- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सत्संग ठूलो भाग्यले पाइन्छ भनि शास्त्रहरुमा बर्णन गरिएको छ, तर मानिसहरू सत्संगलाई छोडेर जान्छन्, सुन्न मन पराउँदैनन् । रावणले लक्ष्मणलाई भन्छन्, लक्ष्मण! म समुद्रको पानीलाई मीठो बनाउन चाहन्थें अनि स्वर्ग जाने सीढी लगाउन चाहन्थे, त्यसको लागि देवताहरुलाई आदेश दिन मात्र बाँकी थियो । तर मैले सोचे यो सबै काम अलिपछि गरौंला, भोलि- पर्सि गरौंला, तर न भोलि आयो, न त पर्सि आयो । त्यो सबै काम छोडेर मैले सुर्पणखाको कुरामा आएर सीतालाई हरेर ल्याएँ, जसको परिणामस्वरूप सारा लंका स्वाहा भयो। यसकारण राम्रो काम भोलिको लागि छोडनु हुँदैन, नराम्रो कामलाई भोलिको लागि छोडनु पर्छ।
वेद-शास्त्रहरूमा नै सबै कुरा छन् भन्नु पनि गल्ती हो। यदि वेद-शास्त्रमा सबै कुरा छ भनेर मान्ने हो भने, आयुर्वेदमा जडी-बूटीहरूका नाम लेखेका छन्, फेरि जडिबूटी खोज्न जंगल-पहाडतिर नै जानुपर्छ। वेदबाट लिन सकिदैन। वेद-शास्वहरूमा प्रकाश लेखेको छ, मुस्लिम धर्मको कुरान-शरीफमा 'इलाही-नूर' (ईश्वरीय प्रकाश) लेखेको छ, बाईबलमा 'डिवाइन लाईट' लेखेको छ, अग्नि, चन्द्रमा र बिजुलीको प्रकाशको बारेमा लेखेको छ, तर घरमा उज्यालो पार्न बत्ती नै बाल्नुपर्छ। त्यहि आफ्नो- आफ्नो शास्त्रहरु खोलेर राखेर उज्यालो दिदैन ।
यस्तै भगवान निराकार वा साकार, यो झगडा पनि छ । हरेक धर्मका मानिसले सगुण साकारलाई मान्दछन् । मुसलमानले भन्छ, हामी निराकारलाई मान्छौं, तर उनीहरुले पनि आफ्नो माता- पिताको चित्र राख्दछन् अनि पश्चिमतिर मुख गरेर नमाज पढदछन् जबकि 'खुदा' या ईश्वर सर्वत्र व्यापक छ। यसरी उनीहरुले सगुणलाई नै मान्दछन् । उस्तै प्रकार सिखहरुले ग्रन्थ साहबको पूजा गर्दछन्, ग्रन्थ साहब सगुण साकार छ। त्यस्तै आर्य समाजीले हवन गर्दछन्, हवन सामग्री आगोमा हाल्दछन्, जब कि आगो सर्वत्र छ कहिं पनि हवन सामग्री हाल्न सकिन्छ, किन हाल्दैनन्? अर्को कुरो, हवन सामग्री पनि सगुण हो अनि आगो पनि सगुण हो, कहाँसम्म भने, वेद- मन्त्रहरू पनि सगुण हुन्। कानको विषय सगुण हो, मुखले उच्चारण गरिन्छ त्यो पनि सगुण हो अनि इन्द्रियहरुका जुन विषयहरू छन् ती सबै पनि सगुण छन् । अब भन्नहोस, निर्गुण' के रह्यो? भन्छन् कि निर्गुण निराकार यस्तो व्यापक छ जस्तो फूलको सुगन्ध। फूल आँखाको विषय हो अनि सुगन्ध नाकको विषय हो, त्यो निर्गुण कसरी भयो? अनि निर्गुण र सगुण या निराकार र साकार भनेर जान्यो कसरी?
महर्षि पातञ्जलिले बताएका छन्- यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान अनि समाधी, यसलाई अष्टांग योग भनिन्छ। ध्यान योगको सातौं अंग हो। भगवानले पनि ध्यान गर्नु भन्नुभएको छ। मानिलिउ, एउटा गिलास भगवान हो, अब यसमा मन, चित्त जे भन्नुहोस्, मैले लगाएँ। अब मन लगाउनुभयो ध्यानमा। मन लगाउने म ध्याता भएँ अनि जसमा ध्यान लगाएँ त्यो ध्येय भयो। यसैलाई भक्त, भक्ति र भगवान भनिन्छ। यसको अतिरिक्त अरु कनै भक्ति छैन। भक्ति त्यहि हो जसले यसरी भगवानको ध्यान गर्दछ। सगुण र निर्गुणलाई मान्ने दुवैको मन कहाँ लाग्छ? यदि यो कुरा सोधिएन जानिएन भने त्यसै खाली हात जानुहुने छ। जब त्यो नामलाई जान्नु हुनेछ जसको बारेमा भगवानले भन्नुभएको छ, तब त्यसमा तपाईहरुको मन अडिने छ। त्यसको अतिरिक्त मन कहि अडिंदैन।
गीतामा भनिएको छ, हे अर्जुन! तिमीले मलाई यो आँखाले देख्न सक्दैनौं। तर आज हामी जहाँ पनि जान्छौं यहि आँखाले दर्शन गर्छौ, जबकि भगवानले भन्नुभएको छ मेरो दर्शन केवल मात्र अलौकिक दिव्य नेत्रद्वारा हुन्छ। संजयले धृतराष्ट्रलाई भन्छन्, हजारौं सूर्यले पनि त्यो प्रकाशको बराबरी गर्न सक्दैन जुन प्रकाश भगवान कृष्णले अर्जुनलाई देखाउनुभयो (गीता अ० ११-१२)। क्रमश...