arrow

गोकुल बास्कोटाका दुई वर्ष 

logo
प्रकाशित २०७६ फागुन ९ शुक्रबार
gokul-baskota1.JPG

काठमाडौं । निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा राजीनामा दिनुपूर्वका सरकारका एकमात्र केन्द्रमा रहिरहने पात्र हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र बास्कोटाले आफ्नो झण्डै दुई वर्षे कार्यकाललाई निकै सदुपयोग गरेका छन् । 

उनी निरन्तर मिडियामा आइरहे । सरकारका प्रवक्ता भएका नाताले पनि उनी हरेक समयजसो मिडियाकै अगाडि रहिरहे । कसैले चाहेर या नचाहेर उनलाई पछाडि धकेल्न सक्दैनथ्यो । तर विधिको विधान उनी झण्डै दुई बर्षमा पदमुक्त हुनु परेको छ । 

उनको व्यवहारका कारण उनलाई मन्त्री पदबाट हटाउन जनस्तरबाट पटक पटक आवाज उठाउँदा समेत प्रधानमन्त्री ओलीले सुनिरहेका थिएन् । तर अहिले भने भ्रष्टाचार काण्डमा परेर उनले हुँदाखाँदाको मन्त्री पद नै गुमाउनु परेको छ । 

तीखो एवं मनमा विझ्ने बोली त उनले बोलकै हुन् । मिडियाकर्मीलाई उनले भन्न बाँकी केही राखेनन् । विपक्षी दलका नेताहरुलाई पनि बाँकी राखेनन् । आफ्नै दलका नेताहरुलाई पनि भन्न बाँकी राखेनन् । 

नम्र कम कडा बढी बोलेर आलोचनाका पात्र बने पनि बोलिरहे । यसमा ओलीले पनि कुनै बन्देज लगाएनन् । एक नेकपाका नेताका अनुसार उनी ओलीका ‘बयानपात्र’ थिए ।

उनले त्यसैगरी नै आफ्नो भाषण र भनाईलाई राख्दै आए । नभन्दै निकै छिट्टो राजनीतिमा हुर्केका बास्कोटाको यात्रा पनि त्यसैगरी नै छोटिएको छ । 

परिस्थ्तििले उनलाई त्यहाँसम्म पुर्याइदिएको छ । उनी हाम्राकुराले नै ब्रेक गरेको उनको भ्रष्टाचारको प्रकरणमा मुछिएका थिए । त्यहाँ हजार वा लाखको कुरो थिएन । करोडौंको हिसाबकिताब थियो । देशलाई टाँट पल्टाउने योजनाको एक हिस्सा थियो । 

कसरी टिके होलान् दुई वर्षसम्म मन्त्रिपरिषद्मा ?  
केपी ओलीले सत्ता सम्हालेपछि बिहीबारसम्म गरी नौं पटक मन्त्रिपरिषद फेरबदल भएको छ । त्यही फेरबदलको नवौं चरणका मात्र हुन् बास्कोटा । हुनत मन्त्रिपरिषदको फेरबदलको कुरा आउनासाथ जहिले पनि फेरिनु पर्ने मन्त्रीको सूचीमा बास्कोटाको नाम अग्रपंक्तिमा पर्ने गरेको थियो । 

तर प्रधानमन्त्रीका सवैभन्दा विश्वासी पात्र भएकाले उनलाई प्रधानमन्त्रीले सधैँ संरक्षण गरि नै रहेकाले अहिलेसम्म रहन सफल भएका थिए । जनताको आवाज एक दिन अवश्य सुन्नै पर्छ भन्ने यसले देखाएको छ । बेलैमा जनआवाज सुनेको भए यस्तो क्षति नहुने विश्लेषण भइरहेको छ । 
 
उनले हरेक पत्रकार सम्मेलन, हरेक भाषण र प्रतिक्रियामा दम्भ र घमण्ड मिश्रित अभिव्यक्त दिने भएकाले चर्को आलोचना जनस्तरमा थियो भने पत्रकारहरुलाई उपदेश दिने, धम्क्याउने र नियन्त्रणकारी कानुन बनाउने गरेकाले संचार क्षेत्र पनि रुष्ट थियो । 

भ्रष्टाचार सम्वन्धी काण्डमा परेर बास्कोटा जवरजस्ती बाहिरिनु परेकोमा आम नागरिक, संचार क्षेत्र र नेकपा भित्रकै अधिकांश कार्यकर्तामा पनि खुशीयाली देखिएको छ । 
सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुले उनको बहिर्गमनलाई सन्तोष र सकारात्मक रुपमा लिएको बुझ्न सकिन्छ । 

झण्डै दुई दशक पत्रकारिता गरेर राजनीतिमा हाम फालेका बास्कोटा २०७४ साल चैत २ गते संचार राज्यमन्त्रीमा नियुक्त भएका थिए । उनको नियुक्तीलाई नै अस्वभाविक र अनपेक्षित मानिएको थियो । किनकि उनी पहिलो पटक मन्त्रिपरिषदमा छिरेका थिए । 

तैपनि संचार क्षेत्रकै व्यक्ति संचार मन्त्री हुनुबाट सकारात्मक अपेक्षा गरिएको थियो । तर यो अवधि पुरै अपेक्षा विपरित र अन्त्य पनि त्यस्तै भैदियो । संचार मन्त्री भएपछि आफु मातहतकै सरकारी टेलिभिजन नेपाल टेभिजिनमा पत्रकार राजु थापासँगको अन्तर्वार्तादेखि नै उनको घमण्ड दम्भको प्रदर्शन सतहमा आएको हो । 

सम्पत्ति विवरणका बारेमा गरिएको प्रश्नमा उनले झुट बोलेपछि प्रश्नकर्ताले जवाफ र विवरणमा फरक देखिएको प्रतिप्रश्न गर्दा बास्कोटाले थापालाई धम्कीपूर्ण जवाफ र अर्ति उपदेश दिएका थिए ।

त्यसको केही दिनपछि थापालाई उनकै निर्देशनमा टेलिभिजनबाट हटाइएको थियो । त्यति बेलादेखि उनको आलोचना चरम उत्कर्षमा पुगेको हो । त्यसपछि सम्पत्ति विवरणमा सामसुङको आईफोन लेखिएको विवरण सार्वजनिक भएपछि उनी निकै ठट्टाको पात्र बने । 

हरेक पत्रकार सम्मेलनमा पत्रकार र संचार क्षेत्रका विरुद्धमा आक्रामक रुपमा प्रस्तुत हुने गरेकाले पनि उनी चर्चामा रहे । पत्रकारलाई अनेक उपमा दिएर गाली गरिरहेका हुन्थ्ये भने दशैंमा दशैं खर्च लिन आउन निमन्त्रणा गरेर पनि आलोचित भए । 

पत्रकारलाई ख्याउ ख्याउ नगर्न उपदेश दिन्थे भने शिकारीको उपमा पनि दिएका थिए । पत्रकारको प्रश्नमा उत्तर दिनुभन्दा उनीहरुमाथि नै प्रश्न तेर्साउने र विषयान्तर गराई प्रश्न सोध्नेलाई नै शंकास्पद पात्रको रुपमा टिप्पणी गर्ने उनको बानी थियो ।
 
पत्रकारले प्रश्न गर्दा ‘दुई तिहाइलाई हेप्नी ?’ भनेर उनले दिएको जवाफ आम नेपालीको थेगो बन्न पुग्यो । उनले गाली नगरेको र टिका टिप्पणी नगरेको सायद कुनै क्षेत्र थिए, कर्मचारीलाई ‘मु...’भनेर गाली गरेको अडियो नै सार्वजनिक भयो भने टेलिकमका कर्मचारीलाई ठगहरुको जमात भन्ने गरेका थिए । टेलिकमका इन्जिनियरलाई त उनले देशद्रोहीसम्म भन्न भ्याएका थिए ।
 
आफ्नो पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गा कमिसनमा लिएको विषयले चर्चा पाएको बेला बास्कोटाले पौडेलको पक्षपोषण गर्दै ‘पौडेललाई दलालहरुले ठगेको र उहाँलाई क्षतिपुर्ति दिनु पर्ने’ उल्टो तर्क गरेर चर्चा पाए । 

संविधान दिवसका दिन विदा दिइए पनि कार्यालयमा आएर दिवस मनाउने कार्यक्रमहरु गर्न निर्देशन दिदै उनले कसैलाई डेटिङ जान र घुम्न तथा मोजमस्ती गर्न विदा दिइएको होइन भन्ने जवाफ दिएर लामो समय हाँस्य पात्र बने । 

बास्कोटाको विवादास्पद भूमिकाबाट असह्य भएर वरिष्ठ अधिवक्ता शम्भु श्रेष्ठले उनको हुलिया नै खराब भएको टिप्पणीसहितको आक्रोश व्यक्त गरेका थिए । 

आफ्नो गृह जिल्ला काभ्रेपलाञ्चोकमा भएको एउटा सानो कार्यक्रममा अनुहार नै नदेखिने गरी माला लगाएको र पदमुक्त हुनुभन्दा अघिल्लो दिन १३ किलोको माला लगाएको विषयले पनि उनलाई धेरैले ठट्टा गरिरहेका छन् । 

उनी कुनै समय खासै चर्चामा आएनन् । मिडियाले राम्रा कुरा लेखेनन् । किनकि उनले राम्रो गरेनन् । अनि चर्चामा आउन बेमौसममा आफूले पढाउने ठेक्का लिएका विद्यार्थीलाई भेट्न पुगे । जबकि उनले आफूले अभिभावकत्व लिएका विद्यार्थीको नतिजासमेत कस्तो आयो कुनै चासो दिएनन् । 

विभागीय मन्त्रीको हैसियतमा संचार क्षेत्रको संरक्षण र प्रबद्र्धनमा सहयोगी कानुनहरु ल्याउनु पर्नेमा नियन्त्रणकारी कानुनहरु ल्याउँदा उनी सधै पत्रकार र संचार क्षेत्रको शत्रु जस्तो बन्न पुगे । 

प्रेस काउन्सिलले ऐन, सूचना प्रविधि ऐनलगायतका झण्डै एक दर्जन ऐन उनले ल्याएका थिए । ती सबै चर्को विवाद र विरोधको शिकार भए । अधिकांश प्रस्ताव संशोधन भएका छन् भने कतिपय अन्यौलमा परेका छन् । 

गुठी विधेयकले काठमाडौं पुरै आन्दोलित भएका बेला उनले आन्दोलन मत्थर पार्ने भन्दा पनि आगोमा घिउ छर्ने अभिव्यक्ती दिएका थिए । उनका अभिव्यक्तिका कारण कतिपय बेला आम नागरिकले विरोध प्रदर्शन गर्नु परेको थियो । 

प्रधानमन्त्री निवास अगाडिदेखि संसद र माइतीघरमण्डलासम्म उनका विरुद्धमा नारा घन्किएका थिए । बास्कोटालाई कारबाही गर्न माग गर्दै राष्ट्रिय सभामा चर्काचर्की नै भएको थियो । 

सरकार र विद्रोही नेकपाका बीचमा विवाद भइरहेका बेला सरकार प्रवक्ता बास्कोटाले विप्लवलाई भड्काउने अभिव्यक्ति दिएको भन्दै आम नागरिकले चिन्ता व्यक्त गरेका थिए । 

यस्तै उथलपुथलका बीच बास्कोटाको कार्यकाल स्मरणीय कार्यकाल बनेको छ । सरकारबाट छाड्ने बेलामा नैतिकताका आधारमा उनले राजीनामा दिएको बताएका थिए । 

उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै लेखेका थिए, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’

त्यसो त यतिठूलो काण्डमा मुछिएपछि कुनै पनि व्यक्तिलाई सम्हाल्न गाह्रो पर्छ । तर उनी सहज देखिएका छन् । उनले शुक्रबार बिहान महाशिवरात्रीको शुभकामना दिएका छन् । 

उनले लेखेका छन्, ‘प्रत्येक वर्ष फागुन चतुर्दशी दिन मनाइने महाशिवरात्री पर्वको अवसरमा सबै हिन्दू धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’

पूर्व मन्त्री बास्कोटालाई मंगलमय शुभकामना । 

अन्त्यमा, 
बास्कोटालाई शुभकामनासंगै एउटा कुरा स्पष्ट के छ भने यो प्रकरण निकै खतरनाक छ । संसदको सार्वजनिक लेखासमितिले समेत पनि यो विषयमा गाम्भीर्यता देखाएको छ ।

संसदका दुवै सदन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध पारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बास्कोटाका कार्यकक्षका सबै सामग्री नियन्त्रणमा लिएको छ । 

यति हुँदाहुँदै पनि भ्रष्टाचार प्रकरणलाई फासफुस पार्न खोजियो भने त्यो अर्को ठूलो दुर्घटना हुनेछ । किनकि ओलीले यसअघि पनि आफ्ना प्रियहरु जोडिने विषयलाई फासफुस पार्न अनेक नाटक रच्ने गरेका छन् । त्यसको उदाहरणका रुपमा वाइडबडी खरीद प्रकरणलाई लिन सकिन्छ । 

यसमा बास्कोटाले सघाउनु पर्छ । उनले सघाउन सकेनन् र यो काण्ड लगायतका लुकेका भ्रष्टाचारका विषयमा उनले सत्यतथ्य बताएर सहयोग गरेनन् भने उनी त कार्वाहीको भागेदार हुने नै छन् अन्य भ्रष्टहरु छुट्न सक्ने सम्भावना छ । 

अनि बालुवाटार जग्गा प्रकरणमा पनि आफ्ना जोगाउन भएको खेलले अहिले चर्को विवाद ल्याएको छ । सरकार कसरी अगाडि बढ्ला भन्ने कुरा महत्वपूर्ण छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ