arrow

श्रीमद्भगवद्गीता, अध्याय वाह्रः भक्तियोग  

भगवानका शुद्ध भक्त, प्रेमी भक्त, साधक भक्त, तपस्वी भक्त, ज्ञानी भक्त, कर्मयोगी भक्तलगायत विभिन्न प्रकारका भक्तका वर्णन

logo
राजु नेपाल,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
shreemad-bhagbat-geeta-raju.gif

श्रीमद्भगवद्गीताका सबै अध्यायहरु, प्रत्येक श्लोकहरु र त्यसमा प्रयोग भएका सबै शब्दहरु अत्यन्तै महत्वपूर्ण छन् । बीस श्लोक भएको यो अध्याय श्रीमद्भगवद्गीताको अन्य अध्यायजस्तै अत्यन्तै मार्मिक अध्याय हो । श्रीमद्भगवद्गीताका तीन प्रमुख तत्वहरु ज्ञान, कर्म र भक्ति मध्ये यो अध्यायले भक्तिको बारेमा प्रकाश पार्छ । यहाँ भगवानले अर्जुनलाई भक्तको लक्षणका बारेमा बताउनुहुन्छ । उहाँले भक्त र सिद्ध भक्त को हुन भनेर बताउनुहुन्छ । यस्ता भक्तहरुको लक्षण कस्तो हुन्छ भन्ने सन्दर्भमा पनि भगवान् श्रीकृष्णले अर्जुनलाई उपदेश दिनुहुन्छ । उहाँले सर्वश्रेष्ठ भक्ति के हो भन्नेबारेमा बताउनुहुन्छ । 

श्रीमद्भगवद्गीताका अठार अध्यायमा भएका सात सय श्लोक मध्ये सबैभन्दा कम बीस श्लोक भएका दुई अध्याय छन्, बाह्रौं र पन्ध्रौं । यो बाह्रौ अध्यायको बीस श्लोकलाई दुई भागमा बाँडेर बुझ्दा सजिलो हुन्छ । पहिलो भागमा यस अध्यायको पहिलो श्लोकदेखि बाह्रौं श्लोकसम्ममा भगवानले भगवानका साकार र निराकार रुपका उपासकका बारेमा बताउँदै यी दुई मध्ये कुन उपासक उत्तम उपासक हुन भन्ने कुराको ज्ञान दिनुहुन्छ । उहाँले यस्ता उपासकहरुलाई भगवद्प्राप्ति कसरी हुन सक्छ भन्नेबारेमा पनि बताउनुहुन्छ । 

अर्जुनले भगवानका धेरै कुरा सुनिसकेका छन् । उनले भगवानको विराटस्वरुपको दर्शन पनि गरिसकेका छन् । त्यसैले अब अर्जुनलाई धेरै कुराको दुबिधा छैन । श्रीकृष्णलाई भगवानको रुपमा उनले चिनिसके । तैपनि अझै कुनै कुनै कुरामा अर्जुन अल्मल्लिन्छन् र सोध्छन्, भक्ति कसको गर्ने ? साकार श्रीकृष्णको गर्ने कि निराकार ब्रह्मको गर्ने ? कुन ठीक हो ? यहाँ उनले त भगवानलाई दुवै रुपमा चिने, बुझे र देखे । अब छिनोफानो हुन बाँकी कुरा भनेको भक्ति कै हो र कसको गर्ने भन्ने हो । यस् अध्यायको बीस श्लोक मध्ये पहिलो श्लोकमा अर्जुन जिज्ञासा राख्छन् भने बाँकी उन्नाइस श्लोकमार्फत् भगवान् अर्जुनलाई सम्झाउनुहुन्छ । 

श्रीमद्भगवद्गीतामा विभिन्न प्रकारका भक्तहरुका बारेमा उल्लेख छ । सबैजसो अध्यायमा भगवानले अर्जुनलाई भक्तका स्वरुप र गुणका बारेमा बताउँदै आउनुभएको छ । मनबाट भगवानको भजन गर्ने शुद्ध भक्त,  भगवानको आश्रय लिएर प्रेमपूर्वक भक्ति गर्ने प्रेमी भक्त,  भगवानको साधनमा लागिरहने साधक भक्त,  भगवानको स्मरण गरिरहने तपस्वी भक्त, ज्ञानबाट भगवानलाई जान्न खोज्ने ज्ञानी भक्त, कर्मयोगी भक्तलगायत विभिन्न प्रकारका भक्तका वर्णन त भगवानले गर्दै आउनुभएको छ । अब यहाँ ती भक्तलाई छुट्ट्याउने बेला भयो । तसर्थ यहाँ अर्जुनको यो अत्यन्त गहन प्रश्नको उत्तर दिंदै भगवान् भन्नुहुन्छ– अर्जुन ! मेरो सगुण साकार स्वरुपको श्रद्वापूर्वक उपासना गर्नुनै ठीक हो । तर अर्जुन, यस्तो उपासना नित्य निरन्तर हुनुपर्छ, मन लगाएर गरिएको हुनुपर्छ र श्रद्धासहित हुनुपर्छ । तर यो मात्रै मलाई प्राप्त गर्ने तरिका भने होइन । अरु तरिकाले पनि मलाई प्राप्त गर्न सकिन्छ । 

सर्वसाधारण देहधारी मनुष्यहरु, गृहस्थीका मानिसहरुलाई निराकार रुपको उपासना गर्न कठिन छ त्यसैले मेरो सगुण साकार स्वरुपको श्रद्धापूर्वक उपासना जसले गर्छ त्यो नै मेरो भक्त हो । यसरी भगवानको सगुण रुपको उपासना गर्नु ठिक भन्दै के पनि भन्नुहुन्छ भने मेरो निराकार ब्रम्हरुपको उपासना गर्ने भक्तले त झन मलाई नै प्राप्त गर्छन् । 

ती भक्त कस्ता हुन्छन् त ? उनीहरुले इन्द्रियलाई वशमा राखेको हुन्छन्, समबुद्धिवाला हुन्छन्, सबैको हितमात्रै गर्छन र निर्विकार हुन्छन् । पहिलो कोटीका भक्तहरु कर्मयोगी हुन् भने यो प्रकारका भक्तहरु ज्ञानयोगी हुन् । कर्मयोगी भक्त र ज्ञानयोगी भक्तका बीचको भिन्नता बताउँदै भगवान् भन्नुहुन्छ– देहधारीहरुका लागि मेरो निराकाररुपको उपासना कठिन छ, तर पनि उनीहरु कर्मलाई ममा अर्पण गरेर भक्तिभावमा आफूलाई समर्पण गर्छन् भने मलाई प्राप्त गर्छन् र म त्यस्ता भक्तको तुरुन्तै उद्धार गर्दछु । यति भनेर अब भगवान् यस अध्यायको आठौंदेखि बाह्रौं श्लोकसम्म भगवान् भक्तिका चारवटा उपाय बताउनुहुन्छ । 

भगवान् भन्नुहुन्छ– सबैभन्दा पहिला अफ्नो मनलाई ममा स्थिर गर र बुद्धिलाई ममा प्रवृष्ट गराऊ । यो उपाय सजिलो छैन तैपनि त्यसो गर्न सकियो भने चित्त भगवानमा बास गर्नेमा कुनै दुविधा पनि छैन । यो नै आफूलाई भगवानमा समर्पण हो । यो नै ध्यानयोग हो । 

भगवान् अगाडि भन्नुहुन्छ– यदि तिमी ध्यानयोगको बिधि गर्न सक्दैनौ भने तिमी अभ्यासका माध्यमबाट भक्तियोगका नियमहरु पालना गर, त्यो भनेको इन्द्रिय संयम गर भन्नु हो । भगवानले पहिल्यै भनिसक्नुभएको छ, अभ्यास भनेको बारम्बार आफ्नो चित्तलाई लक्ष वा भगवाना लगाउन प्रयास गर्नु हो । भक्तिको यो दोस्रो उपाय हो । 

अब भगवान् तेस्रो उपायका बारेमा वर्णन गर्दै भन्नुहुन्छ– ध्यान योग गर त्यो सक्दैनौ भने अभ्यास गर्दै इन्द्रिय संयम पालना गर, इन्द्रिय संयम गर्न सक्दैनौ भने कर्मयोगको पालना गर । यो प्रकृयामा तिमी हे अर्जुन ! मेरा लागि कर्म गर अर्थात् कर्मको कारण आफूलाई नमान, कर्मफल तिम्रो अधीनमा छैन भन्ने पनि बुझ र कर्म गर्नबाट विमुख पनि नहोऊ । यहि हो कर्मयोग । तिमी तोकिएको कर्म गर, कर्मफल प्रति अनाशक्त बन र कर्मफललाई घृणा पनि नगर । 

हे अर्जुन ! भगवानको भक्त बन्नका लागि यदि तिमी कर्मयोगको पालना पनि गर्न सक्दैनौ भने कर्मफललाई त्याग । भगवानले पहिल्यै भनिसक्नुभएको छ कर्मफल नत्यागी कोही योगी हुनै सक्दैन । कर्मफल त्याग्नुको अर्थ फेरि पनि इन्द्रिय वशमा पार्नु हो । घुमाईफिराई भगवान् अर्जुनलाई बिभिन्न बाटो देखाएर एउटै लक्ष बताइरहनुभएको छ । अर्जुनलाई भगवानले यी चारवटा भक्तिका बाटो बताउनुभयो । 

तर भगवानमा अझै शंका छ,  गृहस्थीमा रहेका अर्जुन जस्ता मानिसले यी चारैवटा बाटो समाउन कठिन छ, तसर्थ भगवान् उनलाई यी चारबाटाहरु मध्ये कुन र किन श्रेष्ठ छन् भनेर व्याख्या गर्नुहुन्छ । 

अर्जुन ! 

श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते ।
ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम् ।।

ज्ञानभन्दा ध्यान श्रेष्ठ छ र ध्यान भन्दा कर्मफलको त्याग श्रेष्ठ छ किनकी कर्मफलको त्यागले मानिसलाई तुरून्तै शान्ति प्राप्ति गराउँछ । 

कर्मयोगीका लागि सगुण साकार रुपको उपासना नै उपयुक्त भएको बताइसकेपछि यो अध्यायको दोस्रो भाग अर्थात् तेह्रौं श्लोकदेखि बीसौं श्लोकसम्म भगवान् आफ्ना सिद्ध भक्तका लक्षण के कस्ता हुन्छन् भन्नेबारेमा अर्जुनलाई जानकारी दिनुहुन्छ । यी कुल उनन्चालीस लक्षणहरु भएका मानिस नै भगवद्प्राप्तिका लागि योग्य मानिन्छन् र उनीहरुले कहिल्यै फेरि यो लोकमा जन्म लिनु पर्दैन । 

भगवान् भन्नुहुन्छ– यी सबै उनन्चालीस गुणयुक्त भक्तहरु मलाई अत्यन्तै प्यारा लाग्छन् जो मेरा अत्यन्त निकट हुन्छन् र जसले मलाई प्राप्त गर्न सक्छन् । 

पहिलो बाह्र प्रकारका भक्तहरु हुन्, जो कसैसँग द्वेष गर्दैन, जो सबैका मित्र छ, जो दयालु छ, जो ममतारहित छ, जो अहंकारबाट मुक्त छ, जो सुख र दुःखमा समान रहन्छ, जो क्षमाशील छ, जो सन्तुष्ट छ, आत्मसंयमी छ, जो दृढ संकल्पसहितको छ, जो भगवत् भक्तिमा संलग्न छ र जसको मन र बुद्धि ममा स्थिर छ त्यस्तो भक्त मलाई सारै प्रिय लाग्छ । 

अब म तिमीलाई दोस्रो छ प्रकारका सिद्ध भक्तका लक्षण बताउँछु । त्यस्ता भक्तहरु मेरो निकट हुन्छन् । हे अर्जुन ! जो इर्ष्यारहित छ, जसले अरुलाई कष्ट पुर्‍याउँदैन, जो विचलित हुँदैन, जो भयभीत हुँदैन, जो हर्षमा मात्तिदैन र जो विकारहरुबाट मुक्त छ त्यस्ता भक्तहरु मेरा प्रिय हुन्छन् । 

आफ्ना भक्तहरुका लक्षण बताउने क्रममा भगवान् अर्जुनलाई तेस्रो प्रकारका छ लक्षण बताउनुहुन्छ र भन्नुहुन्छ– हे अर्जुन ! जो कुनै कार्यप्रति आश्रित छैन, जो बाहिर र भित्र दुवैतिरबाट पबित्र छ, जो कुशल छ, जो चिन्तारहित र तटस्थ छ, जो समस्त दुःखबाट मुक्त छ र जो कर्मफलका लागि कर्म गर्दैन त्यो नै मेरो अत्यन्त प्रिय भक्त हो । 

भगवानका भक्तका लक्षण अझै सकिएको छैन । उहाँ भन्दै हुनुहुन्छ र अर्जुन सुन्दै हुनुहुन्छ । अब यस अध्यायको सत्रौं श्लोकमा आइपुग्दा भगवान् चौँथो प्रकारका आफ्ना भक्तका अरु पाँच लक्षण बताउँदै भन्नुहुन्छ– 

यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति ।
शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः ।।

हे अर्जुन ! जो कुनै कुरा पाउँदा हर्षित हुँदैन, जो कहिल्यै कसैप्रति द्वेष गर्दैन, जो कुनै कुरामा शोक गर्दैन, जो कामना रहित छ र जो सुखदुःख भन्दा माथि उठिसकेको छ त्यस्ता भक्त मलाई प्रिय लाग्छन् । 

आफ्ना भक्तका उनन्चालीस लक्षण बताउने क्रममा भगवानले अहिलेसम्म उनन्तीस लक्षण बताउनुभयो । अब पाँचौं प्रकारका भक्तका दश लक्षण बताउँदै भगवान् भन्नुहुन्छ– त्यस्तो मानिस मलाई प्यारो लाग्छ, जसले मित्र र शत्रुमा भेद गर्दैन, जो मान र अपमानमा, जाडो र गर्मीमा, सुख र दुःखमा, निन्दा र प्रशंसामा समान भाव राख्दछ । त्यस्तो मानिस जो आशक्तिरहित छ, जो मननशील छ र जो जे पायो त्यसैमा सन्तुष्ट रहन्छ, जसलाई कुनै प्रकारको घरबारसँग सरोकार छैन र जो ज्ञानमा दृढ छ त्यस्तो भगवद्भक्तिमा लागेको व्यक्ति मलाई अति प्यारो हुन्छ ।

भक्तियोगको यो अध्यायमा भगवान् श्रीकृष्णले आफ्ना भक्तका लक्षण बताएर अर्जुनलाई अन्त्यमा भन्नुहुन्छ– भक्त जस्तो भए पनि उसको परमलक्ष्य भनेको म नै हुनुपर्छ । तब मात्र उसले मोक्ष प्राप्त गर्न सक्छ । जति ज्ञानी भए पनि, जति समभाव राख्ने भए पनि जति राग र द्वेष नभएको भए पनि यदि उसको अन्तिम लक्ष्य श्रीकृष्ण छैनन् भने ऊ भक्त बन्नै सक्दैन । 

अब हामी सोचौँ हामीमा भगवानका भक्तका उनन्चास लक्षणहरु मध्ये कतिवटा छन् त ? यी मध्ये आधा मात्र भए पनि हामी भक्त हुन्छौं र सिधै भगवद्धाम पुग्छौं । के हामी भगवानको भक्त बन्न सक्छौं ? के हामी ध्यानयोग, कर्मयोग वा भक्तियोगका कुनै बिधि अपनाउन सक्छौं ? के हामी योगी हुन सक्छौं ? आजको प्रश्न यहि हो । 

(श्रीमद्भगवद्गीताको भक्तियोग नामको बाह्रौं अध्याय समाप्त भयो।)

(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ ।  त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ