- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
संसारको प्रशिद्ध ग्रन्थ श्रीमद्भगवद्गीताको सरल व्याख्या हाम्राकुरा मार्फत गर्ने क्रममा यो भन्दा अघिल्लो भागसम्म पहिलो देखि नवौं अध्यायसम्म प्रकाशित भइसकेको छ । अब दशौं अध्यायको व्याख्या प्रकाशित गर्नुभन्दा पहिले आजको यो भागमा श्रीमद्भगवद्गीता के हो भन्ने बारेमा केही चर्चा गरौं । अर्को भागवाट फेरि दशौं अध्यायबाट सुरु गरौंला ।
महाभारत युद्ध सुरु हुनै लाग्दा रणभूमि कुरुक्षेत्र, रणभूमीको कौरव र पाण्डव सेनाका बीचमा अठार अध्याय र सात सय श्लोकका माध्यमबाट भगवान् श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेश नै श्रीमद्भगवद्गीताका रुपले बुझिन्छ, जानिन्छ, पढिन्छ र मनन गरिन्छ ।
श्रीमद्भगवद्गीताको पहिलो अध्यायको पहिलो श्लोकको पहिलो शब्द “धर्म” बाट सुरु हुन्छ ।
धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः ।
मामकाः पाण्डवाश्चैव किमकुर्वत सञ्जय ।।
यसको अन्तिम वा अठारौँ अध्यायको अन्तिम अठहत्तरौं श्लोकको अन्तिम शब्द “म” मा गएर टुंगिन्छ ।
यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः ।
तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम ।।
यसबाट श्रीमद्भगवद्गीताको सम्पूर्ण अर्थ एकैपटक बुझ्न सकिन्छ । यसको सिधा र सरल अर्थ वा श्रीमद्भगवद्गीताको सार “मेरो धर्म” पालन गर्नु हो ।
धर्मका जम्मा दुईवटा मात्र रुप हुन्छन्, तेस्रो रुप हुनै सक्दैन । धर्मको पहिलो रुप परोपकार हो । यस अन्तर्गत दान, पालन पोषण, उद्धार आदि पर्दछन् । धर्मको दोस्रो रुप कर्तव्य पालन हो । शास्त्र अनुरुप र आफूलाई तोकिएको कर्म गर्नु नै कर्तव्य पालन गर्नु हो । यी दुबै एक अर्काका पुरक हुन् । सामाजिक प्राणीले यी दुबैको पालन गर्नैपर्छ । आफ्नो धर्म पालन गर्न सिकाउने सुत्र नै श्रीमद्भगवद्गीताका सात सय श्लोक हुन् ।
महाभारतको भीष्मपर्व अन्तर्गतका २३ देखि ४० अध्यायका यी श्लोक आजपर्यन्त जीवन बाँच्न सबैभन्दा उपयोगी श्लोक मानिन्छन्, उपदेश मानिन्छन् । महाभारत युद्धका लागि कौरव र पाण्डवका सेनाहरु कुरुक्षेत्रमा आम्नेसाम्ने भएर बसिसकेपछि र युद्धको शंख बजिसकेपछि अलमलमा परेका अर्जुनको दुबिधा समाप्त पार्न श्रीकृष्णले दिनुभएको उपदेश नै श्रीमद्भगवद्गीता हो ।
श्रीमद्भगवद्गीताको सम्वाद भगवान श्रीकृष्ण र अर्जुनका बीचमा मंसिर शुक्ल एकादशीका दिन भएको थियो । तसर्थ हरेक वर्ष त्यसदिनलाई गीता जयन्तीको रुपमा मनाइन्छ । विद्वानहरुका अनुसार यो सम्वाद करिब ४५ मिनेटको थियो ।
श्रीमद्भागवतमा भगवानको रुप, गुण र पुरुषार्थको बयान गरिन्छ भने ‘भगवद’ भन्ने शब्दले भगवान् आफैंले भन्नुभएको हो वा गाउनुभएको भन्ने जनाउँछ । बेला बेलामा प्रश्न उठ्छ– भगवान् भनेका को हुन् ? भगवान् कस्ता हुन्छन्, भगवानले के गर्छन् ? के साँच्चिकै भगवान् छन् वा थिए ? यो प्रश्नको उत्तर सजिलो छ । यसको लागि यो शब्दको अर्थमा जानुपर्छ । जब भगवान् शब्दको अर्थ बुझिन्छ, सबैकुरा आफैं स्पष्ट हुन्छ ।
भगवान् संस्कृत भाषाको ‘भग’ भन्ने धातुबाट बनेको शब्द हो । वानको अर्थ हुन्छ– धारण गर्नु ! भगमा छवटा तत्वहरु हुन्छन्– ऐश्वर्य, धर्म, यश, श्री, ज्ञान र वैराग्य । यी छवटा तत्व जसले धारण गर्छ त्यो नै भगवान् हो । यी सबै तत्व धारण गर्ने भगवान् श्रीकृष्ण आफैँले आफ्नो मुखबाट भनेका शब्दहरुको संग्रह श्रीमद्भगवद्गीता हो । श्रीमद्भगवद्गीता भगवान् वाणी हो ।
सनातन ग्रन्थहरु र पुराणहरुमा धेरै कुराहरु ऋषिमुनीहरुले एकले अर्कालाई बताइरहेको पाइन्छ, तर श्रीमद्भगवद्गीता मात्रै यस्तो ग्रन्थ हो, जहाँ भगवान् आफैँ बोल्नुहुन्छ । अझै एक वाक्यमा भन्नुपर्दा श्रीमद्भगवद्गीता भगवान् वाक्य हो ।
श्रीमद्भगवद्गीताको मूल सार ज्ञान, भक्ति र कर्म हो । तर यी तीन तत्व बुझाउन श्रीमद्भगवद्गीतामा गुरू–शिष्यको सम्बन्ध देखाइएको छ, भगवान् र मानवको सम्बन्धको विषयमा चर्चा गरिएको छ, पुनर्जन्मको विषयमा कुरा गरिन्छ, आत्माको बारेमा ब्याख्या गरिन्छ । यसका साथै अरु धेरै उदाहरुणबाट भगवान् श्रीकृष्णले अर्जुनलाई आफ्नो कर्तव्य सम्झाउनु हुन्छ, आफ्नो धर्म सम्झाउनुहुन्छ ।
श्रीमद्भगवद्गीता संसारको सबैभन्दा ठूलो दर्शन हो । यो श्रीकृष्ण र अर्जुनको संवाद हो । अर्थात यो नर र नारायणको सम्वाद हो । अर्जुन प्रश्न सोध्दै जान्छन्, आफ्ना दुबिधाहरुका बारेमा श्रीकृष्णलाई सोध्दै जान्छन्, भगवान् श्रीकृष्ण उत्तर दिँदै जानुहुन्छ । यहाँ भगवानले सुन्नु र देख्नुको फरक बताउन अर्जुनलाई आफ्नो रुप देखाउनुहुन्छ । सुन्नु र अनुभव गर्नु, पहिलो ज्ञान र दोस्रो विज्ञान । यी दुबैको अनुभव यो ग्रन्थमा हुन्छ । जति जति श्रीमद्भगवद्गीता अघि बढ्दै जान्छ, त्यति त्यति अर्जुनको भ्रम कम हुँदै जान्छ । उनले भगवान्, आफू, जीवन र कर्तव्य बुझ्दै जान्छन् । संसारलाई हेर्ने उनको दृष्टिकोणमा परिवर्तन हुँदै जान्छ ।
यस्का सातसय श्लोकमध्येका सात प्रमुख श्लोकमा पुरै श्रीमद्भगवद्गीतालाई सप्तश्लोकीगीतामा शारांश गरिएको छ । ती अत्यन्त प्रभावशाली श्लोकको मात्रै अध्ययन र मननले पनि मानिसको जीवनमा सकारात्मक परिवर्तन हुनसक्छ ।
सप्तश्लोकी भगवद्गीता
ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन् ।
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।।१।। (अध्याय ८ श्लोक १३)
जसले अक्षरहरूको परसंयोग ॐकारको उच्चारण गर्दै भगवानको चिन्तन गर्दछ र आफ्नो शरीर त्याग गर्दछ, त्यसले आध्यात्मिक लोक प्राप्त गर्दछ ।
स्थाने हृषीकेश तव प्रकीत्र्या जगत्प्रहृष्यत्यनुरज्यते च ।
रक्षांसि भीतानि दिशो द्रवन्ति सर्वे नमस्यन्ति च सिद्धसङ्घाः ।।२।। (अध्याय ११ श्लोक ३६)
हे हृषिकेश, हजुरको नाम सुनेर दुनियाँ हर्षित भइरहेको छ । साथै हरेक व्यक्ति हजुरप्रति आशक्त भइरहेको छ । सिद्ध पुरुषहरू हजुरलाई सादर अभिवादन अर्पण गरिरहेका छन् र असुरहरू डरले यता र उता भागाभाग गरिरहेका छन् । यो सब उचित हो ।
सर्वतःपाणिपादं तत्सर्वतोऽक्षिशिरोमुखम् ।
सर्वतःश्रुतिमल्लोके सर्वमावृत्य तिष्ठति ।।३।। (अध्याय १३ श्लोक १३)
परमात्माका हात, पाउ, आँखा, शीर, अनुहार र कान सर्वत्र फैलिएका छन् । परमात्मा हरेक वस्तुमा व्याप्त भएर रहनुभएको छ ।
कविं पुराणमनुशासितारमणोरणीयांसमनुस्मरेद्यः ।
सर्वस्य धातारमचिन्त्यरूपमादित्यवर्णं तमसः परस्तात् ।।४।। (अध्याय ८ श्लोक ९)
जो सर्वज्ञ हुनुहुन्छ, अनादि हुनुहुन्छ, सुक्ष्म हुनुहुन्छ, सबैका पालनकर्ता हुनुहुन्छ, जो समस्त भौतिक अवधारणाभन्दा पर हुनुहुन्छ, जो अचिन्त्य हुनुहुन्छ, जो सधैँ एउटा पुरुषका रुपमा हुनुहुन्छ र यो भौतिक प्रकृतिभन्दा पर दिव्य स्वरूपका हुनुहुन्छ, उनै परमपुरुषको चिन्तन गर्नुपर्दछ ।
ऊध्र्वमूलमधःशाखमश्वत्थं प्राहुरव्ययम् ।
छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित् ।।५।। (अध्याय १५ श्लोक १)
माथितिर फेद वा जरा भएको, तलतिर हाँगाहरू फैलिएको र वेदका ऋचारुपी पातहरू भएको एउटा अविनाशी पिपलको वृक्ष छ । त्यो वृक्षलाई जसले चिन्दछ, त्यो नै वेदको ज्ञाता हो ।
सर्वस्य चाहं हृदि सन्निविष्टो मत्तः स्मृतिज्र्ञानमपोहनं च ।
वेदैश्च सर्वैरहमेव वेद्यो वेदान्तकृद्वेदविदेव चाहम् ।।६।। (अध्याय १५ श्लोक १५)
म प्रत्येक जीवको हृदयमा अवस्थित छु । मबाट नै स्मृति, ज्ञान र विस्मृतिहरू हुन्छन् । म नै वेदहरूद्वारा जान्न योग्य छु । म नै वेदका तत्वको निर्णय गर्छु । म नै समस्त वेदको ज्ञाता पनि हूँ ।
मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायणः ।।७।। (अध्याय ९ श्लोक ३४)
मनलाई सधैँ मेरै चिन्तनमा लगाऊ, मेरै भक्त बन, मेरै पूजा गर, मैलाई नमस्कार गर । यसरी पूर्णतया ममा तल्लीन भएपछि तिमीले मलाई नै प्राप्त गर्नेछौ ।
जब शिष्यको कुरा आउँछ, ज्ञान आर्जनका हिसाबले मानिसहरु चार प्रकारका हुन्छन्– ज्ञानी, अज्ञानी, मुढ र मुमुक्षु ।
पहिलो, ज्ञानी । ज्ञानीको गुण सधैँ निशब्द हुन्छ, सधैँ सिक्न खोज्छ, पवित्र हुन्छ, ऊ सधैँ काखे बालकजस्तो हुन्छ, पवित्र हुन्छ ।
दोस्रो अज्ञानी । अज्ञानी, बुद्धिहीन हुन्छ, ऊ झुक्दैन । मलाई कसले सम्झाउने ? म सबै जान्दछु भन्ने स्वभाव उसको हुन्छ । सही र गलत के हो भनेर उसले कहिल्यै छुट्याउन सक्दैन । उसले कसैलाई गुरु मान्दैन । उसले कसैलाई कुनै प्रश्न सोधिहाल्यो भने पनि त्यो व्यक्तिको परीक्षा लिनका लागि सोध्छ ।
तेस्रो मुढ । मुढले कुनै कुरा सोच्दैन, जीवनमा समस्या छ भन्ने कुरा पनि बुझ्दैन, ऊ एकदमै रागी हुन्छ, पशु हुन्छ र उसले भन्ठान्छ– मैले सोच्न पर्ने र बुझ्नुपर्ने कुरा अब यो दुनियामा केही पनि छैन ।
चौथो मुमुक्षु । ऊ सधैँ आकांक्षी हुन्छ । ऊ सधैँ सोच्छ, ऊ सधैँ सरल हुन्छ । उसले सधैँ प्रश्न गर्छ । उसका प्रश्नहरु ज्ञान आर्जनका लागि हुन्छन् ।
श्रीमद्भगवद्गीतामा अर्जुन मुमुक्षु हुन् । अर्जुनको विषादका कारण र उनका प्रश्नका कारण समाजले आजका लागि श्रीमद्भगवद्गीता पायो, भगवान् वचन पायो र जीवन बाँच्ने आधार पायो । यदि हरेक मानिस जिज्ञासु हुने हो भन्ने सन्ततिले जीवन बाँच्ने उपदेश पाउने कुरा श्रीमद्भगवद्गीताबाट सिक्न सकिन्छ ।
श्रीमद्भगवद्गीता पात्र र प्रवृत्तिको संगम हो । यहाँ अर्जुन पात्र र प्रवृत्ति दुबै हुन्, जुन कुरा श्रीमद्भगवद्गीता जति जति अघि बढ्छ, त्यति त्यति बुझ्न सकिन्छ । पात्र र प्रवृत्ति बुझ्न कुनै पनि प्रश्न कसैले गर्दा चारवटा तत्व आवश्यक हुन्छ भन्ने बुझ्नु जरुरी हुन्छ । श्रीमद्भगवद्गीतामा ती चारवटै तत्व विद्यमान देखिन्छन् ।
यी चारवटा तत्व हुन्– विषय, सम्बन्ध, प्रयोजन र अधिकारी । यी चारवटा तत्व नभइ प्रश्न र उत्तर हुनै सक्दैन । यदि ती चार तत्व भएन भने ती प्रश्न र त्यसका उत्तरको कुनै अर्थ पनि रहदैँन । श्रीमद्भगवद्गीतामा विषय विषाद, शोक र मोह हो । यहाँ सम्बन्ध गुरू र शिष्यको हो । प्रयोजन विषाद, शोक र मोह नाशको हो भने श्रीमद्भगवद्गीताको अधिकारी शिष्य वा अर्जुन हुन् । यहाँ विषय अर्जुन पनि हुन् भने गुरू शिष्य श्रीकृष्ण र अर्जुन हुन् । प्रयोजन पनि अर्जुनकै मोहनाश हो ।
श्रीमद्भगवद्गीताका उपदेश त्यो बेला अर्जुनका लागि जति महत्वपूर्ण थिए, आज हाम्रा लागि त्यो भन्दा कम उपयोगी छैनन् । यी सातसय श्लोक मध्ये एकाध श्लोक मात्रै पनि मनन गरी जीवनमा उपयोग गर्न सकियो भने सबै कर्मयोगी जीवको जीवन सुखी हुन्छ, खुसी हुन्छ र ऊ भगवानले दिएको ज्ञानको माध्यमबाट कर्मको बाटो हिंड्दै मोक्ष प्राप्त गरी यो संसारमा कहिल्यै नफर्कने गरी भगवानको धाममा पुग्छ । यसमा कुनै संका छैन ।
(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ । त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)