arrow

श्रीमद्भगवद्गीता, अध्याय अठारः मोक्षसंन्यासयोग

जहाँ योगेश्वर कृष्ण छन्, जहाँ अर्जुन छन्, त्यहाँ ऐश्वर्य, विजय, अलौकिक शक्ति र नैतिकता रहन्छ

logo
राजु नेपाल,
प्रकाशित २०७७ जेठ ६ मंगलबार
shreemad-bhagbat-geeta-raju.gif

अर्जुनको विषाद हटाउँदै अर्जुनलाई किन धर्मयुद्ध जरूरी छ भन्दै आउनुभएका श्रीकृष्ण अब उपदेश दिने क्रमको अन्त्यतिर आइपुग्नुभएको छ । कर्म, ज्ञान र भक्तिका हरेक पक्षको पक्का जानकारी पाइसकेपछि अब फेरि अर्जुनमा जीवनको अन्तिम सत्य संन्यासको बारेमा जान्ने चाह हुन्छ । त्यहींबाट यो अठारौं अध्याय सुरू हुन्छ । अर्जुनका सारा मोह हटेसँगै यो अध्याय र पुरै श्रीमद्भगवद्गीता समाप्त हुन्छ । यी उपदेशका समाप्तीसँगै महाभारतको अठार दिन लामो युद्ध आरम्भ हुन्छ । यसअघि नै श्रीकृष्णलाई सारथीको रुपमा पाएका अर्जुनले अब रणभूमिमा गुरूसमेत पाएका छन् र पुरै युद्ध भरी उनी श्रीकृष्ण कै आदेशानुसार चल्छन्। 

श्रीमदभगवद्गीताको सबैभन्दा लामो यो अध्यायलाई मोक्षसंन्यास योग अर्थात् संन्यासको पूर्णता पनि भनिन्छ । कतिपय विद्वानहरु सम्पूर्ण श्रीमद्भगवद्गीता नै दोस्रो र अठारौं अध्यायमा छ पनि भन्ने गर्छन् । यो अध्यायका अठहत्तर श्लोकमध्ये पहिलो र त्रिहत्तरौं श्लोकमा अर्जुन बोल्छन्, अन्त्यका पाँच श्लोक सञ्जय आफ्नो मतसहित भगवानका उपदेशको तात्पर्य र युद्धबाट आउने परिणाम धृतराष्ट्रलाई बताउँछन् भने बाँकी एकहत्तर श्लोकमा भगवान् बोल्नुहुन्छ । 

अघिल्ला अध्यायबाट बाँकी रहेका तीन गुणका अनेक  विषयबाट सुरू गरेर अर्जुनले फेरि धनु नउठाउन्जेल भगवान् बोल्नुहुन्छ । भगवानका बोलिमा यहाँ आदेश छ, चेतावनी छ, प्रेम छ र आशिर्वाद छ । युद्ध गर्ने आदेश, युद्ध नगरे नष्ट हुने चेतावनी, युद्धमा आफू अर्जुनसँगै हुने प्रेम र युद्ध जित्ने आशिर्वाद नै यो अध्यायको मूल हो ।

अठहत्तर श्लोकको यो अध्यायलाई सात भागमा बाँड्न सकिन्छ । भगवान् श्रीकृष्णबाट यतिधेरै ज्ञान पाइसकेपछि र मोक्ष प्राप्तिको ढोकासम्म पुगिसकेपछि पनि अर्जुनलाई अझै जान्ने र अझै बुझ्ने इच्छाले डोर्‍याइरहेको छ । भगवान् श्रीकृष्णबाट ज्ञानगुनका कुरा सुन्ने अर्जुनको इच्छा अझै पनि सकिएको छैन । त्यसैले भगवान् बोलिरहनुभएको छ, अर्जुनले सुनिरहेका छन् । गुरू र शिष्यको सम्बन्ध स्थापित छ, गुरू बोल्दै हुनुहुन्छ शिष्यले त्यसलाई ग्रहण गर्छन् । 

अघिल्लो अध्यायमा भगवानले संन्यासीको बारेमा बताउनुभयो । अब अर्जुन सोध्छन्– त्यसो हो भने त्याग के हो त प्रभु ? भगवान् ! संन्यास र त्याग, त्यागमय जीवन र संन्यास आश्रमको उदेश्य के हो ? यो अर्जुनको प्रश्न हो । यही प्रश्नको जवाफ यो अध्यायको पहिलो भाग अर्थात् पहिलो श्लोकदेखि बाह्रौं श्लोकसम्ममा भगवान् दिनुहुन्छ । भगवान् यसलाई उदाहरणसहित दिनुहुन्छ र भन्नुहुन्छ, कर्म त्याग गर्नुहुन्न । कतिपय मानिसहरु कर्म त्याग गर्‍यो भने त्यसलाई संन्यासी या त्यागी भन्छन् । घरव्यवहार छोडेर हिँडिदियो, पूजा पाठ, जप, तप त्यागेर हिँड्दियो, अल्छी गरिदियो सुतिदियो, मलाई केही चाहिएन अब म गएर समुद्रको किनार या रूखको फेदीमा बस्छु, जे मिल्छ त्यही खान्छु भन्नु त्याग होइन । कर्तव्यबाट टाढा भागेर कोही पनि त्यागी बन्न सक्दैन । त्यो भनेको त केबल अल्छिपन हो, त्यो भनेको पापमात्रै हो र त्यो ढोंग हो । त्यसैले निर्धारित कर्म कहिल्यै पनि त्याग गर्नु हुन्न । 

गृहस्थीमा बस्ने मान्छेले निर्धारित कर्म त्याग गरेर हिँड्यो भने त्यो त्याग हुन्न । त्यो पाखण्डीपन हो । त्यस्तै संन्यासीले जप, तप, यज्ञ कहिल्यै पनि त्याग गर्न हुन्न । आफूले गर्दै आएको र आफ्ना लागि तोकिएको सबै कर्म गर्ने कर्तव्य संन्यासीको पनि हो । त्यसपछि भगवान् भन्नुहुन्छ– त्याग जहिले पनि यस्तो हुुनुपछ, कर्म गर्ने तर कर्मफललाई त्याग्ने । कर्मफल कस्तो आउला भनेर आशक्ति नराख्ने, कर्मलाई कर्तव्यकै विषय ठानेर गर्ने हुनुपर्छ । कर्तव्य कहिल्यै पनि त्याग्ने कुरा होइन, कर्तव्यबाट टाढा भाग्नु मुक्ति होइन, बरु यो बन्धन हो । फेरि त्यागलाई सत्व, रज र तम तीन गुणमै विभाजन गरेर भगवान् भन्न्हुन्छ– यदि कुनै मोहमा परेर कसैले आफ्नो कर्म त्याग्यो भने त्यो तामसी त्याग हुन्छ, शारीरिक कष्टको डरले त्याग्यो भने त्यो रजोगुणी त्याग हुन्छ । फलको आशक्ति र सांसरिक संगतिलाई त्याग्ने भनेकै सात्विक त्याग हो । 

एउटा देहधारी व्यक्तिका लागि त कर्मको त्याग कहिल्यै संभव पनि छैन । जसले कर्मको फल त्याग गर्छ त्यो मात्रै वास्तविक त्यागी हो, कर्मफलको त्याग नगर्नेहरुले त पछि गएर फल भोग्नुपर्छ । जस्तो कर्म गर्छन त्यो कर्मको फल भोग्नुपर्छ र मृत्युपछि फेरि यही मर्त्यलोकमा फर्केर आउनुपर्छ । तर जसले कर्मफललाई तुच्छ मानेको छ त्यस्ताले यो फल भोग्न पर्दैन र मृत्युपछि फेरि यो पृथ्वीमा जन्मनु पर्दैन ।  

यो अध्यायको दोस्रो भाग अर्थात् तेह्रौं श्लोकदेखि अठारौँं श्लोक सम्ममा भगवान् फेरि कर्ममै बसेर साङ्ख्ययोगको आधारमा जीवन कसरी चल्छ भन्ने कुरा अर्जुनलाई बताउनुहुन्छ । यो क्रममा भगवान् भन्नुहुन्छ– कर्मका पाँचवटा तत्व हुन्छ । कर्मस्थान भनेको शरीर हो सबै कुरा शरीरले नै गर्छ । कर्ता प्रभु हुनुहुन्छ । हरेक मानिसको शरीरमा इन्द्रियहरु छन । धेरै प्रकारमा इन्द्रियहरुमा आउने चेष्टाहरु छन् र अन्त्यमा परमात्मा हुनुहुन्छ । मानिसलाई यिनै पाँचतत्वले कर्म गराउँछन् । यहाँ भगवान्ले करण र चेष्टा भन्ने शव्द प्रयोग गर्नुभएको छ । करण दुई प्रकारका हुन्छन्, बाह्यकरण र अन्तःकरण । बाह्यकरणमा पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय पर्छन् भने मन, बुद्धि र अहंकार अन्तःकरण हुन् । बेला बेलामा मेरो अन्तःकरणले यसो भन्छ, उसो भन्छ भनेर मानिसहरु भन्छन् नि, त्यो उसको मन, बुद्धि र अहंकारबाट आएको विचार हो । माथिका तेह्र करणले गर्ने काम नै चेष्टा हुन् । लिनेदिने काम गर्नु, हिंड्ने काम गर्नु, बोल्नु, मल र मुत्र त्याग गर्नु कर्मेन्द्रियको चेष्टा हो भने हेर्नु, छुनु, स्वाद लिनु, सुँघ्नु र सुन्नु ज्ञानेन्द्रियका चेष्टा हुन् । त्यस्तै मनन गर्नु मनको चेष्टा हो, निश्चय गर्नु बुद्धिको चेष्टा हो र अभिमान गर्नु अहंकारको चेष्टा हो । 

यी सबै अंगहरुले कर्म गर्दा गर्दै पनि जसले आफूले आफूलाई म नै कर्ता हूँ भन्ठान्छ त्यो अज्ञानी हो, त्यो बुद्धिमान होइन । हामीले त आफूलाई केबल माध्यमका रुपमा मात्रै चिन्नुपर्छ । हामीले गर्ने कर्तव्य पनि भगवानका लागि गरेका छौँ भन्ठानेर नै गर्नुपर्छ । जो ज्ञानी छ ती मानिसहरुले आफूलाई कहिल्यै पनि कर्ता भन्ठान्दैनन । भगवान्ले फेरि यहाँ साङ्ख्य दर्शनका आधारमा कर्मका कुरा बताउनुहुन्छ । भगवान् बोलिरहनुभएको छ । अर्जुनले भगवानको कुरा सुनिरहेका छन् । उनी ज्ञानप्राप्तिको अन्तिम विन्दुमा पुगिसकेका छन् । 

यो अठारौं अध्यायको तेस्रो भाग अर्थात् उन्नाइसौंदेखि चालीसौं श्लोकसम्ममा फेरि भगवान् श्रीकृष्णले सत्य, रज, तमो गुणका कुराहरु गर्नुहुन्छ । यहाँ भगवान् ज्ञान, कर्म, कर्ता, बुद्धि, धृति र सुखका बारेमा अलग अलग गुण बताउनुहुन्छ । 

सत्य के हो ? सतोगुणी, रजोगुणी र तमोगुणीको सत्य कस्तो हुन्छ भनेर भगवानले यी छ वटा तत्वका भेद बताउनुहुन्छ । सत्यगुणीको ज्ञान सबै जीवात्मालाई एउटै देख्ने हुन्छ । सत्यगुणीको कर्र्म फलको इच्छा नराखी राग द्वेष र आशक्तिरहित भएर गर्ने हुन्छ । सत्यगुणी कर्ता तीनै गुणबाट मुक्त हुन्छ, अंहकारबाट मुक्त हुन्छ, धैर्यशील, उत्साहित र अबिचलित हुन्छ । के गर्नुपर्छ के गर्नु हुँदैन, कोसँग डराउने कोसँग नडराउने, केले बन्धनमा पारेको हुन्छ केले मुक्ति दिन्छ भन्ने कुरा उसले बुझ्ने बुद्धिलाई सत्यगुणी बुद्धि भनिन्छ । यस्तो बुद्धिले नै मानिसलाई मुक्ति दिने हो, हामीलाई भगवद्धामसम्म पुर्‍याउने हो । सत्यगुणी धृति अर्थात् संकल्प भनेको अखण्ड हुन्छ । त्यसले मन र इन्द्रियका क्रियाकलापलाई नियन्त्रण गर्न सक्छ । सत्यगुणी सुख सुरूमा विषजस्तो लागेपनि पछि अमृतजस्तो हुने र भगवान्लाई चिनाउने आत्मासाक्षात्कार गर्ने खालको हुन्छ । 
राजषी ज्ञानले भिन्दाभिन्दै शरीरमा भिन्दाभिन्दै जीवात्मा देख्छ । सबैलाई समान देख्दैन । ऊ विशिष्ट हुँदै होइन । उसको कर्मका अगाडी अहंकार आउँछ । ऊ परिश्रमपूर्वक इच्छापूर्तिमा लाग्छ, इन्द्रियलाई उसले वशमा राख्न सकेको हुँदैन । इन्द्रियका इच्छापूर्तिका लागि उसले कर्म गरिरहेको हुन्छ । त्यस्तो कर्म राजषी कर्म हो । राजषी कर्ता फल भोग्न चाहने, लोभी, अपवित्र, ईष्यालु, विचलित हुने खालको  हुन्छ । राजषी बुद्धिले धर्म र अधर्म छुट्याउन सक्दैन । गर्न हुने र नुहने काम छुट्याउन सक्दैन । राजषी धृति धर्म, अर्थ र कामको प्रतिफलमा लिप्त हुन्छ । यहाँ मोक्षको कुरा छैन । यस्तो धर्मले फेरि मत्र्यलोकमा ल्याउँछ, मोक्ष गराउँदैन । भक्तिले मात्रै मोक्ष गराउँछ । राजषी सुख इन्द्रिय तृप्तिका लागि हुन्छ । पहिले अमृतजस्तो, सुख जस्तो लाग्छ पछि त्यही विषजस्तो बन्छ । खाना र धन संग्रह जस्ता कुराबाट उसको सुख प्राप्त हुन्छ । यी दुवै सुरूमा सुख दिने जस्ता हुन्छन् तर पछि गएर रोग र शोकका कारण बन्न पुग्छन् । 

तामसीमा ज्ञान र सत्यको जानकारी हुँदैन । यहाँ अज्ञानतावश गरिएको कर्मलाई प्रधान मानिन्छ । कर्म शास्त्रको आदेशको विपरित हुन्छ र अरुलाई दुःख दिने उदेश्यले गरिएको हुन्छ । कर्ता पनि शास्त्रको आदेश विपरित कार्य गर्ने हुन्छ । यस्ता कर्ताले कर्म, अकर्म र बिकर्म छुट्ट्याउन सक्दैन । यस्तो कर्ता भौतिकवादी एकोहोरो, जिद्दी हुन्छ, अरुको अपमान गर्छ, ऊ आफै पनि सदा दुःखि रहन्छ, ऊ अल्छी हुन्छ, ढिलो काम गर्छ, धेरै सुत्ने गर्छ, धेरै खान्छ या खाँदै खाँदैन । उसको बुद्धि अन्धकारमा हुन्छ । जब उसको ज्ञान नै अज्ञान हुन्छ भने उसको बुद्धि पनि कुबुद्धि हुन्छ । ऊ अधर्मको बाटोमा लागेको हुन्छ । ऊ गलत दिशातिर जान्छ । सपनामा र कल्पनामा विश्वास गर्ने खालको उसको संकल्प हुन्छ । डर, शोक, विषाद, मोहले ग्रसित हुन्छ । उसमा कुनै संकल्प हुँदैन, भयो भने पनि गलत संकल्प गरेको हुन्छ । उसले निद्रा, आलश्य र मोहमा सुखको अनुभूति गर्छ । सुतेर उठ्दा  उसलाई आनन्द आउँछ, काम नगरि अल्छी गर्दा उसले खुब आनन्द मान्छ । यसरी भगवान्ले यी छ तत्वको सत्य, रज र तामसी गुण बताउनुहुन्छ । 

यो अध्यायको चौँथो भाग अर्थात् एकचालीसौं श्लोकदेखि अठचालीसौं श्लोकसम्ममा भगवान् अर्जुनलाई फलसहित वर्ण धर्मको गुण बताउनुहुन्छ । प्रकृतिको गुणअनुसार ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरि चार भागमा मानिसहरुलाई बाँडिएको हुन्छ । यी चार भाग भनेको कर्मको आधारमा बाँडिएको हो । अहिले हामीले जुन् जातभातको कुरा गर्छाैँ, यो जात होइन, कर्म हो । अहिले जातको रुपमा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र भनिन्छ यी सर्वथा गलत कुरा हुन् । जन्मदा जे सुकै भए पनि मानिस कर्मको आधारमा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र हुन्छन्। 
यिनीहरुको गुण बताउने क्रममा भगवान् भन्नुहुन्छ– 

शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च ।
ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ।।

शान्ति, संयम, तपस्या, सहनशीलता, पवित्रता, इमान्दारी, ज्ञान, विज्ञान, धार्मिकता ब्राह्मणका गुण हुन् । यदि यी गुण कोही व्यक्तिमा छ भने त्यो असली ब्राह्मण हो । कपाल खौरिदैमा अथवा जनै लगाउँदैमा कोही ब्राह्मण हुनै सक्दैन । 

शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम् ।
दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ।।
कृषिगौरक्ष्यवाणिज्यं वैश्यकर्म स्वभावजम् ।
परिचर्यात्मकं कर्म शूद्रस्यापि स्वभावजम् ।।

वीरता, शक्ति, संकल्प, उद्यमशीलता, युद्धमा उत्साह, उदारता र नेतृत्व यी क्षेत्रिय कर्मका स्वभावहरु हुन् । कृषि, गाईपालन, ब्यापार वैश्य कर्मका स्वभाविक कर्म हुन् । त्यसपछि, शारीरिक परिश्रम र अरुको सेवा शद्रका स्वभाविक कर्म हुन् । हरेक मानिसले जे आफूले गर्छु भनेर लागेको छ, त्यहीअनुसारको कर्म गर्नुपर्छ । कर्मको सिद्धि र मानिसको मुक्ति पनि आफूलाई तोकेको कर्मबाटै हुन्छ । 

अर्जुनलाई कर्मबारे अझ स्पष्ट शब्दमा बुझाउने क्रममा यो अध्यायको सत्चालीसौं श्लोकमा भगवान् भन्नुहुन्छ– 
श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ।।

राम्रोसँग सम्पन्न गरेर अरुको कर्मलाई अपनाउनुभन्दा त्रुटिपूर्ण भए पनि आफ्नै कर्ममा लाग्नु राम्रो हुन्छ । आफ्नो स्वभावबाट निर्देशित कर्म कहिल्यै पनि पापबाट प्रभावित हुँदैन । जुन कर्म आफूले अंगिकार गरेको छ, त्यो कर्म गर्नुपर्छ । मानवीय स्वभाव नै के छ भने अरुले गरेको काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । त्यो गलत हो । त्यो पाप हो । त्यो कर्म होइन । त्यो कुकर्म हो । जसले आफ्नो कर्म गर्छ, त्यसले धर्म अपनाईराखेको हुन्छ । त्यसैले आफ्नो स्वभावअनुसार आफ्नो साथमा उत्पन्न भएको कर्मलाई कहिल्यै पनि परित्याग गर्नुहुँदैन । अझ समाजमा आफ्नो काम सबैलाई कठिन र नराम्रो लाग्छ । अरुको काम उत्साहपूर्ण र राम्रो देखिन्छ । यो तामसी विचार हो । यसले धर्मको रक्षा गर्दैन । 

यो अध्यायको पाचौँ भाग अर्थात् उनान्चासौँ श्लोकदेखि पचपन्नौ श्लोकसम्ममा ज्ञाननिष्ठाको कुरा हुन्छ । कोही सिद्धि पाएको मान्छेले ज्ञानको सर्वाेच्च निष्ठा कसरी प्राप्त गर्छ भन्ने कुरा हुन्छ । कोही मान्छेले सिद्धि प्राप्त गर्नका लागि परमसिद्ध अवस्था त ज्ञानको सर्वाेच्च स्तरलाई प्राप्त गर्नुपर्छ । त्यो कसरी हुन्छ ? उसले बुद्धिलाई निर्मल बनाउँछ, ऊ धैर्यवान् हुन्छ, उसले मनलाई नियन्त्रण गरेर सबै विषयबासनाहरु त्याग्छ । ऊ एकदमै एकान्त स्थानमा बस्छ, अल्पहार गर्छ, मन र वाणीलाई नियन्त्रण गर्छ, समाधीमा रहन्छ, अहंकार, बल, काम, घमण्ड, क्रोध र भौतिक वस्तुको संग्रह र मिथ्या स्वामित्वबाट विरक्त छ । यस्तो मानिस नै आत्मासाक्षात्कार गर्न सक्षम हुन्छ र ज्ञानको सर्वोच्च स्थितिलाई प्राप्त गर्न सक्छ । त्यस्तो व्यक्ति नै स्थितप्रज्ञ हो । यस्तो मान्छेले परब्रह्मको अनुभूति गर्छ र आनन्दित हुन्छ । उसले कहिल्यै शोक गर्नुपर्दैन । यस्तो मान्छेले मात्रै भगवान्को शुद्ध भक्ति प्राप्त गर्छ, त्यो नै भक्त हो र उसका कृयाकलापनै भक्तियोग हो । यो नै कर्मयोग हो र यो नै ज्ञानयोग हो । सबै योगको समिश्रण नै भगवद्प्राप्ति हो, परमधाम हो र श्रीकृष्ण हो । यी साधनहरु अपनाउन सक्ने नै बुद्धिमानी हो । 

यो अध्यायको छैटौं भाग अर्थात् छपन्नौ श्लोकदेखि छैसठ्ठीऔं श्लोकसम्मका एघारवटा श्लोकमा भगवान्ले कर्मयोगलाई भक्तिसँग जोड्नुहुन्छ र भन्नुहुन्छ– हे अर्जुन ! अब तिमीले अरु केही नगर, परमात्माको रुपमा मलाई मान, मेरो संरक्षणमा बस र आफूलाई तोकिएको कर्म गर । त्यति गर्‍यौ भने तिमी मेरो क्षेत्रमा आउँछौ र तिम्रा सम्पूर्ण कुराहरु पार हुन्छ । अब आजको युगमा हरेक मानिसहरुले दिव्यचेतनामा जानुपर्‍यो, जुन चेतना भगवान्सँग छ, त्यसका लागि भक्ति हुनुपर्छ, भक्ति हुनका लागि आफू शिष्य भएर भगवानलाई गुरु मान्नुपर्छ । तिनै भगवानको निर्देशनअनुसार काम गर्नुपर्छ । 

तर यदि तिम्रो अहंकारले मेरो कुरा सुन्दैन भने तिमी पतन हुनेछौ । माथि भनिएझैं यहाँ भगवान्का स्वर परिवर्तन भयो । आदेश र चेतावनी एकैपटक आयो । भगवान् थप्नुहुन्छ– यदि केहीगरि मैले भनेको मान्दैनौँ भने पनि तिम्रो स्वभावले तिमीलाई कुनै न कुनै कर्ममा लगेर राखेको हुन्छ । अहिले पनि हेर अर्जुन ! तिमी युद्ध त गर्छाै गर्छाै । तर त्यही युद्ध तिमीले मेरो निर्देशनमा गर्नु र मोहमा परेर गर्नुमा फरक हुन्छ । तिमी आफू कर्ता भएर गर्दा तिमीले भनेजस्तो तिमीलाई पाप लाग्ला, तिम्रा हातहरु आफन्तका रगतले पोतिएलान् तर जे हुन्छ, म कर्ता हैन माध्यममात्रै हो भनेर गर्दा तिमीलाई पाप लाग्नेछैन । तिमीले जित्यौ भने संसार भोग गर्छौ, हार्‍यौ भने स्वर्ग जान्छौ । तर तिमीले मोहमा ग्रसित भएर फलको आशाले केही गर्‍यौ भने तिमीले फेरि जन्म लिनुपर्छ, तिमी पापमा फर्किन्छौ । 

परमेश्वर हरेक ठाउँमा विराजमान हुनुहुन्छ, तिमी परमेश्वरको चरणमा छौ र मैले जे भन्छु त्यो काम गर । मैले तिमीलाई एकदमै गोपनीय भन्दा पनि गोपनीय ज्ञान दिएँ । अब तिमीलाई जे इच्छा लाग्छ त्यही गर । तैपनि तिमी अत्यन्त प्रिय भएकाले म तिमीलाई अन्त्यमा परम उपदेशका रुपमा भन्छु, 

मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोऽसि मे ।।

हे अर्जुन ! मेरो चिन्तन गर, मेरो भक्त बन, मेरो पूजा गर, मलाई नमस्कार गर । यति चारवटा काम ग¥यौ भने तिमी मसँग आउनेछौ । जब तिमी मसँग आउँछौ, म वचन दिन्छु कि म तिमीलाई सम्पूर्ण पापकर्मबाट उद्धार गर्छु, नडराउ, मेरो शरणमा आऊ । अर्जुनलाई माध्यम बनाएर भगवान् हामीलाई भन्नुहुन्छ कि माथिका चार कामले हामी भगवान्को नजिक जान सक्छौँ । आजैबाट भगवान्को चिन्तन गरौँ, भक्त बनौँ, भगवान्को पूजा गरौँ र भगवान्लाई नमस्कार गरौँ । यी काम कठिन छैनन् । यहाँ त मात्र श्रद्धा छ । 

यो अध्यायको र पुरै श्रीमद्भगवद्गीताको अन्तिम भागका अन्तिम बाह्र श्लोक अर्थात् सतसठ्ठिऔं श्लोकदेखि अठहत्तरौं श्लोकसम्म श्रीमद्भगवद्गीताको माहात्म्य र सञ्जयको निश्चय छ । भगवान् अगाडि भन्नुहुन्छ– तर याद राख अर्जुन ! भक्तिमा संलग्न नभएका, अभक्त, असंसयी र भगवान्को द्वेष गर्नेलाई यो कुरा कहिल्यै पनि नभन्नु । यहाँ भगवान् यी चार प्रकारका मानिसहरु भगवान्का वचन नमान्ने र तामसी गुणका हुने हुँदा यिनीहरुलाई ज्ञान दिनुहुन्न भन्नुहुन्छ । यदि त्यस्ता मानिसको हातमा ज्ञान पर्‍यो भने उनीहरुले त्यो ज्ञानको दुरूपयोग गर्छन् भन्ने भगवानको आशय हो । जसले यो रहस्य बुझ्छ, जो यी कुराहरुलाई मनन गर्छ, ऊ भगवानको प्रिय हुन्छ । 

अझ भगवान् यो श्रीमद्भगवद्गीताको अद्भुत चरित्रको वयान गर्दै भन्नुहुन्छ– जसले मेरो र तिम्रो बीचको यो वार्तालाप सुन्छ, त्यो मान्छे जहिले पनि ईष्यारहित हुन्छ, श्रद्धालु हुन्छ, पापकर्मबाट मुक्त हुन्छ र पवित्रलोकमा पुग्छ भनेर भगवानले घोषणा गर्नुहुन्छ । भगवानको यो भनाईले श्रीमद्भगवद्गीता कति शक्तिशाली छ भन्ने बताउँछ ।

आफ्ना सबै कुरा भनिसकेपछि यहाँ आफ्नो अन्तिम वाक्यको रुपमा यो अध्यायको बहत्तरौं श्लोकमा भगवान् अर्जुनलाई सोध्नुहुन्छ– मेरा सबै कुरा सुनेर के अब तिम्रो अज्ञान र मोह नाश भयो ? अर्जुन भन्छन्– मेरो मोह नष्ट भयो, मैले स्मृति फेरि प्राप्त गरेँ । यसको मतलब पहिलो अर्जुनविषाद योग अध्यायमा जुन स्मृति भ्रम भएको थियो, के ठीक र के बेठीक छुट्याउन सकेको छैन, मेरो धनुष हातबाट खसेको छ भनेर अर्जुनले भनेका थिए । अहिले अठारौं अध्यायको त्रिहत्तरौं श्लोकमा अर्जुन भन्छन्– 

नष्टो मोहः स्मृतिर्लब्धा त्वप्रसादान्मयाच्युत ।
स्थितोऽस्मि गतसंदेहः करिष्ये वचनं तव ।।

हे प्रभु ! मैले मेरो गुमेको मेरो स्मृति फेरि प्राप्त गरेँ । मैले युद्ध गर्छु भनेर जसरी घरबाट आएको थिए, त्यतिबेलै मलाई युद्ध गर्नुपर्छ भन्ने थाहा थियो । तर बीचमा आएर मैले बाटो बिराएको थिए, त्यहाँबाट म फेरि फर्किएँ । म अब दृढ छु, संसय रहित छु र हजुरको आदेश जुन छ त्यो अनुसार युद्ध गर्छु । 
सबै कुरा सुनेपछि अब सञ्जय पनि आफ्नो निर्णय राजा धृतराष्ट्र«्लाई सुनाउँछन् र भन्छन्– 

इत्यहं वासुदेवस्य पार्थस्य च महात्मनः ।
संवादमिममश्रौषमद्भुतं रोमहर्षणम् 

व्यासप्रसादाच्छ्रुतवानेतद्गुह्यमहं परम् ।
योगं योगेश्वरात्कृष्णात्साक्षात्कथयतः स्वयम् 

राजन्संस्मृत्य संस्मृत्य संवादमिममद्भुतम् ।
केशवार्जुनयोः पुण्यं हृष्यामि च मुहुर्मुहुः 

तच्च संस्मृत्य संस्मृत्य रूपमत्यद्भुतं हरेः ।
विस्मयो मे महान्राजन्हृष्यामि च पुनः पुनः 

यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः 
तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम 

मैले अर्जुन र श्रीकृष्णको वार्तालाप सुनेँ, श्रीकृष्ण र अर्जुन त पात्रमात्रै होइनन, प्रवृत्ति पनि हुन्, गुरू र शिष्य हुन, भगवान् र भक्त हुन्, साथी साथी हुन् । यिनीहरुको मैले वार्तालाप सुनेँ, यो अद्भूत छ, म रोमाञ्चक छु । अब सञ्जय पनि ठोकुवा गर्छन्– हे राजन ! जहाँ योगेश्वर कृष्ण छन्, जहाँ अर्जुन छन्, त्यहाँ ऐश्वर्य, विजय, अलौकिक शक्ति र नैतिकता रहन्छ भन्ने विश्वास हो । यो श्रीमद्भगवद्गीताको अन्तिम श्लोक हो । यसअर्थमा जहाँ गुरू र शिष्य छन्, जहाँ कोही निर्देशन गर्ने मान्छे छन् र निर्देशन मानिन्छ, सही धर्मको बाटोमा लागिन्छ, कर्मको बाटोमा लागिन्छ, श्रीमद्भगवद्गीताले अंगिकार गरेका तीन पक्ष ज्ञान, भक्ति र कर्मलाई जसले अंगिकार गर्छ त्यति भयो भने जीवन बाँच्न सहज हुन्छ । 

श्रीमद्भगवद्गीताको मोक्षसन्न्यासयोग नामको अठारौं अध्याय समाप्त भयो ।

(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ ।  त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ