- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दोस्रो भाग श्लोक १९ देखि ४२ सम्मः भगवानका विभूतिहरु अघिल्लो भागबाट क्रमशः
श्रीमद्भगवद्गीतामा भगवानले आफ्ना विभूतिहरु यसप्रकार बताउनुहुन्छ । आदि, मध्य, अन्त्यः भगवान् आफ्नो विभूतिमा प्राणीको जन्म भन्दा अगाडिको वा सुरूको अव्यक्त स्थिति आदि, जन्मेर कर्ममा लिन भएको व्यक्त स्थिति मध्य र फेरि अव्यक्तको स्थिति अन्त्य सबैमा आफ्नो विभूति रहेको बताउँदै संसार भगवानमै निहित भएको जानकारी अर्जुनलाई दिनुहुन्छ । यसो भनिरहँदा यो चराचर जगतका सबै प्राणी र प्रकृतिमा आश्रित रूख, बिरूवा भगवानकै अंश भएको बुझ्न सकिन्छ ।
आत्माः भगवानले यस श्रीमद्भगवद्गीताको दोस्रो अध्यायमा आत्माको बारेमा बताइसक्नु भएको छ । यहाँ आएर भगवान् त्यो अमर आत्मामा आफ्नो विभूति भएको बताएर आफू सबैको मालिक भएको जानकारी दिनुहुन्छ ।
आदित्यहरु अर्थात् अदितिका पुत्रहरुमा विष्णुः सनातन पुराणका अनुसार ऋषि कश्यप र उनकी पत्नी अदितिका बाह्र पुत्रहरु द्वादशादित्यका रुपमा पुजिन्छन् । यी बाह्र नै तेत्तीस कोटी अर्थात् तेत्तीस प्रकारका देवताहरु मध्येका बाह्र देवता हुन् । जनमानसमा तेत्तीस कोटी भनेको तेत्तीस करोड भन्ने भ्रम छ । तर त्यसो नभई तेत्तीस प्रकार हो ।
ती भनेका बाह्र आदित्य (अंशुमान, अर्यमन्, इन्द्र, त्वष्टा, धातु, पर्जन्य, पूषा, भग, मित्र, वरुण, वैवस्वत र विष्णु), एकादश वा एघार रुद्र (शम्भु, पिनाकी, गिरीश, स्थाणु, भर्ग, भव, सदाशिव, शिव, हर, शर्व र कपाली), अष्टवसु (आप, ध्रुव, सोम, धर, अनिल, अनल, प्रत्यूष र प्रभाष), इन्द्र र प्रजापति हुन् । माथि उल्लेखित आदित्यहरुमा भगवानले आफूलाई विष्णु भन्नुभयो किनकी त्यो विष्णुको अवतार वामन रुप थियो जसले बलिराजाबाट दानमा तीन पाऊ राख्ने जमिन मागेर पृथ्वीको उद्धार गरेको थियो ।
ज्योतिहरुमा रवि वा सूर्यः संसारमा आगो, तारा, नक्षत्र, चन्द्रमा आदिले जुन ज्योति प्रदान गर्छन्, त्यस्मा प्रमुख भनेको सूर्यको ज्योति हो तसर्थ भगवान् यहाँ आफूलाई सूर्य हूँ भन्नुहुन्छ ।
मरुतहरुमा मरीचिः कश्यप ऋषिकी पत्नी दितीको गर्भबाट जन्मेका उनन्चास मरुतहरु जसलाई आकाशमा विद्यमान वायुको रुपमा लिइन्छ, ती मध्ये मरीचि वा तेजवायु सबैभन्दा उत्कृष्ट र वेगवान् मानिन्छन् । तसर्थ भगवान् आफूलाई मरुतहरुमा म मरीचि हूँ भन्नुहुन्छ ।
नक्षत्रहरुमा शशी वा चन्द्रमाः ज्योतिष शास्त्रमा जुन सत्ताइस नक्षत्रको नाम लिइन्छ ती सबै चन्द्रमाको कक्षमा रहन्छन् । यी सबै अश्विनी भरणीदेखि रेवतीसम्मका नक्षत्रको अधिपति चन्द्रमा हुन् । तसर्थ भगवान् आफू त्यही चन्द्रमाको रुपमा आफ्नो विभूति बताउनुहुन्छ ।
वेदहरुमा सामवेदः पवित्र सनातन धर्मग्रन्थ वेद चारवटा छन् ।
ऋग्वेदः ऋक अर्थात् स्थिति र ज्ञान । ऋग्वेदका ऋचाहरुमा देवताहरुको प्रार्थना, स्तुति र देवलोकमा उनीहरुको स्थितिको वर्णन पाइन्छ ।
यजुर्वेदः यत् र जु को संयोगवाट बनेको यजु । यत् को अर्थ हो गतिशील तथा जु को अर्थ हो आकाश । यस वेदमा धेरैजसो यज्ञका मन्त्रहरु छन् । यज्ञमन्त्रको साथै यसमा तत्वज्ञानको वर्णन पनि छ ।
सामवेदः सामको अर्थ रूपान्तरण र संगीत हो, सौम्यता र उपासना हो । यस संहिताका सबै मन्त्र संगीतमय छन्, गाएर उच्चारण गरिने छन् ।
अथर्ववेदः थर्व को अर्थ हो कम्पन र अथर्व को अर्थ अकम्पन । ज्ञानले श्रेष्ठ काम गर्दै जो परमात्माको उपासनामा तल्लीन हुन्छ त्यही नै अकम्प बुद्धि प्राप्त गरेर मोक्ष धारण गर्दछ भन्ने अथर्ववेदको मुख्य अभिप्राय रहेको पाइन्छ ।
यी चारमध्ये सामवेदका ऋचाहरु गाएर भगवानको स्तुतिमा प्रयोग हुन्छ । तसर्थ त्यसको विशिष्टता स्वरुप भगवान् सामवेदमा आफ्नो विभूति भएको बताउनुहुन्छ ।
देवताहरुमा इन्द्रः भगवान् इन्द्र सबै देवताहरुका राजा हुन् तसर्थ भगवान् इन्द्रमा आफ्नो विभूति भएको बताउनुहुन्छ ।
इन्द्रियहरुमा मनः आँखा, नाक, कान, जिब्रो, छाला, मन, बुद्धि र अहंकार । यी सबै इन्द्रियहरुको सञ्चालन मनले गर्छ । मन नै मित्र हो र मन नै शत्रु पनि । मनले सबैको नियन्त्रण गर्छ । मन आफैं नियन्त्रित भएन भने मानिस विषय वासनातर्फ जान्छ । तसर्थ भगवान् मन आफ्नो विभूति भएको बताउनुहुन्छ ।
प्राणीहरुको चेतनाः चेतनाले नै मरेको र जिउँदोलाई छुट्ट्याउने कारणले भगवान् आफूलाई प्राणीहरुमा भएको चेतनामा आफ्नो विभूति भएको बताउनुहुन्छ । जसमा चेतना हुन्छ त्यो जीव हो र जसमा चेतना हुन्न त्यो निर्जीव हो ।
रुद्रहरुमा शंकरः माथि भनिएका तेत्तीस कोटी देवताहरु मध्ये एकादश रुद्र पनि हुन् । एकादश रुद्रले भगवान् शिवको प्रतिनिधित्व गर्छन् । ती एघारमध्ये सबैको कल्याण गर्ने र सबैका अधिपति शंकर हुन् । तसर्थ भगवान् श्रीकृष्ण यहाँ शंकरलाई आफ्नो विभूति भन्नुहुन्छ ।
यक्ष राक्षसहरुमा कुवेरः यक्ष पौराणिक पात्र हुन् । यिनीहरुको निकटता राक्षससँग हुन्छ । राक्षस दुईप्रकारका मानिएको छ, पहिलो यज्ञको रक्षा गर्ने जसलाई यक्ष भनिन्छ भने अर्को यज्ञमा बाधा पुर्याउने, जसलाई राक्षस भनिन्छ । कुवेर पनि यक्ष हुन्, तर उनी सबैभन्दा धनी र उत्तर दिशाका अधिपति हुन् । तसर्थ भगवान् कुवेरमा आफ्नो विभूति बताउनुहुन्छ ।
वसुहरुमा अग्नी वा पावकः माथि तेत्तीस कोटी देवताहरुमा उल्लेख भएका आठ वसुहरुको अर्थ यस प्रकारको हुन्छ । आप अर्थात् पानी, ध्रुव अर्थात् नक्षत्र, सोम अर्थात् चन्द्रमा, धर अर्थात् पृथ्वी, अनिल अर्थात् वायु, अनल अर्थात् अग्नी, प्रत्यूष अर्थात् सूर्य र प्रभाष अर्थात् आकाश । यी सबैका अधिपति अनल अर्थात् अग्नी हो, जसले यज्ञको हवि देवताहरुसम्म पुर्याउने कार्य गर्दछ । तसर्थ भगवान् अग्निमा आफ्नो विभूति बताउनुहुन्छ ।
शिखरहरुमा सुमेरुः भारतको उत्तराखण्डमा रहेको सुमेरु पर्वत संसारको सबैभन्दा अग्लो पर्वत त हैन तर यो पर्वत भित्र प्रसस्त सुन, तामा र चाँदीको खानी भएको मानिन्छ । तसर्थ भगवान् यही सुमेरु पर्वतमा आफ्नो विभूति भएको बताउनुहुन्छ । समुद्र मन्थनका बेला यिनै पर्वत मन्थनको सुमेरु बनेका थिए ।
पुरोहितहरुमा वृहस्पतिः देवराज इन्द्रका गुरू र सम्पूर्ण भगवानका कुलपुरोहित वृहस्पति ज्ञानका भण्डार हुन् । तसर्थ भगवान् वृहस्पतिमा आफ्नो विभूति बताउनुहुन्छ ।
सेनापतिहरुमा स्कन्ध वा कार्तिकेयः कार्तिकेय वा स्कन्ध भगवान् शिवका पुत्र हुन् । उनी देवताहरुका सेनापति हुन् । यसैकारण भगवान् कार्तिकेयमा आफ्नो विभूति वताउनुहुन्छ ।
जलासयहरुमा समुद्रः संसारमा भएका सबै जलको भण्डार समुद्र हो । समुद्रले मानिसलाई अबिचलित हुन र मर्यादित हुन सिकाउँछ । यो अत्यन्त ठूलो छ र मानव जीवनको अभिन्न अंग हो । तसर्थ भगवान् समुद्र आफ्नो विभूति भएको वताउनुहुन्छ ।
महर्षिहरुमा भृगुः ज्ञान, तप, भक्तिको आधारमा ऋषिहरु विभिन्न प्रकारका हुन्छन् । तिनीहरुमा देवर्षि, ब्रम्हर्षि, महर्षि आदि हुन् । महर्षि भन्दा माथि ब्रम्हर्षि मात्र हुन्छन् । ज्योतिष शास्त्रमा र ब्रम्हा, विष्णु महेश तीनका बीचमा को श्रेष्ठ भन्ने परीक्षा लिनेमा भृगुको नाम आउँछ । तसर्थ भगवान् सप्तर्षि मध्येका एक भृगुमा आफ्नो विभूति बताउनुहुन्छ ।
वाणीमा दिव्य ॐकारः ॐ यस्तो अक्षर हो जसबाट संसार चल्छ । सबै प्रकारका पूजा, यज्ञ, दान, जपको सुरूवात ॐ बाट नै हुन्छ । जो मानिस मर्ने बेलामा ॐ को उच्चारण गर्दै मर्छ उसको मुक्ति हुन्छ । ॐ को महिमा अपार छ । तसर्थ भगवान् ॐ कारमा आफ्नो सामर्थ्य वा विभूति बताउनुहुन्छ ।
यज्ञहरुमा जप यज्ञः यज्ञका विभिन्न भेद माथि नै उल्लेख गरिसकिएको छ । धेरै जसो यज्ञमा विभिन्न बिधान हुन्छन् र कतिपयका त कठिन बिधान हुन्छन् । साथै विभिन्न प्रकारका बस्तु र मानिस जुटाउनुपर्ने हुन्छ । तर जप यज्ञ मात्रै यस्तो यज्ञ हो जहाँ कुनै प्रकारको साधन जुटाउनु पर्दैन र सामान्य शुद्ध भएर सुरू गर्न सकिन्छ । तसर्थ भगवान् जप यज्ञमा आफ्नो विभूति बताउनुहुन्छ ।
स्थिर रहनेमा हिमालयः संसारका सबै पवित्र नदीहरुको उद्गमस्थल हिमालय हो । हिमालयले स्थिर हुन सिकाउँछ र सबै सुखदुःख लुकाउन सिकाउँछ । हिमालय उच्च छ, साथै सबै भगवानहरुको तपस्या स्थल पनि हो । तसर्थ भगवान् हिमालयमा आफ्नो विभूति बताउनुहुन्छ ।
वृक्षमा पीपलः भगवान् विष्णु स्वरुप पीपलको महिमा अत्यन्त ठूलो छ । पीपलको रूख आफैंमा भगवानको स्वरुप भएकोले भगवान् श्रीकृष्ण यसमा आफ्नो विभूति रहेको बताउनुहुन्छ ।
देवर्षिमा नारदः सबैले विश्वास गर्ने एकमात्र देवर्षि नारद हुन् । उनी सदा सवर्दा भगवानको नाम मात्र जप्छन् । देवताहरुका मनमा लागेका कुरा बुझ्छन् र त्यहीअनुसारको कर्म गर्न सबैमा प्रेरित गर्छन् । तसर्थ भगवान् श्रीकृष्णले नारद ऋषिमा आफ्नो विभूति देख्नुभएको हो ।
गन्धर्वमा चित्ररथः गन्धर्वहरु स्वर्गमा बस्छन् । यिनीहरुलाई अप्सराहरुका पति मानिन्छन् । उनीहरुको काम स्वर्गका राजा इन्द्रको दरवारमा गीत गाउनु र नाच्नु हो । अर्जुनले पनि आफ्नो गायन विद्या चित्ररथबाटै सिकेका थिए । यीमध्ये सबैभन्दा श्रेष्ठ गन्धर्वको नाम चित्ररथ हो जसमा भगवान् आफ्नो विभूति बताउनुहुन्छ ।
सिद्ध मुनीहरुमा कपिलः जन्मसिद्ध मुनी कपिल आदिमुनि हुन् । श्रीमद्भागवत्मा उनको जन्म र कामका बारेमा चर्चा पाइन्छ । उनी सांख्यदर्शन वा प्रकृति र पुरूष दुई तत्वका ज्ञाता हुन् । तसर्थ भगवान् कपिल मुनिमा आफ्नो विभूति रहेको बताउनुहुन्छ ।
घोडाहरुमा उच्चैःश्रवाः देवता र असुरहरु मिलेर समुद्र मन्थन गर्दा त्यहाँबाट चौध प्रकारका वस्तुहरु निस्केका थिए । ति के के थिए त ? कालकुट विष जो भगवान् शिवले पिउनुभयो, एरावत हात्ती इन्द्रले लिए, कामधेनु गाई जो ब्रम्हाले ऋषिहरुलाई दिनुभयो, उच्चैःश्रवा घोडा बलीराजाबाट इन्द्रले लिए, कौस्तुभमणी विष्णु भगवानले लिनुभयो, कल्पवृक्ष स्वर्गमा रह्यो, रम्भा अप्सरा जसलाई देवताहरुले स्वर्ग लिएर गए, लक्ष्मी विष्णुका साथ हुनुहुन्छ, वारुणी मदिरा असुरहरुले लिए, चन्द्रमा जुन भगवान् शिवले आफ्नो शिरमा धारण गर्नुभयो, पारिजात इन्द्रलोकमा लगियो, शंख भगवान् विष्णुले लिनुभयो, धनवन्तरी देवताहरुका बैद्य भए र अमृत भगवानहरुले लिए ।
समुद्र मन्थनबाट निस्केको घोडा उच्चैःश्रवा इन्द्रको वाहनमात्र नभई घोडाहरुको राजा पनि हो । तसर्थ भगवान् त्यसमा आफ्नो विभूति बताउनुहुन्छ ।
हात्तीहरुमा ऐरावतः जसरी उच्चैःश्रवा घोडा समुद्र मन्थनबाट निस्केको थियो, त्यसैगरी ऐरावत हात्ती पनि त्यहीबाट उत्पन्न भएको थियो र त्यो पनि देवराज इन्द्रले लिएका थिए । ऐरावत सबै हात्तीहरुको राजा भएकोले उसलाई गजेन्द्र पनि भनिन्छ । तसर्थ हात्तीहरुको राजामा भगवान् आफ्नो विभूति भएको बताउनुहुन्छ ।
मानिसहरुमा राजाः सम्पूर्ण मानिस र अरु पशुपंक्षीको पालन पोषण, सुरक्षा र संरक्षण गर्ने राजा मानिसहरुमा सर्वश्रेष्ठ हो । साधारण मानिसहरुको तुलनामा राजा वा शासकहरुको शक्ति धेरै हुने हुँदा भगवान् राजामा आफ्नो विभूति भएको बताउनुहुन्छ ।
अश्त्रहरुमा बज्रः जसबाट युद्ध गरिन्छ त्यो अश्त्र हो । अश्त्र विभिन्न प्रकारका हुन्छन् । त्यसमध्ये दधीचि ऋषिको हाडबाट बनेको इन्द्रको हतियार बज्र अत्यन्तै शक्तिशाली हतियार हो । तसर्थ भगवान् अस्त्रहरु मध्ये बज्रमा मेरो विभूति खोज अर्जुन भन्नुहुन्छ ।
गाईहरुमा कामधेनुः समुद्र मन्थनबाट निस्केकी कामधेनु गाई सबै गाईहरुमा सर्वश्रेष्ठ हुन् । धेनु भनेको हालसालै ब्याएकी गाईलाई भनिन्छ । कामधेनुको अर्थ कुनै पनि बेला दुहुन सकिने भन्ने हो । भगवानको अंशको रुपमा उत्पत्ति भएकी कामधेनु पूजा गर्न योग्य भएकीले भगवानको विभूति अन्तर्गत पर्छिन् ।
सन्तान उत्पत्तिका श्रोत कामदेवः संसारको निरन्तरता वासनाबाट हुन्छ । त्यो वासनाका स्रोत कामदेव हुन् । यहाँ भगवानले कामवासनाको कुरा गर्दा धर्मविरुद्ध नभएको काम वासनाको कुरा गर्नु भएको छ । श्रीमदभगवद्गीताको सातौं अध्यायको एघारौं श्लोकमा म त्यो कामवासना हूँ जुन धर्मको सिद्धान्त विरुद्ध छैन भनेर भनिसक्नुभएको छ । इन्द्रिय तृप्तिका लागि उत्पन्न हुने कामवासनाले भगवानलाई प्रतिनिधित्व गर्दैन । यहाँ त्यही कुरालाई जोड दिँदै कामवासनाका अधिपति कामदेवमा आफ्नो विभूति रहेको बताउनुहुन्छ ।
सर्पहरुमा वासुकीः जमिनमा बस्ने सर्पहरुको राजा वासुकी हुन् । यिनै वासुकी समुद्र मन्थनका बेला सुमेरु मन्थनका लागि डोरी बनेका थिए । तसर्थ भगवान् वासुकीमा आफ्नो विभूति रहेको बताउनुहुन्छ ।
नागहरुमा अनन्तः अनन्त अर्थात् शेषनाग सधैं भगवान् विष्णुसँग रहन्छन् । एकहजार फणा भएको शेषनाग नागहरुका राजा हुन् र जब जब भगवान् पृथ्वीमा अवतार लिनुहुन्छ शेषनाग पनि कुनै न कुनै रुपमा अवतार लिन्छन् । त्यतिमात्र नभई भगवान् विष्णुको समुद्रमा रहेको शैया पनि शेषनागकै हो । तसर्थ भगवान् श्रीकृष्ण अर्जुनलाई शेष नागमा आफ्नो विभूति खोज्न लगाउनुहुन्छ ।
जलचरहरुमा वरुणः वरुण समुद्रका अधिपति हुन् । उनी सम्पूर्ण जलचरका पालकका साथै भगवानका भक्त पनि भएकाले श्रीकृष्ण वरुणदेवतामा आफ्नो विभूति भएको बताउनुहुन्छ ।
पितृहरुमा अर्यमाः ब्रम्हाण्डमा बिभिन्न लोकहरु भएको त हामीले बुझिसकेका छौँ । ती लोकहरुमध्ये एउटा पितृलोक पनि हो । त्यहाँ पितृहरु वसुस्वरुपमा बा आमाहरु, रुद्रस्वरुपमा हजुरबा हजुरआमाहरु र आदित्यस्वरुपमा जिजुबा जिजुआमाहरु रहन्छन् । तसर्थ हामीले श्राद्ध तथा तर्पण आदि कर्म गर्दा यी तीन स्वरुपमा पितृहरुको आह्वान गर्छौं । जिजुबाहरु भन्दा माथिका पूर्वजहरु पितृलोकबाट देवलोकमा प्रस्थान गरिसक्ने हुनाले उनीहरुको आह्वान हुन्न । यस्तो पितृलोकका अधिपति अर्यमा हुन् । तसर्थ भगवान् अर्यमामा आफ्नो विभूति खोज अर्जुन भन्नुहुन्छ ।
नियमपालन गर्नेमा यमराजः संसारमा जो जन्मन्छ, त्यो अवश्य मर्छ । जब कोही मर्छ ऊ यमराजकोमा पुग्छ । यमराजले बिना कुनै भेदभाव उस्का पाप र पुण्यको हिसाब निकालेर नियमानुसार भोग गराउँछन् । तसर्थ यमराजलाई सबैभन्दा ठूला नियम पालनकर्ता भनिन्छ । भगवान् तिनै यमराजमा आफ्नो विभूति भएको बताउनुहुन्छ ।
दैत्यहरुमा प्रल्हादः भगवान् देवताहरुमा मात्रै हुनुहुन्न किनकी यो श्रृष्टि त पुरै भगवानको रचना हो । उहाँ त हरेक ठाउँमा हुनुहुन्छ । यही क्रममा भगवान् भन्नुहुन्छ दैत्यहरुमा म प्रल्हाद हुँ । भगवानका निस्काम भक्त र प्रेमी भएकाले उनीमा भगवानको विभूति भएको हो ।
समयमा कालः हरेक जीवात्माको आयुको गणना समयमा र प्रयोजन कालको लागि गरिने हुँदा भगवान् समय गणनाको लागि म काल हूँ भनेर आफ्नो विभूति बताउनुहुन्छ । अब हामी यहाँ बुझौँ कि समयको गणना कालको लागि मात्रै हुन्छ ।
पशुहरुमा सिंहः जंगलको राजा र सबै जनावरहरु भन्दा शक्तिशाली भएको कारणले भगवान् सिंहमा आफ्नो विभूति भएको बताउनुहुन्छ ।
पंक्षीहरुमा गरुडः गरुड पंक्षीहरुको राजा, विष्णुको वाहनमात्र नभई सो पंक्षी उड्दा त्यसको पंखाबाट सामवेदका ऋचाका ध्वनीहरु समेत आउने हुँदा भगवान् गरुडमा आफ्नो विभूति बताउनुहुन्छ ।
पवित्र गर्नेहरुमा वायुः जहाँ जहाँ र जे जे वस्तु अपबित्र हुन्छन्, वायुको स्पर्शबाट ती पवित्र हुन्छन् तसर्थ भगवान् पवित्र गर्नेहरुमा वायुमा आफ्नो विभूति रहेको बताउनुहुन्छ ।
शस्त्रधारीहरुमा रामः यदि कुनै अचुक निसाना छ भने अहिले पनि त्यसलाई रामवाण भन्ने चलन छ । साक्षात् भगवान् भइकन पनि भगवानको त्यो मानव अवतारसँग पुरै जगतमा धनु र अन्य शस्त्रहरु सबैभन्दा धेरै थिए । तसर्थ भगवान् श्रीकृष्ण यहाँ शस्त्रधारीहरुमा आफूलाई राममा विभूति पाउनुहुन्छ ।
जलचरहरुमा गोहीः जलमा बस्ने बिभिन्न जीवमा गोही सबैभन्दा बलवान हुन्छ तसर्थ भगवानको विभूति त्यसैमा हुन्छ ।
नदीहरुमा गंगाः नदीहरुमा सबैभन्दा पवित्र गंगा हो । भारतवर्षका धेरैजसो नदीनालाहरु मिसिने पनि गंगा मै हो । भगवान् शिवको जटामा रहेकी कार्तिकेयकी आमा गंगाको दर्शन र स्पर्शले मात्र पनि मानिसका हजारौं जन्मका पाप पखालिन्छन् । तसर्थ नदीहरुमा भगवान् गंगामा आफ्नो विभूति रहेको बताउनुहुन्छ ।
श्रृष्टिको आदि मध्य र अन्त्यः भगवान् भन्नुहुन्छ– जीवको अव्यक्त अवस्थादेखि व्यक्त र फेरि अव्यक्त अवस्थामा पुगुन्जेल म नै उनीहरुसँग हुन्छु । त्यसअर्थमा श्रृष्टिको सुरु पनि मै हूँ, मध्ये पनि मै हूँ र अन्त्य वा प्रलय पनि मै हूँ । मबाहेक अरु केही यो संसारमा छँदै छैन । यसो भनिरहँदा भगवानले श्रृष्टिकर्ता ब्रम्हालाई आदिको रुपमा, पालनकर्ता विष्णुलाई मध्यको रुपमा र संहारकर्ता शिवलाई अन्त्यको रुपमा व्याख्या गरी ती सबै मनै हूँ भन्नुभएको हो ।
विद्याहरुमा ब्रम्हविद्याः जुन विद्याबाट मानिसहरुको कल्याण हुन्छ त्यो ब्रम्हविद्या हो । यसलाई अध्यात्मविद्या पनि भनिन्छ । यो नै विद्याको अन्तिम रुप हो । यो विद्य मा निराकार ब्रम्हको उपासना गरिन्छ र अध्ययन गरिन्छ । तर अरु विद्यामा भगवानको सगुण साकार रुपको व्याख्या गरिन्छ । यही अध्यात्म विद्यालाई भगवान् आफ्नो विभूति वताउनुहुन्छ ।
तर्कहरुमा सत्यः तर्क विभिन्न प्रकारका हुन्छन् । जब दुईजना बीच बादविवाद हुन्छ सामान्यतया तीन पक्ष हुन्छ । आफ्नो पक्ष, उसको पक्ष र सत्य पक्ष । भगवान् समभावमा रहनुभएकोले उहाँ तर्कमा सत्य हुनुहुन्छ र त्यो नै भगवानको विभूति हो ।
अक्षरहरुमा अकारः वर्णमालाको पहिलो अक्षर अ एकातिर स्वर हो भने अ को अभावमा व्यञ्जनहरु अपुरा हुन्छन् । अलाई आदि वा सबैभन्दा पहिलो अक्षर पनि हो तसर्थ भगवान् अमा आफ्नो विभूति भएको बताउनुहुन्छ ।
समासहरुमा द्वन्द्वसमासः समासको अर्थ हुन्छ, संक्षिप्तीकरण । दुई वा दुईभन्दा बढि शब्द मिलेर कुनै अर्को अर्थ दिने शब्द बन्छ भने त्यो समास हो । समास छ प्रकारका हुन्छन् । तत्पुरूष समास, द्विगु समास, कर्मधारय समास, अव्ययीभाव समास, द्वन्द्व समास र बहुव्रीहि समास । तत्पुरूष समासमा दुई शव्द जोडिदा विभक्ति लोप हुन्छ भने द्विगु समास संख्यावाचक हुन्छ, पछिल्लो शब्दको प्रधानता हुन्छ र समूहबाचक हुन्छ । नाम र विशेषण जोडेर बन्ने तथा अघिल्लो शब्दले विशेषण जनाउने समास कर्मधारय समास हो । पछिल्लो शब्दको प्रधानता रहने अव्ययीभाव समास हो भने दुई वा दुईभन्दा बढी उस्तै महत्वका शब्दहरुका बीच समास हुँदा दुबै शब्दको अर्थ मुख्य हुने प्रक्रिया द्वन्द्व समास हो । यसमा शब्दहरुको बिचमा रहने संयोजक लोप हुन्छ । दुई वा दुईभन्दा बढी शब्द मिलेर समस्त शब्द बन्दा नयाँ अर्थको विशेषण शब्द बन्ने प्रक्रियालाई बहुव्रीहि समास भनिन्छ । यसरी भगवान् दुवै शब्दको प्रधानता हुने भएकोले भगवान् द्वन्द्व समासमा आफ्नो विभूति रहेको भन्नुहुन्छ ।
अक्षय हुनेमा समयः श्रृष्टि चक्रमा कहिल्यै क्षय नहुने भनेको समय हो । सधैं क्षय हुने भनेको आयु हो । प्रलय हुँदाका बखतसमेत समय गणना भइरहेको हुनाले भगवान् अक्षयमा समय वा काल आफ्नो विभूति भएको वताउनुहुन्छ ।
श्रृष्टिकर्तामा ब्रम्हाः भगवान् श्रृष्टिकर्ताहरुमा आफ्नो विभूति ब्रम्हामा रहेको वताउनुहुन्छ ।
हरण गर्नेहरुमा मृत्युः जब कोही प्राणी मर्छ उसले जीवनमा गरेका सबै कुरासमेत बिर्सन्छ अर्थात् मृत्युले उसका सबैकुरा हरण गरिदिन्छ । मृत्युभन्दा ठूलो हरणकर्ता अरु कोही हुनै सक्दैन । तसर्थ भगवान् मृत्युमा आफ्नो विभूति रहेको बताउनुहुन्छ ।
पछि आउनेहरुमा उत्पत्तिः भगवानले पहिले नै आफू संसारको आदि मध्य र अन्त्य हूँ भनिसक्नुभएको छ । कुनै पनि जीवको श्रृष्टि उत्पत्तिबाट हुन्छ । तसर्थ भगवान् पछि हुनेहरुको उत्पत्तिमा मेरो विभूति हेर अर्जुन भन्नुहुन्छ ।
स्त्रीहरुमाः भगवानले स्त्रिहरुमा आफ्नो विभूति कीर्ति, श्री, वाणी, स्मृति, मेधा, धृति र क्षमा भन्नुहुन्छ । यी सातै पौराणिक नाम श्रेष्ठ स्त्रीहरुको हो । ती मध्ये कीर्ति, स्मृति, मेधा, धृति र क्षमा दक्षप्रजापतिका छोरी हुन् भने श्री महर्षि भृगुकी छोरी हुन । वाणी पितामह ब्रम्हाकी छोरी हुन् । यतिमात्र नभई यी सात गुण जुन नारीमा हुन्छ ती अत्यन्त भाग्यशाली मानिन्छन् । के हुन् त यसका अर्थ जो भगवान्को विभूतिका नारी रुपमा छन् ।
प्रशिद्धि वा प्रतिष्ठाको प्रचार नै कीर्ति हो भने यहाँ धन सम्पत्ति श्री वा लक्ष्मी हो । जुन बोलीका कारण मानिसले अरुलाई ज्ञानी वा विद्वान भन्छन् त्यो वाणी हो भने पुराना राम्रा कुराको याद गर्नु स्मृति हो । पढेका कुरालाई धारण गर्न सक्ने शक्ति मेधा हो भने आफ्ना् मान्यतामा अडिग रहन सक्नु धृति हो । अन्त्यमा अरुको अपराधलाई दण्डमा नबदल्नु क्षमा हो ।
गाइने ऋचाहरुमा वृहत्सामः गाएर वाचन गरिनेहरुमा भगवान् आफूलाई वृहत्साम भन्नुहुन्छ । वृहत्साम सामवेदका श्तोत्र हुन् जुन गाइन्छ । तसर्थ भगवान् त्यहाँ आफ्नो विभूति रहेको बताउनुहुन्छ ।
छन्दवद्धहरुमा गायत्रीः छन्द धेरै छन् । छन्दको सुरूवात वेदमा हुन्छ र अचेल पनि कतिपय कविहरुले छन्दमा कविता लेख्छन् । ती सबै छन्दहरुमध्ये छन्दकी जननी गायत्रीमा भगवान् आफ्नो विभूति रहेको वताउनुहुन्छ ।
महिनाहरुमा मंसिरः चलन चल्तीमा रहेका बाह्र महिनामध्ये मंसिर महिना अन्न भित्र्याउने महिना हो । यो महिनामा भित्रेको अन्न नै वर्षभरी खानु पर्छ । अन्न वर्षाबाट पैदा हुन्छ, वर्षा यज्ञबाट र यज्ञ कर्मबाट । तसर्थ भगवान् यी सबैलाई जोड्दै मंसिर महिनामा आफ्नो विभूति रहेको बताउनुहुन्छ ।
ऋतुहरुमा वसन्तः वसन्त यस्तो ऋतु हो जुन बेला विना वर्षा पनि रूख विरूवामा पालुवाहरु चढ्छन् । यो ऋतुमा धेरै गर्मी र धेरै जाडो दुवै हुँदैन । तसर्थ भगवान् वसन्त ऋतुमा आफ्नो विभूति रहेको वताउनुहुन्छ ।
छलहरुमा जुवाः संसारमा विभिन्न प्रकारका छलहरु हुन्छन्, ठगहरु हुन्छन् । ती मध्ये जुवा सबैभन्दा ठूलो रुपको छल हो । भगवानले यहाँ जुवामा आफ्नो विभूति छ भन्नुको तात्पर्य यदि छल कपट गर्नु पर्यो भने भगवानलाई कसैले पनि भेट्न सक्दैन भन्नु हो । त्यसका कतिपय उदाहरणहरु महाभारतको युद्धमा पनि देखिन्छन् । तर भगवानले गर्ने छलकपट सत्यभन्दा बाहिर गएर हुँदैन ।
तेजस्वीहरुमा तेजः तेज भनेको मानिसमा देखिने कान्ति हो जसले अरुको अगाडि आफूलाई भिन्न रुपमा प्रस्तुत गर्छ । यस्तो तेज हुने मानिसमा धेरै वा केही प्रकारका शक्ति हुनुपर्छ । चाहे त्यो रुपको होस् वा गुणको । भगवान् त्यस्तो तेजमा आफ्नो विभूति भएको बताउनुहुन्छ ।
जित्न सकिनेमा विजयः सबै प्राणी जित्नको लागि अघि बढ्छन् । हार्न कसैले कुनै कार्य गर्दैन । चाहे त्यो दौड होस् वा अरु । जीवनको त्यही विजय वा जित नै भगवानको विभूति हो । यस अर्थमा कसैले कुनै रुपमा भगवानलाई नचिनी वा नबुझि विजय प्राप्त गर्नै सक्दैन ।
ब्यवसायीहरुमा निश्चयः कुनै काममा एकाग्र हुनु निश्चय हो । कुनै पनि मानिसले भगवान् भक्तिमा जान्छु भनी निश्चय नगरी ऊ त्यहाँसम्म पुग्नै सक्दैन । चाहे कार्यालयको काम होस् वा भगवान् भक्ति हरेक स्थानमा निश्चितता जरूरी हुन्छ जुन भगवानको विभूति हो ।
सात्विकहरुको सत्यः गुण तीन प्रकारका हुन्छन् । सत्व, रज र तम । ती गुणका अधीनमा रही हरेक मानिसले आफ्नो कर्म गर्छ । सत्व गुण परमात्मासँग जोडिन्छ, रजोगुणले कर्मबन्धनमा पार्छ र तमोगुणले अधोगतितिर लान्छ । भगवान् त्यो परमात्मासँग जोडिने सात्विक गुणमा आफ्नो विभूति रहेको बताउनुहुन्छ ।
वृष्णिवंशीहरुमा कृष्णः यहाँ भगवान्ले अरुमा आफ्नो विभूति बताईरहँदा आफूमा पनि मेरो विभूति छ भनेर बताउनुहुन्छ । यसको अर्थ म सर्वब्यापी छु, सबैमा छु र रहन्छु भन्ने हो ।
पाण्डवहरुमा अर्जुनः पाण्डुका पाँच छोराहरुलाई पाण्डव भनिन्छ । तीमध्ये जेठा युधिष्ठिर धर्मका प्रतिक हुन् भने माइला भीम बल र साहसका प्रतिक हुन् । साईंला अर्जुन सर्बश्रेष्ठ धनुर्धारी हुन् भने काँईला नकुल सबैभन्दा सुन्दर हुन् । कान्छा सहदेव शास्त्रका ज्ञाता र योजनाविद् हुन् । यी सबैमा युद्ध विद्यामा पारंगत र सर्बश्रेष्ठ धनुर्धर अर्जुनमा नै भगवान् आफ्नो विभूति भएको बताउनुहुन्छ । उहाँ अहिले यो श्रीमद्भगवद्गीताका उपदेश अर्जुनलाई दिइरहनुहुँदा पनि रणभूमिमा अर्जुनकै सारथीका रुपमा हुनुहुन्छ ।
मुनिहरुमा व्यासः पुराण, उपपुराण महाभारत आदि सबैजसो सनातन धर्म ग्रन्थका रचयिता व्यास ऋषि हुन् । उनको ज्ञानको असिमितताका कारण भगवान् व्यासमा आफ्नो विभूति रहेको बताउनुहुन्छ ।
कविहरुमा शुक्राचार्यः शुक्राचार्य राक्षसहरुका गुरू हुन् । उनी संजिवनी विद्याका ज्ञाता हुन् । तसर्थ देवताहरुसँगका कतिपय युद्धमा उनले मरेका दैत्यहरुलाई बचाउने काम गर्दथे । उनको विद्याका कारण भगवान् श्रीकृष्ण शुक्राचार्यमा आफ्नो विभूति रहेको बताउनुहुन्छ ।
दमन गर्नेमा दण्डः दण्ड अरुलाई बिगार्नको लागि प्रयोग हुँदैन । कसैले कुनै गल्ती गरेको छ भने उसलाई आफूले गरेको गल्तीको बारेमा बुझाउनु नै दण्ड हो । दण्ड पछि मानिस सुध्रन्छ वा सुध्रनुपर्छ अन्यथा ऊ तमोगुणी मानिस हो । दण्ड दिने अधिकारी जहिले पनि राजा हुन्छन् । भगवान् त्यस्तो दण्डमा आफ्नो विभूति भएको बताउनुहुन्छ ।
विजयहरुमा नैतिकताः जित दुई प्रकारले हासिल गर्न सकिन्छ । छल गरेर र नीतिअनुसार चलेर । छल गरेर प्राप्त विजय क्षणिक हुन्छ भने नीतिअनुसार चलेर प्राप्त विजय सधैंको लागि हुन्छ । पाण्डवहरु नीतिमा चलेका हुनाले भगवान् अहिले यो महाभारतको विशाल युद्धमा पाण्डवका पक्षमा हुनुहुन्छ । यस्तो नैतिक विजयमा भगवान् आफ्नो विभूति रहेको बताउनुहुन्छ ।
गोप्यतामा मौनः कुनै कुरा गोप्य राख्नुको अर्थ मौन बस्नु हो । संकेत, लेखाइ वा बोलीको भाषाबाट कुनै कुरा प्रकट नगर्नु नै मौनता हो । भगवान् मौनमा आफ्नो विभूति रहेको बताउँदै कतिपय कुराहरु गोप्य हुन्छन् भन्ने उपदेश अर्जुनलाई दिनुहुन्छ ।
ज्ञानवानहरुको बुद्धिः हे अर्जुन ! अब तिमीलाई मैले जे जति बताएँ र जे जति अब फेरि बताउँदैछु ती सबै बुझ्न बुद्धि चाहिन्छ । बुद्धिबिना सब निरर्थक छ । र त्यो बुद्धिमा तिमी मेरो विभूति हेर । जब मलाई तिमी त्यहाँ पाउँछौ तिम्रा सबै भ्रम नष्ट हुन्छन् र तिमी ज्ञानी बन्छौ ।
प्राणीहरुको बीजः भगवान् पहिला अध्यायहरुमा भनिसकेको कुरा दोहोर्याउँदै फेरि भन्नुहुन्छ– अविनाशी बीज म हूँ वा त्यसमा तिमी मेरो विभूति हेर । प्राणीहरुका जन्मको मूल कारण बीज हो र त्यो म नै हूँ । म नभई कोही जन्मदैन र कोही मर्दैन अर्जुन ।
यसरी भगवान् यो अध्यायको बीसौं श्लोकदेखि उनन्चालीसौं श्लोकसम्ममा आफ्ना बयासीवटा विभूतिको बारेमा अर्जुनलाई बताउनुहुन्छ । भगवानले आफूलाई सम्पूर्ण रुपमा प्रस्तुत गर्नुहुन्छ । अब यो अध्यायको बाँकी तीन श्लोकमा भगवान् त्यसको सारांश गर्दै भन्नुहुन्छ– हे अर्जुन ! यो त मेरो संक्षिप्त रुपमात्रै हो । सबै ऐश्वर्य, सौन्दर्य, गौरवशाली सृष्टि मेरो एउटा तेजको झिल्काबाट बन्न गएको हुन्छ भने तिमीलाई विस्तृत ज्ञान केही पनि चाँहिदैन । यति भए तिमीलाई पुग्छ । म सम्पूर्ण ब्रम्हाण्ड लिएर बसेको छु । त्यसैले तिमीले यसलाई यसरी बुझ भनेर भगवानले दशौं अध्यायमा अर्जुनलाई आफ्नो रुप र ऐश्वर्यको बारेमा वर्णन गर्नुहुन्छ ।
यो अध्यायमा भगवानका विभूतिहरुका बारेमा सुनेपछि अब भगवानलाई अर्जुनले सम्पूर्ण रुपमा परमात्माको अवतार भनेर चिन्छन् । यो नै ज्ञानको अन्तिम बिन्दु हो अर्जुनको लागि । अब अर्जुनले भगवानलाई भगवानले भनेको रुपमा देख्न मात्रै बाँकी छ ।
यति सबै कुरा बुझिसकेपछि अब भगवान् किन र को भन्ने कुरामा हामीलाई पनि कुनै दुबिधा रहेन । मान्ने र नमान्नेमा पनि अब दुबिधा रहेन । दुबिधा अब कतै बाँकी छ भने भगवानको भक्तिको लागि कुन बाटो समाउने भन्नेमा मात्र हो ।
श्रीमद्भगवद्गीताको विभूतियोग नामको दशौं अध्याय समाप्त भयो ।
(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ । त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)