arrow

श्रीमद्भगवद्गीता, अध्याय एघारः विश्वरुपदर्शनयोग

भगवान श्रीकृष्णको विराट स्वरुप देखेर अर्जुनले आफैलाई सन्तुलनमा राख्न सकेनन, कस्तो होला त्यो विराट स्वरुप?

logo
राजु नेपाल,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
shreemad-bhagbat-geeta-raju.gif

दशौं अध्यायसम्म आईपुग्दा अर्जुनलाई भगवान् श्रीकृष्णले के गर्ने र के नगर्ने भन्न बारेमा बताउनुका साथै आफू को हूँ र आफूले भनेका कुरा सबैले किन मान्नुपर्छ भन्ने बारेमा बताइसक्नुभयो । भगवानको रुपमा अर्जुनले श्रीकृष्णलाई चिनिसके । तर पनि उनको बुझ्ने उत्सुकतामा कमी आएको छैन । ज्ञानी मानिसको लक्षण भएका अर्जुन ज्ञान लिन किन कन्जुस्याँई गर्थे र ? अब यो अध्यायमा आइपुग्दा भगवानलाई चिनेको ज्ञानलाई उनी विज्ञानमा परिवर्तन गर्न चाहन्छन् । अर्थात् उनी भगवानलाई महसुस गर्न चाहन्छन् हेर्न चाहन्छन् । 

श्रीमदभगवद्गीताको यो अध्यायलाई विराटस्वरुप अध्याय पनि भनिन्छ । किनभने यो अध्यायमा भगवान् श्रीकृष्ण आफ्नो विराटरुप अर्जुनलाई देखाउनुहुन्छ । यो अध्यायमा दिव्य दृष्टी छ, दिव्य रुप छ, विराट रुप छ, निवेदन छ, स्तुति छ र कृपाको आश्वासन छ । यति धेरै तत्वको उपस्थिति भएको यो पचपन्न श्लोकको अध्यायमा श्रीकृष्ण धेरै बोल्नुहुन्न किनकी दशौँ अध्यायमा उहाँले बोलेका कुरा देखाउने अध्याय हो यो । भगवान् पुरै अध्याय भरी जम्मा चौध श्लोक बोल्नुहुन्छ भने केही जिज्ञासा, धेरै भक्ति, कतै डर र स्तुतीको रुपमा तेत्तीस श्लोक बोल्दै अर्जुन आफ्नो भगवानप्रतिको भक्तिभाव देखाउँछन् । 

श्रीमद्भगवद्गीताका अठार अध्यायमा अर्जुन सबैभन्दा धेरै श्लोक बोलेको अध्याय पनि यही हो । तर यस अध्यायमा प्रश्नका रुपमा अर्जुन थोरै बोल्छन्, ज्ञान र स्तुतिका रुपमा धेरै बोल्छन् । दोस्रो अध्यायपछि नबोलेका सञ्जय यो अध्यायका छ श्लोक मार्फत् भगवानको विशाल, विराट र अद्भुत रुपको धृतराष्ट्रका सामु वर्णन गर्छन् । यो अध्याय दिव्य नेत्र भएका मानिसहरुका लागि हो तसर्थ यो अध्याय पढ्न र बुझ्न पनि दिव्य स्वभावको आवश्यकता पर्छ । 

पचपन्न श्लोकको यो अध्यायलाई आठ भागमा बाँड्न सकिन्छ । अर्जुनले जब भगवानका कुरा सुने उनलाई सुनेको कुरा देख्न मन लाग्यो । सुनेको र देखेको कुरामा फरक पर्छ । अर्जुन पनि भगवानबाट सुनेको कुरामा पूर्ण विश्वस्त भए, सुनेको कुराबाट भगवानलाई उनले चिने । तर एउटा भनाई नै छ कानलाई भन्दा आँखालाई विश्वास गर्नु । कहिलेकाँही सुनेको कुराबाट अर्कै खालको कल्पना गरिएको हुन सक्छ तर देखेको कुरा उही नै आँखामा तस्वीर बनेर बस्छ । त्यसैले भगवानका बारेमा भगवान् स्वयंको मुखबाट सुनिसकेपछि पनि अर्जुन तृप्त हुन सकेनन् । उनको मनमा एकचोटी भगवानलाई उहाँले भनेकै रुपमा हेरौँ र अनुभव गरौँ भन्ने भाव पैदा भयो । त्यसैले उनले एकपटक भगवानको स्वरुप नै दर्शन गर्ने इच्छा प्रकट गरे । यही नै भक्तहरुको परिचय हो । उनीहरुको एक मात्र लक्ष्य भगवानसँगको साक्षात्कार नै हो । 

भगवानलाई अझ जान्नका लागि र कानले सुनेर बनाएको चित्रलाई मानसपटलमा ल्याउनका लागि अर्जुन भगवानसँग विन्ति गर्छन् । यो अध्यायको पहिलो भागमा पहिलो श्लोकदेखि चौँथो श्लोकसम्म उनी भन्छन्– हे प्रभु ! तपाईंले भनेको कुरामा मलाई कुनै शंका छैन । म पूर्ण रुपमा विश्वास गर्छु, तपाईंले जस्तो भन्नुभएको छ म त्यस्तै नै मान्छु । तपाईंले मौखिक रुपमा व्याख्या गर्दा नै तपाईंको चित्र मेरो मानसपटलमा आइसकेको छ । तपाईं कस्तो हुनुहोला भनेर मैले कल्पना गरिरहेको छु ।  तर कहिलेकाँही कल्पना र यथार्थ नमिल्न पनि सक्छ । त्यसैले यदि यो शिष्य लायक छ भन्ने तपाईं ठान्नुहुन्छ भने मलाई तपाईंले अघि जस्तो रुप भन्नुभयो, जस्तो रुपको व्याख्या गर्नुभयो त्यो रुप एकचोटी दर्शन गर्ने अभिलाषा छ । के म त्यो रुप दर्शन गर्न लायक छु ? यहाँ अर्जुनको जुन शैली छ त्यसले विनम्रताको व्याख्या गर्छ । अर्जुनले सिधै मलाई तपाईंको रुप देखाउनुहोस् भनेर भनेका छैनन । उनले यदि भगवानले आफूलाई लायक ठान्नुहुन्छ भने मात्रै आफूलाई त्यो रुप दर्शन गराउनुहोस् भनेर आग्रह गर्छन् । 

उनले भगवानको रुप दर्शन गर्ने इच्छा त व्यक्त गर्छन् तर मलाई तपाईंको रुप देखाउनै पर्छ भन्दैनन । यसमा एउटा शिष्यको विनम्रता प्रस्तुत हुन्छ । अरुको अलौकिक गुण वा रुप हेर्न लायक हुनैपर्छ । शिक्षादेखि भिक्षाको लागिसमेत लायक नभई हुन्न भने यहाँ त दिव्य रुपको कुरा छ । 

अर्जुनको प्रार्थना पछि यो अध्यायको दोस्रो भाग अर्थात् पाँचौं श्लोकदेखि आठौं श्लोकमा भगवान् भन्नुहुन्छ– तिमी योग्य छौ अर्जुन । किनभने तिमी मेरो भक्त हौ, भक्तले यो रुप हेर्न योग्य छ, म तिमीलाई हजारौं आकार र रङ भएको मेरो दिव्य रुप देखाउँछु जुन पहिले कसैले देखेको थिएन । तर तिमीले जुन आँखा अहिले छ, त्यो आँखाले मेरो दिव्य रुप देख्न सक्दैनौं । यो विराट रुप हेर्न दिव्य दृष्टि चाहिन्छ । भगवानलाई अत्यन्तै नजिकबाट हेर्न र बुझ्नका लागि मानिसले भित्रको आँखा खोल्नुपर्छ, बाहिरको आँखाले दिँदैन, उपदेशको तात्पर्य यही हो । त्यसकारण भगवानले अर्जुनलाई पाँचौदेखि आठौं श्लोकसम्ममा यी आश्चर्यका कुराहरु दिव्य दृष्टिबाट हेर भनेर भन्नुहुन्छ । मानिसका साधारण बाहिरी आवरण बाहिरी आँखाले हेर्न सकिन्छ । तर मानिसका भित्री गुण हेर्न भित्री आँखा नै खोल्नुपर्छ भने भगवानको दिव्यरुप साधारण आँखाले हेर्नसक्ने त कुरै भएन । यहाँ भगवानले रुप भन्दा पनि आफ्नो योग र ऐश्वर्य हेर भन्ने शब्द प्रयोग गर्नुभएको छ । जुन साधारण मानिसले बाहिरी आवरणमा देख्दैनन् जहाँ योग हुन्छ त्यहाँ ऐश्वर्य हुन्छ । तसर्थ यो अध्यायमा भगवानलाई योगेश्वर भनिएको छ । 

यस भागको छैटौं श्लोकमा भगवान् अर्जुनलाई भन्नुहुन्छ, 
पश्यादित्यान्वसून्रुद्रानश्विनौ मरुतस्तथा ।
बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत ।।

यहाँ भएका आदित्यहरु, वसुहरु, रुद्रहरु, अश्विनीकुमारहरु र मरुतगणका विभिन्न रुपहरुलाई तिमी हेर । दशौं अध्यायमा भगवानका विभूतिका चर्चा गर्दा यी सबैको चर्चा भईसकेको छ । यहाँ फेरि भगवानले ती सबैलाई हेर भन्नुहुन्छ । फेरि तोकेरै माथिका रुद्र, वसु, आदित्य र अश्विनीकुमार भन्नुको अर्थ तेत्तीसकोटी देवताहरु भन्नु हो । साथै मरुतलगायत अरुदेवताहरु पनि हेर भन्नुहुन्छ । जब तेत्तीस कोटी देवता र अरु देवता त छन् भने अरु जगतको त के कुरा भयो र । अब ती सबै पनि तिमी हेर भनेर भगवान् अर्जुनलाई आफ्नो विराट, अलौकिक रुप देखाउनुहुन्छ । 

यो अध्यायको तेस्रो भाग अर्थात् नवौं श्लोकदेखि चौधौं श्लोकसम्ममा सञ्जय धृतराष्ट्रलाई भगवानको विराट स्वरुपका बारेमा वर्णन गर्छन् । कस्तो थियो त त्यो विराट स्वरुप ? त्यसका धेरैवटा मुखहरु थिए, धेरैवटा आँखाहरु थिए । भगवानको विश्वरुपले अलौकिक मालाहरु लगाएको थियो, उसका अनेक हातहरुमा दिव्य अश्त्रहरु थिए । भगवानका गलामा दिव्य मालाहरु थिए, शरीरमा दिव्य चन्दन लेप गरिएको थियो । त्यो रुपमा सम्पूर्ण कुराहरु दुर्लभ र दिव्य थिए । यसरी सञ्जयले भगवानको रुपको वर्णन गरे । अब फेरि भगवान् विराट स्वरुपको प्रकाशको वर्णन गर्छन् र भन्छन्, 

दिवि सूर्यसहस्रस्य भवेद्युगपदुत्थिता ।
यदि भाः सदृशी सा स्याद्भासस्तस्य महात्मनः ।।

विराट स्वरुपबाट आएको प्रकाश त आकाशमा हजार सूर्य एकैपटक उदाएको भन्दा पनि बढी छ ।  अब यो अध्यायको चौथो भाग विश्वरुप वर्णनको भाग हो । भगवानका बारेमा सुनेका अर्जुन भगवानलाई आफ्नो अगाडि प्रत्यक्ष देख्दा डराउँछन् र त्यो रुपको भक्तिपूर्ण वर्णन गर्न थाल्छन् । यति तेजोमय रुप देखेर म अत्यन्त डराइराखेको छु, तपाईंजस्तो त अरु कोही पनि छैन भनेर शरणमा पर्छन् । उनले भगवानको स्वरुपमा सम्पूर्ण ब्रम्हाण्ड अटाएको देख्छन् । पन्ध्रौं श्लोकदेखि एकतिसौं श्लोकसम्ममा अर्जुनले आदि, मध्य र अन्त्यरहित भगवान् हजुर भनेर भगवान् श्रीकृष्णको स्तुति गर्छन्, प्रार्थना गर्छन्, उनले जे देख्छन् यी सबै कुराहरुको बयान गर्छन् र भन्छन्– मैले आफूलाई सन्तुलनमै राख्न सकिन । उनी डराउँदै यतिसम्म भन्छन् कि मैले त यहाँ भएको सबै योद्धाहरु पनि हजुरको मुखमा प्रवेश गरेको देखिराखेको छु । 

यो भागको पहिलो श्लोकमै अर्जुन भन्छन्, 
पश्यामि देवांस्तव देव देहे 
सर्वांस्तथा भूतविशेषसङ्घान् ।
ब्रह्माणमीशं कमलासनस्थ–
मृषींश्च सर्वानुरगांश्च दिव्यान् ।।

मैले हजुरमा सृष्टिकर्ता ब्रम्हा, पालनकर्ता विष्णु र संहारकर्ता विष्णु देखिरहेको छु । अनि ऋषिमुनीहरु देखिरहेको छु । दिव्य सर्पहरु देखिरहेको छु । यो पहिलो श्लोकमा अर्जुनले सबैकुरा एकैपटक बताइदिए । ब्रम्हा, विष्णु, महेश्वरको अर्थ स्वर्ग, ऋषिहरुको अर्थ पृथ्वीलोक र सर्पहरुको अर्थ पाताललोक हो । उनले त्यहाँ स्वर्ग, मर्त्य र पातालमा भएका सबै कुराहरु एकैपटक देखे । 

अर्जुन सत्रौं श्लोकमा भगवानको साकार रुपको वर्णन गर्दै शंख, चक्र, गदा, पद्य हातमा लिएका विष्णु भगवानको रुप देखेको वर्णन गर्छन् भने श्लोक अठारमा निराकार स्वरुपको वर्णन गर्दै भगवानलाई अक्षरब्रम्ह, अविनासी र विश्वको आधारको रुपमा देख्छन् । यसरी भगवानको त्यो विराट रुपको वर्णन गर्दै एक्काइसौं श्लोकसम्म पुग्दा अर्जुन त्यो रुपमा भइरहेका क्रिया देख्छन् र भयभित हुन पुग्छन् । त्यहाँ उनले कोही मरेर भगावानको मुखमा छिर्दै गरेको, कोही जन्म लिएर मुखबाट बाहिर निस्कँदै गरेका, कोही भजन कीर्तन गर्दै गरेका देख्छन् । साथै देवता, असुर, पितृगण, गन्धर्व सबैलाई उनले त्यहीँ देख्छन् । 

यी सबै देखेर अर्जुन चौबीसौं श्लोकसम्म आईपुग्दा डराउन थाल्छन् किनकी त्यो रुप धेरैबेर हेर्ने सामर्थ्य कसैमा छैन । अझ त्यसमाथि पनि उनले त्यहाँ जे देख्न थाल्छन् त्यो अत्यन्तै भयभीत थियो । उनी देख्छन् आफ्ना र कौरबका सम्पूर्ण सेनाहरु भगवानको मुखमा प्रवेश गरिरहेका छन् । त्यसमा भीष्म, द्रोण र कर्ण जस्ता महारथीहरु पनि सामेल थिए । यसरी डराएका अर्जुन अब त्यो रुप के हो र को हो भन्ने बारेमा अलमलमा पर्छन् । उनी भगवानसँग फेरि सोध्छन्– अब मलाई हजुरको यो रुप हैन मलाई अब हजुर को हुनुहुन्छ त्यो बारेमा बताईदिनुस् । किनकी भगवानलाई त अहिलेसम्म अर्जुनले मान्छेका रुपमा देखेका थिए । अहिलेसम्म अर्जुनले भगवानलाई आफ्नो सारथीको रुपमा मानेका थिए। 

अब यो अध्यायको पाँचौं भाग अर्थात् बत्तीसौं श्लोकदेखि चौँतीसौं श्लोकसम्ममा भगवान् अर्जुनको हजुर को भन्ने प्रश्नको उत्तर दिँदै भन्नहुन्छ– 

कालोऽस्मि लोकक्षयकृत्प्रवृद्धो–
लोकान् समाहर्तुमिह प्रवृत्तः ।
ऋतेऽपि त्वां न भविष्यन्ति सर्वे 
येऽवस्थिताः प्रत्यनीकेषु योधाः ।।

म संसारलाई ध्वस्त पार्ने काल हूँ । जो जन्मिछ, त्यो मर्छ । यो सृष्टिको नियम हो, यो मैले चलाएको नियम हो, यसलाई कसैले पनि उल्टाउन सक्दैन । यो कसैको पनि इच्छामा निहित हुने कुरा होइन । भगवानले पहिले नै मेरो अध्यक्षतामा चलेको यो सृष्टि भनिसक्नुभएको छ । 

अर्जुन ! चाहे तिमी युद्ध गर या नगर यी सबै मारिनेछन्, मैले तिनीहरुलाई मारिसकेको छु । यदि तिमीले युद्ध गरेनौ भने पनि यिनिहरुको जीवनलिला समाप्त हुने नै हो, मात्रै फरक के हुन्छ भने तिमी आफ्नो कर्मबाट च्यूत हुन्छौ । त्यसैले मैले तिमीलाई बारम्बार भनेको छु तिमी युद्धमात्रै गर, युद्धका लागि तयार होऊ, युद्ध थाल । तिमीले जित्नेमा कुनै सन्देह छैन । बिना कुनै शंका तिमीले युद्ध जित्नेछौ । तिमी युद्धका कारण होइनौ तर पनि अरुका अगाडि कारण बनिदेऊ, मैले यी सबैलाई मारिसकेको छु । म आज यहाँ यी सबैको काल बनेर उभिएको छु । उनीहरुले मलाई अर्जुनले मारेको हो भन्ने भ्रमसहित मृत्युवरण गरून भन्ने मेरो चाहना हो, तिमीले युद्ध थाल । किनकी यी सबै मेरो हातबाट मृत्युवरण गर्न लायक छैनन् तसर्थ तिमी उनीहरुको मृत्युको कारण बनिदेऊ । यहाँ भगवान् एकातिर आफ्नो बारेमा बताउनुहुन्छ भने अर्कोतिर अर्जुनलाई त्यही विराट स्वरुपबाटै आदेश दिनुहुन्छ । 

भगवानका यस्ता कुरा सुनेपछि यो एघारौं अध्यायको छैटौं भाग अर्थात् पैँतीसौं श्लोकदेखि छयालिसौं श्लोकसम्ममा अर्जुन डराउँछन् र स्तुति गर्दै भन्छन्– 

स्थाने हृषीकेश तव प्रकीत्र्या 
जगत्प्रहृष्यत्यनुरज्यते च ।
रक्षांसि भीतानि दिशो द्रवन्ति 
सर्वे नमस्यन्ति च सिद्धसङ्घाः ।।

तपाईं अनन्त हुनुहुन्छ, जान्न लायक पनि तपार्इं र ज्ञान पनि तपाईं । आश्रय र धाम पनि तपाईं नै हुनुहुन्छ । सबै भगवान् पनि तपार्ईं जसले यो ब्रम्हाण्ड सम्हालिरहनु भएको छ । तपाईंलाई म सबैतिरबाट नमस्कार गर्दछु । भगवानको प्रार्थनाले मात्रै पुग्दैन क्षमा पनि माग्नुपर्छ । सनातन धर्ममा पूजा यज्ञ आदि गरिँदा अन्त्यमा त्यसको बिधि यद्यपि चलनमा छ । यो पहिलेदेखिनै चलिआएको हो । यही परम्परा र आवश्यकताअनुसार अर्जुन अब भगवानसँग स्तुतिका साथै क्षमा माग्न थाल्छन् र भन्छन्– हे अनन्तरुप मैले तपाईंलाई बेला बेलामा के के भनेँ हुँला, कस्ता कस्ता शब्द प्रयोग गरेँ हुँला, क्षमा गर्नुस् । जसरी बाबुले छोरालाई, एउटा साथीले अर्को साथीलाई र प्रियले प्रियतामालाई माफ गर्छन, त्यसैगरि मलाई माफ गर्दिनुस भनेर उनले माफी माग्छन् । अर्जुनले यदि आफूले केही नराम्रो भनेको छु भने सो गल्तीका लागि भगवानसँग माफी माग्छन् । साथीको रुपमा केही भनेकोमा, कतै अपमान गरेकोमा वा असाबधानीवश केही हुन गएकोमा उनी भगवानसँग माफी माग्छन् उदाहरण दिंदै क्षमाको याचना गर्छन् । उनले उदाहरण दिंदा, बाबुले छोरालाई गर्ने माफी,  साथीले साथीलाई गर्ने माफी र प्रियले प्रियतमालाई गर्ने माफीको उदाहरण दिन्छन् । किनकी यी तीनै माफीमा कुनै कसर बाँकी रहन्न यी सधैं स्वच्छ र बिना कुनै क्लेश हुन्छन् । यी सबै माफीमा माफी दिइसकेपछि सम्झने काम हुन्न । अरु बाँकी सबै सम्बन्धमा लेनदेन हुन्छ ।  

यसरी स्तुति र क्षमा याचना पछि भगवानसँग अर्जुन भन्छन्– हे प्रभु ! अब मलाई हजुरको चर्तुभुज शंख, चक्र, गदा, पद्म हातमा लिएको विश्वमुर्ति श्रीविष्णुको रुपको दर्शन गराउनुस् । यहाँ अझै अर्जुनलाई भगवान्को रुप हेर्न पुगेको छैन । आफ्ना सारथीरुप मानवरुपको कुरा अर्जुन अब गर्दै छैनन् । किनकी अर्जुन भगवान्लाई हरेक कोणबाट चिन्न चाहन्छन्, देख्न चाहन्छन् र बुझ्न चाहन्छन् । 

यस अध्यायको सातौं भाग अर्थात् सतचालीसौं श्लोकदेखि पचासौं श्लोकसम्ममा भगवान् अर्जुनलाई चार हातमा शंख, चक्र, गदा, पद्य लिएको विष्णुको अलौकिक रुप देखाउँदै भन्नुहुन्छ– मेरो यो रुप भक्तले मात्रै देख्ने रुप हो । आजभन्दा अगाडी र पछाडी यस्तो रुप कसैले देखेको थिएन, तिमीले आज देख्यौ, किनकी तिमी मेरा भक्त हौ । भगवानले भक्तिमा जोड दिनुहुन्छ र भन्नुहुन्छ– भगवानलाई देख्न र बुझ्न कसैले सक्छ भने भक्ति चाहिन्छ । भक्ति नगरी भगवान्को रुप देख्न पाइदैँन । भगवान् यहाँ यतिसम्म भननुहुन्छ कि– वेद अध्ययन, शास्त्रका अनुष्ठान, दान अथवा उग्र तपस्याले पनि यो लोकमा भगवानको यो रुप देख्न पाइन्न । यसको अर्थ हो ती सबै क्रियाभन्दा निस्काम भक्ति श्रेय हो । भगवानको विराटरुप विश्वरुप थियो जहाँ सबै भगवानहरु एकैसाथ थिए । भने यो चतुर्भूज रुप देवरुप हो जहाँ भगवान् श्रीविष्णुमात्र हुनुहुन्थ्यो । 

अब यो विश्वरुपदर्शनयोग अध्यायको आठौं वा अन्तिम भाग अर्थात् पचासौं श्लोकदेखि पचपन्नौं श्लोकसम्म भगवान् अर्जुनलाई फेरि भक्तिको महिमा र फलका बारेमा वर्णन गर्नुहुन्छ । भगवानले अर्जुनलाई शंख, चक्र, गदा पद्यमसहितको आफ्ने चर्तुभुज रुप देखाउनुभयो, अनि दुईभुजा भएको मानव रुपमा आएर भगवानको रुप देखेर व्याकुल भइरहेका अर्जुनलाई सान्तवना दिँदै भन्नुहुन्छ– हे अर्जुन ! यो रुप पनि कसैले पनि देख्न सक्दैन जुन तिमीले देख्यौ । देवताहरु पनि यो रुप देख्न लालायित हुन्छन् । यसको तात्पर्य भगवानलाई बुझ्न कति कठिन छ भन्ने हो । यो रुप देख्न भक्ति चाहिने कुरामा अझ जोड दिँदै भगवान् भन्नुहुन्छ– मेरा भक्तले त मलाई देख्छन्, जान्दछन् र मैमा प्रवेश समेत गर्दछन् । यो रुपको दर्शन पाइसकेपछि अब तिमी ज्ञानको रहस्यभित्र पस्छौ र जान्छौ । मेरो यो विराट रुप देखिसकेपछि तिमीले देख्न केही पनि बाँकी छैन । तिमी मोक्ष प्राप्तीको बाटोमा छौ । यी सबै जानेका कुराहरुलाई तिमीले अब भक्तिसेवामा लगाऊ । तिम्रो लागि अब अन्तिम काम भनेको यो कुरुक्षेत्रको युद्ध जित्नु मात्रै हो । त्यसपछि तिमीले आफ्ना लागि तोकिएर आएको सम्पूर्ण काम पनि पुरा गर्छौ र मोक्षको बाटोमा अघि बढ्छौ । हे अर्जुन ! जसले मेरो सेवा गर्छ र मेरो सेवालाई परमलक्ष्य बनाउँछ, त्यसले मलाई प्राप्त गर्छ भनेर भगवान् श्रीकृष्णले आफ्नो अन्तिम रुप देखाउनुहुन्छ र भन्नुहुन्छ– अब एउटै बाटो भनेको मेरो भक्ति गर्नु हो ।

श्रीमद्भगवद्गीताको विश्वरुपदर्शनयोग नामको एघारौं अध्याय समाप्त भयो ।

(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ ।  त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ