- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सबै मान्छे रुपमा उस्तै हुन्छन्, सबैका सृष्टिकर्ता एकै हुन्, पालनकर्ता पनि एकै हुन् र संहारकर्ता पनि एकै हुन् । तर रुप उस्तै हुँदैमा, श्रृष्टिकर्ता र संहारकर्ता उनै भगवान् हुँदैमा सबै मान्छेको गुण एकै किसिमको हुन्न । भगवानले मान्छेले गरेका कर्मका आधारमा भिन्न भिन्न खाले गुणसहितका प्राणीहरुको उत्पत्ति गरिदिनुहुन्छ । तीमध्ये दैबी गुण भएका र आसुरी गुण भएका गरी दुई खाले पुरुषहरुको बारेमा भगवान् यो अध्यायमा बताउनुहुन्छ । यो भन्दा अगाडि पनि विभिन्न प्रसंगमा भगवान्ले तीन गुणका बारेमा प्रकाश पार्दा यसबारे धेरै कुरा बताइसक्नुभएको छ । तर अब यो अध्यायमा त्यसबारे विस्तृत प्रकाश पार्नुहुन्छ । बाह्रौं अध्यायदेखि यो सोह्रौं अध्यायसम्मका एक सय पच्चीस श्लोकहरु मध्ये जम्मा दुई श्लोकमा अर्जुन बोलेका छन् भने बाँकी एक सय तेईस श्लोकमा भगवान् बोल्नुभएको छ । यस अर्थमा पनि हामी अहिले उपदेशको उचाइमा छौं ।
चौबीस श्लोक रहेको यो सोह्रौं अध्यायमा पनि भगवान् एक्लै बोल्नुहन्छ किनकी अर्जुनका पुराना प्रश्नहरु अझै अधुरै छन् । फेरि अर्जुन बोल्न थाले भने प्रवाह बदलिन्छ, तसर्थ भगवान् आफू फेरि पुरानै कुरा जोड्न थाल्नुहुन्छ । देवता को हो भन्ने बारेमा भगवानले यसअघि नै बताइसक्नुभएको छ । यो भन्दा अगाडिका अध्यायमा नै भगवानले सूर्य, चन्द्रलगायतलाई देवताका रुपमा प्रस्तुत गरिसक्नुभएको छ । अब यो अध्यायमा देवताका गुणहरु के हुन्छन् भन्नेबारेमा बताउनुहन्छ । यसअघिका अध्यायहरुमा सत्य, रज र तम गुणका कुरा भएका छन् । भगवान् श्रीकृष्णले सत्य गुण भएका मान्छे कस्ता किसिमका हुन्छन्, रज र तम गुण भएकाहरु कस्ता हुन्छन्, उनीहरुको रुचि र रोजाई के हुन्छ भन्नेबारेमा बताइसक्नुभएको छ । अब यहाँ एउटै मानिस देवता समान हो या असुर हो भन्ने कुरा कसरी छुट्याउने भन्नेबारेमा भगवानले उपाय पनि दिनुहुन्छ । दैवी र असुरहरुका गुणका बारेमा बताउने यो अध्यायका चौबीस श्लोकलाई तीन भागमा बाँड्न सकिन्छ ।
यो अध्यायको पहिलो भाग अर्थात् पहिलोदेखि पाँचौ श्लोकसम्म भगवानले कस्ता गुण देवतातुल्य पुरूषमा पाइन्छ भनेर ती गुणहरुलाई स्पष्ट रुपमा भनिदिनुहुन्छ । उहाँका अनुसार
अभयं सङ्खवसंशुद्धिज्र्ञानयोगव्यवस्थितिः ।
दानं दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम् ।।
जो डराउँदैन, जसको आत्मा शुद्ध छ, जो आध्यात्मिक कुराहरुमा विश्वास गर्छ, जसले पढ्छ, जसले आत्मसंयम राखेको छ, जसले यज्ञमा विश्वास राखेको छ, जो वेद अध्ययन गर्छ, जो तपस्वी र सरल छ, जो हिंसामा विश्वास गर्दैन, जो सत्य बोल्छ, जसमा क्रोध छैन, जसले त्याग गरेको छ, जो शान्त छ, जो अर्काको दोष देख्न चाहँदैन, जो सम्पूर्ण जीवमा करुणा राख्दछ, जसमा लोभ छैन, जो भद्र छ, जो लज्जाशील छ, जो दृढसंकल्पी छ, जसमा तेज छ, क्षमा छ, धैर्य छ, जो पवित्र छ, जो ईष्र्या र मनका अभिलाषाहरुबाट मुक्त छ, त्यो पुरूष नै दैवी गुण भएको पुरूष हो । यी सबै दिव्य गुण भएका मान्छे मात्रै दैवी प्रवृत्ति भएका मान्छे हुन् ।
भगवान् फेरि भन्नुहुन्छ– हे अर्जुन !
दम्भो दर्पोऽभिमानश्च क्रोधः पारुष्यमेव च ।
अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम् ।।
घमण्ड, अहंकार, क्रोध, कठोर वचन र अज्ञान भएका मानिसहरु आसुरी स्वभाव भएका हुन् । दिव्य गुणले मोक्षको बाटोमा लान्छ भने आसुरी गुणले बन्धनमा पार्छ । यसरी दैवी र आसुरी गुण छुट्याएपछि अर्जुनलाई हेरेर भगवान् भन्नुहुन्छ– तिमी चिन्ता नगर किनकी तिमी त दैवी गुणयुक्त मानिस हौ ।
यस अध्यायको दोस्रो भाग अर्थात् छैटौँ श्लोकदेखि बीसौैं श्लोकसम्मको पन्ध्रवटा श्लोकमा भगवानले असुरहरु को हुन् भन्नेबारेमा विस्तृतमा बताउनुहुन्छ । यो बताउने क्रममा पहिलो श्लोक मै भगवान् भन्नुहुन्छ–
द्वौ भूतसर्गौ लोकऽस्मिन्दैव आसुर एव च ।
दैवो विस्तरशः प्रोक्त आसुरं पार्थ मे श्रृणु ।।
असुरहरुको बाहिर र भित्र दुवैतिरबाट शुद्ध हुँदैनन् । साथै उनीहरु सत्यमा पनि हुँदैनन् । अब हामीले पनि बुझ्नुपर्यो यदि समाजमा माथिका अबगुण भएको कोही मानिस छ भने त्यो असुर हो । उनीहरुको विचारमा भगवान् अविनाशी बीज हैनन्, जन्म त केवल पुरूष र नारीबीचको वासनाका कारणले हुन्छ । एक वाक्यमा भन्नुपर्दा, जसले के गर्नुपर्छ र के गर्नुहुँदैन भन्ने कुरा जान्दैन् त्यो असुर हो । तिनिहरुको आचरण पशुसमान हुन्छ ।
कतिपय मानिसहरुलाई के कर्म हो र के अकर्म हो भन्ने कुरा थाहा भएन भने तिनिहरु आसुरी गुण भएका मानिसहरु हुन् । जब के गलत हो के सही हो भन्ने थाहा हुन्न त्यसपछि उसमा न आचरण हुन्छ, न पवित्रता हुन्छ, न सत्यता हुन्छ । उसले त केबल झुटमात्रै बोल्छ । उसलाई आफ्ना कारण अरुलाई के असर पर्छ भन्ने हेक्कासम्म पनि हुँदैन । झुट बोल्ने भनेकै के गर्न हुन्छ र के गर्न हुन्न भन्ने थाहा नपाएर नै हो । त्यस्ता असुरी स्वाभावका मानिसहरुले कहिल्यै कसैलाई पनि मान्दैनन । उनीहरु सधैँ आफूलाई मात्रै केन्द्रमा राखेका हुन्छन् । यतिसम्म कि उनीहरु इश्वरलाई समेत मान्दैनन । उनीहरुमा सधैँ लोभ, चिन्ता र क्रोध हुन्छ । उनीहरुको दिमागमा जहिले पनि धन, म र मेरो भन्ने भावना असाध्यै धेरै हुन्छ । उनीहरु साथी, नाता, शत्रु भन्ने कुरा बुझ्दैनन् । कस्तालाई आफ्ना साथी मान्ने र कस्तालाई नमान्ने भन्ने कुराको कुनै पनि हेक्का हुँदैन । उनीहरु म मालिक हूँ, शक्तिवान छु भन्छन् र शक्तिको आडमा दान गर्छु र यज्ञ गर्छु भन्छन् । उनीहरुको दान र यज्ञ पनि क्रोधपूर्ण हुन्छ । यसरी क्रोधपूर्ण तरिकाले भयानक काम गरेपछि यिनिहरु नरकमा खस्छन् । नरकमा खस्नेमात्रै होइन यिनीहरुले त्यहाँ पनि भगवानको ईर्स्या गर्छन् । भगवानलाई पनि पराजित गर्ने दुषित सोंच मनमा पालेका हुन्छन् । यिनीहरु शत्रुलाई मारेँ भन्ठान्छन् तर भित्रभित्र आफूलाई मारिरहेका हुन्छन् । यस्ता स्वभावका प्राणीहरुको जीवन सम्पूर्ण रुपमा भ्रमपूर्ण हुन्छ । यिनीहरु यतिधेरै कुरा बुझेका हुँदैनन कि यिनीहरु नबुझी नबुझी काम, क्रोध र लोभमा फस्छन् ।
यो अध्यायको तेस्रो भाग अर्थात् एक्काइसौँ श्लोकदेखि चौबीसौं श्लोकसम्ममा भगवान् नरक जाने कारण बताउँदै अर्जुनलाई राम्रो आचरण गर्ने उपदेश दिनुहुन्छ र भन्नुहुन्छ– हे अर्जुन !
त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मनः ।
कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत् ।।
काम, क्रोध र लोभ यी तीनवटा नरकका ढोकाहरु हुन् । तिनीहरुलाई बन्द गर्नुपर्छ । यी तीनवटा ढोका बन्द गर्न सक्यो भनेमात्रै मानिस देवतुल्य हुन्छ नत्र त्यही मानिस असुर हुन्छ । यहाँ भगवानले काम भनेको भोगको इच्छा हो भन्नुहुन्छ । इन्द्रियहरुको इच्छा नै भोग भएकाले भोग विभिन्न प्रकारका हुन्छन् । लोभ भनेको अनावश्यक संग्रह गर्न खोज्नु हो । जब भोग र लोभ पुरा हुँदैनन् मानिसमा क्रोध उत्पन्न हुन्छ । यो कुरा भगवानले कामबाट क्रोध उत्पन्न हुन्छ भन्दै दोस्रो अध्यायमै प्रकाश पारिसक्नुभएको छ । यी सबै नरकका ढोका भएकाले मानिसलाई पतन गराउँछन् ।
भगवानले शास्त्रविपरितको आचरण त्याग र शास्त्रअनुसारको आचरण गर भनेर अर्जुनलाई प्रेरणा दिँदै भन्नुहुन्छ जसले ती नरक जाने तीनवटा द्वार बन्द गरेको छ, उसले लोककल्याणकारी काम गर्नसक्छ । उसैले आत्मसाक्षात्कारका लागि काम गर्छ र उसैले परमगति प्राप्त गर्छ र मलाई पाउँछ । तर यदि कसैले शास्त्रले गर भनेको भन्दा अरु काम गर्यो भने ऊ कहिल्यै पनि सुखी हुँदैन । तिमी पनि अहिले शास्त्रले भनेभन्दा बाहिरको काम गर्न गइरहेका छौ । बिधिविधान भन्दा बाहिर गएर युद्ध गर्दिन भनिरहेका छौ, त्यो नगर । किनभने तिमी त दैवीशक्तिबाट जन्मेको मान्छे हौ र तिमीलाई त्यो गर्ने अधिकार छैन । भगवान् यसो भनेर अर्जुनलाई युद्धका लागि तयार गर्नुहुन्छ । तर यति सबै सुनिसक्दा पनि अर्जुन बोलेका छैनन् किनकी उनले पहिल्यै भनेका छन्, उनी भगवानको कुरा जति सुने पनि अघाउँदैनन् ।
के हामी आजको यो भौतिकवादी संसारमा नरक जाने ती तीनवटा ढोका बन्द तयार छौं ? छैनौं भने आफ्नो गन्तव्य थाहा पाइराख्दा राम्रो हुन्छ । बेलैमा सोचौं ।
श्रीमद्भगवद्गीताको दैवासुरसम्पद्विभागयोग नामको सोह्रौं अध्याय समाप्त भयो ।
(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ । त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)