- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पहिलो भाग श्लोक १ देखि १८ सम्मः भगवानको ऐश्वर्य
श्रीमद्भगवद्गीताको अध्याय दश अन्तर्गतको विभूति योग । यसलाई भगवानको ऐश्वर्य योग पनि भन्न सकिन्छ । सातौं अध्यायबाट अत्यन्त महत्वपूर्ण ज्ञान दिन थाल्नुभएका भगवान् श्रीकृष्ण आठौं अध्यायमा आएर अर्जुनका प्रश्नले अर्कोतिर मोडिनुभएको थियो । तर फेरि नवौं अध्यायभरी भगवान् अझ स्पष्ट रुपमा सातौं अध्यायमा भन्न लागेका कुराहरु सुनाउन र बुझाउन तल्लिन हुनुभयो । अब दशौँ अध्यायमा आइपुग्दा अर्जुन हरेक दृष्टिकोणबाट भगवानको भक्त भैसकेको हेक्का श्रीकृष्णलाई हुन्छ । त्यसपछि भगवान् बिना कुनै प्रश्न आफ्ना प्यारा भक्तलाई सम्झाउन थाल्नुहुन्छ । अहिलेसम्म भगवानले संक्षेपमा मात्र आफू को को र कुन कुन रुपमा छु भन्नु भएको छ भने अब यो अध्यायमा आइपुग्दा त्यो विस्तृत हुन पुग्छ ।
बयालीस श्लोकको यो अध्यायमा भगवानले आफ्ना विभिन्न विभूतिहरुको चर्चा गर्नुहुन्छ अध्याय कै नामअनुसार । सबैभन्दा पहिले त अर्जुन सुन्दै हुनुहुन्छ, भगवान् भन्दै गइरहनुभएको छ । जब कोही स्रोता बनेर त्यो पनि शिष्यको रुपमा आफूलाई गुरू मानेर अगाडी सुन्न बसेको छ, ऊ एकछत्र सुनिरहेको छ, आफ्ना कुराहरुमा ध्यान दिइरहेको छ र बेलाबेलामा उसलाई शंका लागेका या नबुझेका कुरा बुझ्न प्रयास गर्छ भने वक्तालाई बोल्न जाँगर चल्छ । त्यो बेला मात्रै गुरू शिक्षा दिन तत्पर हुन्छन् जब शिष्य शिक्षा लिन तत्पर हुन्छ ।
खासमा जहाँ भगवान् श्रीकृष्ण उपदेश दिइरहनुभएको छ र अर्जुनले उपदेश लिइरहनुभएको छ सामान्य मानिसका लागि शिक्षा आदानप्रदान गर्ने उपयुक्त ठाउँ होइन । अर्जुन महाभारतको युद्धका लागि रणभूमिमा छिरिसकेका छन् र त्यहाँ दुवैतिर संसारका सबैभन्दा शक्तिशाली सेना छन्, युद्धको शंखध्वनी बजिसकेको छ । यस्तोमा युद्धको परिणामको बारेमा संशय हुनुपर्ने हो, हारजितका कुरा मनमा आउनुपर्ने हो, मनमा क्रोध र आक्रोशले ठाउँ लिनुपर्ने हो । तर त्यस्तो बेला पनि भगवानको वाणी सुनेर अर्जुन गद्गद् भइरहेका छन् । अर्जुनले त आफ्नो जीवनकालको सबैभन्दा उत्तम ज्ञान यही बेला प्राप्त गरिरहेका छन् । त्यो बेलामा उनका धेरै भ्रमहरुको पर्दा उघ्रिन लागेको अवस्था छ । त्यसैले उनी असाध्यै कम बोलिरहेका छन् र धेरै सुनिरहेका छन् भने भगवान् एकोहारो बोल्दै हुनुहुन्छ । यो अध्यायको बीचतिरका सात श्लोकमा अर्जुन केही प्रश्न गर्छन्, अरु बाँकी सबै पैँतीस श्लोकमा भगवान् श्रीकृष्ण बोल्नुहुन्छ । भगवानले आफ्नो ऐश्वर्यको बारेमा व्याख्या गर्ने यो अध्याय दश अन्तर्गतको यो विभूति योगलाई पाँच भागमा बाँड्नुभएको छ ।
पहिलो भाग अन्तर्गत् भगवान् श्रीकृष्णले पहिलो श्लोकदेखि सातौं श्लोकसम्म विभूति र योगशक्ति भनेको के हो र त्यो जान्दा के हुन्छ भनेर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–
न मे विदुः सुरगणाः प्रभवं न महर्षयः ।
अहमादिर्हि देवानां महर्षीणां च सर्वशः ।।
यो सर्वश्रेष्ठ ज्ञान हो । मलाई कसैले चिन्दै चिन्दैन किनभने हरेक दृष्टिबाट म देवताहरु र महर्षिहरुको उत्पतिको स्रोत हूँ । हामीले मान्ने, श्रद्धा गर्ने महर्षिहरु र हामीले पुज्ने देवताहरुको पनि उत्पतिको स्रोत भनिसकेपछि सानोतिनो बल र सानोतिनो ज्ञानबाट भगवानलाई बुझ्नु त असंभवप्राय हो । त्यसैले भगवान् भन्नुहुन्छ– मलाई जसले बुझ्छ त्यो मोहरहित माहात्मा हो र त्यो मुक्त हुन्छ । मुक्त भन्ने शब्दलाई यहाँ भगवानले ज्ञानसँग जोड्नुभएको छ । यस अर्थमा यहाँ ज्ञान भनेकै मुक्ति हो र विज्ञान भनेको भगवानसँगको प्रेम हो ।
भगवान् भन्नुहुन्छ–
बुद्धिज्र्ञानमसम्मोहः क्षमा सत्यं दमः शमः ।
सुखं दुःखं भवोऽभावो भयं चाभयमेव च ।।
अहिंसा समता तुष्टिस्तपो दानं यशोऽयशः ।
भवन्ति भावा भूतानां मत्त एव पृथग्विधाः ।।
बुद्धि, ज्ञान, असम्मोह, क्षमा, सत्य, दम, शम, सुख, दुःख, भव, अभाव, भय, अभय, अहिंसा, समता, तुष्टि, तप, दान, यश, अपयश जस्ता बीस गुणहरु मबाट उत्पन्न हुन्छन् ।
यिनीहरु के हुन त ? बुद्धि भनेको सही र गलत छुट्याउने शक्ति हो । अथवा कुनै उदेश्यलाई लिएर निश्चय गरिने अठोट नै बुद्धि हो । आत्मा र पदार्थलाई चिन्नु ज्ञान हो । आत्मा र पदार्थ चिनिसकेपछि मान्छे मुक्त हुन्छ । जब पदार्थ नाशवान छ, क्षणिक हो र आत्मा अविनाशी छ, अनन्त छ भनेर कसैले बुझ्दछ भने त्यो मान्छे फेरि बन्धनमा पर्दैन, उसले मुक्तिको बाटो पहिल्याईसकेको हुन्छ ।
असम्मोह भनेको शंका हट्नु या सन्देहबाट मुक्त हुनु हो । होला कि नहोला, सही होला या गलत होला भन्ने दुबिधाबाट जब मान्छेले आफूलाई बाहिर निकाल्छ उसमा कुनै पनि किसिमको मोह बाँकी रहँदैन, डर बाँकी रहँदैन । मुक्तिका बारेमा त हामीले बारम्बार भनेकै छौँ मुक्ति भनेको मोक्ष हो । जन्म र कर्मको बन्धनबाट मोक्ष हुनुनै मुक्ति हो । मुक्ति भनेको भगवद्धाम हो । अन्तिम लक्ष हो ।
अरुले गरेको गल्तीको लागि माफी गरिदिनु क्षमा हो । जब कसैले जानी जानी वा अज्ञानतावश गल्ती गरेको छ र त्यसबाट उसले आफूलाई सुधार्न चाहन्छ भने उसलाई माफी गरिदिनुपर्छ, त्यो ज्ञानी पुरुषको लक्षण हो । यसरी क्षमा गर्दा त्यो मानिसलाई कुनै प्रकारको दण्ड नहोस् भनी सोच्नुपर्छ ।
अरुको हितका लागि जे छ त्यस्तै प्रस्तुत गर्नु सत्य हो । अहिलेको सन्दर्भमा हामी मानिसहरु धेरै आत्मकेन्द्रीत भइसकेका छौँ । हामी जे कुरा गर्दा पनि आफूलाई केन्द्रमा राखेर गर्ने गर्छौं । केही कुरा बोल्नुपर्यो भने आफूलाई त्यस कुराले हित गर्छ कि गर्दैन त्यो कुरालाई मध्येनजर गरेर मात्र बोल्ने गर्छौं । तर जति सुकै सत्य बोले पनि त्यो आफ्नो हितका लागि र आफ्नो स्वार्थका लागि बोलिएको छ भने भगवानले त्यसलाई सत्य मान्नुहुन्न । त्यसकारण भगवान् श्रीकृष्ण भन्नुहुन्छ– आफ्नो हितका लागि बोल्ने कुरा सत्य होइन अरुका हितका लागि जस्ताको त्यस्तै प्रस्तुत गरिन्छ भने त्यो नै सत्य हो ।
दम भनेको आवश्यकताभन्दा बढि चिजको संग्रह नगर्नु हो । अहिले समाज यस्तो भइसक्यो कि, हामीसँग जति सम्पति भए पनि पुग्दैन । जतिसुकै धनसम्पतिको थुप्रो लागेको किन नहोस् हामी फेरि संग्रह गर्न र बटुल्न उद्वत हुन्छौँ । हामीलाई सुन चाँदी जग्गाजमिन र धनपैसाले कहिल्यै पुग्दैन । त्यो भनेको हामी इन्द्रिय तृप्तिको लालसाबाट मुक्त हुन सकेका छैनौँ । हामीले हाम्रो इन्द्रियलाई वशमा राख्न नसकेको हो । यदि हामी साँच्चै मोक्षको बाटो रोज्छौँ र भगवानको शरणमा छौँ भने हामीले हाम्रो इन्द्रियलाई पक्कै पनि नियन्त्रणमा राख्न सक्छौँ ।
इन्द्रियलाई विषयवासनाबाट हटाउनु नै दम हो । मनमा आउने कुबिचार रोक्ने काम शम हो । यस्तो बेलामा संसारका भौतिकताबाट आफूलाई अलग राख्नु नै शम हो । सुख दुःख हामी सबैलाई थाहा छ । जन्म, मृत्यु, डर, निर्भयता भन्ने कुरा सबैले बुझेका छौँ । सांसारिक वस्तु, व्यक्ति वा घटनामा देखेर मनमा उत्पन्न हुने भाव भव हो भने कुनै भाव उत्पन्न नहुनु अभाव हो ।
अरुको दुःखमा नसताउनु र अरुको प्रगतिशील जीवनचक्रलाई अवरोध नगर्नु नै अहिंसा हो । हामीले हिंसालाई रक्तपातसँग जोडेर हेर्छौं । हतियार प्रयोग गरेर एकले अर्कोमाथि जाइलाग्यो भने त्यो हिंसा हुन्छ भन्ने हाम्रो बुझाइ छ । अर्थात् शारीरिक चोटलाई हिंसासँग जोडेर हेर्ने गरेको पाइन्छ । क्रुर भएर, दानवीय रुप देखाएर यदि कसैले अरु कसैमाथि आक्रमण गर्छ र चोट पुर्याउँछ भने त्यो हिंसा हो भन्ने हाम्रो बुझाइ छ ।
भगवान् श्रीकृष्ण भन्नुहुन्छ– हिंसामा रक्तपात हुन जरूरी छैन । यदि तपाईंका कारण अरुको प्रगतिशील बाटो रोकियो भने त्यो पनि हिंसा हो । अरुलाई मन, वचन र कर्मले दिने दुःख नै हिंसा हो ।
राग र द्वेषबाट मुक्त हुनु समता हो । कुनै पनि चिजबाट सन्तुष्ट हुनु अथवा प्राप्त हुने चिजमा आनन्द मान्नु तुष्टि हो । यहाँ आवश्यकता भन्दा कम पाउँदा पनि जो सन्तुष्ट हुन्छ, त्यस्तोलाई तुष्टि भनिन्छ । नियममा बस्नु तपस्या हो । वर्षा, घाम आदीको परवाह नगरी आफ्नो जीवन चलाउनु नै तपस्या हो ।
आफ्नो आयको निश्चित अंश बाड्नु दान हो । दानका केही सर्तहरु हुन्छन् । हल्ला गरेर वा केही पाउनको लागि आय बाँड्नु दान हैन । आफ्नो कीर्ति र गुणको बयान अरुवाट हुनु यश हो भने अवगुणको वयान हुनु वा निन्दा हुनु अपयश हो । भगवानले यसरी यी सबै चिजहरु मबाट उत्पन्न हुन्छन् भनेर बताउनुभएको छ । भगवानले सँगै के पनि भन्नुहुन्छ भने– महर्षिहरु, मनुहरु, जे जति छन् यी सबै मबाट उत्पन्न भएका छन जोजसलाई मेरो योगमा विश्वास छ सबै कुरा यिनले बुझ्छन् ।
यो अध्यायको दोस्रो भागका चारवटा श्लोकमा भगवान् अब भगवानको तत्व, भक्तियोगको प्रभाव र त्यसका फलको बारेमा बताउनुहुन्छ । भगवान् भन्नुहुन्छ, बुद्धि भएका सबै मानिसहरु हृदयमा भक्ति लगाएर मेरो पूजा गर्छन्, मेरो चिन्तन गर्छन् र मैमा समर्पित हुन्छन् । तिनीहरु जसरी कर्म गरिरहेका हुन्छन्, यसो गर्दा उनीहरुले मलाई प्राप्त गर्छन । मेरो भक्तिमा कोही लाग्छ भने भक्तिको प्रभाव लागिसकेपछि मैले उनीहरुलाई दिव्य बनाइदिन्छु । उनीहरुलाई म मेरै लोकमा लान्छु र उनीहरुको बीचमा कुनै किसिमको अन्धकार छ भने पनि त्यो अन्धकारलाई मैले नाश पारिदिन्छु भनेर भगवान भन्नुहुन्छ । यसरी फेरि एकपटक भगवान् ज्ञानको कुरा गर्दै भक्तियोगमा फर्कनुहुन्छ ।
यस अध्यायको तेस्रो भागमा अर्थात् बाह्रौं श्लोकदेखि अठारौं श्लोकसम्मको सात श्लोकमा अर्जुन बोल्छन् । अब अर्जुनले श्रीकृष्णलाई परमब्रह्मको रुपमा चिने र बुझे । रुप चिने पनि हिंड्दा डुल्दा कसरी भक्ति गर्ने भन्ने दुविधा उनीमा अझै बाँकी छ । तसर्थ उनी भन्छन्, सबैले यही भनिरहेका छन् कि हजुर परमेश्वर हुनुहुन्छ । हजुरले पनि मलाई यही भनिरहनुभएको छ । मैले बुझिरहेको छु, अब यति भन्दाभन्दै पनि म अज्ञानीलाई हजुरका विभूतिहरुको बारेमा वर्णन गरिदिनुहोस्, मैले कसरी चिन्तन गर्नु, हजुरलाई म कसरी चिनौँ ? कुन कुन रुपमा चिनौँ ? यहाँ अर्जुनले भगवानलाई बुझेको कुरा ज्ञान हो भने अब उनी विज्ञानमा जान चाहन्छन् र भगवानलाई महसुस गर्न चाहान्छन् । यहाँ अरु भनेर अर्जुनले देवर्षि नारद, ऋषि असित, ऋषि देवल र महर्षि व्यासको नाम लिन्छन् । किनकी यी सबैले महाभारताको भीष्म र वन पर्वका विभिन्न भागमा भगवान् श्रीकृष्णलाई परमेश्वर भनेका छन्, परमेश्वरको रुपमा चिनेका छन् र त्यही रुपमा बुझेका छन् । अर्जुन त्यही कुरालाई यहाँ दोहोर्याउँछन् ।
अठारौं श्लोकमा अर्जुन यतिसम्म भन्छन्– हे प्रभु ! हजुरको स्वर यति मीठो छ कि मलाई सुनौँ सुनौँ लागिरहेको छ । यसले बताउँछ कि भगवान् किन बोलिरहनुभएको छ । जति स्रोता अनि त्यो पनि ज्ञानी र भक्तले सुन्न चाहन्छ उति वक्ताले बोल्छ । यहाँ त अर्जुनले खुलेरै भने– हजुरको शब्दरुपी अमृतको स्वाद जति सुन्यो उति मीठो भएकाले हजुरका बारेमा सुनेर म कहिल्यै अघाउँदिन । प्रभु त्यही भएर मलाई बताइदिनुस् कि हजुरलाई कुनकुन रुप र कुन कुन विभूतिका रुपमा मैले चिन्नु ? सबैले भन्छन्, तैपनि मलाई बताइदिनुस् ।
अर्जुनले यी प्रश्नहरुको जवाफमा भगवानले अब यस अध्यायको चौँथो भाग अर्थात् उन्नाइसौं श्लोकदेखि बयालीसौं श्लोकम्ममा धाराप्रवाह रुपमा विभिन्न विभूतिहरुको माध्यमद्वारा आफूलाई चिनाउनुहुन्छ । त्यसमध्येका यी बीस श्लोकका माध्यमबाट आफ्ना बयासी विभूतिको वर्णन गर्नुहुन्छ ।
आफ्ना विभूति चिनाउने क्रममा भगवान् सबैभन्दा पहिला भन्नुहुन्छ– हे अर्जुन ! कसरी वर्णन गरुँ म यी कुरा, जसको अन्त्य नै छैन । जुन चिजको आदि, मध्य र अन्त्य नै छैन ती कुरा मैले तिमीलाई बताउन अत्यन्तै गाह्रो छ । म सबै चिजको आदि, मध्य र अन्त्य हूँ भनेर भगवान्ले आफ्नो बारेमा बताउनुहुन्छ । उहाँले म को हूँ र म कहाँ कहाँ छु भन्ने कुरा बताउँदै जानुहुन्छ । यहाँ उल्लेख भएका सबै भगवानका विभूति हुन्, अवतार हैनन् । तर ती सबैमा भगवानको अंश भने हुन्छ ।
भगवानका वयासी विभूतिहरुको वर्णन अर्कोभागमा .....
(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ । त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)