arrow

श्रीमद्भगवद्गीता, अध्याय सत्रः श्रद्धात्रयविभागयोग

तमोगुणी र रजोगुणी खानाले हाम्रा गतिविधिहरु हिंसात्मक हुँदै

logo
राजु नेपाल,
प्रकाशित २०७७ जेठ ५ सोमबार
shreemad-bhagbat-geeta-raju.gif

सत्व, रज र तम तीनै प्रकारका गुणको बारेमा जानकारी पाईसकेपछि अब अर्जुन ती गुण अनुसारका मानिसका श्रद्धा कस्ता हुन्छन् भन्ने वारेमा जान्न चाहान्छन् । भगवान् अर्जुनको त्यो उत्सुकता यो अध्यायमा पुरा गर्नुहुन्छ । तसर्थ श्रीमद्भगवद्गीता अन्तर्गतको यो सत्रौं अध्यायलाई  श्रद्धाका प्रकार पनि भनिन्छ ।

व्यक्तिमा भएको प्रकृतिको गुणअनुसार व्यक्तिको श्रद्धा पनि अलग अलग हुन्छ । जसले जति जानेको छ, जसले जति बुझेको छ, उसले गर्ने श्रद्धा, आदार र सत्कार पनि उही किसिमको हुन्छ । उसले हेर्ने दृष्टिकोण पनि अलग अलग हुन्छ । उसले बुझ्ने बुझाइ अलग हुन्छ । उसले समाजलाई बुझ्ने तरिका अलग हुन्छ ।

अठ्ठाइस श्लोकको यो अध्यायको पहिलो श्लोकमा अर्जुन आफ्नो जिज्ञासा भगवानका सामु राख्छन् भने भगवान् बाँकी सत्ताइस श्लोकमा अर्जुनलाई ती कुराहरु सविस्तार सम्झाउनुहुन्छ । 

यो अध्यायलाई भगवानले तीन भागमा बाँडेर व्याख्या गर्नुभएको छ । पहिलो भागको पहिलो श्लोकदेखि छैटौं श्लोकसम्म विभिन्न प्रकारका मानिसहरुको श्रद्धाबारे भगवानले अर्जुनलाई बताउनुभएको छ । यो भागमा शास्त्र विपरित गरिने कार्यको पनि भगवान्ले चर्चा गर्नुभएको छ । 

भगवान् भन्नुहुन्छ– 
यजन्ते साङ्खिवका देवान्यक्षरक्षांसि राजसाः ।
प्रेतान्भूतगणांश्चान्ये जयन्ते तामसा जनाः ।।

हे अर्जुन, सत्यगुणी मानिसहरुले देवताको पूजा गर्छन । देवता भनेका पाञ्चायन देवता विष्णु, शिव, गणेश, देवी र सूर्य हुन् । साथै तेत्तीस कोटी देवताहरु पनि पूजाका योग्य देवता हुन् । ती देवताहरुमा पनि मानिसहरुको आफ्नो आफ्नो आस्था अनुरुप विभिन्न देवताको पूजा गर्छन् । रजोगुणी मानिसले राक्षस र यक्षको पूजा गर्छन् । रजोगुणीको स्वभाव संग्रह र लोभलालचमा हुन्छ । यक्ष भनेको कुवेर वा धनको पूजा हो भने राक्षस भनेको शक्ति संग्रहको प्रतीक हो । तमोगुणीहरुले भुतप्रेतको पूजा गर्छन् किनकी उनीहरुलाई कसको पूजा गर्नुपर्छ भन्ने पनि थाहा हुँदैन । अझ तमोगुणीहरु त आफूलाई दुःख दिएर कठोर व्रत वा तपस्या गर्छन् जुन गलत हो । यस्ता तमोगुणी मानिसहरुको तपस्यामा आफूलाई दुःख दिने कार्य र अरुको नाश गर्ने उदेश्य हुन्छ । भगवानको यो भनाइबाट के बुझ्नु जरूरी छ भने कहिल्यै आफूलाई कष्ट दिएर धार्मिक कार्य गर्नु हुन्न । 

यस अध्यायको दोस्रो भाग अर्थात् सातौं श्लोकदेखि बाइसौं श्लोकसम्मका सोह्रवटा श्लोकमा सतोगुणी, रजोगुणी र तमोगुणी गरी यी तीन खाले मानिसहरुका खानेकुरा, यज्ञ, तप र दानका बारेमा भगवान् श्रीकृष्णले बताउनुभएको छ ।

भगवान् भन्नुहुन्छ– 
आयुःसङ्खवबलारोग्यसुखप्रीतिविवर्धनाः ।
रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः साङ्खिवकप्रियाः ।।

सत्यगुणी मानिसहरु यस्तो भोजन गर्छन्, जसले आयु बढाउँछ, जीवनलाई शुद्ध पार्छ, बल, स्वास्थ्य, सुख तथा तृप्ति प्रदान गर्छ, त्यस्तो खाना रसमय हुन्छ, चिल्लो हुन्छ, हृदयलाई आराम दिन्छ । यहाँ सत्यगुणी मानिसहरुको खाने कुराको चिल्लो भनेको घिऊको चिल्लो हो । आधुनिक समाजमा एउटा भनाइ छ, धनी मानिसको भाान्छामा घिऊ हुन्छ, गरीब मानिसको भान्छामा तेल हुन्छ । त्यो चिल्लोले आयु बढाउँछ, फलफूलले जीवनलाई शुद्ध पार्छ, फलफुल रसमय हुन्छ, अन्नले बल प्रदान गर्छ, जलले तृप्त गराउँछ र रसमय बनाएर हृदयलाई आनन्द दिने काम गर्छ । यस्ता खानहरु सुपाच्य हुनका साथै यसले धेरै समयसम्म शक्ति दिने काम गर्छ । 

कट्वम्ललवणात्युष्णतीक्ष्णरूक्षविदाहिनः ।
आहारा राजसस्येष्टा दुःखशोकामयप्रदाः ।।

रजोगुणी मानिसहरु स्वादका लागि खान्छन् । स्वाद भनेको इन्द्रिय तृप्ति हो । तसर्थ उनीहरु केबल इन्द्रिय तृप्तिका लागि खान्छन् । जिब्रो इन्द्रिय हो, उनीहरु जिब्रोको तृप्तिका लागि खान्छन् । उनीहरुले खाने छ प्रकारका स्वादमा तीतो, अमीलो, नुनीलो, तातो, पीरो र सुख्खा हुन् । यी खानाहरुले तातोपन उत्पन्न गराउँछन्, रिसराग बढाउँछन्, दुःख, शोक र रोग उत्पन्न गराउँछन् । यी खानेकुरा शरीरका लागि होइन, जिब्रोका लागि हो । यस्तो पदार्थ खानेबेलामा केहीबेर आनन्द आए पनि पछि यसले दुःख दिन्छ, रोग बढाउँछ । यही कारणले उमेर बढ्दै गएपछि जब रोगले समात्छ चिकित्सकहरुले यस्ता खानेकुरा नखाने सल्लाह दिन्छन् । 

यातयामं गतरसं पूति पर्युषितं च यत् ।
उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ।।

तमोगुणी मानिसहरु खानुभन्दा केही घण्टा अघि पकाएको, स्वाद रहित, जुठो, बिग्रेको, सडेको र अपवित्र खानेकुरा खान्छन् । यस्तो भोजनलाई तामसी भोजन पनि भनिन्छ । यस्ता खानाले शरीरमा उत्तेजना फैलाउँछन् । यस्ता खानामा कुनै शक्ति हुँदैन । यस्ता मानिसहरु मांसहारी खाना खान्छन् । मांसहारी खाना यहि कोटीमा पर्दछन् । मांसहारी भनेको रज र वीर्यबाट पैदा भएको र मरेको जीवबाट बनेको खाना हो । त्यस्तै तामसी खानामा मादक पदार्थ पनि पर्छ । मादक पदार्थ खाने मानिसलाई त शास्त्रले महापापी भनेको छ । उपनिषद्ले चारप्रकारका मानिसलाई महापापी भनेको छ । उपनिषद् वेदको अंग हो । सुन चोर्ने, मदिरापान गर्ने, गुरूपत्नीगमन गर्ने र ब्राम्हणको हत्या गर्नेलाई महापापी भनिन्छ । यस अर्थमा तामसी मानिसहरु महापापी मानिसहरु हुन् । भगवानले यहाँ त्यस्ता मानिसलाई अधमकोटीका भन्नुभएको छ । उनीहरु मरेपछि पशुयोनीमा जन्म लिन पुग्छन् । 

आजको समाजमा धेरैजसो तमोगुणी र रजोगुणी खाना खाने चलन व्याप्त छ । यसैले हाम्रा गतिविधिहरु पनि हिंसात्मक हुँदै गएका छन् ।  

सत्यगुणी मानिसहरु यज्ञ गर्दा फलको इच्छा नराखी कर्तव्य सम्झेर भगवानको नाममा गर्छन् । उनीहरुले गर्ने यज्ञ शास्त्रअनुसार हुन्छ । त्यहाँ फल, प्रसाद वितरण हुन्छ, वेदका ऋचाहरु पढिन्छन् । भगवानले श्रीमद्भगवद्गीतामा कर्म नै यज्ञ हो भन्नुभएको छ । उहाँले यज्ञलाई धेरै प्रकारका भएको बताउनुभएको छ । यहाँ उल्लेख भएको यज्ञ देवयज्ञ हो । रजोगुणीहरुको यज्ञ अंहकार, इन्द्रिय तृप्ति र भौतिक इच्छाका लागि दम्भ राखेर गरिएको हुन्छ । कुनै न कुनै चिज पाउनका लागि गरिएको हुन्छ । उनीहरुले गर्ने यज्ञमा तामझाम बढि हुन्छ देखावटी हुन्छ । तमोगुणीहरुले गर्ने यज्ञमा  शास्त्रका नियमहरुको पालनासमेत गरिएको हुँदैन, प्रसाद वितरण गरिएको हुँदैन, वेदसम्मत हुँदैन र यो यज्ञको अन्तिम लक्ष वा उदेश्य अरुलाई दुःख दिन लागि हुन्छ । उनीहरु आफैलाई दुःख दिएर यज्ञ गर्छन् ।

सत्यगुणीहरुको तपस्या लाभको लागि हुन्न, परमेश्वरको चिन्तनमा हुन्छ । रजोगुणीहरुको तपस्या आदारसम्मानका लागि अहंकार राखेर र क्षणिक हुन्छ । उनीहरुले तपस्या पनि अरुलाई देखाउनका लागि गर्छन् । तमोगुणीहरुको तपस्यामा आफैलाई दुख दिएर अरुलाई हानी नोक्सानी गर्नका लागि गरिएको हुन्छ । 

भगवान् अब तीन प्रकारका मानिसले गर्ने शारीरिक, मानसिक र वाणीका तपस्याका बारेमा बताउनुहुन्छ । परमेश्वर, गुरू, मातापिता देवता र ब्राह्मण पूजा, पवित्रता, सरलता, ब्रह्मचर्य, अहिंसा शारीरिक तपस्या हुन् । यहाँ आाफूले मान्नुपर्ने, आफूलाई पालनपोषण गरिरहेका, आफ्नो उत्पत्तिको कारण परमेश्वर, ब्राह्मण, गुरू र मातापितालाई पुजिन्छ । यस्ता मानिसहरु आफ्नो शरीरलाई र मनलाई पवित्र राख्छन् र उनीहरु सरल हुन्छन् । यसैगरि ब्रह्मचर्य भनेको शास्त्रले पालना गर भनेको ब्रह्मचर्य हो । बिबाह नगर्नु वा स्त्रीसंसर्ग नगर्नुलाई ब्रह्मचर्य भनिदैन । बिबाह नगर्नु भनेको आफ्नो कर्तव्यबाट टाढा रहनु हो । त्योे ब्रह्मचर्य प्राप्त गर्नु होइन । गृहस्थीका लागि ब्रह्मचर्य र संन्यासीका लागि ब्रह्मचर्यको परिभाषा फरक छ । अरुको प्रगतिशील बाटो नरोक्नु नै अहिंसा हो र यो शारीरिक तपस्या हो । 

साँचो बोल्नु, हितकारी बोल्नु, अरुलाई छुब्द पार्ने वचन नबोल्नु र वैदिक साहित्यको निरन्तर अध्ययन गर्नु वाणीको तपस्या हो । रामायण, महाभारत, श्रीमद्भगवद्गीताजस्ता शास्त्र पढ्नु वाणीको तपस्या हो । 
मनको तपस्या भनेको जे छ त्यसमा सन्तोष हुनु, सरल हुनु, गम्भीर हुनु, आत्मसंयम हुनु र जीवनलाई शुद्ध पारेर अघि बढ्नु हो । मन शुद्ध पार्नका लागि संसारिक वस्तुप्रतिको आशक्तिको त्याग, क्षमा भावना, अरुको हितको भावना र स्वार्थको त्याग प्रमुख तत्वहरु हुन् ।

हरेक मानिसले दान दिनुपर्छ, यो उसको कर्तव्य कर्म हो । तर दानका केही नियम छन् । हरेक दान सही नहुन सक्छन् । यस विषयमा प्रकाश पार्दै भगवान् भन्नुहुन्छ– सत्यगुणीहरुको दान पछि केही पाउने  आश नगरिकन, कर्तव्य सम्झेर, ठीक समयमा, ठीक ठाउँमा र उपयुक्त पात्रहरुलाई दिइन्छ । दानको सन्दर्भमा अर्काे भनाइ के छ भने दाहिने हातले दिइएको दान देब्रे हातलाई थाहा हुनुहुन्न अर्थात् दान जहिले पनि गोप्य हुुनुपर्छ । तर रजोगुणीहरुको दान सट्टामा केही पाउने आशामा, मन नलागी नलागी दिने खालको हुन्छ । तमोगुणीहरु अपवित्र समयमा, अयोग्य व्यक्तिलाई, आदर नगरी दान गर्छन । हामी बेलाबेला दान गरेका कुरा सुन्छौं, फोटो खिच्दै देखाएर, बोर्डमा राखेर, शिलालेख लेखेर दिइएको दानको कुनै अर्थ छैन । भगवानले स्पष्ट शब्दमा भन्नुभएको छ, दान दिंदा कुनै चिजको आशा राख्नुहुँदैन । तर हिजोआजका धेरै दानीहरुमा नामको आशा देखिएको हुन्छ । विभिन्न ठाउँमा हल्लाखल्ला गरेर गरिएका दान तामसी दान हो यसले आफू र सन्ततिको सर्वनाश गर्छ । 

दानको सम्बन्धमा एउटा विचारणीय पक्ष के हो भने, खानेकुरा, पानी, लत्ता कपडा र औषधी कसैलाई दिदा भने पात्र र स्थान हेर्नुपर्दैन । यी आवश्यक वस्तु हुन् जो बिना जीवन सकिन सक्छ । तर पनि यी वस्तु दानमा दिंदा पनि पछि कुनै आश राखेर वा देखाएर फोटो खिचाएर, कराएर वा प्रचार गरेर दिनु भने हुँदैन । 
माथिका सबै दान, यज्ञ, तपका बारेमा बताइरहँदा भगवानले शास्त्रसम्मत र शास्त्रको आचरण बिपरित भन्ने वाक्यहरु प्रयोग गर्नुभएको छ । अब यो अध्यायको तेस्रो भाग अर्थात् तेइसौं श्लोकदेखि अठ्ठाइसौं श्लोकसम्ममा भगवान् शास्त्रसम्मत ती कर्महरु पुरा कसरी हुन्छन् भन्ने बारेमा बताउने क्रममा ‘ॐ तत् सत’ अत्यन्तै शुद्ध शब्दका बारेमा बताउनुहुन्छ, जुन ब्रह्मसूचक शब्द हो । 

ॐ तत् सत् यी तीन परमात्माका नाम हुन् । तसर्थ कुनैपनि शुभकार्य सुरू गर्दा यिनै तीन शब्दबाट सुरु गर्नुपर्छ । ॐ मूल हो । वेदको जरा हो । तसर्थ सबै शुभ कार्यको सुरुवात ॐ शव्दबाट गर्नुपर्छ । ॐ उच्चारण गरिसकेपछि सम्पूर्ण गायत्री मन्त्र उच्चारण गरेको पुण्य मिल्छ किनकी ॐ नै गायत्री मन्त्रको मूल हो । 

तत् शब्दको अर्थ भगवान् हो । जुन देवताको आराधना वा पूजा गर्न सुरू गरिएको छ, तत् शब्द उच्चारण हुनासाथ अन्तःकरणमा उनै देवता स्थापित हुन्छन् ।  हरेक पटक विष्णु, शिव वा अरु देवताहरु नाम उच्चारण गर्न नपर्ने पवित्र एकमात्र शब्द तत् हो । 

सत् भनेको सत्य हो । जहाँ कर्ता र कर्म दुवैको उद्येश्य परमात्मासँगको साक्षात्कार हुन्छ त्यहाँ सत् हुन्छ । त्यस्तो कर्ता पनि सत् र कर्म पनि सत् हुन पुग्छ । जहाँ कर्ता वा उद्येश्य मध्ये एउटामा मात्रै पनि खोट छ त्यहाँ असत् हुन जान्छ । 

यसरी भगवान् श्रीकृष्णले सत्व, रज तम कर्ताका व्यवहारका बारेमा यो अध्यायमा सुरू गर्नुभएको ज्ञान अझै नसकिएकोले श्रीमद्भगवद्गीताको अन्तिम अर्थात् अध्याय अठारमा पनि त्यसैलाई निरन्तरता दिनुहुन्छ । 
हामी के खान्छौं ? हामी कसरी दान दिन्छौं वा दिदैंनौ ? कतै हाम्रा विचारहरुलाई हाम्रो खाना वा अरु कारणहरुले असर त पारिरहेका छैनन् ? 

श्रीमद्भगवद्गीताको श्रद्धात्रयविभागयोग नामको सत्रौं अध्याय समाप्त भयो ।

(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ ।  त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ