arrow

श्रीमद्भगवद्गीता, अध्याय तेह्रः क्षेत्रक्षेत्रज्ञविभागयोग

logo
राजु नेपाल,
प्रकाशित २०७७ जेठ १ बिहिबार
shreemad-bhagbat-geeta-raju.gif

आफ्नो बारेमा यथेष्ट बताइसकेपछि अब भगवान् श्रीकृष्णले अर्जुनलाई दिने ज्ञानको क्षेत्रलाई अलिकति फरक र फराकिलो बनाउनुहुन्छ । तेह्रौं अध्यायमा आइपुग्दा अब भगवानलाई अर्जुनले बुझेका र बताउनुपर्ने बाँकी केही कुराहरुको बारेमा थाहा छ । बाह्रौं अध्यायमा सगुण साकार रुपको उपासना र भक्तका कुरा गर्नुभएका भगवान्ले निर्गुण र निराकार परमात्माका भक्तले पनि आफूलाई पाउन सक्ने बताइसक्नु भएको छ । यो अध्याय त्यही भगवान्को निर्गुण निराकार स्वरुपको व्याख्या हो । पुरै अध्यायका चौंतीसै श्लोकमा भगवान् एक्लै बोल्नुहुन्छ, अर्जुन सुन्छन् । 

यो अध्यायमा प्रकृति, पुरूष र चेतना भन्दै तत् तत् विषयलाई भगवान्को निराकार रुपसँग सजिलै बुझ्नेगरी भगवानले अर्जुनलाई ज्ञान दिनुहुन्छ । यो अध्यायमा खासगरि ज्ञान र बुझ्नुपर्ने ज्ञेय के हुन रु प्रकृति र पुरूष के हुन, क्षेत्र या क्षेत्रज्ञको विषय के हो भन्नेबारेमा भगवान्ले विस्तृतमा अर्जुनलाई बताउनुभएको पाइन्छ । 

यो अध्यायलाई क्षेत्र र त्यसको अधिपति क्षेत्रज्ञ अनि ज्ञान र ज्ञेय गरी दुई भागमा बाँड्न सकिन्छ । यो अध्यायको पहिलो भाग अर्थात् पहिलोदेखि अठारौं श्लोकसम्ममा भगवान् श्रीकृष्णले ज्ञानसहितका क्षेत्रक्षेत्रज्ञका विषयमा चर्चा गर्नुभएको छ । 

भगवान् भन्नुहुन्छ– 

इदं शरीरं कौन्तेय क्षेत्रमित्यभिधीयते ।
एतद्यो वेत्ति तं प्राहुः क्षेत्रज्ञ इति तद्विदः ।।

हे अर्जुन १ मानव शरीरनै क्षेत्र हो । ठाउँठाउँमा भगवान्ले भन्नुभएको छ– सबैभन्दा पहिला आफूलाई बुझ्नुपर्छ, आफ्नो कर्तव्य बुझ्नुपर्छ । कर्तव्य बुझ्नुभन्दा अघि आफ्नो कर्म के हो रु आफू के हो रु के का लागि जन्मिएको हूँ, धर्म के हो रु भन्नेबारेमा बुझ्नु जरूरी छ । पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच तत्वबाट बनेको यो स्थुलरुप नै शरीर हो । यो शरीरलाई अरु शरीरसँग छुट्ट्याउन नामको प्रयोग गरिन्छ । यो शरीर नाशवान् छ र प्रतिक्षण यसको रुप परिवर्तन हुन्छ । चाहे त्यो मानिस होस् वा अरु जिवात्मा वा कुनै वृक्ष आदि, सबैको रुप हरेक दिन परिवर्तन हुन्छ नाश हुनका लागि । मानिसको जीवनमा जेजति पनि घटनाहरु हुन्छन् यही शरीर मै हुन्छन् । चिसो, तातोदेखि सुखदुःख यही शरीरले भोग्छ, तसर्थ पनि यो शरीर क्षेत्र हो । सबै कर्म यही शरीरको माध्यमबाट गरिन्छ । धर्मको र पापको कारण पनि यही शरीर हो श्रीमद्भगवद्गीतामा श्रीकृष्णले अध्याय एकदेखि यहाँसम्म आइपुग्दा भन्नुभएको विषय पनि धर्म नै हो । 

आफ्नो कर्तव्य गरेर वा आफूले विगतदेखि आजसम्म गर्दै आएका कर्म गरेर जसले आफ्नो जीवन सञ्चालन गरिरहेको हुन्छ, त्यो नै धर्म हो । श्रीमद्भगवद्गीताको सुरूदेखि अहिलेसम्म भन्दै आईएको कुरा आफ्नो धर्म पालना गनुपर्छ भन्ने मात्रै हो । भगवान् अहिलेसम्म त्यो धर्म कसरी पालन गर्नुपर्छ र किन पालन गर्नुपर्छ मात्रै भनिरहनुभएको छ । तिमीले के गर्ने भनेर पहिले नै निर्धारण भइसकेको हुन्छ । आफूलाई तोकेर आएको कर्म गर्नु नै तिम्रो धर्म हो । अब यहाँ भगवान् भन्नुहुन्छ, त्यस्तो परिवर्तनशील, नाशवान् र धर्मकर्मको स्थान शरीरलाई जसले जान्दछ त्यो नै क्षेत्रज्ञ हो । यस अर्थमा शरीर र शरीरमा हुने परिवर्तन अनि इन्द्रियहरुका कृयाकलापलाई जसले बुझ्छ ऊ नै क्षेत्रज्ञ हो । भगवान् अगाडि भन्नुहुन्छ– हे अर्जुन १ तिमी त्यो क्षेत्रज्ञ म हूँ भन्ने बुझ र त्यो बुझ्ने जुन बिधि छ त्यसलाई तिमी ज्ञान भनेर सम्झ । यस अर्थमा जसले आफूलाई बुझ्छ, उसले भगवान्लाई चिन्छ । भगवान्का विभूतिहरु कण कणमा छन् । हरेक मानिसमा छन्, त्यसलाई हामीले बुझ्ने मात्रै हो, चिन्ने मात्रै हो । यस्तो ज्ञानको विषय वैदिक ग्रन्थहरुमा लेखिएका हुन्छन् जसमा कर्मक्षेत्रको उत्पत्ति, परिवर्तन र नाशका बारेमा उल्लेख हुन्छ । 

भगवानलाई कसरी बुझ्ने भन्नेबारेमा यहाँ भगवानले अर्जुनलाई भन्नुहुन्छ– हे अर्जुन १ तिम्रो शरीर कर्मक्षेत्र हो, तिमीले तिम्रो शरीरमा जुन परिवर्तन आइरहन्छ त्यो परिवर्तन बुझ्नुपर्छ । शरीर सधैँ एकैनाशको हुन्न । जन्मेदेखि मृत्यु नुहुँदासम्म शरीरले विभिन्न खाले स्वरुप बनाएको हुन्छ । यसरी शरीरमा आउने परिवर्तन बुझ्नलाई तिमीले तीन चिज बुझ्नुपर्छ, ती हुन् भगवान्, जीव र पदार्थ । ती तीन चिज जब तिमीले बुझ्छौ त्यसपछि तिमीले क्षेत्र र क्षेत्रज्ञका सन्दर्भमा बुझ्नुपर्ने केही बाँकी रहँदैन। यसरी बताउने क्रममा भगवान् श्रीकृष्ण कर्मक्षेत्रका चौबीसवटा भेदहरुबारे अर्जुनलाई जानकारी दिनुहुन्छ । यी चौबीसवटा भेद बुझेपछि हरेक व्यक्तिले शरीर कर्मक्षेत्र हो भन्छ । 

भगवान् भन्नुहुन्छ–  पञ्चमहाभूत अर्थात् पृथ्वी, जल, वायु, अग्नि र आकाश पाँच, अहंकार, बुद्धि,  अव्यक्त प्रकृति र तीनका गुण गरी तीनवटा । अव्यक्त प्रकृतिमा तीनवटा गुण हुन्छन्, सत्य, रज र तम ।  दश इन्द्रियहरु आँखा, नाक, छाला, कान, जिब्रो, वाणी, हात, गोडा, जनेन्द्रिय र गुद्धार ।  मन र इन्द्रियका पाँच विषयहरुः गन्ध, रस, रुप, स्पर्श र शब्द गरेर यी चौबीसवटा नै कर्म क्षेत्र नै हुन् । यिनीहरुको बीचमा इच्छा, द्वेष, सुख, दुःखको अन्तक्र्रिया निरन्तर भइरहन्छ । यो कर्मक्षेत्रमा हुने अन्तरक्रियालाई बुझ्नु नै ज्ञान हो । 

यो कर्मक्षेत्रलाई बुझ्ने कुरा नै ज्ञान हो । योभन्दा अरु कुनै बुझ्ने ज्ञान छैन । ज्ञानको विषयमा यति बुझेपछि अब अरु केही बुझ्नुपर्दैन । यसलाई चलाउने परमात्मा हुनुहुन्छ, अब तिमी परमात्मालाई बुझ । यसलाई चलाउनका लागि परमात्मा प्रकाश या अविनाशी बीजको रुपमा बस्नुहुन्छ । यो नै भगवान्को निकारार रुप हो । यहाँ भगवानले साकार रुपको चर्चा गर्नु भएकै छ्रैन । निराकार रुप नदेखिने हुँदा त्यस्तो रुप बुझ्ने एउटै माध्यम ज्ञान नै हो । भगवान् यो प्रकृतिको चालकको रुपमा हुनुहुन्छ । 

अब त्यस्तो ज्ञान के हो भन्नेबारेमा भगवान्ले यसलाई बीस तत्वमा भन्नुहुन्छ हे अर्जुन १ विनम्रता, अभिमान सुन्यता, अहिंसा, सहनशीलता, सरलता, सुयोग्य गुरुको शरण, पवित्रता, स्थीरता, आत्मसंयम, इन्द्रियतृप्तीको विषयहरुको त्याग, अहंकारको अभाव, जन्म, मृत्यु र बृद्वावस्था र रोगको ज्ञान, अनाशक्ती, पत्नी र घर आदिको जञ्जालबाट मुक्ति, राम्रा नराम्रा कुराहरुमा समभाव, भगवान् भक्ति, एकान्तवासको चाहना, भौतिकवादबाट टाढा रहने इच्छा, आत्मासाक्षात्कारको महत्वलाई स्वीकार्ने बानी र परमसत्यको खोजीमा लाग्ने गरी तत्वमात्रै ज्ञान हुन् र यसका विपरीत वा यी बाहेक अरु सबैै अज्ञान हुन् । 

अब भगवानले आफ्नो निकारार रुप र त्यो रुपलाई बुझ्ने ज्ञान र अज्ञानका बारेमा वर्णन गरिसकेपछि भन्नुहुन्छ– त्यस्ता परमात्माका हात, खुट्टा, आँखा, कान परसम्म फैलिएका छन् । यो निराकार रुपको वर्णन गर्दा त्यसो भन्नुको तात्पर्य परमात्मा सर्वव्यापी हुनुहुन्छ, कण कणमा हुनुहुन्छ, तिमी भित्र हुनुहुन्छ र म भित्र पनि हुनुहुन्छ भन्ने हो । शुक्ष्म रुपमा हुने परमात्मा सबै श्रृष्टि पालन र संहारका कारण हुनुहुन्छ । यो चराचर जगत नै परमात्मा हो भनेर यसरी भगवान्ले आफ्नो निर्गुण निराकार स्वरुप अर्जुनलाई चिनाउनुहुन्छ । तर यो ज्ञान दिइरहँदा भगवान् अर्जुनलाई के भन्न चाहिं छुटाउनुहुन्न भने मेरो त्यो स्वरुप बुझ्न पनि भक्ति चाहिन्छ । भक्तले मात्रै मेरो त्यो रुप देख्छ । यहाँ हात खुट्टा भन्नुको तात्पर्य सर्वव्यापी भन्न खोजिएको हो । 

यो अध्यायको दोस्रो भाग अर्थात् उन्नाइसौंदेखि चौँतीसौं श्लोकसम्ममा भगवान् प्रकृति र पुरूषका बिषयमा विस्तारपूर्वक बताउनुहुन्छ । जुन भगवान्को श्रृष्टि नै प्रकृति छ भने त्यसका केही गुणहरु अवश्य हुन्छन् । ती गुणहरुका कारणले सुख र दुःखको भोग हुन्छ । ती गुण सत्य, रज र तम हुन् । ती गुणको अधीनमा रहेर हरेक पुरूषले कर्म गर्दछ । पुरुष अनादि र विकाररहित भए पनि जब प्रकृतिको गुणको अधीनमा आउँछ उसमा बिकार आउन थाल्छ । यसप्रकार सुख दुःखको भोक्ता नै पुरूष हो ।  सुख र दुःख भोग्दै त्यो पुरूष विभिन्न उचो र निचो योनीमा जन्म लिन पुग्छ । यो त भयो शरीरसँग सम्बन्धित विभिन्न सुख दुःख भोग्ने पुरूष। 
यो बाहेक पनि शरीरमा अर्को एउटा भोक्ता छ, जसलाई परमात्मा भनेर चिनिन्छ । उहाँ शरीरको साक्षी हुनुहुन्छ, शरीरको पालन गर्नुहुन्छ र कुनै पनि कार्यको लागि अनुमति दिनुहुन्छ । यति कुरा कसैले बुझ्यो भने अब उसले बुझ्नुपर्ने केही बाँकी रहँदैन र ऊ मोक्ष हुन्छ । त्यो शक्तिलाई, त्यो भगवानको निराकार सुक्ष्म र दिव्य स्वरुपलाई अनुभव गर्ने तरिका बताउँदै भगवान् भन्नुहुन्छ– कोही ध्यानयोग माध्यमबाट, कोही साङ्ख्ययोगको माध्यमबाट र कोही कर्मयोगको माध्यमबाट परमात्मासँग साक्षात्कार गर्न पुग्छन् । यसको अर्थ जसलाई जुन बिधि सजिलो लाग्छ, त्यही बिधि अपनाउनुमा बाधा छैन । भगवान् यहाँ अर्जुनलाई मोक्षका उपाय बताउँदैहुनुहुन्छ, उहाँ भन्नुहुन्छ– यदि कुनै बिधि नअपनाउँदा पनि मोक्षको बाटो भने बन्द हुँदैन त्यो भनेको सुयोग्य गुरूको शरणमा गएर भगवान्का बारेमा सुन्नु हो । 

यो अध्यायको अन्त्यमा भगवान् फेरि त्यस्ता मानिसको वर्णन गर्नुहुन्छ जो सबैमा समभाव राख्छ र सबैमा परमात्मा देख्छ । यस्ता मानिसले सुन, ढुंगा र माटोलाई समान देख्छन र निन्दा र स्तुतिमा पनि कुनै भेद देख्दैनन् । यस्ता मानिस कहिल्यै पतन नहुने भन्दै यस्ता मानिस आफू कर्ता हुँदा हुँदै पनि आफूलाई कर्ता मान्दैनन् त्यस्ता मानिसलाई कहिल्यै फेरि जन्मनु र मर्नु पर्दैन । 

अब बुझौँ मन्दिर जाँदैमा र भगवान्को साकार रुपको पूजा अर्चना गर्दैमा भक्त बन्न सकिन्न । आफू भित्र रहेको परमात्मालाई चिनेर उनको आदेशअनुसार कर्म गरेमा पनि भगवानसँग साक्षात्कार हुन  सकिन्छ ।   

श्रीमद्भगवद्गीताको क्षेत्रक्षेत्रज्ञविभागयोग नामको तेह्रौं अध्याय समाप्त भयो ।

(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ ।  त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ