- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कुरुक्षेत्रको रणभूमिको बीचमा दुवै तर्फका सेनाहरु देखेपछि अर्जुनमा आएको विषाद् भावलाई हटाउने क्रममा भगवान् श्रीकृष्णद्वारा अठार अध्याय, सात सय श्लोकमा दिइएको उपदेश मध्ये चौधौं अध्याय समाप्त भइसक्दा पाँच सय पचास श्लोक सकिइसकेका छन् । यहाँसम्म आइपुग्दा अर्जुनले र हामीले पनि जीवनको अर्थ र भगवान्को ऐश्वर्यलगायत आफ्नो कर्तव्यका बारेमा धेरै कुरा बुझिसकेका छौं ।
अब हामी छौं, श्रीमद्भगवद्गीताको अध्याय पन्ध्र अर्थात् पुरुषोत्तमयोगमा । चौधौं अध्यायमा गुणातीत मानिसको वर्णन र गुणहरुले मानिसहरुलाई कसरी बद्ध बनाउँछ भन्ने बारेमा बताईसकेपछि अब यस अध्यायका पुरै बीस श्लोकमार्फत् भगवान् त्यहींबाट आफ्ना उपदेश जोड्दै मानव शरीर र इन्द्रियभोगको इच्छासँग त्यसलाई हटाउने उपायका बारेमा वर्णन गर्नुहुन्छ ।
यो अध्यायको शीर्षकबाटै थाहा हुन्छ, पुरूषोतम अर्थात् पुरूषहरुमा उत्तम ! कस्ता व्यक्तिलाई उत्तम भन्ने त भन्ने सन्दर्भमा भगवान् श्रीकृष्णले उदाहरणसहित यहाँ अर्जुनलाई उपदेश दिनुहुन्छ । अर्जुनलाई उपदेश दिने सिलसिलामा भगवान् श्रीकृष्णले एउटा अचम्मको रूखको परिकल्पना गर्नुहुन्छ । त्यसको उदाहरण दिएर भगवान्ले मानिसको शरीरका बारेमा बुझाउनुहुन्छ । उहाँले त्यो वृक्षका विभिन्न भागहरुलाई मानव शरीरका विभिन्न अंगहरुका रुपमा व्याख्या गर्नुहुन्छ ।
यसरी वृक्षको उदाहरण दिँदै मानव शरीरको व्याख्या गर्दै अघि बढ्ने यो अध्यायलाई चार भागमा बाँड्न सकिन्छ । यो अध्यायको पहिलो श्लोकदेखि छैटौँ श्लोकसम्ममा भगवान्ले संसारलाई वृक्षको रुपमा लिएर भगवद्प्राप्तिको उपाय बताउनुहुन्छ । उहाँले अचम्मको एउटा रुखको कल्पना गर्दै भन्नुुहुन्छ–
ऊध्र्वमूलमधःशाखमश्वत्थं प्राहुरव्ययम् ।
छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित् ।।
यस्तो एउटा वृक्ष छ, जसको फेद वा जरा माथि छ, हाँगा तल छन र ती हाँगा अविनाशी छन्, जुन कहिल्यै नाश हुँदैनन् । फेद माथि भएर जरा तल भएको रूख हामीले देखेका छैनौँ । संसार मा भएका सबै रूखका फेद तल र हाँगा माथि हुन्छन् । साथै अविनाशी पनि केही हुन सक्दैन । यहाँ त्यो भगवान्ले भनेको रूख त अविनाशी पनि छ । तर भगवान् त्यस्तो रूखबारे बताउनुहुन्छ र सो रूखलाई अविनाशी रूखका रुपमा चित्रण गर्नुुहुन्छ ।
अविनाशी के हो ? हामीले श्रीमद्भगवद्गीताको दोस्रो अध्यायदेखि नै भगवान्ले भन्दै आउनुभएको अविनाशी शक्ति त्यसमा जम्मा दुुईवटा चिज पाएका छौँ, एउटा आत्मा र अर्काे बीज । आत्मा एउटा ठाँउबाट अर्काे ठाउँ र एउटा घरबाट अर्काे घरमा सर्दै जान्छ । आत्माले एउटा घर पुरानो भएपछि अर्काे घर बनाएझैँ, एउटा लुगा फाटेपछि अर्काे लुगा फेरबदल गरेझैँ विभिन्न शरीरहरुलाई बदल्दै र आफ्नो बासस्थान परिवर्तन गर्दै हिँड्छ । आत्मा अविनाशी छ र आत्माले बास गर्ने ठाउँ भने नाशवान् छ । यसैगरि अर्काे छ, अविनाशी बीज, जो भगवान् आफै हुनुहुन्छ ।
भगवान् श्रीकृष्णले यसै सन्दर्भमा भन्नुहुन्छ– यस्तो अविनाशी पिपलको वृक्ष छ । हामीले हाम्रो सामान्य आँखाले हेर्ने हो भने र सामान्य रुपमा विचार गर्ने हो भने पिपलका वृक्षको जरा माथि हुन्न, हाँगा तल हुन्न र अविनाशी पनि हुन्न । पिपल हामी मान्छेजस्तै नाशवान् छ । तर भगवान्ले यहाँ यसलाई नै उदाहरण दिएर भन्नुहुन्छ त्यो वृक्षलाई जसले चिन्छ त्यो नै सम्पूर्ण ज्ञाता हो, ज्ञाता पनि चानेचुने होइन, ऊ वेदको ज्ञाता हो ।
यहाँ भगवान्ले उल्लेख गर्नुभएको वृक्ष अरु केही नभई मानिसको शरीर हो, मान्छे हो । फेद वा जरा माथि भएको भनिएको आमा बुवा वा मुल अथवा परमात्मा हो, जो आफूभन्दा माथि हुन्छ । जसले मलजल गरेर, खुवाएर, स्याहार सुसार र पालनपोषण गरेर हामीलाई हुर्काउँछन् उनीहरु हाम्रा जरा हुन् । हामी हुनुको आधार हुन् । त्यसैले ती हामीभन्दा सधैँ माथि हुन्छन् । अनि हाँगा तल हुन्छन् भनेको हाँगा भनेको आफ्ना परिवार, छोरा, नातिहरु हुन ती आफूभन्दा तल हुन्छन् । हाम्रा आधार हाम्रा पूर्वज भएजस्तै हाम्रा छोरानातिको आधार हामी हौँ भनेर भगवान्ले फेद माथि भएको र हाँगाविँगा तल भएको एउटा रूखको उदाहरण दिनुहुन्छ ।
त्यसपछि उहाँले यस्तो शरीरका बारेमा बुझ र आफूले आफैलाई चिन भनेर अर्जुनलाई उपदेश दिनुहुन्छ । यहाँ भगवान्ले अब आफू, आफ्ना पूर्वजहरु र आफ्ना सन्ततिलाई चिन र बुझ भन्नुहुन्छ । जब यी सबैलाई चिनिन्छ तब आफ्नो कर्मको बारेमा ज्ञान हुन्छ । यो रूखको अर्थ यहि हो । यहाँ पूर्वजबाट सिक र आफ्ना सन्तानहरुलाई सिकाउने अर्थ भगवान्को हुन्छ ।
यो वृक्षको पालन पोषण त्यही इन्द्रियका विषयहरुले र तीन गुणले गर्छन्– भगवान् श्रीकृष्ण भन्नुहुन्छ । तीन गुणले पालनपोषण गर्ने बित्तिकै ऊ सकाम कर्ममा बाँधिन्छ र मनिसको जीवन पूर्वज र छोरा नाति हुँदै निरन्तर चल्छ, त्यसैले त्यो अविनाशी हो । बीज त प्रभुसँग छ, भगवान्सँग मात्रै छ, श्रीकृष्णसँग मात्रै छ । शरीर त यसै पनि सकिने हो । एकपछि अर्काे गर्दै आत्माले पनि शरीर परिवर्तन गरिरहेको हुन्छ । अनि यो प्रकृया प्रलय नहुँदासम्म चलिरहन्छ । यदि प्रलय भयो भने पनि भगवान्ले अर्काे सृष्टि गर्नुहुन्छ ।
भगवान्् भन्नुहुन्छ– अब मानिसले भक्तिभाव पूर्वक वैराग्यको माध्यमबाट त्यो तलसम्म जरा गाडेको रूखलाई काट्नुपर्छ । वैराग्य भनेको घर परिवारको त्याग हैन, त्यो त इन्द्रिय भोगको त्याग र तेरोमेरो भावको त्याग हो । तसर्थ यहाँ त्यो रूखलाई वैराग्यले काट्नुको तात्पर्य त्यहाँ भएका इन्द्रियका विषयहरुलाई काट्नुपर्छ भन्ने हो । ती गुणहरुलाई काट्नुपर्छ । सत्व, रज र तमका गुणहरुबाट माथि उठ्नु नै त्यो रूख काट्नु हो । यस अर्थमा पनि यो अध्याय अघिल्लो अध्यायको निरन्तरता हो ।
जब मानिसले त्यस्तो रूख काट्छ तब उसले थाहा पाउँछ, आफू को हो, त्यसपछिमात्रै त्यो मान्छेले आफूलाई चिन्न सक्छ र आफूलाई भगवान् भक्तिमा लगाउन सक्छ । त्यो काम जो सत्यमा बसेको छ, जो मोहरहित छ, जसले प्रभुलाई चिन्न प्रयास गरेको छ त्यसले मात्रै गर्न सक्छ । भगवान् अगाडि भन्नुहुन्छ, जब त्यो रूख काटिन्छ, त्यसपछि मानिस परमात्माको खोजिमा निस्कनुपर्छ । रूखमा टाँसिएर बसुन्जेल त कसैले परमात्माको खोजी गर्न नसकिने पक्कै छ । वैराग्यलाई आफूमा स्थापित गरेपछि मानिस परमात्माको खोजिमा लाग्नुपर्छ । यसरी हिंडेको व्यक्तिले तुरून्तै भगवान्लाई प्राप्त गर्छ । रूख काट्नुको अर्थ सन्ततिसँगको माया मोहको त्याग हो ।
माथि भनिएझै अध्यायका पुरै बीस श्लोक बोल्ने भगवान् श्रीकृष्ण अब त्यस्ता मानिसका लक्षण बताउनुहुन्छ जसले तीन गुणले पालन पोषण गरेको रुखलाई वैराग्यले काटिसकेको छ । त्यस्ता मानिसहरु मान र मोहबाट पर हुन्छन्, आशक्तिजन्य दोषहरु त्याग गरिसकेका हुन्छन्, नित्य परमात्मामा लिन हुन्छन्, कुनै प्रकारको कामना उनीहरुमा हुन्छ, सुख र दुःखको जन्जालबाट पनि माथि उठिसकेका हुन्छन् । यी मानिस अरु कोही नभएर स्थितप्रज्ञ हुन् ।
अहिलेसम्म मानिसको बारेमा चर्चा गर्दै गर्नुभएका भगवान् श्रीकृष्ण अब यो पन्ध्रौं अध्यायको दोस्रो भाग अर्थात् सातौंदेखि एघारौं श्लोकसम्म त्यस्ता मानिसले प्राप्त गर्ने पदको बारेमा व्याख्या गर्नुहुन्छ र भन्नुहुन्छ– त्यो यस्तो पद हो अर्जुन, जुन आफैँ प्रकाशित छ । त्यो पद प्रकाशित पार्न सूर्य चन्द्र वा अग्निको आवश्यकता नै छैन र त्यहाँ पुगेपछि कोहि पनि फर्केर आउनुपर्दैन । भगवान्ले पातालदेखि ब्रम्हलोकसम्म पुगेर मानिस फर्केर आउनुपर्ने बताइसक्नु भएको छ । तर यहाँ भगवान् आफ्नो लोक ब्र्रम्हलोक भन्दा माथि भएको बताउनुहुन्छ । यो श्लोकमा त्यो पदको प्रकाशको जसरी भगवान्ले व्याख्या गर्नुभएको छ, त्यो अचम्मको छ । संसारका हरेक वस्तुहरु सूर्यबाट प्रकाशित हुन्छन् । चन्द्रमा र अग्नि समेत सूर्यकै प्रकाशबाट प्रकाशित हुने हो । तर भगवान्को जुन लोक छ त्यसलाई सूर्यले पनि प्रकाशित गर्न सक्दैन । त्यो नै परमधाम हो र अन्तिम सत्य हो । जब प्रकाशका कारक भगवान् आफैं हुनुहुन्छ भने भगवान्को लोक प्रकाशित गर्न किन अरु प्रकाश चाहियो र ? फेरि यो प्रकाश बाहिर देखिने प्रकाश नभई मनको प्रकाश हो ।
भगवान् त्यो धाममा मानिसहरु किन पुग्न सक्दैनन् भन्नेबारेमा उल्लेख गर्दै भन्नुहुन्छ, यी सबै जीवात्माहरु मेरै अंश हुन । मेरै अंश भएकाले गर्दा आत्मा यिनीहरुको एउटा शरीरबाट अर्काे शरीरमा परिवर्तन भइरहेका हुन्छन् । जब आत्माले शरीर धारण गर्दछ ऊ प्राकृतिक गुणको सम्पर्कमा आउँछ र मनलगायत इन्द्रियभोगमा निमग्न हुन्छ । त्यो नै फेरि यहि लोकमा फर्केर आउने माध्यम हुन पुग्दछ । मुर्खहरु कहिल्यै पनि आत्माले शरीर त्याग्छ भन्ने बुझ्दैनन । ज्ञानीले शरीर आत्माले त्याग्छ भन्ने कुरा बुझ्छन् । ज्ञानी जीवात्माले बुझ्नुपर्ने कुरा पनि त्यत्ति मात्रै हो । जो मोहमा छैन, उसले यी सबै कुरा बुझ्द्छ । जो मोहमा छ उसले कसैगरि पनि यस्ता कुरा बुझ्दैन । त्यस्तो अज्ञानी मान्छे सधैँ अलमलमा रहन्छ ।
अब यस अध्यायको तेस्रो भाग अर्थात् श्लोक बाह्रौंदेखि पन्ध्रौं श्लोकसम्म भगवान् परमेश्वरको स्वरुप र त्यसको प्रभावबारे बताउनुहुन्छ । परमेश्वरको रुप प्रकाशवान हुन्छ, तेजोमय हुन्छ । परमेश्वरले सूर्य, आगो र चन्द्रमामा तेज दिनुहुन्छ । ती तीनवटैको आफ्नो प्रकाश छैन । उनीहरुले परमेश्वरबाट प्रकाश प्राप्त गर्छन् र आआफ्नो ठाउँमा बसेर परमेश्वरको आदेशअनुसार कार्य गर्छन् । यी चिजहरुलाई कहाँ कहिले र कसरी प्रस्तुत गर्ने भगवान्को हातमा हुन्छ । यी चिजहरु त केबल माध्यममात्रै हुन् । भगवान् भन्नुहुन्छ– पृथ्वी म नै हूँ । मैले सबैलाई यस पृथ्वीमा धारण गर्दछु र पालनपोषण गर्दछु । अझ अगाडि भगवान् भन्नुहुन्छ– मैले चन्द्रमामा गएर औषधि स्वरुपको रस प्रदान गर्छु ।
भगवान् श्रीकृष्णले यहाँ भन्नुहुन्छ– जीवन चलाउनका लागि खाइएका खाना पचाउने काम पनि मेरै हो । खाना चार किसिमले खान सकिन्छ र ती चारै किसिमका खानालाई मैले वैश्वानर पाचन अग्नि बनेर पचाइदिन्छु । संसारमा श्रृष्टि भएका सबै प्रकारका खाना खाने जम्मा चार तरिका हुन्छन् । पहिलो दाँतले चपाएर खाने जस्तै खाना रोटी आदि, दोस्रो पिउने जस्तै दूध, पानी आदि, तेस्रो चुसेर खाने जस्तै आँप, उखु आदि र चौथो चाटेर जस्तै अचार, आइसक्रिम आदि । यी सबै प्रकारका खाना पचाउन अग्नि चाहिन्छ जुन हरेक मानिसको शरीर भित्र हुन्छ । त्यो अग्नि भगवान् आफैं हो । खाना खानका लागि भोक जगाउन र खाना खाएपछि त्यसलाई पचाउन भगवान्रुपी अग्निको आवश्यकता पर्ने हुँदा खाना खानुअघि र खाना खाएपछि तुरुन्तै पानी खान हुन्न भन्ने भनाई छ ।
यसरी सम्पूर्ण पदार्थमा आफू रहेको बताइसकेपछि भगवान् यो भागको अन्त्यमा भन्नुहुन्छ, म प्रत्येक जीवको हृदयमा बस्छु । मबाट नै स्मृति, ज्ञान र दोषका नाशहरु हुन्छन् । म नै वेदहरुद्वारा जान्न योग्य छु । साथै म नै वेदको तत्वको निर्णयकर्ता हूँ र म नै समस्त वेदको ज्ञाता पनि हूँ ।
यो अध्यायको माथिका तीन भागमा संसाररुपी वृृक्ष, जीवात्मा र परमात्माको विषयमा बताइसकेपछि चौँथो भाग अर्थात् सोह्रौं श्लोकदेखि बीसौं श्लोकसम्म क्षर, अक्षर र पुरुषोत्तम भनेको के हो ? च्यूत, अच्यूत भनेको के हो भनेर भगवान् श्रीकृष्णले अर्जुनलाई सविस्तार बताउनुहुन्छ । भगवान् भन्नुहुन्छ– जीवात्माहरु दुई प्रकारका हुन्छन् । भौतिक जगत्मा हुनेहरु जो क्षर हुन्छन्, च्यूत हुन्छन् । अर्काे आध्यामिक जगत्मा हुनेहरु आध्यात्मिक हुन्छन्, अच्यूत हुन्छन् अथवा अक्षर हुन्छ । व्यक्त स्थिति क्षर हो भने अव्यक्त स्थिति अक्षर हो । यी दुवैभन्दा अतिरिक्त भगवान् हुनुहुन्छ, उहाँ आफ्नो लोकमा बस्नुहुन्छ र उहाँले यी सबैलाई पालनपोषण गर्नुहुन्छ । यहाँ भगवान् तीनै लोकको पालनपोषण गर्छु भनेर आफू तीन लोक भन्दा पर रहेको जानकारी दिनुहुन्छ । उनै पालनकर्ता नै पुरुषोतम अर्थात् सम्पूर्ण पुरुषहरुमा उत्तम मानिन्छ । भगवान् क्षर र अक्षर भन्दा माथि हुनुहुन्छ तसर्थ पुरुषोतम हुनुहुन्छ ।
जसले यी कुरा जान्दछ, जानेपछिमात्रै त्यो मान्छे पूर्ण भक्त हुन्छ । भक्त भइसकेपछि जान्नपर्ने कुरा केही बाँकी हुँदैन किनभने यो सबैभन्दा गोप्य कुरा हो । हे अर्जनु ! जसले यो कुरालाई राम्ररी बुझ्छ त्यो पूर्ण मान्छे हुन्छ तिमी पनि आफूले आफैलाई र त्यही वृक्षलाई बुझ्ने प्रयास गर । तिमी ती तीन गुणलाई काट्ने प्रयास गर र मलाई पुरुषोतमको रुपमा चिन्ने प्रयास गर । यही नै यो अध्यायको सार हो ।
श्रीमद्भगवद्गीताको पुरुषोत्तमयोगनामको पन्ध्रौं अध्याय समाप्त भयो ।
(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ । त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)