arrow

श्रीमद्भगवद्गीता, अध्याय चौधः गुणत्रयविभागयोग

जब मानिसले संसारका दुर्लभ र महँगो वस्तु सुन, सुलभ वस्तु माटो र जताततै पाईने ढुंगालाई समान देख्छ त्यो नै गुणातीत मानिस हो

logo
राजु नेपाल,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
shreemad-bhagbat-geeta-raju.gif

श्रीमद्भगवद्गीताको उपदेश दिने क्रममा भगवानले पटक पटक प्रकृतिमा तीन गुण हुन्छन् र तीनै तीन गुणहरुका अधिनमा रहेर हरेक जीवात्माले आफ्नो कर्म गर्छ भनेर भन्नुभएको छ । तर ती तीन गुणका बारेमा विस्तृतमा केही बताउनुभएको छैन । साथै कोही ती गुणहरुबाट पर जान सक्छ कि सक्दैन भन्ने बारेमा पनि केही बताउनुभएको छैन । अब भगवान् ती सबै प्रश्नको जवाफ यो अध्यायमा बताउनुहुन्छ । अठ्ठाइस श्लोकको यो अध्यायमा भगवान् बोल्दै जानुहुन्छ । तर एक्काइसौं श्लोकमा पुगेर अर्जुनको मनमा एउटा प्रश्न आउँछ र उनी एक श्लोकमा आफ्नो प्रश्न भगवान्का सामु राख्छन् । 

यो अध्याय चौधमा भगवान् श्रीकृष्णले विशेषगरि प्रकृतिका तीन गुणहरुका बारेमा व्याख्या गर्नुहुन्छ । सत्ताइस श्लोकको यो अध्यायलाई तीन भागमा विभाजन गर्दा बुझ्न सजिलो हुन्छ । यो अध्यायमा पनि भगवान् अघिल्ला अध्यायमा भनेका कुराहरुलाई अझ फेरि जोड दिनुहुन्छ । अर्जुनलाई प्रष्ट पारेर बुझाउन प्रयास गर्नुहुन्छ ।  

यस अध्यायको पहिलो भागको पहिलोदेखि चौँथो श्लोकसम्म भगवान् जगतको उत्पत्तिको बारेमा ज्ञान दिँदै भन्नुहुन्छ– हे अर्जुन ! संसारमा धेरै किसिमको ज्ञान हुन्छन् । तर एउटा यस्तो श्रेष्ठ ज्ञान छ जुन जानेपछि व्यक्तिले मलाई प्राप्त गर्छ, किनकी ज्ञानमा स्थिर हुने व्यक्ति कहिल्यै पनि विचलित हुँदैन । ऊ सधैँ एकैनाशको हुन्छ । उसको मन समुद्रजस्तै अटल हुन्छ । संसारमा आउने साना ठुला परिवर्तन, खुसी र दुःखका कुराले त्यस्तो मान्छेलाई कुनै पनि प्रभाव पार्दैन । सृष्टि हुँदा पनि प्रलय हुँदा पनि ऊ सधैँ स्थिर रहन्छ। 

साथै हे अर्जुन ! यो संसारमा एउटा यस्तो भौतिक वस्तु छ, जसलाई ब्रम्ह भनिन्छ, त्यो ब्रम्ह नै सबैको अविनाशी बीज हो, त्यस्तो ब्रह्मलाई मैले गर्भमा स्थापित गरिदिन्छु र फेरि जन्म हुन्छ । यहाँ भगवान् बीजलाई भौतिक बस्तु भन्नुहुन्छ । हुन पनि बीज भौतिक नै हुन्छ । भौतिक बीज ग्रहण गर्ने गर्भ पनि भौतिक नै हुन्छ । चाहे त्यो स्त्री हुन् वा धरती माता पृथ्वी । यसअर्थमा तिमी के बुझ भने जहिले जसले जन्म लिन्छ त्यो मेरो कारणले मात्रै जन्म लिएको हो । मानिसहरु जन्म लिनुको कारण पनि भौतिक पदार्थसँग जोडिरहेका हुन्छन् । प्रकृतिको नियम भनेर व्याख्या गरिरहेका हुन्छन् । तर यो प्रकृतिको नियम बसाल्ने, रितिथिति बसाउने पनि म नै हूँ । कसैले जन्म लिन्छ भने त्यसको कारक तत्व मै हूँ र कसैले मृत्युवरण गर्छ भने पनि त्यसको कारण मै नै हूँ । 

यो अध्यायको दोस्रो भाग अर्थात् पाँचौंदेखि अठारौं श्लोकसम्म भगवान् श्रीकृष्णले भन्नुहुन्छ– जब कोही जन्मिन्छ, तब ऊ प्रकृतिको संसर्गमा आउँछ । प्रकृतिको सम्पर्कमा आउने बित्तिकै ऊ गुणमा बद्ध हुन्छ । सत्य, रज र तम गरी तीनवटा मध्ये एउटा गुणमा उसले आफूलाई आबद्ध गराउँछ । त्यसैले पनि भगवान्ले यहाँ जन्मको कुरा गर्नुभएको हो । कोही मानिसले यो संसारमा जन्म लिन्छ भने उसले सत्य, रज र तम गुणमध्ये एउटा न एउटा गुण अंगिकार गर्नै पर्छ । ती गुण के हुन र कस्ता हुन्छन् त ?

सत्यगुण भनेको पवित्र हुन्छ, यसले जीवात्मालाई पापबाट मुक्त गराउँछ यसले मानिसलाई सुख दिन्छ । जो अंहकार गर्दैन, जो काम, क्रोध, लोभ मोहमा परेको हुन्न उसले सत्यगुण प्राप्त गर्छ । अहिलेको संसारमा भन्ने हो भने यो कलियुगमा सत्यगुणी मान्छेहरु पाइदैन । अब त यो संसारमा लोभ र अहंकार बिनाका मान्छेहरु फेला पार्न पनि निक्कै कठिन छ । 

अहिले समाजमा मान्छेहरुलाई कताकता दोस्रो प्रकारको अर्थात् रोजोगुणको असीमित इच्छा, आकांक्षा र तृष्णा पैदा हुन्छ त्यसले संसारिक कर्मबन्धनमा बाँधिन्छन्  । रजोगुणीहरुलाई मोक्षको बाटो फेला पार्न असाध्यै गाह्रो पर्छ । संसारमा भएका सबै मानिसहरुले जे गर्छन त्यसले उनीहरुलाई कर्मबन्धनमा बाँध्छन । रजोगुणवााला मानिहरु मर्दै फर्किदैँ फेरि मत्र्यलोकमा आउँछन । 

तेस्रो किसिमको गुणलाई तमोगुण भनिन्छ । तमोगुण अज्ञानताबाट प्राप्त हुन्छ, त्यसले मोह ल्याउँछ, त्यो पागलपन हो । आलश्य, निन्द्राजस्ता कुराहरु त्यसका गुणहरु हुन । अहिले संसारमा तमोगुण र रजोगुणका बीचतिरका अधिकाशं मान्छेहरु फेला पर्छन् । 

त्यति हुँदा हुँदै पनि बेलाबेलामा मानिसको शरीरभित्र तीनवटा गुणहरुले प्रतिष्पर्धा गर्छन अनि जुन गुणले जित्छ, मान्छे त्यस्तै हुन्छ । कुनै बेला सत्यगुणले जित्छ, ऊ सात्विक र ज्ञानी हुन्छ  । कुनैबेला रजोगुणले जित्दा ऊ कर्ममा बाँधिन्छ, लोभ लालच, घर, परिवार, सम्पत्ति, मेरो र तेरो भन्न थाल्छ । जब तमोगुण हावी हुन्छ ऊ पशुगत व्यवहार गर्न थाल्छ, पापकर्ममा लाग्छ र ढोंगी हुन्छ । एउटै मान्छेमा बेलाबेलामा अलग अलग गुणको प्रधानता सक्रिय हुन थाल्छ । 

सत्यगुणको विजय सुखमा हुन्छ, रजोगुणको विजय कर्मबन्धनमा हुन्छ भने तमोगुण तब विजयी हुन्छ जब मानिस अल्छि र मूर्ख हुन्छ । यी तीनै गुणले आफू विजयी हुनका लागि अरु गुणमाथि हावी हुनैपर्छ । सत्यगुण हावी भएको बेलामा मानिसले झगडा गर्दैन भने तमोगुण हावी भएको बेलामा मानिसले ज्ञानका कुरा गर्दैन । रजोगुण हावी भएको बेलामा ऊ काम मात्रै गर्ने र सञ्चय गर्नमा व्यस्त हुन्छ । 

जब मानिसमा तेज वा कान्ति बढेको देखिन्छ, जब ऊ सौम्य हुन्छ र ज्ञानका कुरा गर्न थाल्छ तब बुझ्नुपर्छ कि ऊ भित्र सत्वगुण विजयी भयो । त्यस्तै जब ऊ चौबीसै घण्टा घर परिवार सम्पत्ति भन्दै काम गर्न थाल्छ तब बुझ्नुपर्छ कि ऊ भित्रको रजोगुणले विजय प्राप्त गर्‍योे । त्यसैगरी कोही मानिस अचानक झगडा गर्न थाल्यो पाप कर्म गर्न थाल्यो भने यो बुझे हुन्छ कि ऊ भित्रको तमोगुणले बाँकी दुई गुणलाई पछार्‍यो । 

यी तीन थरीका गुण भएका मान्छेहरु मृत्युपछि जाने स्थान पनि अलग अलग हुन्छ । भगवान् भन्नुहुन्छ– 

ऊध्र्वं गच्छन्ति सङ्खवस्था मध्ये तिष्ठन्ति राजसाः ।
जघन्यगुणवृत्तिस्था अधो गच्छन्ति तामसाः ।।

हे अर्जुन ! सत्यगुणी मान्छेहरु मृत्यपछि उच्च लोकमा पुग्छन र फर्केर आउँदैनन् । त्यो उच्च लोक भन्नु नै मेरो धाम हो । रजोगुणी मान्छेहरु आफ्नो धर्म र पापको भोग सकेर फेरि पृथ्वीमा कर्मयोगीको रुपमा जन्मन्छन् र कर्मबन्धनमा पर्छन् । तमोगुणी मान्छेहरु पशुयोनीमा गएर जन्म लिन्छन् र उनीहरु पशुलोकमा जान्छन् । सत्य गुणबाट ज्ञानको विकास हुन्छ, रजोगुणबाट लोभ र कर्मको विकास हुन्छ भने तमोगुणबाट मुर्खता, पागलपन र मोहको विकास हुन्छ । यो किन हुन्छ त ? सत्वगुणको फल निर्मल हुन्छ, रजोगुणको फल दुखमयी हुन्छ र तमोगुणको फल अज्ञान हुन्छ । अज्ञानता नै पशुकुल हो । जसलाई के गर्नु हुन्छ र के गर्नु हुन्न भन्नेबारेमा थाहा हुन्न त्यो नै पशु हो । निर्मल मोक्ष हो, दुःख यो बद्ध जीवन र संसार हो भने अज्ञान भनेकै पशु हो । 

यस अध्याय चौधको तेस्रो भाग अर्थात् उन्नाइसौं श्लोकदेखि सत्ताइसौं श्लोकसम्ममा भगवान् श्रीकृष्ण अर्जुनलाई ती तीन गुण भन्दा परको स्थिति, त्यहाँ कसरी पुग्ने र त्यहाँ पुग्नेको परिचय के हो भन्ने बारेमा बताउँदै भन्नुहुन्छ– जब तीनै गुणबाट कोही मान्छे पर जान्छ तब त्यो मान्छे मोक्ष हुन्छ, समभावमा हुन्छ, उसलाई सुख, दुःख, लाभ, हानी भन्ने केही हुँदैन किनकी ऊ भगवान् भक्तिमा लागीसकेको हुन्छ । त्यो मान्छे खासगरी स्थीतप्रज्ञ हो । त्यस्ता मानिसलाई रात्री र दिनको फरक हुन्न । जो मान्छे तीनवटै गुणभन्दा बाहिर गएको छ, उसमा प्रकाश हुन्छ, आशक्ति र मोह त्यागिसकेको हुन्छ । कुनै चिजको चाहना राख्दैन, समभाव राख्छ, निन्दा र प्रशंसालाई वास्ता गर्दैन तब ऊ स्थीतप्रज्ञ हुन्छ । यो लक्षण जुन मान्छेमा हुन्छ, त्यही मान्छे नै ब्रह्मत्व प्राप्त गरेको र भगवद्भक्ति प्राप्त गरेको मेरो धाममा जाने मान्छे हो । 

भगवानको यस्तो कुरा सुनेर अर्जुन एकैपटक तीनवटा प्रश्न सोध्छन्– 

कैर्लिङ्गैस्त्रीन्गुणानेतानतीतो भवति प्रभो ।
किमाचारः कथं चैतांस्त्रीन्गुणानतिवर्तते ।।

प्रभु ! यी सबैगुणहरुबाट पर भएको मानिसको लक्षण कस्तो हुन्छ ? आचरण कस्तो हुन्छ ? र प्रकृतिका तीन गुणहरुबाट कसरी बाहिर जाने ? यहाँ अर्जुनको तात्पर्य बाहिरी, भित्री र प्रकृया तीनवटैमा लक्षित थियो । लक्षण बाहिर देखिने कुरा भए, आचरण भित्री कुरा भए र बाहिर निस्कने प्रकृया या तरिका भए । 

अर्जुनको यी प्रश्नको उत्तर दिंदै भगवान् भन्नुहुन्छ– 

समदुःखसुखः स्वस्थः समलोष्टाश्मकाञ्चनः ।
तुल्यप्रियाप्रियो धीरस्तुल्यनिन्दात्मसंस्तुतिः ।।

जसले तिनै गुणका लक्षण अर्थात् प्रकाश, प्रवृत्ति र मोह आफ्नो अगाडि पर्दा ति कुनै पनि कुराको मतलब गर्दैन त्यो नै दिव्य हो । गुणबाट पर भैसकेको मानिस हो । उसलाई कुनै पनि कुराले हर्षित वा विचलित बनाउनै सक्दैन । यस्ता मानिसलाई भगवान् श्रीकृष्ण गुणातीत मानिस भन्न रुचाउनुहुन्छ । अब भगवान् त्यस्ता मानिसका आचरणका कुरा गर्दै भन्नुहुन्छ– त्यो मानिसले संसारका दुर्लभ र महँगो वस्तु सुन, सुलभ वस्तु माटो र जताततै पाईने ढुंगालाई समान देख्छ त्यो नै गुणातीत मानिस हो । मान अपमानको उसले अर्थ पनि बिर्सिसकेको हुन्छ । निन्दा र स्तुति ऊ दुवै गर्दैन । त्यस्तो मानिस नै तिनै गुणभन्दा पर पुगेको हुन्छ । उसका कोही प्रिय हुँदैनन् र कोही अप्रिय पनि हुँदैनन् । यी मानिस त्यस्तै हुन् जो यस श्रीमद्भगवद्गीताका दोस्रो अध्यायमा भगवानले स्थितप्रज्ञ भनेर भन्नुभएको थियो । 

अब अर्जुनको तेस्रो प्रश्न अर्थात्, त्यो बाटोमा कसरी लाग्ने भन्नेको उत्तर दिंदै भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जो व्यक्ति कसैको साहारा बिना भक्तियोगको मार्गमा अवस्थित हुन्छ, त्यसैले यी सबै गुणहरुलाई जितेर ब्रम्ह प्राप्त गर्छ । अर्थात् भगवान् भक्त नै गुणहरुभन्दा पर हुन्छ उसलाई ती गुणहरुले हेर्नै सक्दैन । यस्तो किन त भन्दा ब्रम्ह, अविनाशी अमृत वा बीज, शास्वत सत्य धर्म र अनन्त सुखको कारण नै मै हूँ  अर्जुन । जब मानिसले मलाई पाउँछ उसलाई अरु कुनै बस्तुप्रति चाह पनि हुन्न र अरु केही देख्दा पनि देख्दैन । 

यसरी भगवानले मानव जीवनलाई बद्ध बनाउने प्रकृतिका तीन गुणका बारेमा अर्जुनलाई संक्षेपमा बताउनुभएको अध्याय नै गुणत्रयविभागयोग नामको अध्याय हो । हामी सोचौं हामी कुन गुणमा छौं । सत्व जीवनमा कसमेकम आधा भन्दा बढी गुण सत्व र रजको बीचमा भयो भने पनि पुग्छ । तर  थोरै गुण तम र धेरै गुण रज भयो भने जीवन दुःखदायी बन्न पुग्छ । अहिले नै विचार गरौं । 

श्रीमद्भगवद्गीताको गुणत्रयविभागयोग नामको चौधौं अध्याय समाप्त भयो ।

(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ ।  त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ