्रै होइन ५५ छक्क परेका छन्।
उनीसँग लामोसमय संगत गरेका अर्थात् साथीसंगी मध्ये केहीले त विश्वासै गरेनन्, बाँस्कोटाले त्यति धेरै कमिसन माग्ने हैसियत राख्छन् भनेर। बाँस्कोटासँग कमिसन लुकाउने थैलो अर्थात् ठाउँ नदेखेका कारण आफुहरुलाई पत्यार नलागेको बताउँछन्, उनीहरु।
हेरौँ बाँस्कोटाको हैसियत के रहेछ ?
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–४ (साविक नयाँगाउँदेउपुर–१)का बाँस्कोटा आर्थिक अवस्था राम्रो भएको परिवारका मान्छे होइनन्। उनका बुबा अहिले पनि गाउँमा साधारण जजमानी गर्दै हिँड्छन्। चार दाजुभाइ हुन्, बाँस्कोटाका। उनी चाँहि सबैभन्दा कान्छा। सानैदेखि उपद्रो गर्ने । राजनीतिमा भने विद्यार्थीकालदेखि नै लागेका। २०३८ सालमा रामहरि सुवेदी अखिल पाँचौको अध्यक्ष हुँदा उनी त्यही अखिलको जिल्ला सदस्य थिए । पछि रामहरि सुवेदी संविधानसभा सदस्य पनि भए । पछि चुनावमा उनलाई पनि चुनौती दिन पुगे, बाँस्कोटा।
तर, जो सँग पनि निहुँ खोज्ने उनको हैसियत भने त्यति साह्रो राम्रो होइन। उनको गाउँमा पाखो जमिन मात्रै छ, त्यही एक दुई हल। अहिले पनि तीन भाइ गाउँमै छन्। उनले बनेपाका मानन्धरकी छोरीसँग विवाह गरेका छन्। ससुरालीतिर पनि आर्थिक अवस्था खासै राम्रो होइन। उनको ससुराली रहेको बस्तीका ज्ञानकाजी मानन्धरहरुबाहेक सबै आर्थिक रुपमा कमजोर छन्, उनका नजिकका साथिले बताए।
मन्त्रीको हैसियतले सम्पति विवरण सार्वजनिक गर्दा पनि विवादमा आएका थिए, मन्त्री बाँस्कोटा। उनले सबै त्यो बेला सम्पत्तिको रुपमा रहेका धेरै सरसामान उपहारमा पाएको भनेका थिए। तर, १७ तोला सुन र ६० तोला चाँदी चाँहि ‘विवाहमा दिएको–माइतीले’भनी सम्पत्ति विवरणमा लेखेका थिए। पछि उनले टेलिभिजन अन्तर्वार्तामा सुन र चाँदी माइतीले दिएको तर, सबै होइन भन्दै प्रष्टीकरण दिए। उनले त्यो बेला एउटा जिकिर गरेका थिए–‘कहाँ कसको नाममा छ भन्दा पनि सम्पति विवरण सार्वजनिक गर्नु नै महत्वपूर्ण हो, के मैले मुख लुकाएर हिँड्नु पर्ने कुनै काम गरेको हो र ?’
उनको त्यति बेलाको अभिव्यक्तिले पनि भन्छ, माइतीबाट त्यत्रो सुन दाइजोमा आएकै थिएन। र, अहिले उनको एउटा घर भक्तपुरमा छ, लोकन्थलीक्षेत्रमा। सुरुमा त्यो घर ४ कोठाको एक तले थियो। त्यो पनि दुःख सुखले बनाएका रे ! अहिले, अलिकति थपथाप र टेन्टिङ पेन्टिङ भएको छ।
उनलाई नजिकबाट चिन्ने एक व्यक्तिले भने, ‘घुस र कमिसन खाने कुरा त आयो । तर, मुख्य चिन्ता चाँहि त्यत्रो रकम कसरी पचाउँछ होला ? त्यो मान्छेले भन्ने हो। वास्तममा भन्ने हो भने त्यो मान्छेसँग घुस खाएको रकम लुकाउने ठाउँ चाँहि छैन। अब स्वीस बैंकतिर भर्न थालेको भए थाहा भएन। तर, यहाँ त्यसले घुस खाएको रकम कहाँ राख्थ्यो होला ? म त अचम्म परिरहेको छुँ।’ उनले अगाडि थपे, ‘घरबार हेर्दा पनि खासै गतिलो छैन। ससुरालीलाई राख्न दिउँभने पनि त्यहाँ पनि खासै राम्रो अवस्था छैन। घुस खाएको रकम त्यसै कहाँ लुकाउन सकिन्छ र ? र, अरुलाई राख्न दिउँ भने उसैले खाएर टाप होलान्, त्यस्तो अवस्थाको मान्छे पो हो त, गोकुल।’ उनका अनुसार अहिले ५–७ करोड थुपारेको हुनसक्ला नभए अर्बको कुरा गर्नसक्ने मान्छे चाँहि होइन है।
यसलाई आधार मान्ने हो भने यो सेटिङ बाँस्कोटाको तहसम्म मात्रै थिएन। यसले सेटिङको लहरो माथिल्लो तहसम्मै जोडिएको हुनसक्ने संकेत गर्छ। र, यो प्रकरणले बाँस्कोटाको नियतमा मात्रै प्रश्न उठाएन, सिंगो सरकारमाथि नै प्रश्न उठेको छ।
मुखैले जितेका बाँस्कोटा
राजनीतिमा सानैदेखि लागेपनि काम गर्ने खालका मान्छे भने होइन रहेछन्, बाँस्कोटा। मुखैले जितेका। जहिल्यै प्रतिशोधपूर्ण चाल चाल्ने। विमत्ति राख्ने पक्षलाई सिध्याउनै पर्छ भन्ने मानसिकता। सबैलाई निमोठ्ने प्रवृत्ति। असाध्यै छुद्र। जिल्लामा हरेक नेतासँग झगडा गर्ने। कोही चुनाव लड्न लाग्यो कि पहिल्यै दावी गरिहाल्ने। कृष्णप्रसाद सापकोटा चुनाव लड्दा पनि ठडिए। विदुर सापकोटासँग त घमासान झगडा नै गरे। विदुरसँग अहिले बोलचाल नै टुटेको छ। अरुसँग पनि राम्रो सम्बन्ध छैन।
पत्रकारितामा पनि गतिलो अनुभव होइन
बाँस्कोटाले केही वर्ष साप्ताहिक दृष्टिमा काम गरे। सम्भु श्रेष्ठले कार्यकारी सम्पादकसम्म बनाए उनलाई। पछि सम्बोधन भन्ने पत्रिका निकाले। त्यसको सम्पादक भए, काम भने गरेनन्। काम सबै अरुण बरालले गरिदिन्थे। उनी गफ लडाउँथे। अरुणले बाँस्कोटा एमालेको जिल्ला अध्यक्ष हुँदासम्म पत्रिका प्रकाशन गरिदिएकै थिए। र, पछिसम्म त्यसरी नै काम चलाए, बाँस्कोटाले। अवसर भने जताततै छोपिहाल्ने।
संविधानसभा ताकै चुनाव लड्न खोजे। पछि, सांसद भइछाडे। उपहारमा मन्त्रालय पनि पाइहाले। सरकारको प्रवक्ता, प्रधानमन्त्रीको अति प्रिय। यतिसम्म कि तराजुको एउटा पल्लामा सबै मन्त्री र अर्को पल्लामा बाँस्कोटा, यतिसम्मको तुलना। नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवमा पराजित भए पनि जिल्ला तहमा सदस्य भएर काम गरेका हुन्। उनका मित्रले भने पत्रकार रहदाँ पनि बास्कोटा बिवादित भइरहन्थे।